कांग्रेस महासमितिमा पदाधिकारीको टुङ्गो

कांग्रेस महासमितिमा पदाधिकारीको टुङ्गो

काठमाडौँ, पुस ७ । नेपाली कांग्रेसले संघीयता अनुरुप विधान संशोधनको टुङ्गो लगाएको छ । विधानमाथिको एक महिना लामो छलफलपछि कांग्रेसमा १७१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्न नेताहरू सहमत भएका हुन् ।

गत मंगलबार कोषाध्यक्षबाहेक सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुवै सहमहामन्त्री निर्वाचन गर्ने गरी सहमति जुटेको थियो । तर, त्यसको भोलिपल्टै समावेशी आधारमा पदाधिकारी बढाउनुपर्ने माग भएपछि समावेशी आधारमा आठवटै क्लस्टर (महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, खस आर्य र पिछडिएको क्षेत्र) गरी आठवटैमा सहमहामन्त्री निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय समितिको आकार १६७ सदस्यीयसम्म रहने नेताहरूको भनाइ छ ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी १३, समावेशीमा दलित नौ, मधेसी नौ, आदिवासी १५, खसआर्य १३, थारू चार, मुस्लिम तीन र अल्पसंख्यक एक गरी ५४ जना समावेशी हुनेछन् । पेसाकर्मी र विपन्नका तर्फबाट एक-एक रहनेछन् ।

सभापतिले ३३ जना (२० प्रतिशत) मनोनित गर्न पाउनेछन् । ३५ जना खुला सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन गरी २१ जना, खुलातर्फ महिला नौजना रहने बताइएको छ । शुक्रबारको केन्द्रीय समितिले पास गरेको विधानको मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णहादुर खड्काले शनिबार महासमिति बैठकमा पेस गर्ने भएका छन् ।

यसअघि ८५ सदस्यीय थियो केन्द्रीय समिति

कांग्रेसमा १२ र १३औँ महाधिवेशनमा ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा ६ पदाधिकारी मात्र थिए । जसमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्षको निर्वाचन हुन्थ्यो । एक उपसभापति, एक महामन्त्री र एक सह–महामन्त्री सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै मनोनीत गर्दथे । ८५ सदस्यीय केन्द्रीय समितिमा २१ सदस्य सभापतिबाट मनोनीत हुँदा २५ खुलासहित ६४ समावेशी कोटासहितका लागि निर्वाचन हुन्थ्यो ।

विधान मस्यौदामा प्रस्ताव हुँदा पदाधिकारी बढाउने, सबै निर्वाचित गर्ने, सभापतिले मनोनीत गर्नेसहितका विभिन्न विकल्पसहित १४१ सदस्यीय केन्द्रीय कार्यसमितिको प्र्रस्ताव गरिएको थियो ।

यस्तो छ पदाधिकारी र केन्द्रीय सदस्य बढ्दै आएको इतिहास

प्रजातन्त्र स्थापना भएपछि ०४८ मा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सर्वसम्मत रूपमा सभापतिमा चयन भए । कांग्रेसमा ८औँ महाधिवेशनसम्म सभापतिको मात्रै निर्वाचन हुन्थ्यो । केन्द्रीय पदाधिकारी र सदस्य सभापतिले आपसी सहमतिमा तय गर्थे । नवौँ महाधिवेशमा गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भए । सभापतिसहित पाँच विकास क्षेत्र प्रत्येकबाट एक–एकजना केन्द्रीय सदस्य निर्वाचित हुने परम्परा बसालियो ।

१०औँ मा १८ केन्द्रीय सदस्य निर्वाचित र १८ जना मनोनीत भए । पार्टी फुटेकाले ११औँ महाधिवेशन दुई कांग्रेसले अलग–अलग गरे । १२ र १३औँ महाधिवेशनमा कांग्रेसमा सभापति, महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुँदा एक उपसभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिबाट मनोनीत भए । ६४ सदस्य निर्वाचित हुँदा २१ केन्द्रीय सदस्य मनोनीत हुने वैधानिक व्यवस्था थियो ।

किन पछि हटे देउवा

विधानको पनि पदाधिकारी कति बढाउने र कसरी चयन हुने भन्नेमा कांग्रेसमा एक हप्ताभन्दा लामो समय दर्जनौँपटकसम्म छलफल भयो । मंगलबार कोषाध्यक्षबाहेक सात पदाधिकारी निर्वाचित गर्ने गरी भएको सहमति भोलिपल्टै समावेशिताको विषयले टुटेको तीन दिनपछि शुक्रबार जातीय/क्षेत्रीय विभिन्न आठ क्लस्टरलाई सहमहामन्त्रीमा समेट्ने सहमतिसँगै कुरा मिलेको हो ।

पार्टी संस्थापन पक्ष जोसुकै सभापतिमा निर्वाचित भए पनि सहज रूपमा काम गर्न दिन केही पदमा मनोनीतको अधिकारी दिनुपर्ने पक्षमा थिए । तर, पौडेल–सिटौला पक्षले संविधानले व्यवस्था गरेअनुसार सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने अडान लिएका थिए ।

अन्ततः यही अडानमा उनीहरूले सभापति देउवालाई गलाउन सफल भएका छन् ।

तर, कुनै पनि हालतमा मनोनीतमा केही पद राख्नुपर्ने अडानबाट देउवा गलेपछि सहमति जुटेको हो । पदाधिकारी बढाउन भएका निरन्तरका छलफलका क्रममा पदाधिकारीमा केहीको निर्वाचन गर्ने र केही केन्द्रीय समितिका निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित गर्ने विकल्प पनि ल्याएका थिए । तर, नेताहरू महाविधेशनबाटै निर्वाचित गर्ने विकल्पमा पुगेका हुन् ।

