दिनप्रतिदिन उपभोक्ताहरु तौलमा ठगिँदै

दिनप्रतिदिन उपभोक्ताहरु तौलमा ठगिँदै

बर्दिवास । स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् ।

जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् ।

खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ । बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलिदा सधैँ तौल कम भएको पाइएको बर्दिवास नगरपालिका–२ की पवित्रा खड्काले गुनासो गर्दै भन्नुभयो, “बजारबाट ल्याएको एक किलो तरकारी घर ल्याएर तौलँदा २०० ग्राम घट्छ त्यस्तै हाल किराना पसलबाट ल्याइएका सामानको पनि छ ।”

बजारका स्थायी पसल र साप्ताहिक हटियामा ढुंगे ढक र परम्परागत तराजुको प्रयोगमा प्रतिबन्ध लगाएर कारबाही नगरेसम्म व्यापारीहरूले तौलमा ठगिनै रहने यहाँका उपभोक्ता बताउँछन् । बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामे ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको पाइएको भङ्गाहा नगरपालिका–५ राजपुरकी सामाजिक कार्यकर्ता हरिप्रिया कुशवाहाले बताउनुभयो ।

बजार र पसलमा नापतौल व्यवस्थापन, अनुगमन गर्ने निकाय स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र नापतौल तथा गुणस्तर कार्यालयले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेल भन्नुहुन्छ “निश्चित दायित्व निर्वाह गर्ने कुरामा हल्लाखल्ला नभएसम्म कतैबाट वास्ता गरिँदैन ।”

यता बर्दिवास उद्योग वाणिज्य संघले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि व्यापारी सम्पर्कमा नआएको जनाएको छ । यता किराना र तरकारी व्यापारीहरूले भने प्रामाणिक ढक, तराजु निकै महँगो पर्ने भएकाले किन्न नसकिएको बताएका छन् ।

प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरी कारबाही बढाइने संघका महासचिव भवनाथ खतिवडाको भनाइ छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय