जन्मसिद्धका सन्तानलाई सरकारले आजदेखि नागरिकता वितरण गर्ने

काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आजदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ ।
महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता लिएका थिए ।
आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति पैदा भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेसँगै सो ऐन जेठ १७ गते राजपत्रमा प्रकाशित गरिएको थियो । राजपत्रमा प्रकाशित भएको स्वतः कानुन हुने भएकाले कार्यान्वयन स्वतः हुने (परिपत्र जारी गर्न नपर्ने) प्रावधान रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बारा, सर्लाही, बाँके, बर्दिया, रौतहट, पर्सा, सर्लाही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सिरहालगायतले ऐनबमोजिम नागरिकता लिन संलग्न गर्नुपर्ने कागजात उल्लेख गरी, नागरिकताका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस गरी पठाउन शुक्रबार नै सार्वजनिक आग्रह गरेको थियो ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।
सुनको मूल्य २७ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटमा पेसी आजका लागि तोकिएको छ। सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर पेश गरेका छन् । संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।
नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु
नयाँ दिल्ली । शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । नयाँ दिल्ली रेलवे स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमपूर्ण समाचारका कारण भागदौड मच्चिएको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरे ।