कञ्चनपुरकी चेली बिना मगर ‘राजनीतिक सेलिब्रेटी’

कञ्चनपुरकी चेली बिना मगर ‘राजनीतिक सेलिब्रेटी’

फोटोः बेलडाँडी गाउँपालिकाको वैवाहमा मतदातासँग छलफल गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगर ।

जी भट्ट

बेलौरी, कार्तिक २९ । ‘बिना मगरलाई फेरि उम्मेदवारका रुपमा पाउँदा खुसी भएँ,’ बेलडाँडी गाउँपालिका–१ चन्दनवस्तीका ६५ वर्षिय वीरभान भट्टले भने– ‘अघिल्लो चुनावमा जितेका सांसदले विकासको अनुभूति गराउन नसकेपछि बिना मगरले मात्रै यो क्षेत्रको विकास गराउन सक्छिन् भन्ने लागेको थियो । अब उम्मेदवारकै रुपमा बिना आएपछि बिनालाई जिताएर विकास गराउने सपना पूरा हुने भयो ।’ कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट वाम गठबन्धनकी उम्मेदवार बिना मगरलाई भेटेपछि ६५ वर्षिय भट्टले बिना मगरललाई विजयी गराउन गाउँगाउँमा भोट माग्दै हिँड्ने वचन दिए ।

माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य तथा युवा नेतृ बिना मगर चुनावी प्रचारप्रसारमा हिँड्दा उम्मेदवार मगरलाई भेट्ने र कुराकानी गर्न खोज्नेको भीड नै लाग्छ । सर्वसाधारण मतदाता बिना मगरलाई भेटेर आफ्ना समस्या राख्न र नजिकिन चाहन्छन् ।

‘दक्षिणी क्षेत्रमा विकास देख्ने जनताको सपनालाई बिना मगरले नै सम्भव बनाउन सक्नुहुन्छ,’ बेलौरी नगरपालिका–६ रिछाहाकी सुनिता चौधरीले भनिन्, ‘हामी महिलाले बिना दिदीसँग आफ्ना समस्या र गुनासा सहजै भन्न सक्ने र समाधान हुने आशा भएकाले बिना दिदीलाई नै जिताउँछौं ।’

वाम गठबन्धनकी उम्मेदवार बिना मगरसँग नेपाली कांग्रेसबाट यसअघि सांसद भइसकेका दिवानसिंह विष्टले प्रतिस्पर्धा गरिरहेका कारण मतदातालाई उम्मेदवार छान्न सजिलो भएको छ । कांग्रेसका उम्मेदवार तथा निवर्तमान सांसद दिवानसिंह विष्टको क्षमता र भूमिका परीक्षण भइसकेका कारण मतदाताको आशा बिना मगरतिर सोझिएको छ ।

‘दिवानसिंह विष्टले सडक बनाइदिन्छु, पुल बनाइदिन्छु, स्कूल बनाइदिन्छु भनेर चुनाव जिते । तर, अर्को चुनाव आउँदासम्म पनि केही पनि काम गरेन,’ बेलडाँडी गाउँपालिका–३ खैरीघाटका प्रेम विष्टले भने– ‘अब उनीप्रति कुनै आशा छैन ।’ सांसद विकास कोषबाट सबै सांसदलाई आउने रकम पनि देख्न नपाइएको बेलडाँडी गाउँपालिका–१ का देवसिंह ठगुन्नाले बताए ।

‘केही ठाउँमा आएका तटबन्ध निर्माणका सरकारी योजनामा गुणस्तरहीन काम भएका छन्,’ ठगुन्नाले भने । गुणस्तरहीन काम हुँदा पनि मौन बसेर निवर्तमान सांसद दिवानसिंह विष्टले कमिसन खाएको आशंका बढेको स्थानीयको भनाई छ । ‘बेलौरी–कलुवापुर सडकखण्ड निर्माणको काम पूरा नहुँदै अधिकांश ठाउँमा कालोपत्रे फुटिसकेको छ । सांसदको संलग्नता नभएर ठेकेदारले गुणस्तरहीन काम कसरी गर्न सक्लान् रु’ बेलौरीका राजेन्द्र भट्टले भने । निवर्तमान सांसद दिवानसिंह विष्टको कार्यकालप्रति सर्वसाधारणको नकारात्मक बुझाइ भएका कारण पनि मतदातामाझ बिना मगरको लोकप्रियता बढेको छ ।

