चुनावी कार्यसूचीः प्रादेशिक राजधानीका लागि पूर्वाधार

चुनावी कार्यसूचीः प्रादेशिक राजधानीका लागि पूर्वाधार

काठमाडौँ, मंसिर १६ । यहाँका उम्मेदवारले प्रादेशिक राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाएका छन् ।

निर्वाचन क्षेत्र नं २ का उम्मेदवार प्रदेश राजधानीलाई आवश्यक प्रशासनिक भवन, चार लेन सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिँचाइ, चक्रपथ र पर्यटन पूर्वाधार लगायत विषयलाई लिएर चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका १–१४ वडा, पञ्चपुरी नगरपालिका तथा चौकुने र बराह ताल गाउँपालिका पर्छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि विभिन्न दलका १० जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै हुने देखिएको छ ।

काँग्रेसका उम्मेदवार हृदयराम थानी सुर्खेत उपत्यका प्रादेशिक राजधानी बन्ने लगभग निश्चित भएको जनाउँदै यसको व्यवस्थित र आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुहुन्छ । पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री थानी भन्नुहुन्छ, “खानेपानीको उचित व्यवस्था, चार लेनको सडक र काँक्रेविहारको मन्दिर निर्माण, नेपालगन्जदेखि सुर्खेतसम्म सडक विस्तार कार्य अघि बढाइसकेका छौँ ।”

यस क्षेत्रका विकासका प्रमुख कार्य काँग्रेस नेृतत्वको सरकारले नै गरेको र आगामी दिनमा पनि काँग्रेसले मात्रै पहल गर्न सक्छ भन्ने जनतामा विश्वास भएको जिकिर गर्दै उहाँ आफू जित्ने उहाँको दाबी छ । विसं २०७० को संविधानसभा निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसले जीतेको थियो । जनताकै साथमा रहेर विकासनिर्माणका काम गर्ने भएकाले यहाँका जनताले काँगे्रसलाई नै रुचाएको बताउँदै उहाँ भन्नुहुन्छ, “छोटा र गुणस्तरीय सडकमार्फत प्रदेश नं ६ लाई उत्तरी र दक्षिणी छिमेकी मुलुकका नाकासँग जोड्ने योजना अघि बढाएका छाँै ।”

यसअघि तीन निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यस पटक दुई क्षेत्र निर्धारण गरिएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवार चुनावी नारासहित गाउँगाउँमा पुगेर मतदाता आकर्षित गर्न व्यस्त छन् । यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज रावतले पनि प्रादेशिक राजधानीका लागि पूर्वाधार निर्माणलाई मुख्य चुनावी कार्यसूची बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “वीरेन्द्रनगरदेखि बेनीघाटसम्मको सडक, जिल्लाको पश्चिम भेगका जनतालाई विद्युत् सुविधा, चौकुनेमा सिमेन्ट उद्योग स्थापना, सुर्खेत उपत्यकामा चक्रपथ निर्माण, व्यवस्थित सहरी बसोबास, काँक्रेविहारको प्रवद्र्धन हाम्रा प्रतिबद्धता हुन् ।”

उम्मेदवार रावतले शिक्षा, स्वास्थ्य र जनतासँग प्रत्यक्ष रुपमा जोडिएका विषय, कृषिको व्यावसायिकीकरण र रोजगारीका कार्यक्रम आफ्ना प्रतिबद्धता भएको जानकारी दिनुभयो । एकातिर वाम गठबन्धन र अर्काेतिर विगतमा जित्ने नेताले खासै काम गर्न नसकेको आरोप लगाउँदै उहाँले अहिले एक चोटिलाई जनताले वाम गठबन्धनलाई हेर्न चाहेको जिकिर गर्नुभयो ।

मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम सुर्खेतमा प्रादेशिक राजधानी रहने सम्भावनाले स्थानीयवासी हर्षित छन् । क्षेत्रीय सदरमुकामका संरचना यसअघि नै निर्माण भइसकेकाले पनि सुर्खेतमा प्रादेशिक राजधानीका लागि अन्य प्रदेशको तुलनामा सहज हुने अनुमान गर्न सकिन्छ । आफ्नै गाउँठाउँमा राजधानीको सुविधा पाइने र पूर्वाधार बन्ने आशामा स्थानीयवासीले सोहीअनुसार धमाधम घर बनाउने, जग्गा किन्ने लगायत योजना बुनिरहेको देखिन्छ ।

यस निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा पनि काँग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नं २ को (क)मा काँग्रेसका कमलराज रेग्मी र एमालेका यामलाल कँडेल भिड्दै हुनुहुन्छ । त्यस्तै प्रदेश (ख)मा काँग्रेसका तर्फबाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । उहाँहरुका नारा पनि प्रादेशिक राजधानीका पूर्वाधार विकासमै केन्द्रित छन् ।
सुर्खेतको निर्वाचन क्षेत्र नं १ पूर्वी सुर्खेत हो । भेरीगंगा, लेकबेंसी र गुर्वाकोट नगरपालिका, चिङगाड र सिन्ता गाउँपालिकाका साथै वीरेन्द्रनगर नगरपालिकाका–१५ र १६ वडा यस क्षेत्रमा पर्छन् । जिल्लामा दुई लाख चार हजार ५७७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये क्षेत्र १ मा एक लाख एक हजार ६३७ तथा क्षेत्र २ मा एक लाख दुई हजार ९४० मतदाता छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय