कुनैसमय खाना खाने पैसा नभएर भोकै सुतेका टंकको रेष्टुराँमा सुनको चुल्हो

कुनैसमय खाना खाने पैसा नभएर भोकै सुतेका टंकको रेष्टुराँमा सुनको चुल्हो

पोर्चुगल, फागुन १५ । कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् ।

घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन् ।

इटालियन खानाका लागि सापकोटा युरोपमा बादशाह जतिकै प्रख्यात छन् । इटालियन सेफका रुपमा चर्चित सापकोटा युरोपेलीमाझ निकै लोकप्रिय छन् । इटालियन खानाका पारखीहरुलाई उत्कृष्ट स्वाद पस्किएर चकित नै पारेका सापकोटा सेफ मात्र होइनन् युरोपका एक सफल व्यवसायी पनि हुन् ।

सापकोटाले आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ पनि सञ्चालन गरेका छन् ।

आफैंले केही गरेपछि मात्र बिहे गर्ने सोच बनाएका सापकोटालाई बुबाआमाले बिहे गर्न करकाप गरे तर उनी बिहे नगरी १८ वर्षकै उमेरमै विदेशिए । उच्च शिक्षा हासिल गरी नेपालमै केही गर्ने सोच बनाएका कानुनका विद्यार्थी सापकोटा सन् १९९२ मा गाउँकै एक छिमेकी दाइसँग जर्मनी छिरेका थिए । बिहान जर्मनी ओर्लेका सापकोटाले त्यही दिन साँझदेखि एक इटालियन रेष्टुराँमा काम गर्न थाले ।

केही सीप नभएकै कारण शुरुमा सापकोटाले दैनिक १२ घण्टा भाँडा माझ्ने काम गरे । उनलाई यो कामदेखि निकै ग्लानि भयो । तर युरोपमा श्रमको उच्च सम्मान भएकै कारण काम गर्दै जाँदा सामान्य जस्तै लाग्यो । नयाँ ठाउँ, भाषाको समस्या, त्यसमाथि सीप नभएकै कारण निकै दुःख भोग्नुपरेको स्मरण गर्दै सापकोटाले विगत सुनाउनुभयो ।

“सीप नभएकै कारण करिब डेढ महिना भाँडा माझ्ने काम गरेँ, भाषा नबुझेर कति दिन त भोकै पनि सुतें,” सापकोटाले भने – “धेरै दुःख भोगें । विदेश आएकामा कता कता पश्चाताप पनि लाग्यो । त्यसबखत स्वदेश फर्केर अध्ययनलाई निरन्तरता दिऊँ कि जस्तो पनि भयो ।” श्रमको उच्च सम्मान अनि सबैले उस्तै मेहनत गरेको देख्दा आफूलाई पनि काम गर्ने जोश, जाँगर र उत्साह आएको सापकोटा सम्झिन्छन् ।

उनी दायाँबायाँ नलागेर पाक कलामै आफ्नो भविष्य खोज्न तल्लीन भए । सानो छँदा आमाले मीठो–मीठो पकाएर खुवाएको स्मरण गर्दै सापकोटाले भने – “बाल्यकालदेखि नै आमासँग खाना पकाउन सिकेको थिएँ ।

यसैकारणले पनि मलाई विदेशी खानाबारे थप जिज्ञासा, रुचि र मोह बढ्दै गयो । पाक कलामै सफल हुने अठोटका साथ मेहनत गर्दै गएँ ।” काम गर्ने फरक शैली, इमान्दारिता, लगनशीलता र जिज्ञासु स्वभावका कारण सापकोटा रेष्टुराँ सञ्चालकको नजरमा उत्कृष्ट ठहरिँदै गए ।

सापकोटाको कामप्रतिको लगाव र मेहनत देखेर रेष्टुराँ मालिकले उनलाई एक पछि अर्को जिम्मेवारी दिँदै गए । भाँडा माझ्ने कामदारका रुपमा उक्त रेष्टुराँमा प्रवेश गरेका सापकोटा किचन हेल्पर, वेटर हुँदै तीन वर्षमै इटालियन सेफ बन्न सफल भए ।

परिश्रमले नै आफूलाई सफल सेफ बनाएको ठान्ने सापकोटाले भने – “यही क्षण नै मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण हो । ५५० युरोबाट पारिश्रमिक वृद्धि भई एक हजार १०० युरोसम्म पुगेको थियो ।”

निरन्तर चार वर्षसम्म उक्त रेष्टुराँमा काम गरेपछि उनी नयाँ सोच र सपना बुनेर सन् १९९६ मा पोर्चुगल हानिए । पोर्चुगल आएपछि फेरि अर्को संर्घष शुरु भयो । मासिक ३०० युरोमा काम शुरु गरेका सापकोटाले तीन वर्षपछि आफ्नै लगानीमा इटालियन रेष्टुराँ खोले ।

उनमा खानाबारे व्यावहारिक ज्ञान भए पनि सैद्धान्तिक ज्ञान थिएन । त्यसपछि उनी इटालीको रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा इटालियन परिकारसम्बन्धी दुई वर्षे कोर्ष पढ्न शुरु गरे । ज्ञानले खारिएका सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा थप दुई वटा इटालियन रेष्टुराँ सञ्चालन गरे ।

सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन् । सापकोटाका अनुसार र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ ।

सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ । सोही सुनको चुल्होमा सापकोटाले दैनिक इटालियन पिज्जा पकाउँछन् । अन्य रेष्टुराँ भन्दा पृथक, दाउराको चुल्होको प्रयोग र विशुद्ध इटालियन परिकार पाइने भएकै कारण आफ्नो रेष्टुराँ इटालियन खानाका पारखीहरुको रोजाइमा परेको सापकोटाको भनाइ छ । सापकोटा स्वयं अहिले पनि दैनिक १६ घण्टा खट्छन् ।

सापकोटाले गरेको मेहनत देखेर पोर्चुगिज नागरिकहरुले समेत उनलाई उच्च सम्मान र प्रशंसा गर्छन् । उनलाई भेट्न आउने जो कोहीले पनि उनी सेफ पोशाकमै खाना पकाइरहेको देख्न सक्छन् ।

इटालियन खाना बनाउँदा छुट्टै आनन्द र रोमाञ्चको अनूभुति हुने उनको भनाइ छ । पछिल्लो समय अन्य उत्कृष्ट पेशामा झैं खाना बनाउने कलामा विशेषज्ञता हासिल गर्नेहरुको मोह विश्वमै क्रमिक रुपमा बढ्दै गएको सापकोटाको अनुभव छ ।

युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन् ।

न्यापोलितान पिज्जाका दुई परिकार ‘मारिनारा र मागएरिता’ विश्वभरका पिज्जा पारखीहरुमाझ निकै प्रख्यात छ ।

सापकोटाका अनुसार मीठो, स्वादिष्ट, स्वस्थकर, पकाउने सरल विधि र सबैको पहुँचमा भएकै कारण विश्वबजारमा इटालियन खानाको माग दिनप्रतिदिन बढ्दो छ ।

विश्व बजारमा निकै महंगो संसारकै सीमित रेष्टुराँहरुमा पाइने च्याउका प्रजातिबाट बनाइने खाना, आधुनिक वैज्ञानिक विधिबाट निश्चित तापक्रममा पकाइने मासुका परिकार, पिज्जा, पास्ता, चाउचाउ लगायतका खानासापकोटाले बनाउने विशेष इटालियन परिकारहरु हुन् ।

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन् । पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् । साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन् । उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन् ।

इटालियन खानामा अद्भूत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए । सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन् ।

उनले नेपालको पहिचान, कला, सँस्कृति र नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानी लिस्बनमै दुई वटा नेपाली रेष्टुराँ पनि सञ्चालन गरिरहेका छन् जहाँ परम्परागत र आधुनिक नेपाली खानाका परिकारहरु पाइन्छ । उनले सञ्चालन गरेको प्रत्येक रेष्टुराँमा प्रतिदिन ३०० देखि ३५० जनाले खाना खान्छन् ।

पाँच वटा रेष्टुराँका मालिक सापकोटाले ६० नेपाली र २० विदेशी गरी ८० जनालाई रोजगारी समेत दिएका छन् । सापकोटाले पोर्चुगलमा पाइने ओलिभ, चेरी लगायतका वनस्पति बाग्लुङ्गमा र नेपालमा पाइने धनियाँ, तुलसी, मरहटी पोर्चुगलमा परीक्षण खेती समेत शुरु गरेको राससलाई बताउनुभयो ।

आफ्नो यो सफलताको श्रेय भने जर्मनीका रेष्टुराँ मालिक सँगै आफ्नो बुबाआमा र श्रीमतीलाई दिन चाहन्छन् उनी । सपरिवार पोर्चुगल बस्दैआएका सापकोटालाई उनकी श्रीमती सीता सापकोटाले व्यवसायमा सघाउने गरेकी छन् । नेपालीहरुप्रति युरोपेलीहरुको हेराइ निकै राम्रो भएको उनको बुझाइ छ ।

समाजसेवीका रुपमा समेत परिचित सापकोटा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक समेत हुन् ।

पोर्चुगल आउने धेरै नेपालीलाई रोजगारीको व्यवस्था मिलाइदिने, पीडित नेपालीहरुलाई सहयोग गर्ने जस्ता काममा पनि उनी अग्रसर हुन्छन् । सापकोटाले आफ्ना बुवा जगुपति सापकोटाको इच्छा अनुरुप हरिहर सन्न्यास आश्रम देवघाटलाई ५१ लाख ५१ हजार १०१ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

यस्तै उनले बाग्लुङ जिल्लाको सरस्वती प्राविलाई ३ लाख, कालापातल प्राविलाई १ लाख २० हजार र सुन्तलाचौर उच्च माविलाई १ लाख २० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गरेका छन् ।

आफ्नो सीप, क्षमता र कलामार्फत विश्वमाझ नेपाल र नेपालीलाई चिनाउन आगामी दिनमा थप प्रयत्न गर्ने अठोट उनी व्यक्त गर्छन् । आफूसँग रहेका पाक कलालाई नेपालमा समेत प्रवद्र्धन गर्ने उनको योजना छ । रासस

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई चयन

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश  गौतम (साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु रहेका छन् । बुधबार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ बलियो र एकताबद्ध बनाउनुपर्ने बताए । उनले त्यसो भएमा मात्रै पत्रकारहरु दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए ।  कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनकालागि राजदूत गेहेन्द्र राजभण्डारी, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल ,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष शान्त पहारी,  प्रेस सेन्टर नेपाल केन्द्रीय उपमहासचिव राजेश चाम्लिंग राई, प्रवास इञ्चार्ज इञ्चार्ज आरबी खड्का, प्रवास अध्यक्ष हरि नेपाली, एनआरएनए अभियन्ताहरु रामशरण सिंम्खडा, प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङ, जनसम्पर्क समिति युरोप महामन्त्री  गंगाधर गौतम ,नेपाली जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष गंगाप्रसाद भुसाल, प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज सुवास पोखरेल, एनपिपीएृफ आयरल्याण्ड महासचिब मिलन छन्त्याल, एनपिपीएफ जर्मनी अध्यक्ष गोबिन्द भण्डारी , राप्रपा पोर्चुगल निबर्तमान अध्यक्ष दिपक शर्मा , प्रेस युनियन पोर्चुगल सभाति बसुदा सत्याल ,प्रवासी पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष चिरन शर्मा, प्रवास नेपाली सम्पर्क विभाग९रास्वपा० भोला लामिछाने, पोर्चुगलकालागि पर्यटन नेपाली प्रवर्द्धक रमेशराज बाँस्तोला, एनआरएनए बेल्जियम  एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, अनेसास पोर्चुगल महासचिव एनबी अन्जान, पानी अभियान्ता मित्रलाल पार्देलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।  पत्रकार महासंघले तोकेका केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा ,सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयॉ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्दै बन्द सत्र सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको सभापतित्व प्रेम परियार, संचालन द्रोण रिजाल र स्वागत मन्तव्य राजकुमार थापाले गरेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले १० बुँदे प्रस्तावहरू पारित समेत गरेको छ। पारित प्रस्तावहरुः १. युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ । २. प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ।  ३. युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।  ४. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ ।  ५. सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ । ६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ।  ७.नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप   प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ।  ८. सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य  प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ । ९. युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ। १०. यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।

जनप्रगतिशील मंच न्यु साउथ वेल्सको संयोजकमा जीवन न्यौपाने

सिड्नि । नेपाली जनप्रगतिशील मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको तेस्रो अधिवेसनबाट जिवन न्यौपाने संयोजकमा निर्वाचित भएका छन् ।  २० अप्रिलमा सम्पन्न तेस्रो अधिबेशनले न्यौपानेको संयोजकत्वमा ११ सदस्यको कार्यसमिति गठन गरेको हो ।  अघिवेसनबाट उपाध्यक्षमा रमन के.सि., सचिवमा रबिन अधिकारी, कोषाध्यक्षमा नवकिरण गौतम, सहसचिवमा भरत न्यौपाने तथा कार्यकारी सदस्यहरूमा संतोष काण्डेल, विष्णु भुसाल, सुदीप शर्मा, गोविन्द बहादुर थापा र अशोक श्रेष्ठ चयन भएका छन्। कार्यक्रममा प्रमुख अतिथि मंचका अध्यक्ष प्रबिन कंडेलले नेपालीहरुको पहिचान दिन र सुखदुखमा साथ दिन जनप्रगतिशील मञ्चले प्रभावकारी काम गरेको बताए ।  महासचिव चुन्ना क्षेत्रीले मञ्चलाई अझै धेरै नेपालीहरुसामु पु¥याउनुपर्नेमा जोड दिए । न्यु साउथ वेल्स राज्यको संयोजक बाबुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन न्यु साउथ वेल्स राज्यको उपसंयोजक सुमन न्यौपाने गरेका थिए ।  सम्मेलनले अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र प्रभावलाई थप सुदृढ गर्दै छलफल र सञ्जालका अवसरहरू संलग्न गराउने मञ्चको रूपमा काम गरेको नवनिर्वाचित संयोजक जीवन न्यौपानेले बताए । न्यौपानेले यस सम्मेलनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको उपस्थिति र प्रभावलाई अभिवृद्धि गर्ने, छलफल र सञ्जालका अवसरहरू उपलब्ध गराउने मञ्च प्रदान गर्ने विश्वास ब्यक्त गरे ।  नवनिर्वाचित कार्यसमितिलाई मंचका अध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्य खिम भण्डारि लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।  

सिड्नीमा नवाज कप फुटबल आइतबार सुरु हुँदै

सिड्नी । भोलि अप्रिल २१ देखि साउथ ग्रानभिलमा नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को आयोजनामा नवाज कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । अस्ट्रेलियाको सिड्नीका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगिता भोलि आइतबार सुरु हुने भएको हो ।  लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष चिरन तिवारीले जानकारी दिए । समाजका अध्यक्ष तिवारीले सामाजिक कर्ममा अगाडि रहेको नवाजको २५ औ स्थापना दिवको उपलक्ष्यमा प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे ।  उनले प्रतियोगिता सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गर्न लागिएको बताए ।
 अप्रिल २१ को आइतबार देखि हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए । 
 नवाजले केही समयको बिश्रामपछि फेरि खेलकुद प्रतियोगिता आयोजना गरेकोमा सिड्नी सहित अष्ट्रेलियमा रहेका नेपाली समुदाय खुशी भएका छन् ।  नेपाली राष्ट्रीय टोलीमा रही हाल अष्ट्रेलिया पुगेका करिब चालिस जना खेलाडी रहेको अस्ट्रेलियाको यी बिभिन्न क्लबहरुको यो लिग निकै रोमान्चक हुने बिश्वास लिइएको छ । यो प्रतियोगिता ४०/४० चालिस मिनेट गरी ८० मिनेटको हुनेछ ।  अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले केही समयपछि भएपनि नवाजले यस्तो खालको प्रतियोगिता गरेकोमा धन्यबाद दिदै यसको निरन्तरताको लागि आफ्नो सहयोग रहने विश्वास दिलाए ।  यस पटक प्रतियोगितामा सहभागि क्लबहरुलाई चार समुहमा बिभाजित गरि ड्र समेत सार्वजनिक गरिसकिएको थियो । 

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको छ । युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन समेत आग्रह गरेको छ । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।” गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

लोकप्रिय