क्रान्तिकारी विद्यार्थीहरुको नेतृत्व लेनिनवादी ढंगले चयन गर्नुपर्छ 

क्रान्तिकारी विद्यार्थीहरुको नेतृत्व लेनिनवादी ढंगले चयन गर्नुपर्छ 

नहेन्द्र खड्का/

२०७४ साउन ७ गतेदेखि नेपालका देशभक्त, न्यायप्रेमी, परिवर्तनकारी, स्वाभिमानी र क्रान्तिकारी विद्यार्थीहरुको एक मात्र नेतृत्वदायी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को ऐतिहासिक २५ औँ एकता राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का श्रद्धेय अध्यक्ष, दस वर्षे महान जनयुद्धका सर्वोच्च कमाण्डर तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डबाट विद्यार्थीहरुको विशाल सभाका बिचमा समुद्घाटन भएको यो ऐतिहासिक एकता राष्ट्रिय सम्मेलनको नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनमा मात्रै नभएर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा समेत ऐतिहासिक महत्त्व छ ।

यस सम्मेलनमा सहभागी सबै प्रतिनिनिधि=पर्यवेक्षकहरु, विभिन्न स्तरको संगठनात्मक नेतृत्वका लागि आफूलाई प्रस्तुत गरिरहेका अखिल क्रान्तिकारीका नेता=कार्यकर्ताहरुले सम्मेलनका विभिन्न पक्षहरु र ती सबैले नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन तथा समग्र कम्युनिस्ट आन्दोलनमा पार्ने प्रभावहरुको विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ । नेकपा (माओवादी केन्द्र)का जिम्मेवार नेताहरुले समेत यसलाई एउटा सामान्य र नियमित सम्मेलनको रुपमा हेर्ने र बेवास्ता गर्ने गल्ति गर्नु हुँदैन । त्यस सम्बन्धी केही विषयहरुलाई निम्नानुसार सुत्रबद्ध गर्ने प्रयत्न गरिएको छ ।

१. संगठनबारेः

क. द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई प्रधान मान्छ । पदार्थ पहिले जन्मन्छ र त्यसपछि चेतना आउँछ । चेतनाले पदार्थलाई पछ्याउँछ । भौतिक परिस्थितिले विचारधारा र चिन्तनलाई प्रभावित गर्दछ । एउटा पार्टी वा संगठनको आन्तरिक जीवनमा त्यसको पदार्थ र भौतिक परिस्थिति भनेको उसको संगठन हो । संगठन सार पक्ष हो भने विचार रुप पक्ष हो । भौतिकवादको द्वन्द्वात्मक प्रणाली नबुझेका मानिसहरुले यसको ठिक उल्टो तरिकाले बुझ्ने र ब्याख्या गर्ने गर्दछन् । सार पहिले जन्मन्छ र रुपले सारलाई पछ्याउँछ । संगठन पहिले जन्मन्छ र सोही आधारमा बिचार जन्मन्छ ।

सारले रुपको निरुपण गर्ने हुनाले संगठनले विचारको निरुपण गर्दछ । संगठनमा – अझ संगठनमा आवद्ध मानिसहरुमा – भएको विकासले विचारको विकास गर्दछ । त्यसैले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालका शोषित र उत्पीडित विद्यार्थीहरुको मुक्तिकामी संगठनको रुपमा नेपालका क्रान्तिकारी विद्यार्थीहरुले कस्तो प्रकारको संगठन र नेतृत्व निर्माण गर्नुपर्ने हो ? यो बिषयमा गम्भीर बहस हुनुपर्छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालका शोषित र उत्पीडित विद्यार्थीहरुको मुक्तिकामी संगठनको रुपमा नेपालका क्रान्तिकारी विद्यार्थीहरुले कस्तो प्रकारको संगठन र नेतृत्व निर्माण गर्नुपर्ने हो ? यो बिषयमा गम्भीर बहस हुनुपर्छ ।

नहेन्द्र खड्का/

ख. नेकपा (माओवादी) ले महान दस बर्षे जनयुद्धको नेतृत्व गरेको हुनाले माओवादी आन्दोलनभित्र कैयौँ मानिसहरुले जनवर्गीय संगठनहरुलाई युद्धको वा पार्टी अवैधानिक भएको समयमा खुला र वैधानिक मोर्चाको काम गर्ने वा संयुक्त मोर्चा संगठनको रुपमा मात्र हेर्ने र शान्तिकालमा पार्टी स्वयम् खुला र वैधानिक भएको अवस्थामा जनवर्गीय संगठनहरु र तिनको भूमिकालाई अनावश्यक वा कम महत्त्वपूर्ण देख्ने गर्दछन् ।

जनवर्गीय संगठनहरु पार्टीको भौतिक परिस्थिति तयार गर्ने साधनहरु हुन् । ती पार्टीको संगठन र कार्यकर्ता उत्पादन गर्ने कारखानाहरु हुन् । क्रान्तिकारी पार्टी र आमजनताको बिचमा पुलको भूमिका निर्वाह गर्ने हुनाले जुनसुकै परिस्थितिमा पनि जनवर्गीय संगठनहरुको भूमिका उच्च र महत्त्वपूर्ण छ । त्यसमा पनि विद्यार्थी संगठन भावी समाज, पार्टी र क्रान्तिको कर्णाधार हुनुको नाताले अझ महत्त्वपूर्ण छ । आजको विद्यार्थी संगठन र यसको नेतृत्वले भविष्यको पार्टी र क्रान्तिको नेतृत्व निर्माण र निर्धारण गर्नेछ । त्यसैले विद्यार्थी संगठनलाई केटाकेटीहरुको संगठनको रुपमा देख्ने र हेर्ने प्रवृति आत्मघाती र हानिकारक छ ।

पार्टीको संगठन र कार्यकर्ता उत्पादन गर्ने कारखानाहरु हुन् । क्रान्तिकारी पार्टी र आमजनताको बिचमा पुलको भूमिका निर्वाह गर्ने हुनाले जुनसुकै परिस्थितिमा पनि जनवर्गीय संगठनहरुको भूमिका उच्च र महत्त्वपूर्ण छ ।

आज विद्यार्थी संगठनमा भित्रिएका असल र खराब प्रवृतिहरु नै भोलि पार्टीमा हुर्कने र फल्ने छन् । त्यसैले जनजर्गीय संगठनहरु र एउटा जनवर्गीय संगठनको रुपमा अखिल क्रान्तिकारीको भूमिकालाई प्रभावकारी बनाउने सम्बन्धमा विद्यार्थी नेताहरु, कार्यकर्ताहरु र पार्टी नेतृत्व गम्भीर हुन जरुरी छ ।

ग. यो परिस्थिति माओवादी पार्टीहरुको एकता र ध्रुवीकरणले गति लिएको समय हो । त्यसैले विभिन्न पार्टी, धारा र पृष्ठभूमिबाट एकता प्रक्रियामा सामेल भएका सबै क्रान्तिकारी विद्यार्थीहरुलाई समेट्ने र तिनीहरु मार्फत् नेपालको समग्र विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने गरी यो एकता राष्ट्रिय सम्मेलनले आफ्नो नेतृत्व चयन गर्नु पर्छ । विगतमा पार्टी फरक हुँदा वा विभाजन हुँदाका कुनै पनि घटनाहरुको आधारमा आग्रह=पूर्वाग्रह राखेर व्यवहार गर्नु हुँदैन । तर क्रान्तिकारी र गैरक्रान्तिकारी प्रवृति बिचको भेद छुट्याउन सक्नु पर्छ ।

घ. आफ्नो स्तर अनुसार संगठनको विभिन्न तहको नेतृत्वमा आफू आउनै पर्ने, जसरी पनि संगठन सानो बनाउनु पर्ने तर आफू छुट्न नहुने, संगठन सानो र त्यसमा पनि दुई अंकको भए मात्रै क्रान्तिकारी र गतिशील बन्ने जस्ता अतिभूतवादी र एकता विरोधी चिन्तनलाई पराजित गर्नु पर्छ । संगठन जत्रो होस्, परिचालित हुनु पर्छ । संगठन परिचालित हुन नसक्नुमा संगठन स्वयम् वा त्यसको आकार समस्या होइनन् । त्यो संगठनको प्रतिनिधित्व गर्ने कार्यकर्ता र विचारको प्रतिनिधित्व गर्ने नेतृत्व बिचको अन्तरविरोधको परिणाम हो । यानेकि विकसित सार र पछ्यौटे रुप बिचको अन्तरविरोधको परिणाम हो । संगठनका राष्ट्रिय सम्मेलनहरु यस्तो अन्तरविरोधलाई हल गर्ने माध्यमहरु हुन् ।

संगठन जत्रो होस्, परिचालित हुनु पर्छ । संगठन परिचालित हुन नसक्नुमा संगठन स्वयम् वा त्यसको आकार समस्या होइनन् । त्यो संगठनको प्रतिनिधित्व गर्ने कार्यकर्ता र विचारको प्रतिनिधित्व गर्ने नेतृत्व बिचको अन्तरविरोधको परिणाम हो ।

२. बिचार बारे:

क. विचार र कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यो सुप्रसिद्ध माओवादी मान्यता हो । एउटै पार्टी र संगठनभित्र संगठन प्रधान भए जस्तै एउटा देशभित्र विभिन्न विचार बोकेका अलग अलग पार्टीहरु र संगठनहरु भएको अवस्थामा सही नीति र विचार नै प्रधान पक्ष हो । यसलाई सापेक्षताको सिद्धान्तको आधारमा बुझ्नु पर्दछ । संगठनलाई प्रधान मान्दा विचारको पक्ष छोडिदिने र विचारको पक्षलाई प्रधान मान्दा संगठनको पक्षलाई छोडिदिने प्रवृति गैरद्वन्द्ववादी, एकमनावादी र अतिभूतवादी प्रवृति हो ।

यसभित्र लुकेको दक्षिणपन्थी विसर्जनवादले क्रान्तिकारी विचारलाई छोडेर संगठन ठूलो बनाउने कुरामा जोड दिन्छ भने जडसुत्रवादले विचारलाई मात्रै समात्छ र संगठनको भूमिकालाई अर्थहीन देख्छ । दक्षिणपन्थी अवसरवादले पार्टीमा धेरै मानिसहरु भए मात्रै क्रान्ति सम्पन्न गर्न सकिने सोच राख्दछ, जबकि क्रान्तिकारी विचार विना क्रान्ति संभव हुँदैन र यस्तो संगठन वैचारिक रुपमा विघटन हुन्छ । वामपन्थी अवसरवादले विचार सही भए क्रान्ति आफै सम्पन्न हुने, मान्छेहरु सही विचारको पछि स्वतस्फूर्त रुपमा हुरुरुरुरुरुरुरु आइहाल्ने तर्क गर्दछ र शुद्धतावादका नाममा संगठनलाई आफू अनुकूलको सानो कोटरीमा सिमित गर्दै नेतृत्वको केन्द्रमा सँधै आफूलाई राखिराख्छ ।

वामपन्थी अवसरवादले विचार सही भए क्रान्ति आफै सम्पन्न हुने, मान्छेहरु सही विचारको पछि स्वतस्फूर्त रुपमा हुरुरुरुरुरुरुरु आइहाल्ने तर्क गर्दछ र शुद्धतावादका नाममा संगठनलाई आफू अनुकूलको सानो कोटरीमा सिमित गर्दै नेतृत्वको केन्द्रमा सँधै आफूलाई राखिराख्छ ।

जडसुत्रवादी नेतृत्वले मूलतः पुरानो विचारको प्रतिनिधित्व गर्ने हुनाले त्यहाँ अग्रगामी संगठन (कार्यकर्ता) र पिछडिएको नेतृत्वको बिचमा चरम अन्तरविरोध हुन पुग्दछ र नेतृत्वले विचारको विकासमा पहलकद्मी लिन नसकेमा त्यो स्वयम् सांगठनिक रुपमा विघटित हुन पुग्छ । यी दुवै प्रवृति गलत छन् र यिनलाई पराजित गर्नुपर्छ ।

ख. समाजवादी क्रान्तिको रणनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नु पर्ने आजको सन्दर्भमा नेपालका क्रान्तिकारी विद्यार्थी आन्दोलनले कस्तो विचार अबलम्बन गर्नु पर्ने हो ? शिक्षा क्षेत्रको साथै समग्र समाजमा दलाल पुँजीवाद र नवउपनिवेशवाद हावी भएको, शिक्षा क्षेत्रमा साम्राज्यवादी हस्तक्षेप बढेको र नवउदारवादले गाँजिरहेको, शिक्षाको तीब्रतम् नीजिकरण, दलालीकरण र माफियाकरण भैरहेको एवम् गरिब र धनीहरुको शिक्षाको रुपमा दुई प्रकारको शिक्षा व्यावहारिक रुपमा लागु भैरहेको वर्तमान अवस्थामा नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन र त्यसको नेतृत्वकर्ताको रुपमा अखिल क्रान्तिकारीको कार्यक्रम र कार्यदिशा के र कस्तो हुने हो ? संगठनको रुप र स्वरुप कस्तो हुने ? संगठनात्मक सिद्धान्त कस्तो हुने ? संघर्षको स्वरुप र विधि कस्तो हुने ? सिद्धान्त, संगठन र संघर्षको त्रिपक्षीय सम्बन्ध कस्तो हुने र त्यसलाई कसरी विकास गर्ने ? यो राष्ट्रिय सम्मेलनमा यो प्रधान विषय बन्नु पर्छ ।

३. नेतृत्व चयन बारेः

क. जब जब क्रान्तिकारीहरु संगठित र शक्तिशाली बन्दै जान्छन्, तब तब त्यहाँ पुँजीवादी प्रवृतिहरु उम्रन, घुसपैठ हुन, हुर्कन र विकसित हुन थाल्दछन् । तिनीहरु कम्युनिस्ट पार्टी र क्रान्तिकारी आन्दोलनभित्र आलोचनाको स्वतन्त्रता, आन्तरिक जनवाद, नोकरशाही नेतृत्वको विरोध, टिके प्रथाको विरोध, पार्टीको तानाशाहीको विरोध, स्टालिनवादी नेतृत्वको विरोध जस्ता सस्ता नारा लगाउँदै टाउको उठाउन थाल्दछन् । माक्र्सलाई पहिलो कम्युनिस्ट इन्टरनेशनल विघटन गराउन बाध्य पार्ने यो भाइरस लेनिनको पालामा रुसमा र माओकालीन चीनमा आन्तरिक जनवाद र आलोचनाको स्वतन्त्रताको नाममा छिरेको थियो ।

स्टालिन र माओको निधनपश्चात यसको सबैभन्दा भद्दा नमूना सबै सामू नाङ्गिएको थियो । नेपालमा पनि यसको भद्दा नमूना बेलाबेलामा प्रस्तुत हुने गरेको छ । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण वा आन्तरिक जनवादको नारा लगाउँदै कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनमा छिर्ने यो प्रवृति वास्तवमा कम्युनिस्ट आन्दोलन र पार्टीको पुँजीवादीकरण गर्ने माध्यम हो ।

स्टालिन र माओको निधनपश्चात यसको सबैभन्दा भद्दा नमूना सबै सामू नाङ्गिएको थियो । नेपालमा पनि यसको भद्दा नमूना बेलाबेलामा प्रस्तुत हुने गरेको छ ।

मानव शरीरमा एचआइभी भाइरस छिरेपछि जसरी त्यसले शरीरको आन्तरिक प्रतिरोध प्रणालीलाई समाप्त गर्छ, कम्युनिस्ट पार्टीमा यो भाइरस छिरेपछि यसले पार्टीको सम्पूर्ण एकमना एकता कायम गर्ने सक्ने आफ्नो आन्तरिक प्रतिरोधात्मक क्षमता र नेतृत्वको केन्द्रीकरणको प्रश्नलाई समाप्त गरिदिन्छ ।

ख. निर्वाचन (भोटिङ) नेतृत्व चयनको पुँजीवादी प्रणाली हो, जुन सो व्यवस्थाको सुन्दरता पनि हो । यो सामन्तवादी जहानियाँ प्रणालीभन्दा उत्तम छ तर लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी तथा समाजवादी नेतृत्व चयन प्रणाली भन्दा निम्न कोटीको छ । कम्युनिस्टहरु र तिनका जनवर्गीय संगठनहरुले उच्च कोटीको नेतृत्व चयन प्रणालीबाट निम्न कोटीको पुँजीवादी (निर्वाचन) प्रणालीतिर प्रतिगामी छलाङ मार्ने होइन । अझ अगाडि बढ्न सक्नु पर्छ ।

ग. आन्तरिक जनवादका नाममा कम्युनिस्ट पार्टीमा निर्वाचन गर्ने कुराले व्यक्तिलाई स्वतन्त्र, स्वच्छन्द र अराजक हुँदै व्यक्तिवादी, आत्मकेन्द्रित, स्वार्थी, गुटवादी, मनोगत र अराजक बनाउँछ । यो कम्युनिस्ट पार्टीको संगठनात्मक संरचनालाई पुँजीवादीकरण गर्ने माध्यम हो । सार पक्षलाई पुँजीवादीकरण गरेपछि रुप पक्ष त स्वत पुँजीवादीकरण हुन पुग्दछ ।

घ. निर्वाचनमा जित=हार स्वभाविक छ । निर्वाचनमा उमेद्वारी दिने तर पराजित हुने आधा पंक्तिलाई संगठनबाट बाहिर पुराइदिन्छ, तिनलाई संगठनात्मक रुपमा निष्कृय गराउँछ र संगठन तथा आन्दोलनको जीवनमा पक्षघात ल्याउँछ । त्यतिमात्र नभएर जित्ने पक्षमा विजयको अहंकार र पराजितहरुमाथि दमन गर्ने प्रवृति विकास गराउँछ भने हार्ने पक्षमा प्रतिसोधको भावनाको विकास गराई संगठनमा विखण्डन ल्याउँछ ।

कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनहरुको मूल नेतृत्व (अध्यक्ष तथा पदाधिकारीहरु) लेनिनवादी ढंगले चयन गर्नुपर्छ ।

ङ. सबै जनवर्गीय संगठनहरु जस्तै अखिल क्रान्तिकारी पनि नेकपा (माओवादी केन्द्र)को भातृ संगठन हुनुको नाताले यो संगठन अर्धस्वायत्त छ । यसका कार्यकर्ताहरुलाई पूर्ण रुपमा स्वतन्त्र र स्वच्छन्द तरिकाले काम गर्ने अधिकार छैन । यसले निर्माण गर्ने संगठन र अबलम्बन गर्ने नीति तथा कार्यक्रम पार्टीको नीति तथा कार्यक्रमको तादात्मयतामा हुनु जरुरी छ । तसर्थ यसको संगठनको कार्यकारी नेतृत्वदायी निकायको रुपमा रहेको केन्द्रीय समिति निर्माण गर्दा पार्टीभित्रका सबै पाटा र पक्षहरु प्रतिबिम्बित हुने ढंगले निर्माण गर्नु पर्छ ।

च. तसर्थ कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनहरुको मूल नेतृत्व (अध्यक्ष तथा पदाधिकारीहरु) लेनिनवादी ढंगले चयन गर्नुपर्छ । त्यसरी विद्यार्थी संगठनको मूल नेतृत्व चयन गर्दा आम विद्यार्थी पंक्तिमा लोकप्रिय, समग्र विद्यार्थी आन्दोलनमा स्थापित, प्रतिस्पर्धी संगठनहरुसँग प्रतिस्पर्धा गर्न सक्ने, पार्टी र क्रान्तिप्रति निष्ठावान, पार्टीको मूल नेतृत्वले वर्तमानमा भरोसा र भविष्यमा आशा गर्ने नेता एवम् त्यस्ता नेताहरुको टिम छान्नु पर्छ । त्यसका लागि विद्यार्थी संगठनका पुराना नेताहरुले पूर्ण रुपमा सहयोग र मार्गनिर्देशन गर्नु पर्दछ । चयन भएको नेतृत्वले पनि यस प्रक्रियामा भएका सम्पूर्ण लबिङ, उमेद्वारी वा अन्य आरोप=प्रत्यारोप समेतलाई बिर्सेर सबैलाई समेट्दै समग्र संगठन र आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता : संयोग वा राजनीतिक सन्देश ?

पूर्ण घर्ति गणतन्त्र कुनै औपचारिक शब्द होइन। यो नेपाली जनताले दशकौंको संघर्ष, जनआन्दोलन, बलिदान र राजनीतिक रूपान्तरणको प्रक्रियाबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। त्यसैले जेठ १५ केवल क्यालेन्डरको एउटा मिति मात्र होइन, यो नेपाली राज्यको चरित्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन भएको दिन हो। यही दिनमा राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री मौन बस्नु सामान्य घटना मान्न सकिँदैन। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै सभापतित्वमा सम्पन्न गणतन्त्र दिवसको औपचारिक समारोहमा सम्बोधन नगर्नु त छँदैछ, त्यसबाहेक पनि उनले यस राष्ट्रिय अवसरमा कुनै शुभकामना सन्देश जारी गरेनन्, गणतन्त्रको ऐतिहासिक महत्वबारे कुनै धारणा व्यक्त गरेनन् र जनतालाई सम्बोधन गर्न आवश्यकसमेत ठानेनन्। यसले स्वाभाविक रूपमा एउटा प्रश्न जन्माएको छ—के यो केवल व्यक्तिगत शैली हो, वा गणतन्त्रप्रति रहेको राजनीतिक असहजताको अभिव्यक्ति ? राजनीतिमा मौनता कहिल्यै पूर्णतः तटस्थ हुँदैन। विशेषतः त्यो मौनता राष्ट्रको कार्यकारी प्रमुखबाट आएको हो भने झन् हुँदैन। नयाँ वर्षमा शुभकामना दिने, धार्मिक पर्वमा सन्देश जारी गर्ने, सामाजिक विषयमा निरन्तर अभिव्यक्ति दिने प्रधानमन्त्रीले गणतन्त्र दिवसमा मात्र मौनता रोज्नु संयोगका रूपमा व्याख्या गर्न कठिन छ। गणतन्त्र दिवसमा शुभकामना दिनु कुनै दल वा विचारधाराको समर्थन गर्नु होइन। त्यो संविधानले परिभाषित गरेको राज्य व्यवस्थाप्रति सम्मान व्यक्त गर्नु हो। प्रधानमन्त्रीले संविधानको शपथ खाएर पद ग्रहण गरेका हुन्छन्। त्यसैले गणतन्त्र दिवसमा अभिव्यक्ति दिनु वैकल्पिक सौजन्यको विषय होइन, संवैधानिक संस्कार र राजनीतिक उत्तरदायित्वको विषय हो। कम्तीमा पनि गणतन्त्रप्रति आफ्नो सम्मान सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने नेतृत्वमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ। यहाँ प्रश्न प्रधानमन्त्रीले विगतमा राजतन्त्रको समर्थन गरे कि गरेनन् भन्ने मात्र होइन। मूल प्रश्न यो हो कि उनले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो सार्वजनिक प्रतिबद्धता किन प्रष्ट पार्न चाहेनन् रु लोकतान्त्रिक नेतृत्वको दायित्व केवल सरकार सञ्चालनमा सीमित हुँदैनस त्यो राष्ट्रिय मूल्य, संवैधानिक व्यवस्था र ऐतिहासिक उपलब्धिप्रति पनि स्पष्ट अडान राख्नुपर्ने विषय हो। बालेन्द्र शाहको राजनीतिक उदय परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिबाट भएको हो। उनले भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक विकृतिविरुद्ध जनमत निर्माण गरे। तर एउटा महत्वपूर्ण तथ्य बिर्सनु हुँदैन—दलहरूको असफलता गणतन्त्रको असफलता होइन। सरकारहरूको कमजोरी संविधानको कमजोरी होइन। संविधानमा रहेका कमी–कमजोरी सुधार्ने, संशोधन गर्ने र समयानुकूल परिमार्जन गर्ने लोकतान्त्रिक बाटो खुला नै छ। यही कारणले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता अझ गम्भीर देखिन्छ। किनभने यसले दलविरोध र व्यवस्थाविरोधबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम पैदा गर्छ। यदि प्रधानमन्त्री गणतन्त्रप्रति असहमत छन् भने त्यसबारे स्पष्ट राजनीतिक बहस गर्न सक्नुपर्छ। यदि उनी गणतन्त्रवादी हुन् भने त्यसको पनि सार्वजनिक अभिव्यक्ति आवश्यक छ। तर संविधानको शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, अनि गणतन्त्र दिवसमा मौन बसेर सबै पक्षलाई आफ्नो–आफ्नो व्याख्या गर्ने अवसर दिनु जिम्मेवार राजनीतिक नेतृत्वको शैली मान्न सकिँदैन। नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न असन्तुष्टि र आलोचना भए पनि समग्र जनमत गणतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रत्येक सार्वजनिक व्यवहार राजनीतिक सन्देशमा रूपान्तरित हुन्छ। उनले बोलेका शब्दले मात्र होइन, उनले नबोलेका शब्दले पनि राजनीतिक अर्थ निर्माण गर्छन्। त्यसैले उनी गणतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्ने विषयमा स्वयं उनले स्पष्ट धारणा राख्नु आवश्यक छ। गणतन्त्र दिवसमा देखिएको मौनताले गणतान्त्रिक संस्कारप्रतिको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत दिएको छ। राष्ट्रको प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक उपलब्धिप्रति सम्मान व्यक्त गर्न आवश्यक ठानेनन् भने त्यसले नागरिकमा स्वाभाविक रूपमा जिज्ञासा, प्रश्न र शंका जन्माउँछ। लोकतन्त्रमा प्रश्न उठाउनु विरोध होइनस उत्तर खोज्नु नागरिक कर्तव्य हो। त्यसैले आजको मुख्य प्रश्न प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्रवादी हुन् कि होइनन् भन्ने मात्र होइन। मुख्य प्रश्न यो हो कि गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा उनले किन मौनता रोजे ? जब राष्ट्रको कार्यकारी प्रमुख बोल्नुपर्ने दिनमा मौन बस्छ, त्यो मौनता आफैं एउटा राजनीतिक अभिव्यक्ति बन्छ। इतिहासले प्रायः यस्ता मौनताहरूलाई पनि शब्दसरह गम्भीरताका साथ मूल्याङ्कन गर्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता पनि भविष्यमा नेपालको राजनीतिक इतिहास र गणतान्त्रिक संस्कारको बहसमा एउटा सन्दर्भ बिन्दुका रूपमा स्मरण गरिन सक्नेछ। अन्ततः यसको वास्तविक अर्थ र उद्देश्यको मूल्याङ्कन समयले नै गर्नेछ।

प्रधानन्यायाधीश सिफारिसः वरिष्ठता कि सत्ता इच्छा ?

विदुर कटुवाल काठमाडौं । नेपालको संवैधानिक इतिहासमा विरलै देखिने एक प्रकारको तनाव अहिले संवैधानिक परिषद्को निर्णयसँगै सतहमा आएको छ ।  प्रधानन्यायाधीश नियुक्तिजस्तो संवेदनशील र दूरगामी प्रभाव पार्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले परम्परागत वरिष्ठता क्रमलाई पन्छाउँदै डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सत्ता र विपक्षबीचको राजनीतिक दूरी मात्र बढेको छैन, न्यायपालिकाको स्वतन्त्रता, संवैधानिक संस्कार र संस्थागत स्थायित्वबारे गम्भीर बहस पनि सुरु भएको छ । यस विवादलाई अझ विस्फोटक बनाउने काम परिषद्भित्रकै दुई प्रभावशाली सदस्य–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले गरेका छन् ।  उनीहरूले प्रधानमन्त्रीको प्रस्तावविरुद्ध लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै खुला असहमति जनाएपछि संवैधानिक परिषद्भित्रै असाधारण दरार देखिएको हो । सामान्यतया परिषद्का निर्णयहरू गोप्य सहमतिका आधारमा टुंग्याइने अभ्यास रहँदै आएको अवस्थामा सार्वजनिक असहमति आफैंमा ठूलो राजनीतिक सन्देश मानिएको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा धेरै उठिरहेको प्रश्न एउटै छ–प्रधानमन्त्री बालेन वास्तवमै ‘नयाँ अभ्यास’ को सुरुवात गर्न खोजिरहेका हुन्, कि न्यायपालिकाभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिमपूर्ण प्रयोग ? प्रधानमन्त्री शाहले परिषद् बैठकमा डा‍‍. शर्मालाई ‘स्वतन्त्र, प्राज्ञिक र अराजनीतिक व्यक्तित्व’ भन्दै प्रस्ताव गरेका थिए । उनी निकट स्रोतहरूका अनुसार बालेनले परम्परागत वरिष्ठता प्रणालीभन्दा ‘मेरिट र कार्यक्षमता’ लाई प्राथमिकता दिनुपर्ने तर्क गरेका थिए । तर परिषद्का विपक्षी सदस्यहरूले भने यो तर्कलाई संवैधानिक अभ्यास तोड्ने खतरनाक बहानाका रूपमा व्याख्या गरेका छन् । नेपालको न्यायपालिकामा वरिष्ठता प्रणाली कुनै लिखित संवैधानिक बाध्यता नभए पनि दशकौंको संस्थागत अभ्यासका रूपमा स्थापित छ । सर्वोच्च अदालतभित्र वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराले न्यायिक स्थायित्व, पूर्वानुमेयता र आन्तरिक विश्वास कायम गर्न सहयोग गरेको मानिन्छ । यही कारण वरिष्ठता तोडिने हरेक प्रयासलाई न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपका रूपमा हेरिने गरिन्छ । यही संवेदनशील बिन्दुमा अहिले विवाद चर्किएको हो । विपक्षी नेता आङ्देम्बे र राष्ट्रियसभा अध्यक्ष दाहालले आफ्नो लिखित असहमतिमा ‘प्रधानन्यायाधीश नियुक्ति कुनै व्यक्तिको इच्छाअनुसार होइन, संवैधानिक संस्कार र विधिसम्मत प्रक्रियाअनुसार हुनुपर्छ’ भन्ने स्पष्ट अडान राखेका छन् । उनीहरूको यो कदमलाई धेरैले संस्थागत पारदर्शिता र लोकतान्त्रिक मूल्यको पक्षमा गरिएको साहसी हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रमुख विपक्षी नेता आङ्देम्बेले परिषद्भित्रै खुलेर प्रतिरोध जनाउनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । सत्ता पक्षको निर्णयलाई बैठकमै चुनौती दिनु केवल औपचारिक असहमति होइन, यो सरकारको शैलीप्रतिको प्रत्यक्ष राजनीतिक प्रतिरोध हो । उनले ‘न्यायपालिकाको गरिमामा सम्झौता नगर्ने’ संकेत दिएका छन् । यसले आगामी दिनमा संसद् र सडक दुवैमा यो मुद्दा चर्किन सक्ने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेनको यो कदमले दुईवटा सन्देश दिएको छ । पहिलो–उनी पुराना राजनीतिक दलहरूले निर्माण गरेका परम्परागत शक्ति संरचनालाई चुनौती दिन चाहन्छन् । दोस्रो–उनी संस्थागत अभ्यासभन्दा व्यक्तिगत दृष्टिकोणलाई बढी प्राथमिकता दिन तयार