कथाः गैरी खेत

ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो ठुल दिदी माथिल्ला गडाबाट कराइन्।
जेठको २५ लागिसकेको थियो। वर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो। गाउँभरिको मुलघर प्रधान ठुला-बाको थियो त्यसपछि हाम्रै घर थियो। मेरा बा गाउका मुखिया थिए। मुखियाको रोपाइँ भएर होला सायद त्यो बेलामा गाउँभरिका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो।
रोपाइँका गडाबाट म दौडिंदै विउ गडामा गएर बिउका आँठाहरू रोपाइँ गडातिर हुर्राए। हाम्रो त्यो जमानामा गैरी खेतका नामले प्रचलित बुढापाकाले तौलिने पाथीको २० पाथी बिउ लाग्ने खोला खेत थियो। खोलाबाट नजिकै र कुलोको मुखमा भएर होला हाम्रो गैरी खेत सधैं सधैं जेठ महिनामै रोपिन्थ्यो।
परम्परागत रोपाइँको एउटा मान्यता छ पश्चिम नेपालका पहाडी जिल्लातिर। सबै रोपेपछि मात्रै अन्तिममा रोप्न पर्ने दाइँ हाल्ने गडा जुन गडाको आकार ठुलो हुन्छ फराकिलो हुन्छ। अन्तिममा पालो त्यही गडाको थियो। तल्ला गडामा आलीलाई थपथपाइरहको कमलदाइलाई साइँली भाउजूले आएर हिलोमा चुम्लुङै डुबाइदिन, कमल दाइ पनि उठेर साइँली भाउजूलाई हिलोले पोत्न थाले। त्यसपछि सबै साली भिनाजु, सोल्टी सोल्टीना देवर भाउजूको हिलो हाना हान चल्न थाल्यो। वेठीका बाजाहरू पनि मज्जैले घन्किन थाले।
म भने अलि सानै भएकोले वेठीहरुको नजिकै गएर हिलो खेलेको हेरिरहेको थिए। पछाडिबाट हिलोले जब जिउ चिसो बनाएको भान भयो। तब पछाडि फर्किएँ त हातभरि हिलो समाएर मैतिर दौडिरहेकी मेरी बालसखा कल्पनालाई देखें। लौ म त कराउदै भाग्न थालें, “ए मुसी काँ मलाई हान्दै छेस्, हेर् नचल है तँ, मैले भन्देको छु नि फेरि, राम्रो हुन्न नि १”
किन रोकीन्थी र मुसी, हानी हाली मेरा कपडाभरि हिलो भयो। म पनि के कम र मुसीका हात समाएर रोपाइँ गडातिर ताने हलीले भरखरै बनाएको रोपाइँ गडामा मुसीलाई हिलोमा चुम्लुम्मै पछारे, मुसी हिलोले नचिन्निने भई। सबै कराए, ए हेर त यो हरि र मुसीको हिलो कति रमाइलो १ भन्दै सबै हामीतिरमात्रै हेर्न थाले। मुसी पनि लाजले जुरुक्क उठी र मलाई हिलोमा पछार्न लागी परी। कसरी कसरी फेरि मुसी नै हिलोमा पछारिई, तर उसले मेरो हात समातिरहेकोले मलाई पनि सँगै तानीहाली।
कस्तो अचम्म म उत्तानो परेको थिएँ, मेरो माथि मुसी थिई। सबैजना हाँस्दै हाँस्दै ताली बजाउन थाले। मुसी मलाई खाइस बल्ल खाइस हैन हर्यौ भन्दै मेरो अनुहार पढिरहेकी थिई। मेरो पालो मुसीलाई तल फालेर हाल समाउदै भन्न थालें, “ल खा त यै गडामा गाड्दिन्छु, यै बसेर धान खा मुसी।”
गाउँका पाखाहरुबाट बिस्तारै निशृप्त भई झरेका खहरे खोलाहरुले रोपाइँका दृश्यहरू मजैले नियाली हरेका हुन्थे। रोपाइँका गडाहरुबाट एकै लयमा घन्कीले रोपाइँका गीतहरुले मनमा बेग्लै आनन्दको अनुभूति दिलाइरहेको हुन्थ्यो। मायामा जोडिएका ढुकुरका जोडीहरू पारि भीरमा टुक्कुर टुर टुर गर्दै कराइरहेका हुन्थे। गोठाला गएका गोठालाहरुले वनै थर्किने गरी शान्त स्वरमा बजाएको मुरलीको मिठो सुरीलो धुनले मनका कुनाहरू शान्त पारेका हुन्थे।
रोपाइँ सकेपछि सबै जना उकालोमा जिस्किंदै गाउँदै रमाउँदै गाउँ पुगिन्थ्यो। जीवनका ५० वर्ष यसै गरी बिताएका मेरा बाजस्ता धेरै बाहरू यो उकालो हामीभन्दा रमाएरै सक्काउँथे। मेरा जेठा(बाले उकालोको बस्ने ढुङ्गामा पुगेर मलाई ईशारा गर्दै भने, ूहेर हरि, तेरा बाले तेरी आमालाई त्यही पारी न्याउलापुरबाट भगाएर यही उकालोमा दौडाएको थियो । बाबै, कम्तीका दुःख दिएको हैन तेरा बाले हामीलाई। म जेठा बातिर हेरेर मुसुक्क मुस्कुराएँ।
लगभग लगभग खोला खेतका सबै रोपाइँहरू सकिइसकेका थिए। कुलोको पालो अनुसारको रोपाइँ र खेतमा पानी लगाउने चलन मेरा बाले गाउँका सबै मानिसलाई बोलाएर नियम बनाइदिएका थिए। त्यसै अनुसार सबैले खेतमा पानी लगाउँथे। हाम्रो खेत र कल्पनाको खेतमा पानी लगाउने पालो बुधबार बिहान साँझ थियो। पहिले पहिले त सधैं बा नै जानुहुन्थ्यो खेतमा पानी लगाउन तर पछि बाले नभ्याउने भए पछि म जान थालें। कल्पनाका घरमा भने उसका दाइ नै आउथे। समयले कस्तो सन्जोक मिलाइदिंदो रहेछ जीवनका पलेटीहरुमा। मेरा बाले जब खेत धाउने समय पाएनन् त्यही समयमा कल्पनाको दाइ पनि इन्डिएन लाहुरे भर्ना भयो। अब उसका घरबाट पनि ऊ मात्रै भई खेत धाउनेमा। उसका घरमा ऊ र उसको दाइ मात्रै थिए सन्तानमा। उसका बा ठकुरी भएर होला, ऊ जमानामा अङ्ग्रेजले सिधै आर्मीमा भर्ना गरेको थियो। अहिले पनि उसका बा पल्टनमै छन्। र अब दाइ पनि भयो।
कल्पना र मेरो लगभग लगभग नियमित जस्तै भयो खेतमा पानी लगाउन जाने काम। हामी सुरु सरुमा त एक्लाएक्लै गयौं। एक दिन मैले कल्पनालाई सँगै जाने कुरा पस्किएँ, उसले पनि स्वीकार गरी। त्यस पछिका दिनहरुमा हामी गैरी खेत सँगसँगै धाउन थाल्यौ।
प्रकृतिको हराभरा सौन्दर्यतालाई नियाल्दै नियाल्दै हामी उकाली र ओराली एक महिनासम्म गर्यौं। यस समयमा कल्पनाको मप्रतिको चाह सोह्रै आना बढेको थियो। एक दिन उसले मेरो हात समाएर सुस्केरा हाल्दै भनी, हुरि, तँ कति राम्रो छस् है। मलाई नि त मन पर्न थालिसक्यो।
कल्पनाको यो कुरा मैले खासै चासो दिएर सुनिन। ऊ फेरि उकालीको बस्ने ढुङ्गामा थचक्क बसेर भन्न थाली, हरि, सुन न के मैले साँच्चै भनेको हो । तैँले यत्तिकै नसोच् न है । ऊ अलि सिरियस भएर भन्दै थिई। उसको यो सिरियसपनले गर्दा म पनि साँच्चिकै सिरियस भएछु।
उकालीको चुच्चे पिपलमा पुगेर मैले भनें, हेर मुसी, मलाई पनि तँ मन नपरेको हैन मन पर्छ। तर हाम्रो जात मिल्दैन घरकाले मान्दैनन्। हामी मात्रै एक भएर के हुन्छ र भन् त । मेरो यो जवाफमा ऊ केही बोलिन, मात्रै मायाले जितौंला नि! शिवाय।
खाना खाएर ओछ्यानमा पल्टिएँ। दिनमा मुसीले भनेका एक एक कुराहरू पालै पालो दोहोरिए र मानस पटलमा आइरहे। मान्छेले दैनिक गरेका कार्यहरुले उसको रात्रीकालीन स्वप्नील संसारमा पनि उत्तिकै प्रभाव पार्दो रहेछ। अनि फेरि माया भन्ने शब्द नि मलाई साह्रै अमूल्य लाग्छ, त्यही भएर त होला नि अमूल्य चिजको प्राप्तिमा मानिस जति खुसी हुन्छ त्यही अमूल्य चिज गुमाउनु पर्दा त्यसभन्दा बढी दुखी भएको हुन्छ।
मुसी साँच्चिकै राम्री भएर आई। कागजका सेता टुक्राहरुमा वर्णन गरी नसक्नु कलिलो सुन्दरता थियो उसमा। हावामा लहराएका उसका काला केशहरू जब उसको मुख मण्डललाई पालै पालो छोप्न हतारिन्थे, तब लाग्थ्यो उसको सौन्दर्यता अतुलनीय छ। गोरो अनुहार माथिका उनका दुई वटा आँखी भौका बीचमा घरी दाँया घरी बाँया गर्ने ती नयनहरू जसको म पुरै फ्यान थिए। हाईटमा पनि अब्बल, बोलाइ त्यस्तै माधुर्यता, दाँत बिग्रिएर आएको जिमल दाह्रोले उसको मुस्कानको शोभालाई उच्च पारेको थियो। सुन्दरता, शहनशीलता, धैर्यता, साहस, बोली, हिडाइ सबै कुरामा मुसी युक्त र पोख्त लागी।
रातभरि उसकै बारेमा सोचें। रातीको १ बजेसम्मको एउटै निष्कर्ष निकालें। उसलाई हुन्छ जीवनका हरेक गोरेटोहरुमा सँगै हिड्ने सँगै खाने बस्ने अनि सँगै गैरी खेतको उकालो र ओरालो धाइरहने। एक अर्काको सामिप्यताले जीवन चलाउने। भोलिपल्टनै उसलाई भन्ने निधो गरे।
बिहानै बाले उठाएर मलाई लखनपुर फुपूको घरमा जाने उर्दी जारी गर्नुभयो। मैले बाको कुरा काट्नै सकिन। मान्छे हरेक पल हरेक क्षण दोधारमा हुन्छ भन्थे, हो रहेछ। म पनि दोधारमै परे बाको भनेको मान्ने कि, मुसीलाई भेटेर जीवनको निर्णय गर्ने। सोचें बाको कुरा आजसम्म नकारेको छैन, कसरी नकारुँ बरु मुसीलाई भोलि गैरी खेतमा भेटेर मजै भन्ने निधो गरेर फुपूको घरतिर लागे।
बिचरी मुसी जीवनमा पहिलोपल्ट आएको मायाको उर्जावान तरङ्लाई त्यही रफ्तारमा हाक्ने सोचेर बसेकी हुँदी हो। सबै कुरा आफूले सोच जस्तै कसैको नहुने रहेछ। उसले मलाई चुच्चे पिपल चौतारीमा त्यति भनेर घर गएपछि उसको मामाको छोरा, दाइ, उसलाई शहर लिन भनी आएको थाहा पाइछ। उसले मलाई बोलाउन भनी आएकी पनि रहिछ, मेरा बाले घर छैन भन्देछन्। गाउँभरि साँझसम्म खोजिछे पनि। मेरा निष्ठुरी बाले घरमै भएको छोरालाई घरमा छैन भनेर उसको र मेरो जीवनकै विछोड गराइदिए।
साँझ म घर आइपुगें। आमाले पानी दिदै भन्नुभयो, लाहुरेकी छोरी कल्पना आएकी थिई। भन्दै थिई, ुबजै हरि आएपछि भन्दिनु होला कल्पनाले जीवनभरि नै जवाफको प्रतिक्षा गरेकी छ भनेर। आँखाभरि आँशु टिलबिल बनाएकी थिई, बिचरी तँलाई माया गर्दी रहिछ कति गाह्रो मानी मानी गाउँ छोडी ।
आमाको यो कुराले मेरो घाँटीको आधासम्म पुगेको पानी थपक्क रोकियो । खोकेँ, पानी बाहिर आयो। हातहरू एकाएक लुला भए। शरिरमा भएको उर्जा सबै आँशुलाई बाहिर निकाल्न लागी परे। कल्पनासँग रमाएका हिजोसम्मका ती मिठा पलहरू आँखाभरि झझल्को बनेर झल्किन थाले। आँखाबाट आँशुका लहरहरू पालै पालो निस्कन थाले।
