दाताको भरमा २२ शिक्षकलाई तलब

दाताको भरमा २२ शिक्षकलाई तलब

सुरुङ्गा, वैशाख २३ । कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।

कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो ।

विद्यालयको क्षमता एक हजार ५०० भए पनि हाल दुई हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । क्षमताभन्दा बढी विद्यार्थी भएर विद्यालयले विद्यार्थी थेग्न नसक्दा विगतका वर्षदेखि नै प्रवेश परीक्षा लिन थालेको छ ।

सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालय पशुपति, हरिकुल, प्यारागन, देवकोटा, झापा मेरिगोल्डलगायतमा अध्ययनरत विद्यार्थी ती विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् ।

निजी विद्यालयबाट मात्रै यो वर्ष झण्डै ३०० विद्यार्थी आएका छन् । यो शैक्षिकसत्रका लागि कनकाई माविमा भर्ना हुन ३०० भन्दा बढीले प्रवेश परीक्षा दिएकामा १९५ जना मात्र उत्तीर्ण भएको विद्यालय स्रोतले जनाएको छ ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेका बेला कनकाई माविमा भने विद्यार्थी थेग्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेकाले वर्ग विभाजन गर्नुपरेको छ ।”

विद्यार्थीको चापका कारण खानेपानी र शौचालयको समस्या चर्केको छ । विज्ञान समूहका कक्षाबाहेक कक्षा ११ र कक्षा १२ का कक्षाहरु बिहानीसत्रमा सञ्चालित छन् ।

बाँकी एक हजार ७०० भन्दा बढी विद्यार्थीको दिवासत्रमै पठनपाठन हुने भएकाले बसाइ व्यवस्थापन, खानेपानी र शौचालयको समस्या बढ्दै गएको छ ।

कनकाई माविमा कक्षा ८ मा मात्रै २०० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई चार वटा वर्गमा राखेर पठनपाठन गराइँदै आइएको छ ।

त्यस्तै कक्षा ९ मा छ वटा वर्ग छन् भने कक्षा १० मा पाँच वटा वर्ग बनाएर विद्यार्थीलाई राखिएको छ । प्रत्येक वर्गमा ५० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।

तल्लो कक्षाको तुलनामा माथिल्लो कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या रहेको विद्यालयका अर्का सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताउनुभयो ।

कनकाई माविमा ४२ जनाको दरबन्दी छ । दरबन्दीमा रहेका शिक्षकबाट मात्र विद्यालय सञ्चालनमा समस्या भएपछि निजी दरबन्दीमा २२ जना शिक्षकलाई राखिएको छ ।

शिक्षकलाई तलब खुवाउन समस्या भएर पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले बताउनुभयो ।

विसं २०१५ मा स्थापित कनकाई मावि त्यस क्षेत्रको पुरानो विद्यालय हो । उक्त विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि विद्यार्थीसँगै अभिभावकको समेत चहलपहल बढेको छ ।

कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट र ६ देखि १२ कक्षासम्म नेपाली र अंग्रेजी माध्यमका अलग–अलग वर्गमा पठनपाठन भएपछि अभिभावकको रुचि सामुदायिक विद्यालयतर्फ गएको हो ।

शिक्षकलाई तलब खुवाउन दाताको भर

विद्यालयको आन्तरिक स्रोतबाट राखिएका २२ जना शिक्षकलाई तलब खुवाउन अहिले विद्यालय प्रशासनलाई धौ–धौ छ । विद्यालयको जग्गाबाट रु २१ हजार आम्दानी भए पनि मालपोत नै रु एक लाखभन्दा बढी तिर्नुपरेपछि विद्यालय प्रशासनलाई समस्या छ ।

त्यसका अलवा विद्यालयको अन्य कुनै स्रोत नभएकाले शिक्षकलाई तलब खुवाउन दाताको भर पर्नुको विकल्प नरहेको विद्यालयका प्रधानाध्यापक निर्मलकुमार खतिवडाले बताउनुभयो ।

विद्यार्थीका अभिभावकबाट सहयोग जुटाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था हुँदा पनि सम्बन्धित निकायले विद्यालयलाई नहेरेको बताइएको छ ।

कनकाई माविको विद्यालय हाताभित्र छ बिगाह १५ कट्ठा जमिन छ भने बाहिर विद्यालयको नाममा ५२ बिगाह जमिन भए पनि लाभ लिन सकिएको छैन ।

विद्यालयको नाममा रहेको धेरैजसो जग्गा नदी किनारमा छ, जहाँ बर्खे बाली लगाउन समस्या छ । लिजमा लिएकाहरुले हिउँदे बालीका रुपमा खरबुजा, काँक्रा लगाउने गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले विद्यालयको जग्गाबाट प्राप्त आम्दानीभन्दा बढी मालपोत, राजश्व तिर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने र यसका लागि कनकाई नगरपालिका, नागरिक समाज र जग्गा कमाउनेहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नमूना विद्यालयको चर्चामा कनकाई

झापाका साविककै सात वटा निर्वाचन क्षेत्रमा एक–एक वटा र बिर्तामोड नगरपालिकामा रहेको महेन्द्ररत्न मावि अनारमनीलाई नमूना विद्यालय बनाउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रस्तावसहित शिक्षा मन्त्रालयले बजेट खाका अर्थमन्त्रालय पठाएको छ । शिक्षा मन्त्रालयले उनीहरुबाट भौतिक, प्रशासनिक, व्यवस्थापकीय र सुशासनसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना पनि माग गरिसकेको छ । मन्त्रालयको मागसँगै भौतिक नक्साङ्कनसहितको कार्ययोजना मन्त्रालयलाई बुझाइएको छ, जसमा कनकाई मावि पनि समावेश छ ।

नमूना विद्यालयको चर्चासँगै निकट भविष्यमा शैक्षिक गुणस्तर अझ सुध्रने अपेक्षाले अभिभावकको रुची सामुदायिक विद्यालयप्रति बढेको बताइन्छ । नमूना विद्यालयका लागि कनकाई माविले रु एक अर्ब ३१ करोडको योजना पेश गरेको विद्यालयका आधारभूत इञ्चार्ज खेमराज भट्टराईले बताउनुभयो ।

शिक्षकका छोराछोरी पनि कनकाई मै

कनकाई माविका शिक्षकहरु स्वयंले आफ्ना नानीहरुलाई आफैँ अध्यापन गर्ने विद्यालयमा भर्ना गरेका छन् । यो क्रम केही वर्षअघिदेखि नै शुरु भएको हो ।

अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि सोही विद्यालयबाट विगतमा शिक्षक तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, शारदा पाठक, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी र जिवेन्द्र घिमिरेका छोराछोरीले एसएलसी उत्तीर्ण गरिसकेका छन् । हाल सहायक प्रधानाध्यापक डाँगी, शिक्षकहरु तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, जानुका चम्लागाईका नानीहरु र शिक्षक विक्रम बानियाँकी बहिनी अध्ययनरत छन् ।

शिक्षक र अभिभावकको विद्यालयप्रति यति धेरै आकर्षण हुँदा पनि कतिपयमा शैक्षिक गुणस्तरमा शंका रहेको पाइन्छ । यसमा व्यवस्थापन समितिका पदाधिकारीहरु पनि छन् ।

निजी स्रोतका शिक्षकका आफ्नै समस्या

कनकाई माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक आफूहरु समस्यामा रहेको बताउँछन् । निम्न माध्यमिक तहमा नियुक्त भएर पनि मावि तहमा अध्यापन गराइरहेको र योग्यता पुगेर पनि सेवा सुविधामा विद्यालयले नहेरेको अंग्रेजी माध्यमतर्फ सामाजिक विषयका शिक्षक राजेन्द्र खनालले बताउनुभयो । समान कामका लागि सेवा सुविधामा विभेद हुन नहुने उहाँहरुको भनाइ छ ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।