छन् । तर यही दोस्रो पक्ष अहिले उनको सबैभन्दा ठूलो आलोचनाको कारण बनेको छ । आलोचकहरूको प्रश्न स्पष्ट छ–यदि प्रत्येक सरकारले आफ्नो राजनीतिक वा वैचारिक सुविधाअनुसार वरिष्ठता तोड्दै ‘योग्य व्यक्ति’ को नाममा नियुक्ति गर्न थाल्यो भने न्यायपालिकाको संस्थागत स्वतन्त्रता कसरी सुरक्षित रहन्छ ? आज एक व्यक्तिलाई ‘योग्य’ भन्दै नियम बदल्ने हो भने भोलि अर्को सरकारले त्यही अभ्यासलाई अझ राजनीतिक रूपमा प्रयोग गर्न सक्दैन ? कानुन व्यवसायीहरू पनि अहिले विभाजित देखिएका छन् । केहीले ‘मेरिट आधारित नियुक्ति’  को बहसलाई स्वागत गरे पनि धेरै वरिष्ठ अधिवक्ताहरूले न्यायालयभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिम बढेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार न्यायपालिका केवल दक्ष व्यक्तिको नेतृत्वले मात्र चल्दैन, त्यसको आधार संस्थागत विश्वास, परम्परा र निष्पक्षताको सार्वजनिक अनुभूति पनि हो । यदि त्यो अनुभूति कमजोर भयो भने अदालतको निर्णयप्रतिको सामाजिक विश्वास समेत खस्कन सक्छ । नागरिक समाजका केही प्रतिनिधिहरूले समेत यो घटनालाई गम्भीर रूपमा लिएका छन् । उनीहरूको तर्क छ–लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन अत्यन्त संवेदनशील विषय हो । यदि कार्यपालिकाले न्यायपालिकाको नेतृत्व चयनमा अत्यधिक प्रभाव जमाउन थाल्यो भने अन्ततः लोकतान्त्रिक संरचनामै असन्तुलन पैदा हुन सक्छ । यस विवादको अर्को महत्वपूर्ण पक्ष डा. मनोजकुमार शर्माको सम्भावित कार्यकालसँग जोडिएको छ । स्रोतहरूका अनुसार उनी प्रधानन्यायाधीश नियुक्त भएमा करिब ६ वर्षसम्म पदमा रहन सक्नेछन् । नेपालको सन्दर्भमा यो अत्यन्त लामो अवधि मानिन्छ । त्यसैले यो नियुक्ति सामान्य प्रशासनिक निर्णयभन्दा धेरै ठूलो राजनीतिक र संवैधानिक महत्वको विषय बनेको हो । यही कारण अहिलेको बहस केवल ‘को प्रधानन्यायाधीश बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन । असली बहस त न्यायपालिकाको भविष्य कस्तो हुने भन्नेमा केन्द्रित हुँदै गएको छ । न्यायालय विधि, परम्परा र संस्थागत सहमतिबाट चल्ने कि राजनीतिक शक्ति केन्द्रहरूको प्राथमिकताबाट ? प्रधानमन्त्री बालेनले आफूलाई ‘पुरानो राजनीतिक संस्कार तोड्ने नेता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले परम्परागत दलहरूको आलोचना गर्दै ‘नयाँ राजनीतिक संस्कृति’ को वकालत पनि बारम्बार गरेका छन् । तर आलोचकहरू भन्छन्–संस्कार तोड्ने नाममा संस्थागत सन्तुलन नै भत्काउन थालियो भने त्यो परिवर्तन होइन, अस्थिरताको सुरुवात हुन सक्छ । संवैधानिक परिषद्भित्र सार्वजनिक रूपमा देखिएको यो असहमति आगामी दिनमा अझ ठूलो राजनीतिक संघर्षको संकेत हुन सक्छ । विपक्षी दलहरूले यसलाई ‘संवैधानिक निकायमाथिको सत्ता हस्तक्षेप’ का रूपमा प्रचार गर्ने सम्भावना बलियो देखिएको छ । उता सत्ता पक्ष भने ‘पुरानो शक्ति समूहको प्रतिरोध’ भन्दै आफ्नो कदमलाई सुधारवादी निर्णयका रूपमा प्रस्तुत गर्न प्रयासरत देखिन्छ । तर जे भए पनि एउटा तथ्य स्पष्ट भएको छ–प्रधानन्यायाधीश सिफारिसको यो विवादले नेपालको राजनीतिक बहसलाई गहिरो मोडमा पुर्‍याएको छ । अब यो केवल व्यक्तिको नियुक्तिको प्रश्न रहेन । यो प्रश्न बनेको छ–नेपालको लोकतन्त्र संस्थागत विधि र संवैधानिक संस्कारले चल्ने कि सत्ताको इच्छाअनुसार नयाँ परिभाषा निर्माण हुँदै जाने ? आगामी दिनमा यही प्रश्नले सरकार, विपक्ष, न्यायपालिका र नागरिक समाजबीचको सम्बन्धको दिशा तय गर्नेछ । अनि शायद, यही विवादले भविष्यको नेपालको लोकतान्त्रिक चरित्रसमेत परिभाषित गर्नेछ ।

सुकुमबासीप्रति राज्यको जिम्मेवारी: मानवीयता संवेदना किन जरुरी ?

