२०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको तत्कालिन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा हालका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक ‘प्रचण्डपथ’बारे उल्लेख गरेका छन् ।
‘महान अग्रगामी छलाङ : इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको प्रतिवेदनमा प्रचण्डले ‘एक महान उपललब्धी’ उपशीर्षकमा ‘प्रचण्डपथ’को आवश्यकता औंल्याएका थिए । उनले आफ्नो सफल नेतृत्वका कारण पार्टीको विचार श्रृङ्खला मात्र नभई केन्द्रीय स्तरमा सुयोग्य नेताहरुको टिमका साथै क्रान्तिकारी उत्तराधिकारीका रुपमा हजारौं कार्यकर्ताको विकास भएको उल्लेख गरेका छन् । प्रचण्डको नेतृत्वकै कारण पार्टी एकताको केन्द्रविन्दुको रुपमा बलियो हेडक्वार्टर विकास भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ : ‘पार्टी एक दशकदेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क. प्रचण्डको सही र अविछिन्न नेतत्वका कारण आज पार्टी एकताको केन्द्रविन्दुको रुपमा क. प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ । अतः सामुहिक नेतृत्वको केन्द्रिकृत अभिब्यक्तिका रुपमा बिकसित बिचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ (एचबअजबलमब एबतज) नामाकरण गर्दछ ।’ प्रचण्डपथका रुपमा पार्टीको अनुभवहरुको संश्लेषणले नेपालमा माक्र्सवाद लेनिनवाद र माओवादका सार्वभौम सिद्धान्तहरुको प्रयोगको विशिष्टतालाई अभिव्यक्त गर्ने प्रतिवेदनमा दावी गरिएको छ ।
कहिलेसम्म रह्यो ‘प्रचण्डपथ’?
२०५७ माघ–फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ’ पारित भएपछि आठ वर्षसम्म माओवादीले यसैअनुरुप आफ्ना वैचारिक–राजनैतिक, सांगठनिक र फौजी कारबाही सञ्चालन गरेको थियो ।
यद्यपी २०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि पनि प्रचण्डपथ कायमै रह्यो । २०६४ चैतमा पहिलो संविधानसभा चुनावमा सहभागी हुँदासम्म माओवादीले प्रचण्डपथ अबलम्बन गरिरहेको थियो । २०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा आयोजना गरेको बहुचर्चित राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनमा पनि प्रचण्डपथबारे लेखिएको छ ।
प्रचण्डले त्यतिबेला भनेका थिए : ‘सामन्तवाद र साम्राज्यवादका बिरुद्ध जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न २१ औं शताव्दीको बर्तमान परिस्थितमिा दीर्घकालिन जनयुद्धको रणनीतिमा आम सशस्त्र जनविद्रोहका कार्यनीतिहरुको समेत समायोजन गर्नुपर्छ भन्ने मूलभूत संश्लेषणका साथै नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यनैतिक श्रृङ्खलाका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधानसभा प्रस्तुत गर्नु नै प्रचण्डपथ संश्लेषणका प्रमुख आधार हुन् ।’
तर प्रचण्डको राजनीति प्रतिवेदनमा असहमति राख्दै नेता मोहन वैद्य किरणले फरक मत सहित अलग्गै राजनैतिक प्रतिवेदन पेश गरेका थिए । भेलामा प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा पुनर्विचार गर्नुपर्ने बहस उठेको थियो । त्यसको एक महिनापछि २०६५ पुस ३० गते आयोजित नेकपा माओवादी र नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको नेकपा एकता केन्द्रसँगको पार्टी एकता अधिवेशनमा अध्यक्ष प्रचण्डले नै लिखित रुपमा तत्कालका लागि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक विचारबाट स्थगित गरी माक्र्सवाद–लेनिनवाद–माओवाद र विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेर जाने प्रस्ताव गरेका थिए । उज्यालो नेपालबाट साभार