वाम गठबन्धनले बिना मगरलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएपछि स्थानीय स्तरका प्रभावशाली नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्न थालेका छन् । कांग्रेसका लागि बलियो मानिएको क्षेत्र बेलडाँडीका स्थापित नेता ईश्वरी भट्ट केही दिनअघि कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कांंग्रेसले झुठा आश्वासन मात्रै दिएको र विकासको काम नगरेकाले बिना मगरलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको भट्टले बताए । ‘जितेका नेता पनि निर्वाचन क्षेत्रमा देखिँदैनन् । तर, बिना मगर चुनाव हारेर पनि निरन्तर हाम्रो बिचमा रहनुभयो, थुप्रै विकासका काम गरे,’ उनले भने, ‘कुनै पदमा नभएर पनि उनले रौलेश्वर, कालिका, वैवाह क्षेत्रमा सडक ग्राभेलका योजना ल्याए ।’

भट्टको नेतृत्वमा बेलडाँडीका पूर्वगाउँ समिति सचिव डम्मरबहादुर शाह, क्रियाशील सदस्य हेमराज भट्ट, यज्ञराज भट्ट, घनश्याम कठायत, निर शाहु, कमल शाह, लाभुराम चौधरी कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
यस्तै, गत आईतबार नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य कविराम तामाङ र बौद्ध लामा तथा प्रदेश सदस्य जगत सायर सहित ३० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दक्षिणी क्षेत्रको विकासका लागि बिना मगर नै सक्षम नेतृत्व भएकाले माओवादी केन्द्रमा प्रवेश गरेर महिला नेतृ बिना मगर जिताउने अभियानमा सहभागी भएको केन्द्रीय सदस्य कविराम तामाङले बताए । स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकबाट पुनर्वास नगरपालिकाको प्रमुख ९मेयर० पदका उम्मेदवार झुठा राना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि कांग्रेस प्रवेश गरेका राना कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपयुक्त नभएको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आसन्न चुनावमा नेपाली कांग्रेसबाट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिवानसिंह विष्टले यसअघि जितेर पनि केही गर्न नसकेकाले वाम गठबन्धनकी उम्मेदवार बिना मगरललाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको रानाले बताए ।

‘दक्षिणी क्षेत्रको विकास गर्न अब कांग्रेसका नेताबाट सम्भव छैन । वाम गठबन्धनले मात्रै विकासबाट वञ्चित क्षेत्रको प्रगति गर्न सक्ने भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको हुँ,’ उनले भने ।

विकासको आशाका कारण सर्वसाधारण मतदाताका लागि ‘राजनीतिक सेलिब्रेटी’ बनेकी बिना मगर पार्टी पंक्तिमा जनयुद्धताकाको योगदान र सक्रियताका कारण पहिल्यैदेखि लोकप्रिय थिइन् । बाल्यकालदेखि बाल कलाकार हुँदै माओवादी आन्दोलनमा होमिएकी बिना मगर जनयुद्धकै क्रममा २७ महिना नेपाली सेनाको कष्टकर सैनिक हिरासतमा बसेकी थिइन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा नेपाली राजनीतिमा स्थापित व्यक्तित्व पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी भएर पनि बिना मगरले जन्मभूमिलाई नै कर्मभूमि बनाएकोप्रति समेत मतदाता खुसी छन् ।

‘आलोचना र विरोध गर्नेले प्रचण्डकी बुहारी भनेर नकारात्मक प्रचार गर्ने गरेपनि प्रचण्डकी बुहारी भएर पनि कञ्चनपुरको दुर्गम र विकास नदेखेको क्षेत्रलाई कर्मभूमि बनाउनु बिना मगरको सकारात्मक पक्ष हो,’ लालझाडी गाउँपालिका–४ का शंकर रानाले भने, ‘समानुपातिक मार्फत् सजिलै सांसद हुने सक्ने सम्भावना हुँदाहुँदै पनि उहाँले जनतासँग प्रत्यक्ष जोडिन र जनताको सेवा गर्न प्रत्यक्षमै चुनाव लड्नुभयो ।’ जन्मभूमिलाई नै कर्मभूमि बनाउने बिना मगरको निर्णयलाई मतदाताले सम्मान गर्ने रानाले बताए ।

उम्मेदवारी दर्तापछि मतदातामाझ बढेको बिना मगरको लोकप्रियता र चर्चाले जित निश्चित हुँदै गएको वाम गठबन्धनभित्र चर्चा हुने गरेको छ । स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रका उम्मेदवारका पक्षमा खसेका मतका आधारमा समेत वाम गठबन्धनका उम्मेदवार बलिया देखिएका छन् । स्थानीय तह निर्वाचनमा १ नम्बर क्षेत्रभित्र रहेका ३२ वडाका वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा वाम गठबन्धन झण्डै २० हजार मतले अगाडि रहेको छ ।

स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले १८ हजार ५ सय ६९ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले १६ हजार १ सय १५ गरी वाम गठबन्धनका उम्मेदवार पक्षमा ३४ हजार ६ सय ८४ मत खसेका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले स्थानीय चुनावमा १४ हजार ९ सय ५६ मत पाएका छन् । आसन्न निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ८८ हजार ५९ मतदाता रहेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

लोकप्रिय