तेह्रथुमको चुनाव : इतिहास जोगाउने र नयाँ इतिहास रच्नेबीच टक्कर !

तेह्रथुमको चुनाव : इतिहास जोगाउने र नयाँ इतिहास रच्नेबीच टक्कर !

काठमाडौं, कात्तिक ३० ।  प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी सरगर्मी निकै तातेको छ । जिल्लाबाट उम्मेदवारी दिएका विभिन्न नेता कार्यकर्ताहरु अहिले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँड्दै गाउँ–गाउँ पुगिरहेका छन् ।

जिल्लाबाट यसअघि चुनाव जितेकालाई आफ्नो आधार क्षेत्र जोगाउने र पराजित भएकाहरु नयाँ इतिहास रच्ने ध्यानमा देखिन्छन् ।

जिल्लामा एघार वटा राजनीतिक दलले उम्मेदवारी दिएपनि लोकतान्त्रिक र बाम गठबन्धनबीचमा कडा प्रतिष्पर्धा छ । यी दुई गठबन्धनबीचमा अहिले गाउँ–गाउँ पुग्न, कार्यकर्ता परिचालित गर्न, घरदैलो गर्न, मतदातालाई आफ्नो पार्टीमा भित्राउन/प्रभावित पार्न नेता कार्यकर्ताहरु बीच कडा टकराव चलिराखको छ ।

लोकतान्त्रिक गठबन्धनमा कांग्रेसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ भने बाम गठबन्धनमा एमालेलाई माओवादी केन्द्रको समर्थन छ । अझ बाम गठबन्धनका नेताहरु दुई दलबीचको गठबन्धन प्रभावकारी नहोला कि ? भन्ने भयले कार्यकर्ताको घर–घरसम्म पुगेर वाम एकता पार्टी एकतासम्मका लागि भएको भन्दै बुझाउन दौडधुप गरिरहेका छन् ।

एक मात्रै चुनाव क्षेत्र रहेको प्रतिनिधि सभा सदस्यको चुनावमा लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङ र बाम गठबन्धनका लागि एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको प्रतिष्पर्धा रोचक बनेको छ । कांग्रेस, केन्द्रिय कार्य समितिको दोश्रो पटक निर्वाचित सदस्य बनेकी नेतृ गुरुङ संविधान सभा–१ र २ मा निरन्तर जिल्लाबाटै समानुपातिक सांसद भएकी थिइन् ।

एमालेबाट तेश्रो पटक उम्मेदवार बनेका नेता खापुङ ०७० को संविधान सभा चुनावमा जिल्लाबाट निर्वाचित सांसद हुन् । त्यसअघि ०६४ को संविधान सभा चुनावमा खापुङ कांग्रेसका तुलसी सुब्बासँग पराजित भएका थिए । ०७० मा खापुङले कांग्रेसका सुब्बालाई नै पराजित गरेका थिए । कांग्रेसकी उम्मेदवार गुरुङ पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी युवा नेतृ हुन् ।

एमालेका खापुङ एक पटक जित/हार दुवैको अनुभव संगालिसकेका नेता हुन् । बहुदल स्थापनापछिका सबै चुनावमा निरन्तर एमालेले नै जित्दै आएको जिल्लामा अचानक ०६४ मा कांग्रेसले जित्यो । तर टिकाउन सकेनँ । ०७० मा एमालेले पुनः आफ्नो पुरानो इतिहास कायम गर्न सक्यो । स्थानीय चुनावमा पनि एमाले ६ मध्ये पाँच स्थानीय तहमा विजयी भयो । तेश्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रले स्थानीय चुनावबाट एउटा वडाध्यक्षमात्रै जिताउन सक्यो । यहाँका मतदाता शिक्षित मानिन्छन् । तर पछिल्लो दशकमा यस्ता राजनीतिक उतार चढाव निरन्तर छन् ।

