तामाकोशीले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्ने
चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।
दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउनुहुन्छ ।
आयोजनाले दुई करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड र अन्य सर्वसाधारणलाई रु एक अर्ब ५८ करोडको शेयर दिने कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ शेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ । प्रभावित क्षेत्रले बढी शेयर पाउने सहमति यसअघि नै भइसकेको उल्लेख गर्दै प्रवक्ता डा न्यौपाने भन्नहुन्छ, “आयोजना निर्माणका क्रममा भएको असरका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार शेयर लगानीको अवसर दिइने छ ।”
पूर्व सहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ ।
‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता र ‘क’ वर्गकाले १५० कित्तासम्म शेयर खरिद गर्नसक्ने आयोजनाले जनाएको छ । आयोजनाले यसअघि नै दुई अर्ब ५४ करोड बराबरको शेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ ।
दोलखावासीमध्ये शेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्म दर्ता भएका बालबालिका र विर्वाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा शेयर खरिद गर्न पाउने भएका छन् । त्यसका लागि दोलखा जिल्लावासीले नागरिकताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।
शेयरका लागि जिविसले तीन वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या दुई लाख ८० हजार ५८४ छ । तामाकोशीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि शेयर खरिद गर्न पाउने व्यवस्था छ ।
स्थानीयवासीले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । धितोपत्र ऐन २०७३ अनुसार शेयर खरिद बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य भएपनि सबैलाई डिम्याट खाताको जानकारी नभएको र खाता खोल्न समय लाग्ने हुँदा त्यहाँका बासिन्दाका लागि बैंक खाता मात्र अनिवार्य गरेर डिम्याट खाता ऐच्छिक गराउन अनुरोध गरेको प्रवक्ता न्यौपानेले बताउनुभएको छ । उहाँले जिल्लावासीलाई आफ्नो पायकपर्ने बैंकमा पुगेर बैंक खाता खोल्न समेत सबैलाई आग्रह गर्नुभएको छ ।
माथिल्लो तामाकोशीको शेयर २०७१ को चैतमा खुलेर पछि विभिन्न कारणले रोकिएको थियो । भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण आयोजना अझ केही समय पर धकेलिने समेत बताइएको छ ।
नेप्से २७०० विन्दुमुनि, कारोबार रकममा गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको छ । बुधबार २.९५ अंकले घटेको बजार बिहीबार १७.०१ अंकले घटेको हो । नेप्सेका अनुसार यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोडको कारोबार भएकामा आज पाँच अर्ब नौ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापारबाहेक सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको १३१.४० अर्थात् १.१९ प्रतिशतले घटेको छ । दुई कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै, सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११.७९ प्रतिशत घाटा व्यहोरेका छन् ।
१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो
काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ । नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।
नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् । दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