सभापतिलाई बलियो बनाउनुपर्छ भन्दै देउवा पक्षका बालकृष्ण खाँणदेखि वीरबहादुर बलायर, एनपी साउदसम्मले केही पदाधिकारी सभापतिले मनोनीत गर्न पाउनुपर्ने भन्दै दबाब दिएका थिए ।

तर, संविधानअनुसार सबै पदाधिकारी निर्वाचित गर्नुपर्छ भन्ने कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरेसहितका नेताहरूले अडान राख्ने माग गर्दै आएका थिए । केन्द्रीय सदस्य तलबाटै निर्वाचित पर्ने भन्दै माग गर्नेमा सिनियर नेतामध्ये कृष्णप्रसाद सिटौला र डा.शेखर कोइराला रहे । यसमा गगन थापादेखि प्रदीप पौडेलसहितका नेताले साथ दिए ।

देउबा नै बलिया

बढेका पदाधिकारीदेखि केन्द्रीय सदस्यमा अब धेरै नेता व्यवस्थापन हुने भएका छन् । १४ पदाधिकारी हुँदा नेताहरूसामु आफ्ना नेता व्यवस्थापन गर्नेदेखि अर्को गुटकालाई ल्याएर जित्नेसम्मको अवसर आएको छ ।

जातीय क्लस्टरमा अहिलेको अनुपात र नेताहरूको गुटगत उपस्थिति हेर्दा पौडेल–सिटौलाभन्दा सभापति देउवा पक्ष नै बलियो देखिन्छ । किनकि तराई मधेस, महिला, दलित, थारू, मुस्लिम क्लस्टरमा देउवानिकटकै नेता प्रभावशाली र बलिया देखिन्छन् । तर, १४औँ महाधिवेशनसम्म यही समीकरण रहिरहन्छ भन्न सकिन्न ।

यस्तो हुँदा बढेका पदाधिकारी र केन्द्रीय सदस्यको फाइदा उठाउने अवसर सबै समूहलाई उत्तिकै हुने देखिन्छ । १७१ सदस्यीय कार्यसमितिमा १४ पदाधिकारी बनाउँदा कांग्रेस केन्द्रमै धेरै नेता अटाउने देखिएका छन् । यस्तोमा पहिलोपटक अभ्यास हुँदै गरेको कांग्रेस प्रदेश समिति कमजोर हुने हो कि भन्ने आशंका उत्पन्न भएको सहमहामन्त्री डा.प्रकाशशरण महत नै बताउँछन् ।

विश्वमै नयाँ प्रयोग : रामचन्द्र पौडेल

कांग्रेस नेता रामचन्द्र पौडेलले सबैले अवसर पाउने यो प्रयोग विश्वमै कहीं नभएको दाबी गरेकाछन् । उनले भने, “हामीले कांग्रेसको इतिहासमा १४ पदाधिकारी बनाउने, समानुपातिक समावेशीकरणमा नयाँ प्रयोग हो । यस्तो राजनीतिक पार्टी कहीँ पनि छैनन् ।”

पौडेलले भने, “हामी नयाँ यो दृष्टान्त देखाउँदै छौँ । प्रजातान्त्रिक प्राणालीबाट यसरी नेतृत्व छान्ने अभ्यास दुनियाँमा छैन । दक्षिण एसिया त छँदै छैनन् । यो भनेको सबैले अवसर पाउने अवस्था हो ।” युवा नेताहरूले अवसर नपाएको तथ्य स्वीकार्दै पौडेलले भने, “जातीयतालाई आधार बनाउँदा केही सिनियर मान्छे पछि पर्ने अवस्था आयो ।

समावेशितालाई मिलाएर लानुपर्ने भएकाले यस्तो भएको हो । हामीले आरक्षण सधैँलाई गरेका होइनौँ, एकपटक हेरौँ । प्रतिस्पर्धामा आउने वातावरण आएपछि यसलाई मिलाउनुपर्छ ।”

सबैलाई सँगै लाने सभापतिको सोच : डा. प्रकाशशरण महत

अर्का प्रभावशाली नेता डा. प्रकाशशरण महतले  सबै पदाधिकारी निर्वाचित गर्नु राम्रो बताएका छन् । महतले भने, “साथीहरूले सभापतिलाई बलियो बनाउनुपर्छ भन्दै केही ठूला पदमा पदाधिकारी मनोनीत गर्नुपर्छ भन्ने र केहीले सबै निर्वाचित गर्नुपर्छ भनेर मत राख्नुभएको थियो ।”

महतले भने,”तर, सभापतिले सबैलाई सहमतिमा लिएर जाने मनस्थिति बनाएरै सहमति गर्नुभयो । कार्यकारी तहमा सवावेशी प्रतिनधितित्वले गर्दा पार्टीमा सबै समुदायका नेतालाई नेतृत्वमा पुग्ने अवसर अब कांग्रेसमा सिर्जना हुँदै छ ।”

केही नेताले कार्यसमिति ठूलो भएकोमा असन्तुष्टि जनाएको बताउँदै महत भन्छन्, “तर, सबै जातजातिसहितको प्रतिनिधित्वमा सबै अनुहार देख्न पाउँदा हामीले गर्व गर्नुपर्छ । सबैको उपस्थिति हुँदै गएपछि आरक्षण सधैँका लागि आवश्यक नरहन सक्छ ।” नयाँ पत्रिकाबाट

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।