विदुर कटुवाल काठमाडाैं । काठमाडौं उपत्यकामा नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी अभियान आजदेखि फेरि सुरु भएको छ । वर्षौँदेखि अनौपचारिक रूपमा बसोबास गर्दै आएका हजारौँ परिवारलाई उठीबास लगाउने यो कदम केवल भौतिक संरचना हटाउने प्रशासनिक काम मात्र होइन, यसले समाजको सबैभन्दा कमजोर वर्गमाथि प्रत्यक्ष असर पार्ने मानवीय प्रश्न पनि हो । सरकारले ‘वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गरिने’ आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो संवेदनशीलता कत्तिको देखिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ ।  सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने सुकुमबासी समस्या एकरातमा जन्मिएको होइन । यो दशकौँदेखि जमेको सामाजिक–आर्थिक असमानताको परिणाम हो । गाउँमा रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको सीमित पहुँच, प्राकृतिक विपत्ति तथा द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरू बाँच्ने विकल्प खोज्दै सहर पस्छन् । सहरले उनीहरूलाई अवसर त दिन्छ, तर सम्मानजनक आवास दिन सक्दैन । अन्ततः उनीहरू नदी किनार, सार्वजनिक जमिन वा जोखिमयुक्त स्थानमा बस्न बाध्य हुन्छन् । यस्तो यथार्थलाई बेवास्ता गर्दै केवल ‘अवैध संरचना’ भनेर हटाउनु समस्याको समाधान होइन, बरु त्यसलाई झन् जटिल बनाउने कदम हो । सरकारको अहिलेको कदममा सबैभन्दा ठूलो कमजोरी मानवीय दृष्टिकोणको अभाव हो । कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास लगाउनु राज्यको दायित्वबाट पन्छिनु हो । विशेषगरी बालबालिका, गर्भवती र सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहको अवस्थालाई प्राथमिकतामा राखिनुपर्थ्यो । उनीहरूका लागि अस्थायी आवास, स्वास्थ्य सेवा, पोषणयुक्त खाद्य सामग्री र मनोसामाजिक सहयोगको व्यवस्था नगरी गरिएको हटाउने अभियान अमानवीय मात्र होइन, गैरजिम्मेवार पनि देखिन्छ । अर्कोतर्फ, सुकुमबासीको नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने र निजी स्वार्थका लागि फाइदा लिने प्रवृत्तिलाई पनि बेवास्ता गर्न मिल्दैन । वास्तवमा सबै सुकुमबासी एउटै प्रकृतिका छैनन् । केहीसँग अन्यत्र घरजग्गा हुन सक्छ, केहीले योजनाबद्ध रूपमा सार्वजनिक जमिन कब्जा गरेका पनि हुन सक्छन् । तर यसै आधारमा सबैलाई एउटै तराजुमा राखेर कारबाही गर्नु न्यायसंगत हुँदैन । राज्यको दायित्व भनेको वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, रोजगारी र सामाजिक सुरक्षाको पहुँच उपलब्ध गराउनु हो, न कि सबैलाई एउटै समूहमा राखेर हटाउनु । सरकारले यस विषयलाई केवल ‘व्यवस्थापन’को समस्या जस्तो देखाउन खोजेको छ, तर यो मूलतः गरिबी, असमानता र विकासको असन्तुलनसँग जोडिएको गहिरो संरचनात्मक समस्या हो । अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक अस्थिरता, ऊर्जा संकट र रोजगारीमा आएको गिरावटले गरिब वर्गलाई झन् प्रभावित बनाइरहेको छ । नेपालजस्तो आयातमा निर्भर र विप्रेषणमा आधारित अर्थतन्त्रमा यसको प्रभाव अझ गहिरो हुन्छ । वैदेशिक रोजगारी घट्दा परिवारको आम्दानी घट्छ, उपभोग कम हुन्छ र अन्ततः सहरमा बस्ने न्यून आय भएका वर्गहरू प्रत्यक्ष मारमा पर्छन् । यस्तो अवस्थामा सुकुमबासी हटाउने जस्ता कदमले उनीहरूको जीवन अझ असुरक्षित बनाउँछ । घर मात्र होइन, उनीहरूले सानो–सानो रोजगारीका अवसर पनि गुमाउँछन् । दैनिक ज्याला मजदुरी गर्ने, सडक व्यापार गर्ने वा साना सेवा व्यवसायमा संलग्न मानिसहरूका लागि स्थान परिवर्तन गर्नु भनेको आम्दानीको स्रोत गुमाउनु हो । त्यसपछि उनीहरू अपराध, शोषण वा मानव तस्करी जस्ता जोखिममा पर्न सक्ने सम्भावना बढ्छ । सरकारले यस्ता दीर्घकालीन प्रभावको मूल्याङ्कन गरेको देखिँदैन । सरकारको अर्को आलोचनायोग्य पक्ष भनेको तथ्याङ्क र वास्तविकताको बीचको अन्तर हो । प्रायः सरकारी निकायहरू आर्थिक सूचकहरू राम्रो देखाउनमा केन्द्रित हुन्छन्, तर जमिनस्तरको यथार्थ फरक हुन्छ । गरिबी घटेको, रोजगारी बढेको वा विकास तीव्र भएको दाबी गरिए पनि सहरका झुपडी बस्तीहरू विस्तार हुँदै जानु आफैंमा त्यसको खण्डन हो । यदि नीतिहरू प्रभावकारी हुन्थे भने सुकुमबासीको संख्या घट्नुपर्ने हो, बढ्ने होइन । यसैले, अहिलेको परिस्थितिमा सरकारको प्राथमिकता स्पष्ट हुनुपर्छ । पहिलो, कुनै पनि हटाउने अभियान अघि वैकल्पिक आवासको सुनिश्चितता अनिवार्य हुनुपर्छ । दोस्रो, सुकुमबासीलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । तेस्रो, सामाजिक सुरक्षा सञ्जाललाई विस्तार गरी कमजोर वर्गलाई लक्षित सहायता उपलब्ध गराउनुपर्छ । चौथो, स्वास्थ्य र शिक्षामा सहुलियत दिई उनीहरूको जीवनस्तर सुधार गर्ने प्रयास गर्नुपर्छ । यसका साथै बजार अनुगमन प्रभावकारी बनाउन पनि जरुरी छ । कृत्रिम अभाव, कालोबजारी र अनियन्त्रित मूल्यवृद्धिले गरिब वर्गलाई सबैभन्दा बढी असर गर्छ । सरकारले कर छुट, सहुलियत र नियमनका माध्यमबाट अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्नुपर्छ । तर यी सबै अल्पकालीन उपाय मात्र हुन्। दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग विस्तार र आन्तरिक रोजगारी सिर्जना अपरिहार्य छ । अन्ततः, सुकुमबासी समस्या समाधान गर्न राजनीतिक इच्छाशक्ति र मानवीय संवेदनशीलता दुवै आवश्यक छन् । केवल कानुनी आधारमा संरचना हटाउनु सजिलो छ, तर मानिसको जीवन पुनःस्थापित गर्नु कठिन काम हो । यही कठिन काम गर्न सक्नु नै राज्यको असली परीक्षा हो । यदि सरकारले उठीबास गरिएका नागरिकलाई सम्मानजनक जीवन दिन सक्यो भने मात्र यो अभियान सफल मानिनेछ । अन्यथा, यो केवल गरिबमाथि अर्को अन्यायको अध्याय बन्नेछ । सरकारले अब निर्णय लिनुपर्छ-उसले विकासको नाममा कमजोरलाई विस्थापित गर्ने हो कि समावेशी नीति अपनाएर सबै नागरिकलाई साथ लिएर अघि बढ्ने हो । यही निर्णयले नेपालको सामाजिक न्यायको भविष्य निर्धारण गर्नेछ ।

सत्ताको 'उचाइ' र विधिको 'धरातल':  नयाँ आवरणमा पुरानै प्रवृत्ति

पूर्णबहादुर घर्ती  १. नयाँ आवरणमा पुरानै प्रवृत्ति:  नेपाली राजनीति अहिले एउटा विचित्रको संक्रमणकालबाट गुज्रिरहेको छ। 'पुराना' दलहरूको असफलताको जगमा 'नयाँ' शक्तिहरूको उदय त भयो, तर कार्यशैलीमा भने एउटा साझा र खतरनाक चरित्र हावी हुन थालेको छI  सस्तो लोकप्रियतावाद (Populism) र संस्थागत बेवास्ता। जनअपेक्षालाई सुशासनमा बदल्नुको साटो सत्ताको बागडोर सम्हालेका पात्रहरूले नै राज्यका दुई मुख्य स्तम्भ-  व्यवस्थापिका (सदन) र न्यायपालिका (अदालत) को मर्यादालाई नजरअन्दाज गरिरहेका छन्। २. सैद्धान्तिक विचलन:  लोकतन्त्रको आत्मा भनेको 'बहस' र 'सहमति' हो। तर, वर्तमान परिदृश्यले अर्कै संकेत गरिरहेको छ: * सदनको उपेक्षा: जनप्रतिनिधिहरूको सर्वोच्च थलो 'सदन' लाई जीवन्त बहसको केन्द्र बनाउनुको साटो राष्ट्रपतिलाई आह्वान गर्न लगाईएको सदन  विनाकुनै कारण  स्थगन गरिनुले संसदीय सर्वोच्चताको उपहास र राष्ट्रपतिलाई रबर स्ट्याम्प जस्तो वनाईएको छ । प्रचण्ड बहुमत हुँदाहुँदै पनि जब शासकहरूले अलोकतान्त्रीक र  हुकुमी शासनको बाटो रोज्छन् छिट्टै पतनको दिशामा पुग्छन् ।  * लोकप्रियतावादको पासो: लोकप्रियताका लागि गरिने 'स्टन्ट' हरूले तत्कालका लागि सामाजिक सञ्जालमा ताली त पाउँछन्, तर यसले समाजमा गहिरो विभाजन निम्त्याउँछ। सुकुम्बासी समस्यालाई मानवीय र आर्थिक पाटोबाट हेर्नुको साटो केवल 'अतिक्रमणकारी' को लेभल लगाएर बल प्रयोग गर्नु शासकको अनुदारवादी र निरंकुश चरित्रको उपज हो। ३. कानुनी राज्यको उपहास: नेपालको संविधानले नागरिकको 'आवासको हक' लाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। तर, व्यवहारमा विधिको शासनलाई शक्तिको आडमा थिचिएको देखिन्छ।  * अदालतको अवज्ञा: सर्वोच्च अदालतले २०८० मा दिएको "वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती नहटाउनु" भन्ने आदेशको पालना नगर्नु सिधै अदालतको मानहानि मात्र होइन, बरु लोकतान्त्रिक मूल्यमान्यता माथिको गम्भीर प्रहार हो। * संस्थागत पद्धतिलाई बाइपास: भूमि आयोग जस्ता संवैधानिक र कानुनी संयन्त्रलाई परामर्श र समन्वयमा सामेल नगरी 'डोजर' चलाउने आदेश जारी गर्नुले राज्यका स्थापित संस्थाहरूलाई कमजोर बनाउने र व्यक्तिलाई हाबी गराउने प्रवृत्तिको पुष्टि गर्छ। ४. काँधमा चढेको बच्चाको मनोविज्ञान:  अहिलेको सत्ता सञ्चालनमा एउटा रोचक तर भयावह 'मनोविज्ञान' देखिएको छ। जनमतको काँधमा चढेर शक्तिमा पुगेका पात्रहरूले आफूलाई संसारकै अग्लो ठान्ने भ्रम पालेका छन्। * नयाँ शक्तिको विरोधाभास: 'जान्नेलाई छान्ने' भन्दै आएका शक्तिहरूले 'एकाधिकारवादी' शैलीलाई नै निरन्तरता दिने हो भने, जनतामा "जुन जोगी आए पनि कानै चिरेको" भन्ने निराशा बढ्नु स्वाभाविक छ। * सेलिब्रेटी संस्कृति र पद्धति: राजनीति जब 'सिस्टम' मा भन्दा पनि 'सेलिब्रेटी' र 'फ्यान फलोइङ' मा आधारित हुन्छ, तब संस्थागत जवाफदेहिता हराउँदै जान्छ। यसले बिस्तारै 'निर्वाचित अधिनायकवाद' लाई आमन्त्रण गर्छ। ५. निष्कर्ष र निकासको बाटो शासकले आफ्नो उचाइ आफू उभिएको धरातल (कानुन र संविधान) बाट नाप्नुपर्छ, अरूको काँधबाट होइन। अहिलेको संकटबाट निकासका लागि निम्न बुँदाहरू अनिवार्य छन्: 1.संवैधानिक सम्मान: सरकारले अदालतको आदेश र संविधानको धारा ३७ (आवासको हक) लाई पूर्ण रूपमा पालना गर्नुपर्छ। 2.संसदीय सक्रियता: जटिल मुद्दाहरूलाई सदनमा लगेर व्यापक छलफलबाट मात्र कानुन र नीति निर्माण गरिनुपर्छ। 3. मानवीय व्यवस्थापन: सुकुम्बासी समस्याको समाधान 'डोजर' होइन, 'पुनर्स्थापना' र 'वैज्ञानिक पहिचान' हो। वास्तविक सुकुम्बासी र भू-माफिया छुट्ट्याउने वैज्ञानिक विधि अपनाउनु नै सुशासनको पहिलो कदम हो। अन्त्यमा, जबसम्म पद्धतिलाई व्यक्तिभन्दा माथि राखिँदैन र राज्यका संस्थाहरूलाई खेलौना बनाइन्छ, तबसम्म लोकतन्त्रको आवरणमा अराजकता मात्र मौलाइरहनेछ जो छिट्टै पतनको दिशामा जान्छ । लेखक : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । (२०८३ / ०१ / १२)  

लोकप्रिय