आमाले आँशु पुछ्दै भन्नुभयो, नरो, किन रुन्छस् पोइलै गएको जस्तै गरीरु दशैंमा त आइहाल्छे। तँ किन पीर गर्छस् ररु बरु बालाई भनेर कुरा चलाउँला। जात नमिले पनि केही हुन्न, तँ खुसी भए भैगो बाबु हामीलाई। तेरा ७ दिदीहरू आफ्नै जातकोमा छन्, छोराले कुजातको ल्याए म केही भन्दिन। आमाको कुराले ममा केही उर्जा ल्यायो ।
साँझ खाना खान मन लागेन। बालाई देखेर झनै रिस उठ्यो, खानै नखाई ओछ्यानमा गएँ। आमाले दिउसोको सबै कुराहरू बालाई भन्नुभएछ। तर बाले जातकै केटीसँग कुरा चलाएको सुनाए। आमा चुपचाप लागेर मेरो कोठामा आउनु भयो। बाको कुरा सुनाउदै मेरो टाउको मुसार्दै हुनुहुन्थ्यो। दिनभरिको थकाले होला सबै पीरलाई निद्राले जितेछ क्यार, आमाकै काखमा निदाएछु।
भोलिपल्ट मुसीको खुब याद आयो। एक्लै गैरी खेत झरे, साह्रै न्यास्रो लाग्यो। जीवनबाट कोही हराए जस्तो अनुभूति भइरह्यो। गैरीखेतमा एक छिन पनि टिक्न सकिन। उकालो झनै गाह्रो भयो। दुई दिन अगाडि त्यही उकालोमा हाँस्दै गरेकी मुसी आज शहरका गल्लीको एक कोठाभित्र मलाई नै सम्झिरहेकी होली। चुच्चे पिपल चौतारामा पुगेपछि सोचें, मुसीलाई जवाफ दिनै भए पनि म शहर जानु पर्छ। मुसीले बाध्यताले गाउँघर, गैरी खेत छाडी म मुसीको रहरले गैरी खेत गाउँ छाड्छु। निधो गरे। साँझ बालाई सबै भनें, बाले पनि मान्नुभयो। म पनि शहर जाने पक्का पक्की भयो ।
आमाले झोला प्याक गरिदिनुभएपछि टीका ल्याएर अँगेनोमा आउनु भयो। बा पनि मलाई पुर्याउन भनी तयार भई सक्नुभएको थियो। टीकाटालो गरेपछि आमाका आँखाबाट आँशु रोकिएर बस्न सकेनन्, बा भने आमालाई हप्काउदै हुनुहुन्थ्यो। मलाई भने गैरी खेतको खुप माया लाग्यो र दौडिदै चुच्चे पिपल चौतारोमा पुगें जहाँबाट मेरो गैरी खेतको सौन्दर्यता धित पुगुन्जेल लिन मिल्थ्यो।
मनभरि गैरी खेतलाई राखें, गैरी खेतसँगै मुसीलाई राखें, ऊसँगका हरेर पल, हरेक क्षण राखें, बाल्यकाल राखें, मुसीलाई ओरालोमा धकेलेर लागेको त्यो चोटलाई राखें, जीवनका १९ वसन्तलाई यादमा परिणत गरेर राखें। जति हेर्यो त्यति हेर्न मन लाग्ने मेरो गैरी खेतलाई छोड्न मन नलागी नलागी छाडें।
मनका कुनाहरुमा सबै यादहरू च्यापेर बाको पछाडि लागे। भनिन्छ नि जिन्दगीमा मान्छेले गुमाएको अमूल्य चिज गुमाएपछि त्यसको प्राप्तिमा आई पर्ने हरेक चुनौतीलाई सहजै झेल्न सक्छ, चाहे त्यो मृत्यु नै किन नहोस्। मलाई पनि कसरी मैले मेरी मुसीलाई मुसीको जवाफ फिर्ता गरेर जीवनका बाँकी वसन्तहरुलाई मुसीका साथ बितान सकु भन्ने सोच भएरै शहर पसेको थिएँ।
शहरका कुनाहरुमा मैले मुसीलाई धेरै खोजे, गल्लीहरुमा उस्तै लाग्ने कति केटीहरुलाई त मैले कल्पना भन्दै कति पटक त बोलाएँ पनि तर ती सबै मेरी मुसी थिएन्। हरेक पार्क, गल्ली, बगैचाहरू तथा कलेज सबै धाएँ तर मैले मेरी मुसीलाई पाइन। म यस्तो भएको थिए नि काकाकुल जस्तै भौतारिएको थिए, बाघ जस्तै शिकार नपाएर भन्भनिएको थिएँ, मरुभूमि जस्तै पानीको प्यासी भएको थिएँ मेरी मुसीको लागि। कहीं कतै नभेटाए छि सबै आश मारेर स्नातक प्रथम वर्षमा भर्ना भएको थिएँ मन नलाई नलाई।
एक दिन आमाको खुब आद आयो, नजिकैको आवामा गएर सम्पर्क गरे, प्रधान ठुला(बाको घरमा आवा थियो। आमा पनि त्यतै आउनु भएको रहेछ, आमासँग कुरा गर्न के थालेको थिए, आँखाहरुबाट अनायासै आँशुका डल्लाहरू बिस्तारै बिस्तारै ढल्किदै ढल्किदै खस्न थाले। आमाले झन् मुसीलाई भेटाइस् तरुू भनेपछि मन थाम्नै सकिन डाको छोडेरै रोइदिएँ, लाजै लागेन आमासँग रुनलाई, आमा सम्झाउदै हुनुहुन्थ्यो, नरो न अब के गर्ने त समय नै त्यस्तै भएर आयो त के गर्छस बा केही समयपछि आमा म २, ३ दिन पछि कुरा गर्छु नि हैू भनेर फोन राखिदिएँ।
आमाको आस्वासनले म शहर आएर पनि मुसीको जवाफ फिर्ता गर्न पाइन। त्यसपछि आमालाई नै महान् ठाने त्यो जमानामा अन्तरजातिको कुरालाई सहजै स्वीकार्ने मेरी आमा मलाई महान् लाग्न थाल्नुभयो। त्यही अन्तरजातीयताको कुरालाई मेरा बाले पचाउन नसक्दा आज म यो गतिमा छु। निधो गरें, आमाको एउटै बचनलाई कार्यान्वयन गर्छु भनेर। पढेर सरकारी जागीर खाने ।
समयले मलाई बालापनबाट किशोर अवस्थामा ल्याएयो र किशोर अवस्था पार गरेको १५ वर्ष पछि युवा अवस्थाको पारिवारिक मुडमा ल्याएर जिम्मेवार बनाएको छ। समयसँगै मनलाई सान्त्वना दिदै यतिका वर्ष पार गरें। अहिले मसँग जागिर छ, साथमा प्रविधिसँगै हुर्किएकी मेरी जीवन साथी छ, तर मसँग एउटै कुरा छैन मेरी मुसी। जीवनका धेरै वसन्तमा आउने हर्ष उल्लासका पर्वहरुलाई मैले गाउमा रमाएर बिताएको थिइन। म शहरमा भए पनि मेरा यादहरू माया ममता गर्ने ती भीर पाखाहरु, भन्ञ्याङ चौतारी, उकाली ओराली अनि मेरो मुटुमा बस्ने मेरो गैरी खेत उतै थिए। दशै तिहार उतै मनाउने भनेर पारिवारिक सल्लाह भयो।
द्धन्द्धकालले शिथिल बनाएको मेरो गाउँले शान्ति स्थापनापछि पहिलो पटक आफ्ना सन्तान पाएको थियो। गाउँका सबै घरका साथीभाइहरू गाउँ भित्रिसकेका थिए। म पनि मेरो परिवार लिएर गाउँ पुगिसकेको थिए।
१५ वर्ष पछि आफ्नो जन्मभूमि देखेपछि मलाई स्वगै गए सरह भयो। मन उडेर पारि(पारि पाखामा लामा लहरा छोडेर पखेरामा बसेर मेरो गाउँलाई नियाल्ने मालुका लहरामासँगै पिङ खेल्न थाल्यो। कति जङ्गल भएछ मेरो स्वर्ग। त्यति रमाइलो ठाउँ कति उजाड र उदासिन देखिएको। अजम्बरी झाडले जताततै भरिएको। साइँला काका पनि फुलेर सेतै भएका, बिचरा काका आजभोलि त राम्रोसँग हिडडुल पनि गर्न नसक्ने भए छन्। काकीको निधनपछि विरामी पर्न लागेका हुन् रे। प्रधान ठुलाबालाई पनि द्धन्द्धरत पक्षले कता लगेर वेपत्ता बनाएछन्। सधैं सधैं हाम्रो खेत पाखामा काम गर्ने हर्के दाइको पनि ऊ जमानाको जस्तो मुडे बल बिलाएर गएछ।
मेरो गैरी खेतलाई चुच्चे पिपल चौतारामा गएर नियालें। बिचरा मेरो गैरी खेत सहारा गुमाए छ सबैको। मेरा बाले रोप्न छाडेकै १० वर्ष भएको थियो। उजाड मरुभूमि जस्तै लाग्यो। गैरी खेतलाई हेरेर मन भक्कानियो। एक पटक त्यो बालापनको मेरो गैरी खेत सम्झिएँ। झन् बस्नै मन लागेन चुच्चे पिपल डाँडामा।
दशैको दिन नजिकिदै थियो, गाउँमा पिङहाल्ने ठिटाहरुको रवाफ बढ्दो थियो। गाउँले पुरानै मुहार पाउदै थियो। जीवनका सबै पीडाहरुलाई बिर्सेर गाउँ फर्केका युवाहरुले रमाइलो गर्ने क्रम जारी थियो ।
सुनधारामा नुहाएर म घर तर्फ लाग्दै थिए। आँखा अगाडि शहरिया लाग्ने एक नवयुवती हातमा गाग्रो लिएर अगाडि देखा परी। सुरुमा त चिन्नै सकेन जब उसका आँखाहरुमा नयनले चहारे तब मैले मेरी मुसीलाई पाएँ। हातबाट सानो गाग्रो फुत्कियो। उसले उठाउन खोज्दै थिई, मैले नै पहिले हात पसारेँ। हे भगवान् यो कस्तो क्षणमा आएर मेरो मुसीलाई मसँग भेटायौ। शहरका त्यति धेरै गल्लीहरू चहार्दा पनि नभेटिएकी मेरी मुसी आज आएर यस्तो अवस्थामा भेटिंदै थिई। उसलाई देखेर म नाजवाफ भए केही बोल्ने होसै आएन।
उसैले बोली पहिला, “के छ त हाकीम सापको खबर ?”
मैले “ठिकै छ” मात्रैले टारेँ ।
फेरि बोली, कि उही पुरानै नामले बोलाउनुपर्ने हो र हर्यौ साप ? ऊ मुसुक्क मुस्कुराई। उसको यो जवाफले मलाई उही बालापनमै पुर्यायो।
मैले पनि जवाफ फर्काएँ, “हो त क्यारे मुसी ।”
ऊ त्यसै गरी ठुस्की मैले त्यसै गरी फकाएँ। मैले उसलाई चुच्चे पिपलको चौतारीमा भोलिपल्ट दिउसो बोलाएँ ।
मानौं कि नमानौं पुर्खाहरुले भनेको यो उखान “संसार गोलो छ कुनै न कुनै दिन फेरि भेट हुन्छ।“ म त्यो दिन त्यस्तै सोचिरहेको थिएँ। मुसीलाई देखेर पहिलेकाभन्दा कति राम्री भएकी मुसी। खाइलाग्दो ज्यान, लामो कपाललाई काटेर काँधसम्म आउने बनाएकी, आँखीभौ मिलाएकी, आँखामा मसिनो गाजल लगाएकी, हालमा सजाएर लगाएकी नङ पोलीस, भन्टा कलरको कुर्ता सुरुवालमा सजिएर चुच्चे पिपलमा मभन्दा अगाडि नै पुगेकी थिई ऊ।
चुच्चे पिपलबाट तल खोलाका किनारमा रहेको हाम्रो गैरी खेतलाई नियाल्दै बस्यौं हामी। कुरा उसले नै सुरु गरी, ूहरि, हामीसँगै गैरी खेत पनि बुढो भएछ है। उसले भावुक हुँदै भनी, साँच्चिकै हरि, म यु।के।मा तिमी र यही गैरी खेतको मायाले बाँचेको थिएँ। हरेक दिन हरेक साँझ तिम्रो र गैरी खेतको फोटो टोलाएर हेरेपछि मात्रै मलाई निद्रा पर्थ्यो। जिन्दगीले हामीलाई यी उकाली आरालीबाट कता पुर्यायो पुर्यायो । तर मन भने यही गैरी खेत र यीनै उकाली र आरालीमा अल्झिरहेको छ ।
थाहा छ हरि, त्यो साँझ दाइले शहर जाने कुरा गरेपछि म तिम्रो गएको थिएँ। तिम्रो बुवाले हामी सँगै हिडेको चाल पाएर तिमीलाई घरमा छैन भनिदिनु भएको रहेछ। मैले त पछि दशैमा आएर मात्रै थाहा पाए नि। तर तिमी दशैमा पनि घर आएनौ। म पनि तिमी शहर गएको कुरा थाहा पाएपछि दशैंलगत्तै शहर गएँ। धेरैतिर तिमीलाई पाउने आशले भौतारिएँ तर पाइन। त्यसपछि बाबाले मलाई यु।के।मै बोलाउनु भयो। म उतै गएर पढें तर तिमी के गरिरहेका छौ सबै थाहा पाइराखेको हुन्थ्थे। तिमीलाई पाउने आशाले नै जीवन चलाएको थिएँ त्यहाँ। जब तिमीले बिहे गरेको कुरा सुनेँ, सबै आशाहरू एकै पटक ढले, कहिल्यै पनि नउठ्ने गरी। त्यसपछि त्यहाँ बस्नै सकिन, सधैं सधैं एक्लो महशुस भइरहन थाल्यो। त्यसपछि नेपाल फर्किएर काठमाडौँमा आमा र भाउजूसँगै बस्दै आएको छु। हरि जीवनमा तिमीलाई पाउने ठुलो आाशा राखेकी थिए तर त्यो सपना पुरा भएन।
अब जीवनमा एउटै निर्णय लिएको छु, तिमीसँग बिताएका ती मीठा पलहरुलाई सँगालेर बस्ने। विवाह नगर्ने निर्णय गरेको छु। नेपाली जनताको स्वास्थ्य समस्याको समाधानमा रमाउने निर्णय गरेको छु, यति भन्दै ऊ आँखाका आँशुहरुलाई पन्छाउदै थिई।
म ऊभन्दा पहिले नै रोइसकेको थिएँ। मलाई कसैको प्रवाह लागेन, मुसीलाई च्याप्प समातेर अगालो हालेँ, अगालोमा हामी धित मरुन्जेल रोयौं। एकछिनपछि उसका आँखाका आँशु पुछ्दै भनें, पीर नगर, अब हामी शारिरिक रुपले एक हुन नसके पनि मानसिक र हृदयले एक भएका छौ। घरको दबावमा आएर मैले बिहे गरें, अब उसलाई पनि छाड्न सक्दिन म। ऊ पनि एक तिमी जस्तै नारी हो, तिमी बुझ्छ्यौ नि मुसी यो कुरा।
उसले बुझ्छु भन्ने कुरालाई टाउको हल्लाएर भनी। मैले थपें, थाहा छ मुसी त्यसको भोलिपल्ट म चुच्चे पिपल चौतारीमा तिमीलाई भेटेर तिमी र मेरो जीवनलाईसँगै अगाडि बढाउन सल्लाह गर्ने निर्णय गरेको थिएँ। तर त्यसो हुन दिएनन् हाम्रा अग्रज भनाउँदाहरुले ।
मुसी खुब रोई मलाई पनि रुवाई। उसले गैरी खेत जाऊँ भनेर हात तानेर उठाई। दुवै गैरी खेत गयौ, उही बालापनको हिलो, पानी घट्टको ढुङ्गामा बसेर सम्झियौं। त्यहाँ हामीले पाएनौ ती गोठालाहरु, पाएनौ कालिज र चाखुराहरू कराएको, पाएनौ मुरलीका ती सुरीला मन छुने भाकाहरू, पाएनौ गैरी खेत हरियो भएर हावाका झोकाहरुसँग लहराएको। गैरी खेत हाम्रो पहिलो मायाको उर्वरभूमि थियो, जसलाई हामीले जोगाएर सिँचाई गर्न सकेनौं । मझेरी डट कमबाट साभार
तस्विर- स्कन्द गौतम
लु सुनको कथा: क्रान्तिकारीको रात
रात गहिरो थियो। गाउँको कुनामा रहेको सानो टहरामा एक टुकीको मधुरो उज्यालो बलिरहेको थियो। त्यो टहरामा बसेका थिए, स्याओ चेन, एक जवान क्रान्तिकारी। उसको अनुहारमा थकान थियो, तर आँखामा आगोको ज्वाला। ऊ रातभर कागजमा केही लेख्दै थियो– क्रान्तिको सन्देश, जसले गाउँका मानिसहरूको मनमा आशा जगाउन सक्थ्यो। स्याओ चेन गाउँको साधारण परिवारमा जन्मिएको थियो। उसका बा-आमा किसान थिए, जसले वर्षौंदेखि जमीन्दारको खेतमा पसिना बगाएका थिए। तर स्याओ चेनले सधैं प्रश्न गर्थ्यो, “हाम्रो पसिनाको फल किन हामीले पाउँदैनौं?” स्कूलमा पढ्दा उसले किताबहरूमा स्वतन्त्रता र समानताको कुरा पढ्यो। ती शब्दहरूले उसको मनमा आगो सल्कायो। उसले गाउँमा फर्केर मानिसहरूलाई बुझाउन थाल्यो, “हामीले यो अन्याय सधैं सहनुपर्दैन। हामीले लड्नुपर्छ!” तर गाउँलेहरू डराउँथे। “जमीन्दारसँग लड्ने? त्यो त मृत्युको बाटो हो,” उनीहरू भन्थे। स्याओ चेनलाई यो डरले कहिल्यै रोकेन। ऊ रात-रातभर गाउँका जवानहरूसँग भेट्थ्यो, उनीहरूलाई एकजुट हुन सिकाउँथ्यो। उसले लेखेका पर्चाहरू गाउँका पर्खालहरूमा टाँसिन्थे, जसमा लेखिएको हुन्थ्यो– “जाग! आफ्नो हकको लागि लड!” त्यो रात, स्याओ चेनलाई थाहा थियो, जमीन्दारका मानिसहरू उसको पछि लागेका छन्। गाउँमा उसको बारेमा कुरा फैलिसकेको थियो। उसका साथीहरूले भने, “स्याओ चेन, भाग! तँलाई पक्रेर मार्छन्!” तर उसले हाँस्दै भन्यो, “भागेर म कसरी क्रान्तिको कुरा गर्छु? यो त मेरो गाउँ हो, म यहाँ लड्छु।” रातको अन्तिम पहरमा, टहराको ढोका ढकढकायो। स्याओ चेनले आफ्नो लेखेको पर्चा लुकायो र ढोका खोल्यो। त्यहाँ जमीन्दारका गुन्डाहरू उभिएका थिए, हातमा हतियार बोकेर। “स्याओ चेन, अब तँ सकियौ!” एकजना गुन्डाले चिच्यायो। स्याओ चेनले शान्त स्वरमा भन्यो, “तिमीले मलाई मार्लान्, तर मेरो विचारलाई मार्न सक्दैनौ। यो गाउँ एकदिन जाग्नेछ।” त्यो रात, स्याओ चेनलाई समातेर लगियो। भोलिपल्ट बिहान, गाउँको चौरमा उसलाई फाँसी दिइयो। गाउँलेहरू चुपचाप हेरिरहेका थिए। कोही-कोहीको आँखामा आँसु थियो, कोही डरले थरथर काँपिरहेका थिए। तर त्यो दिनपछि, गाउँमा केही परिवर्तन आयो। स्याओ चेनका पर्चाहरू गाउँका पर्खालहरूमा फेरि देखा परे। जवानहरू रात-रातभर भेट्न थाले। उनीहरूले स्याओ चेनको सपना बोकेर लड्ने बाचा गरे। स्याओ चेनको मृत्युले गाउँमा क्रान्तिको बीउ रोप्यो। उसको बलिदानले मानिसहरूलाई बुझायो– डरले होइन, साहसले स्वतन्त्रता जितिन्छ।
