तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण
गोरखा । माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ । यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ ।
यो चित्र भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको हो । राजा राम शाहको शासनकालमा बनेको यो दरबारमा आधुनिक नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहसम्मले शासन गर्नुभएको थियो । एकीकरणपछि राजधानी काठमाडौँ स¥यो । हनुमानढोकाबाट शासन शुरु भयो ।
तीन वर्षअघिको भूकम्पले भत्किएको यो ऐतिहासिक दरबारको पुनःनिर्माण अझै शुरु हुनसकेको छैन । पुनःनिर्माणका लागि यही वैशाख ७ गते जग पूजा गरिए पनि काम शुरु नभएकामा स्थानीयवासी दुःखी छन् । काष्ठमण्डप, धरहरा, रानीपोखरीलगायत सम्पदा पुनःनिर्माणमा भएको ढिलाइ र विवादको शृङ्खला सुनेका गोरखावासी दरबारको अवस्था त्यस्तो नहोस् भन्ने कामना गरिरहेका छन् ।
गोरखा बजारको टाकुरामा बनेको कलात्मक दरबार हेर्न दैनिक हजारौँ मानिस आउँछन् । दरबार भग्नावशेषमा परिणत भएको देख्दा खिन्न भएर फर्कन्छन् । ताप्लेजुङबाट गोरखा घुम्न आउनुभएकी सुम्निमा लिम्बू इतिहासका पुस्तकमा पढेको दरबार हेर्न डाँडामा चढ्नुभयो । दरबार भएको स्थानको अवस्था देखेर आफू आक्रोश लिएर फर्किएको उहाँले सुनाउनुभयो । राम शाहले गोरखाकै बज्रभैरव मन्दिर रहेको अर्को डाँडा बज्रकोटमा दरबार बनाउन खोज्नुभएको थियो । बज्रकोटमा काठ, ढुंगालगायत निर्माण सामग्री लगेर थुपारियो ।
बज्रकोटमा लगिएको सामग्री गोरखा बजारको डाँडामा एकै रातमा फर्कन थालेपछि दरबार यहीँ बनाइएको हो भन्ने किंवदन्ती छ । डाँडामा भएको आध्यात्मिक शक्तिको प्रभावले निर्माण सामग्री फर्किएको स्थानीयवासीको विश्वास छ ।
प्रा डा रमेश ढुंगेल गोरखा दरबार निर्माण भएको साल प्रामाणिक रुपमा नखुलेको बताउनुहुन्छ । शक संवत् १५३६ अर्थात् विसं १६७१ मा मुरलीधरनारायण मन्दिर र शक संवत् १५५८ अर्थात् विसं १६९३ मा वास्तुकलाले युक्तरामेश्वर मन्दिर निर्माण भएको अभिलेख रहेकाले त्यही सेरोफेरोमा दरबार बनेको अनुमान गर्न सकिने उहाँ बताउनुहुन्छ ।
“गोरखा डाँडाको र हाल गोरखा दरबार संग्रहालय रहेको दरबार राम शाहले नै बनाउनुभएको हो, पृथ्वीनारायण शाह नेपाल एकीकरणमै व्यस्त रहनुभयो, उहाँले नुवाकोट र वसन्तपुरको नौतले दरबार भने बनाउनुभएको हो, धेरै मन्दिर र दरबार बनाउने योजना उहाँको निधनका कारण सफल भएन”, उहाँले भन्नुभयो ।
भक्तपुरे शैलीको गोरखा दरबार विसं १९९० को भूकम्पमा पानी छिरे पनि देखिने ठूलो क्षति भएन । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.८ रिक्टर स्केलको भूकम्पले दरबारको पूर्वी भागमा क्षति पुग्यो । क्षति कति भयो भन्ने अनुसन्धानका लागि दरबार भत्काएर खनिएको पुरातत्व विभागले जनाएको छ ।
दरबार भत्काएर बनाउने कि नभत्काई बनाउने भन्नेमा लामो समय बहस भएको विभागका प्राविधिक शाखा प्रमुख इञ्जिनीयर सम्पत घिमिरेले बताउनुभयो । घिमिरेको संयोजकत्वमा बनेको समितिको सिफारिसका आधारमा दरबारको जग कति बलियो छ भन्ने अध्ययनका लागि खाडल खनेर हेरिएको हो । “दरबारको जग भूकम्पले कमजोर बनाएकाले फाउण्डेशनदेखि नै पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदन दिएका छौँ, त्यसैअनुसार पुनःनिर्माण हुन्छ, क्षति भएको दुई वर्षसम्म दरबार पुनःनिर्माण गर्न बजेट नै आएन, यसैले ढिला भएको हो, ठेक्का सम्झौता भइसकेकाले अब काम शुरु हुन्छ”, उहाँले भन्नुभयो ।
दरबारमुनिको संरचना अध्ययनका क्रममा ढुंगा फुटेको, पूर्वी भागमा ठूलाठूला प्वाल परेको भेटिएकाले बलियो संरचना बनाउने विभागको तयारी छ । गोरखनाथका पूजारी प्रदीपनाथ योगी खाडल बनाइएको दरबारमा पानी पसेर क्षति हुन सक्ने भएकाले वर्षा अगावै पुनःनिर्माण शुरु गरिनुपर्ने बताउनुहुन्छ । “वर्षाअघि नै खाडललाई जमीनस्तरमा नल्याए पानी पर्दा दह जमेर डाँडा भासिन र भत्कनसक्छ, यो संवेदनशीलता पुरातत्वले हेरेको छैन, पुरातत्वले नसके देशवासीले दरबारको पुनःनिर्माण गर्छन्, देशवासीले नसके बाहिरको सहयोगमा पुनःनिर्माण हुन्छ”, उहाँले भन्नुभयो ।
जमीनको आधार (फाउण्डेशन) राम्रो भएन भने दरबार भासिन्छ भनेर खनिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । तीन महिनाअघि खनिएको खाडल नपुर्दा पानी जम्ने सम्भावना रहेको स्थानीयवासी पुरुषोत्तम अर्यालले बताउनुभयो ।
अड्डाका कार्यालय प्रमुख हरिप्रसाद भुसाल पुरातात्विक भवनको पुनःनिर्माणमा अन्यजस्तो हतार गर्नुनहुने बताउनुहुन्छ । “विसं १९९० को भूकम्पमा पनि पूर्वतर्फ पानी छिरेर गुफामा चुहिएको थियो, यसले गर्दा दरबारको पूर्वी भाग कमजोर भयो, यो भागलाई बलियो बनाउने गरी पुनःनिर्माण शुरु भएको छ”, उहाँले भन्नुभयो ।
गोरखा दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण हुने गरी पुनःनिर्माण गर्न कार्यालयले ध्यान दिएको कार्यालय प्रमुख भुसालको भनाइ छ । दरबार पुनःनिर्मााणका लागि गत कात्तिक ४ गते पचली शिवाको जेभी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । दरबार पुनःनिर्माण २०७६ कात्तिक ३ गतेसम्म सम्पन्न हुनुपर्ने छ । ऐतिहासिक दरबार पुनःनिर्माण गर्न रु चार करोड ४७ लाख लागत लाग्नेछ । रासस
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