एमालेका उम्मेदवार खापुङ ०७० को आफ्नो जितलाई निरन्तरता दिन चाहन्छन् भने कांग्रेसकी उम्मेदवारी गुरुङ आफुले दुई पटक समानुपातिक हुँदा गरेको कामको फल चुनावबाट लिन चाहन्छिन् । जिल्लाबाट एक्ली महिला उम्मेदवार बनेकी गुरुङ प्रत्यक्ष निर्वाचित अहिलेसम्मकै एक्ली महिला नेतृ बनेर अर्को इतिहास बनाउन चाहन्छिन् । निर्वाचित सांसद हुँदासमेत कार्यकर्ताको भावना बमोजिम काम गर्न नसकेको आरोप एमाले नेता खापुङलाई छ । तर अहिले माओवादीको समेत मत थपिएपछि मजबुद संगठन खापुङको पक्षमा छ ।

जिल्लाबाट पार्टीको केन्द्रिय सदस्य र सरकारको राज्यमन्त्री सम्म भएकी गुरुङबाट समेत अपेक्षाकृत काम नभएको मतदाताको गुनासो छँदैछ । तर उनी जिल्लाबाट पछिल्लो झण्डै अढाई दशकको अवधिमा सरकारको मन्त्री हुने एक्ली नेतृ हुन् । उनी प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बनेकी हुन् । त्यसकारण मतदाताको विश्वास एक पटक उनीमाथि अडिन पनि सक्छ । त्यसो त मतदाताले कति बेला ? कसलाई रोज्छन् ? भन्ने मनोवैज्ञानिक अन्दाज लगाउन कठिन छ ।

यद्यपि इतिहास जोगाउन तल्लीन एमाले उम्मेदवार खापुङ र इतिहास बनाउने दाउमा रहेकी कांग्रेस नेतृ गुरुङबीचको चुनावी प्रतिष्पर्धा उत्कर्षमा छ । प्रतिनिधि सभामा गुरुङ र खापुङसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका शंकरमान लिम्बु, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई, नेकपा मालेका डिल्ली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनका गंगाबहादुर चोङवाङ, संघीय समाजवादी फोरमका तिर्थ अधिकारी, राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, राप्रपा प्रजातान्त्रिकका गौरी प्रसाद कन्दङवा र जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी रहेको छ । सबै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा मतदान गर्न भन्दै गाउँ गाउँ पुग्न व्यस्त रहेका छन् ।

जिल्लाबाट प्रदेशको चुनावमा समेत बौद्धिक र राजनीतिक रुपमा ख्याति कमाएका नेताहरु प्रतिष्पर्धी बनेपछि प्रदेश चुनाव समेत उत्तिकै रोचक छ । प्रदेश सभा (क) मा कांग्रेस जिल्ला अध्यक्ष गोविन्द ढुंगाना र एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी भिडदैछन् । ढुंगाना आफ्नो कार्यकालमा भत्किएको इतिहासलाई जोडघटाउ मिलाएर नयाँ इतिहास बनाउने दाउमा छन् भने तिवारी जोगाउने होडमा कुदिरहेका छन् । त्यसो त संघीय लोकतान्त्रिक संविधान जारी भएपछिको पहिलो प्रदेश सभा सदस्यको निर्वाचन आफैँमा पनि ऐतिहासिक छ ।

प्रदेश सभा (ख) मा अझै बौद्धिक प्रतिष्पर्धा छ । कांग्रेसबाट प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे र एमालेका पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा यो क्षेत्रमा भिड्दैछन् । प्रदेश सभा (क) मा ढुंगाना र तिवारीसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका पूर्वजिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे, संघीय समाजवादी फोरमका सुर्य मादेन, नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसनका डालेश्वर लिम्बु, नेकपा मालेका माधव खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका सुर्यबहादुर थापा र राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवा मैदानमा छन् ।

प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा कांग्रेसका सम्बाहाम्फे र एमालेका कन्दङवासँगै मंगोल नेशनल अर्गनाइजेसनका डम्बर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका मानबहादुर लिम्बु, संघीय समाजवादी फोरमका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदादेवी कार्की, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका विष्णुकुमार चोङवाङ चुनावी मैदानमा छन् । नयाँपत्रिकाबाट

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

लोकप्रिय