कथाः भूतलाई हेर्ने आँखा
दिपक तिमल्सिना तपाईंहरूको बाल्यकालमा आत्मा, भूतप्रेत, तर्साउने आत्मा भन्ने विषयमा विभिन्न कथाहरू सुन्नुभएको होला । मृत्युपछिको यात्रा प्रायः नर्क र स्वर्गमा पुग्ने कल्पना गरिन्छ। जसले मृत्यु देख्यो, त्यो फर्केर धर्तीमा आउदैन यो ध्रुवसत्य कुरा हो। वास्तवमा आज तपाईहरू माझ यस्ता केही तथ्यपरक एवम् विश्लेषणात्मक रूपका कथा प्रस्तुत गर्ने छु। एकदिनको कुरा हो, करिब रातको सात बजेतिर म घरबाट टिभि हेर्न भनी गाउँको घरमा लागे। घरमा पुग्न करिब ३० मिनेट लाग्थो। बाटो पूरा गोरेटो अनि अप्ठ्यारो थियो। बुढापाकाका अनुसार करिब ७८ वर्ष पहिले त्यहाँ एक जनाको भिरमा खर काट्ने क्रममा खसेर मृत्यु भएको रहेछ। म विस्तारै ओरालो लाग्दै गए, कत्तैबटा खस्राक खुस्रूक आवाज आयो। मेरो मन अत्तालियो। भूतप्रेत हाम्रो खेवाली पुलाउ हो भनी हिम्मतका साथ अझ अगाडि बढें। फेरि सोचे आज साँच्चै भूतको अनुहार हेर्ने हो। मसँग हिन्दु धर्मकर्म अनुसारको जन्यौ छदै छ भनी टर्च निभाएँ। टर्च निभ्नासाथ एउटा जुनकीरीलाई देखे । त्यसाई छुन खोजे तर एक्कासी हरायो। अलि परतिर जुनकीरीहरूको जत्था थियो। एकछिन चुप लोर बसें सबै हरायो। मेरो मन अच्चानक बहक्किन थाल्यो। त्यसपछि टर्च लाइट तलतिर बालेर दायाँतिर अनुहार मोडें, त्यहाँ सेतो बोरा जस्तो केही चिज थियो । बिस्तारै टर्च लगें, त्यही ठाउमा नै । मान्छे मरेको कथा मेरो मनमा झलझलि आइनैरहेको छ। एक्कासि हेरेको त त्यहाँ त रूख मात्र छ। म अत्ताल्लिए छिटोछिटो पाइला चालेंं । हतार हतार अघि बढे मुटुको धड्कन बढिरहेको थियो तर पनि अब कहिले पुग्ने हो गन्तव्य भनी सोचिरहें। त्यहा माथि लामाहरूको झाँक्री मन्त्र लगाउछन् भन्ने सुनेको थिएँ । कसैलाई राति देख्यो भने बनझाँक्रीले लग्छन भनी बच्चादेखि नै हामिलाई तर्साइएको थियो। मेरो होस हवास गुम्यो । पहिलोपटक आउदा त बुबा सँगै हुनुहुन्थो र डर पनि लागेको थिएन। आज अचानक यो सब चिज हुँदा अब भोलिदेखि यहाँबाट नआउने प्रण लिएँ। मससँग भएको ॐ नमः सिवाय मन्त्र फुक्दै अघि बढे। यसरी भोलिपल्ट घरमा सबै कुरा सुनाएपछि आमाले भन्नुभयो कि खुर्सानीको एक दाना गोजीमा राख्नुपर्छ वा अगुल्टो बोकेर डिड्नुपर्छ तब मात्र तर्साउदैन। म जहिल्यै एक खुर्सानीको खिल्ली बाकेर जान थालेपछि केही भएन। मलाई म निकै शक्तिशाली भएको अनुभव हुन थाल्यो। म त्यतिखेर कक्षा ७ मा पढ्थे । मैले एक एक घटना आफ्ना साथीहरूलाई सुनाउन थालें । त्यसै क्रममा एक साथीले भन्यो त्यसो भए हजार हजारको बाजी ल त रातको १२ बजे आर्यघाट पुगेर आइजो अनि तलाई म मान्छु । मलाई लाग्यो आज बाजी जितिने भो, एकदमै उत्साहित भएर फोनमा मम्मीलाई आज म घर आउदिन साथीकोमा बस्छु भनें। त्यसपछि रातको ११ः३० बजे आर्यघाट पुगें, त्यहा धेरै मलामीहरू रहेछन्। एउटी आमाको लाश जलाएर अन्तिम चरणको हड्डीहरू ठोस्दै थिए। यसरी म सर्त अनुसार त्यहा पुगेर करिब आधा घण्टापछि फर्किए। म खुसी हुँदै आउदै थिए घर नजिक फर्किएर आइपुग्नै लाग्दा गोजी छामे खुर्सानी नै छैन रैछ। त्यसपछि म हतार हतार साथीको कोठामा गई हेर्छु त मेरो पाइन्ट साथीले नै लगाईरहेको रहेछ। उसलाई उठाएर उसको गोजीको खुुर्सानी निकाल्दै भनें– यार तैले यो के गरेको ? उसले भन्यो– ‘तैले नै मेरो पाइन्ट पहिले लगाएको होस्।’ ‘पुगेर आइस’– उसले सोध्यो । ‘अँ आए’– जवाफ फर्काएँ । उसले नरम स्वरमा भन्यो त्यो मेरो गोजीको चोर गोजीमा छ हजारको नोट निकालेर लैजा । म विस्तारै उसको नजिक गई सुते। अनि सोच्न थालें ओहो ! यो सब कसरी सम्भव भयो। असरी समस्या समाधान गर्ने त खुर्सानी थिएन, मेरो हिम्मत र आत्मविश्वास नै थियो । यो भूत प्रेत, आत्मा, धामी झाक्री त सबै भ्रम न रहेछन, जुन हाम्रो समाजले हाम्रो अवचेतन मनमा बाल्यकालदेखि नै विभिन्नका कथाका माध्यमले हालेका रहेछन्। आत्मविश्वास, हिम्मत र साहसले मानिसको डरलाई पनि मेटाउने रहेछ। यो सब त भ्रम पो रहेछ, मेरो मनको डर। अहिले मेरो भूतलाई हेर्ने आखा यसरी फेरिएको छ।
त्यसपछि उनी कहिले फर्किनन् !
शान्ति पनेरु मौसम धमिलो । चारैतिर सन्नाटा थियो । शिशिर ऋतुको आगमन मनमा बेचैन तर जीवन प्रतिको उज्जल सपनाको अदृष्य आकृति एक साथ मस्तिष्कमा कैद थियो । हाम्रो यात्रा अटुट माया दृढ बिश्वास अनि दृढ सङकल्प यात्रा अबिचलित थियो । अचम्म छ, नियम भनौ या कर्तव्यनिष्ट जिम्मेवारी बोध हाम्रो दैनिकी जस्तै भयो । कतै उद्देश्य नभेटिएर अलमलिएको यात्री जस्तै थियौं हामी । भुगोलको अनज्ञिता, विकेन्द्रित कार्ययोजना हाम्रा लागि फलामकै चिउरा सरह थियो । तर मित्रतामा आत्मियभाव हामीमा अझै प्रगाढ थियो । हामीलाई दिएको जिम्मेवारी जति सुकै चुनौती मोलेर भए पनि पुरा गर्नुपर्छ भन्ने कुरामा अडिग थियौं हामी । नेतृत्वले गर्ने बिश्वासलाई कहिल्यै पनि कमि हुन दिएनौं । समयले पनि कहिलेकाँही जिन्दगीकै ठूलो परीक्षामा अनायसै सामेल गराईदिन्छ । तेस्तै थियो र भयो हामीमा पनि । एक अथक यात्री, कलिलो मस्तिष्क, कडा जिन्दगीका अग्नि परिक्षाहरु । सायद, पास भईन्छ या फेल । जीवनका भोगाईले बारबार परीक्षा दिईरह्यो । उ बारबार भन्थी, ‘हामी महासमरका यात्री हौं । बीचमा को कहाँ छुटिन्छौं, कसैलाई पत्तो छैन ।’ लाग्थ्यो, जीवनका हाम्रा सपना, साझा जिम्मेवारी फरक उद्देश्य अबिचलित तर यात्रा सँगै, पार्टीकै योजनामा थियौं । मिठा अनुभुतिका स्मृति, शुभचिन्तकहरुको जो देशको मायामा आफ्ना हरेक ब्यक्तिगत ईच्छालाई तिलान्जली दिएका हुन्छन् । उनिहरुका अनुभव, अतीत र वर्तमान हाम्रा लागि एक पाठशाला जस्तै थिए । हामी सुनिरह्यौं । उनिहरुका भोगाई । म बिचैमा जिज्ञासु बन्दै बोल्न पुगें । ‘सजिना, हाम्रा गन्तव्य सोझ्याउनु पर्ने होईन र ? मेरा अनुत्तरित प्रश्न निर्भिकताका साथ प्रस्तुति हुने उसको स्वभाव प्रति म सधैं नतमस्तक थिएँ । समय आफ्नै रफ्तारमा दौडदै थियो । हामी कसैको पर्खाईमा बेलुकीको मिरमिर साँझ हाम्रा धैर्यतालाई छिचोल्दै थियौं । त्यही बखत् कोही परिचित आवाज ठोकिदै आउछ र सम्मानमा बदलिदै जान्छ । ‘साथीहरु हामी एउटा महत्वपुर्ण मिसनमा सहभागी बन्दै छौं ।’ सेन्सिटिभ ईलाका हाम्रो लागि कम चुनौतिपूर्ण थिएन । सामान्य छलफल पछि हामी अर्को पोईन्ट जानु थियो । हाम्रो अन्तिम बिन्दु त्यही ठाउँ भेट्ने गरि छुटियौं । काम र कर्तव्य प्रतिको उत्सुकतामा रमाउदै हामी त्यतै हानियौं । बाटामा अनगिन्ति तिता मिठा कुरा गर्दागर्दै उसका भावना पोखिएको पत्तै पाईन उसले । जिन्दगीले परीक्षा पनि कस्तो कस्तो लिन्छ । अनायसै मेरो मन चिप्लियो । भन्न म ताकेता गर्दै थिए । हामी वर्गीय लडाईमा छौं । उ भन्दै गई ‘मृत्युलाई पचाउदै महासागरमा हेलिएका छौं । जीवन कहाँ कति खेर के हुन्छ, कसलाई के थाहा ?’ अनकन्टार जङ्गलको बाटो छिचोल्दै गन्तव्य छोट्याउँदै थियौं । फेरि उ बोली ‘मैले उसको जिम्मेवारी पनि पुरा गर्नु छ अनु ।’ म जिज्ञासु भावमा सोधें । उ लजिलो भाबमा बोली ‘सेबक, म उसलाई धेरै माया गर्थे र उ पनि मलाई । तर अचम्मको उसको प्रम स्नेह कसरी सम्झनु जस्को जीवित वा मृत कुन अबस्थामा छ सुईको सम्म छैन, तर उसकै लागि हर रात दिन स्मृतिमा जीवित राख्नु, यो कस्तो प्रेमभाव ।’ मनमा कतिपय उसका प्रेमिल शब्दहरुका प्रस्न मेरा मन भित्रै कैद भए । आज सम्म पनि उत्तर छैन र थिएन । कैयौं, भावना जीवित हुँदाहुदै गन्तव्य आईपुग्यो । हामी पुग्दा सबै जम्मा भईसक्नु भएको रहेछ । पोखरा उसका लागि अनुकुल हाम्रा लागि प्रतिकुल । प्रतिकुलतालाई छिचोल्दै हामी योजना कार्यान्वयनको पक्षमा दृढताका साथ सहभागी भयौं । कार्य बिभाजन पछिका कार्यन्वयन पनि उतिकै जटिल थियो हाम्रा लागि । कहिलेको मिलन कहिलेको बिछोड जीवन रफ्तारमा नै थियो । ‘राम्रो सँग होसियारी अपनाउनु’ मैले बोलें । उ भाबुक अनि आत्मा बिश्वासका साथ बोली –‘म कहिँ ढलें भने मेरो शन्देश पु¥याईदिनु र भन्नू, क्रान्तिमा अबिचलित लागि रहनु ।’ हामी फेरि भेट्ने मीठो आशामा छुटियौं । युद्धको नियम तेस्तै नै छ । भावना भन्दा निर्ममता प्यार जस्तो । बेलाबेलामा झस्काई दिने मृत्यु पनि कति मीठो ,आन्नदको । अफसोच, उसका अबोध भावना कसैको पर्खाईमा तड्पिएकी पूरा हुन नपाईनै अधुरै रहने त्रासले हरपल सताईरह्यो । उज्यालोलाई पाखा लगाउँदै रातहरुको सन्देश पाएको आभास भयो । मनमा त्रास सँगै फुल जस्तै मुस्कुराएको आस, मिसन जसरी नि पुरा गर्नु पर्ने चुनौती थियो हाम्रा लागि । दिन रात जस्तै थियो तर रात हाम्रा दिनमा परिणत हुन्थ्यो । हामी नजिकै सेल्टरमा थियौं । हाम्रा गतिबिधिले उनिहरुका उपस्थिति सिबिलमा परिचालन गरेछ । हाम्रा गतिबिधिलाई उ सम्म पु¥याउने । हाम्रो आन्दोलन प्रतिको तिक्तता जो सँग थियो उसले पु¥यायो । रातीको समय अँधेरी रातलाई चिर्दै मिरमिर उज्यालोको सङ्केत दिदै गर्दा कसैका राक्षसी बुट बज्रियो । घरै छेउमा आवाज आयो ‘ठोक ’ । थोरै पनि दया नभएका राक्षसी हात उसका कोमल शरिरमा बज्रिन पुग्छ । भाग्दै गरेको योद्धा पटक पटक लडेर पनि खुनी पञ्जा बाट उम्किन सफल रह्यो । शिव र आकास छिनभरमै बर्साएको गोलीले गिज्याउदै पछ्याउँथ्यो । तर एक निरीह महिला जो हजारौ बुट उसका शरिरमा बज्रिदा पनि आफुलाई मृत्युसँग हस्ताक्षर गरिनन् । क्रान्तिको बाधक बन्दै बनिनन् । हामी नजिकै बाट उसका गतिबिधि नियाल्दै थियौं । सयौं बर्दिधारीहरुका बिचमा एक निरीह नारीलाई हातमा फलामे जँजिरले बाधेर पनि आफ्नो कायरतामा बहादुर ठान्दै थियो उ । हामी नजिकै एक अबोध अन्जान जस्तै थियौं । पर्ख र हेर हाम्रा लागि यहि अन्तिम उपाय । एकछिनमा अर्काे दानब भाब झल्काउँदै आयो र भन्यो ‘यसले हामीले भनेको मानिन, यसलाई जङ्गलमा लगेर तड्पाई तड्पाई मार्नुपर्छ ।’ कति क्रुर छ । निरङ्कुशता भित्र रहेका दानवहरुलाई हामी केही पर जङ्गलबाट नियालिरह्यौं । उसका निरीह अनुहार । तर उसमा कुनै निरिहता थिएन । थियो त बदलाभाव । भन्दै थिई ‘तँ एक मार्दैमा उ हजार जन्मिदैछ, क्रान्तिको यात्रा हो रोकिन्छ र कहाँ ?’ कतै उ मृत्युलाई सहज ठान्दै थिई । लाग्थ्यो उनि हरेक क्रान्तिका अधुरा सपना पुरा गर्न हामीलाई निर्देश गर्दै थिई । समय हाम्रा लागि अनुकुल पटक्कै थिएन । एउटा सहयोद्धा छिनभरमै खुनी पिपासुको पन्जामा परेको क्षण । मनमा बेचैन छाउँदै आयो । आशा म¥यो । उ बिना हजारौ सहयात्रीहरुको भिडमा एक्लो महसुस गरायो । धेरै रातहरु निदाउन सकिन । कयौं दिनहरु रातजस्तै भए मेरा लागि । आफुलाई सम्हाल्दै फेरि एक पटक उठ्ने कोशिस गरेँ र दुश्मनलाई भनें ‘तिम्रो बदला पनि त लिनुछ !’उनलाई सम्झिएर प्रण गरें ‘तिम्रो सपना पुरा गरेरै छाड्नेछु ।’
शिल्पीमा नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक ‘ज्ञानको चिहान’
काठमाडौं ।नेपालको शिक्षा प्रणाली दर्शाउने ‘ज्ञानको चिहान’ नामक नाटक गोठाले नाटक घरमा मञ्चन भैरहेको छ । जुन युवा विद्यार्थी अविभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबैले हेर्नुपने नाटक रहेको छ । पुस १३ देखी शिल्पीको गोठाले नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको उक्त नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठन र क्षमता योग्यताका आधारमा भन्दा पनि राजनीतिक नियुक्ति र भागबण्डामा विश्व विद्यालयका पदाधिकारी तथा प्राध्यापक छनोट हुने चंगुलमा फसेको शिक्षा प्रणालीलाई दर्शाउने काशिस नाटकले गरेको छ । शिक्षामा व्यापारिकरण मौलाएको, विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको, विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणालीको विकासमा ध्यान नपुगेको जस्ता कुराहरु जोडदारसँग नाटकमा उठाइएको छ । विश्वविद्यालयमा विद्यार्थी संगठनको आवरणमा हुने गुण्डागर्दी, प्राध्यापकमाथिको अनावश्यक आरोप, सार्वजनिक शिक्षा सुधार गर्न चाहानेहरु एक्लै बनेको जस्ता विषयवस्तु कथाले जीवन्त रुपमा उठान गरेको छ । नाटकले राजनीति आफैमा खराब नहुने कुरालाई जोड दिएको देखिन्छ । विद्यार्थी राजनीतिका केही पात्र र प्रवृतिमा समस्या रहेको उल्लेख गर्दै नाटकले सचेत मान्छेहरु राजनीतिलाई सहि बाटोमा हिडाउन आफैं सक्रिय हुन प्रेरित समेत गरेको छ । साथै, विश्वविद्यालयमा ज्ञानको उत्पादन नभई सप्लाई हुने गरेको भन्ने भाष्य मार्फत नेपालको शैक्षिक प्रणाली माथि निकै तिखो प्रहार गरीएको छ नाटकमा । राष्ट्रिय इस्युहरुमा विश्व विद्यालय बोल्नुपर्ने र देशको मस्तिष्कको रुपमा विश्वविद्यालयले काम गर्नसक्नुपर्ने जस्ता विषयले आम विद्यार्थीको आफ्नै नाटक जस्तो बनेको छ ज्ञानको चिहान । विद्यार्थी संगठनहरूको भागवन्डामा होइन् विभिन्न खोज तथा अनुसन्धानमा केन्द्रित भएर देश निर्माणका लागि मुख्य भूमिका खेल्नुपर्ने नाटकले सन्देश दिन खोजेको छ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय शैक्षिक विभागको सहकार्यमा कलासी प्रोडक्सनले नाटक मञ्चन गरेको हो । संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’लाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटक पुस ३० गतेसम्म मञ्चन हुने प्रोडक्सन म्यानेजर सगुन पोख्रेलले जानकारी दिइन् ।

