दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर: वामगठबन्धन

दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर: वामगठबन्धन

काठमाडौं, कात्तिक १७ । एमाले-माओवादी गठबन्धनले दुई वर्षभित्र मुलुकलाई प्रमुख खाद्यान्न, माछा, मासु र दुधमा आत्मनिर्भर बनाउने योजनासहितको चुनावी घोषणापत्र तयार पारेको छ। घोषणापत्रमा आगामी पाँच वर्षभित्र मुलुकबाट खाद्यान्न निर्यात गर्ने लक्ष्य राखिएको छ। कृषिमा आधुनिक प्रविधि अपनाएर व्यवसायीकरण गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने गठबन्धनको रणनीति छ। यसका लागि ठूलो मात्रामा अनुदान लगानी गर्ने घोषणापत्रमा उल्लेख छ।

गठबन्धन नेतृत्वमा बन्ने सरकारले कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गर्ने भएको छ। कृषियोग्य भूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्म विकास गरिनेछ। फार्ममा डेरी, पोल्ट्री, पशुपन्छी, मौरी, माछापालन, खाद्यान्न, फलफूल तथा गैरखाद्य कृषिको उत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख छ। अहिले मुलुक खाद्यान्नमा भारतसँग परनिर्भर छ। चामल, तरकारी, तेल, फलफूल, माछामासु, दलहनलगायत खाद्यवस्तु ठूलो मात्रामा आयात भइरहेको छ।

गठबन्धनले सम्पूर्ण कृषि उत्पादनलाई औद्योगिकीकरण गर्ने बताएको छ। कृषि उत्पादनमा आवश्यक रासायनिक र प्रांगारिक मल देशभित्रै उत्पादन गर्ने भनिएको छ। घोषणापत्रअनुसार आगामी १० वर्षमा नेपाल प्रांगारिक मुलुक घोषणा हुनेछ। कृषिमा उत्पादकत्व बढाउन पाँच वर्षभित्र सम्पूर्ण सिँचाइयोग्य कृषि भूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिने भएको छ।

ऊर्जामा जोड

गठबन्धनले आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहोर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको छ। आन्तरिक खपतबाट बचेको विद्युत् भारत, चीन र बंगलादेशमा निर्यात गर्ने लक्ष्य छ। १० वर्षमा सम्पन्न हुने गरी कर्णाली चिसापानी, बूढीगण्डकी, पश्चिम सेती, नलसिंहगाड, उत्तरगंगा, नौमुरे, माथिल्लो झिम्रुक, सुनकोसी-१, सुनकोसी-२, तमोर, तामाकोसी-३ लगायत परियोजनाको काम तीव्र गतिमा अगाडि बढाउने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक विकासका योजना र कार्यक्रम अगाडि बढाउने बताइएको छ।

आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घण्टा पर्याप्त विद्युत् उपलव्ध गराइने भएको छ। काठमाडौं उपत्यकामा तीन वर्षभित्र विद्युतीय सवारी साधनमात्र उपयोग गर्ने कार्ययोजना लागू गरिनेछ। बिजुलीबाट वञ्चित घरपरिवारलाई दुई वर्षभित्र विद्युत् उपलब्ध गराइने भएको छ।

यातायात पूर्वाधार

गठबन्धन नेतृत्वमा बन्ने सरकारले काठमाडौं-तराई द्रुतमार्ग चार वर्षभित्र निर्माण गरिसक्ने बताएको छ। यस्तै पूर्व-पश्चिम राजमार्गलाई पाँच वर्षभित्र ८/६ लेनमा स्तरोन्नति गरिनेछ। हुलाकी राजमार्ग, भित्री औद्योगिक कोरिडोर मध्यपहाडी राजमार्ग, उत्तर-दक्षिण राजमार्गलगायत विस्तारमा जोड दिने घोषणापत्रमा उल्लेख छ। प्रत्येक प्रदेशका केन्द्रलाई चारदेखि आठ लेनका आधुनिक सडकमार्फत मुख्य राजमार्गसँग आबद्ध गरिने बताएको छ।

आगामी पाँच वर्षमा पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गमा तीव्र गतिका विद्युतीय रेल कुदाउने घोषणापत्रमा उल्लेख छ। यही अवधिमा रसुवागढी-काठमाडौं-वीरगंजमा तीव्र गतिको विद्युतीय रेलमार्ग सञ्चालन भइसक्नेछ। राजधानी उपत्यकाका चक्रपथमा रेल चल्नेछन्। देशका प्रमुख सहरमा मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालनमा जोड दिइने भएको छ।

हवाई र जलमार्ग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिमा जोड दिइने बताइएको छ। आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसक्नेछ। यस्तै दुई वर्षभित्रमा भैरहवा र तीन वर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख छ। विराटनगर, नेपालगन्ज, सुर्खेत तथा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताइएको छ।

बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाउने गठबन्धनको रणनीति छ। साथै निजीक्षेत्रका हवाई सेवालाई पनि प्रोत्साहन गरिनेछ। कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गको सम्भाव्यता अध्ययन हुनेछ। उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गरिनेछ।

पर्यटन विकास

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ। पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकनलाई थप आकर्षक र सुरक्षित बनाइने भएको छ। जोखिममा तत्काल उद्धारको भरपर्दो व्यवस्था हुनेछ। ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने गरी ‘हिमाली पर्यटकीय पदमार्ग’ निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

आगामी तीन वर्षभित्र अत्याधुनिक प्रविधिको प्रयोग गरी धरहराको पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता घोषणापत्रमा छ। गठबन्धन नेतृत्वको सरकारले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्याउने गरी प्रचारप्रसार, बजार प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिने भएको छ। पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानमा केबलकार र मोनोरेल सञ्चालन गर्ने योजना छ।

उद्योग र खनिज

‘एक प्रदेश एक आधुनिक औद्योगिक क्षेत्र’ नीतिअनुरूप सबै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य गठबन्धनको छ। विद्यमान औद्योगिक क्षेत्रलाई आधुनिकीकरण गरिनेछ। यी औद्योगिक क्षेत्रमा १० वर्षभित्रमा १० लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने उद्योग स्थापना गर्ने बताइएको छ। लगानीकर्ताका लागि उद्योग स्थापना भएको पाँच वर्षसम्म विद्युत्, पानी र करमा विशेष छुट दिइनेछ। व्यापक रूपमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन उद्योगको विकास गरिने भएको छ।

प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम विकास हुनेछ। नेपाललाई आवश्यक पर्ने आधारभूत औषधि स्वदेशमै उत्पादन गरिनेछ। स्थानीय सीप, प्रविधि र कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रबद्र्धन गर्न विशेष नीति लिनेछ। विदेशी सहायतामाथिको निर्भरता क्रमशः हटाउँदै हरेक क्षेत्रमा उत्पादकत्व वृद्धि गरेर पाँच वर्षमा उपभोग्य वस्तुमा आत्मनिर्भरता कायम गर्ने महत्वाकांक्षी योजना घोषणापत्रमा समेटिएको छ।

सुलभ स्वास्थ्य सेवा

स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन सुनिश्चित गर्न गठबन्धन नेतृत्वको सरकार क्रियाशील रहनेछ। यसका लागि स्वास्थ्यमा उल्लेख्य लगानी वृद्धि गर्ने बताइएको छ। ‘प्रति २५ हजार नागरिकका लागि ७ चिकित्सक र ६० शड्ढया पुर्‍याइनेछ’, घोषणापत्रमा भनिएको छ, ‘सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ।’ हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैयाका सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने लक्ष्य छ।

गठबन्धन नेतृत्वमा बन्ने सरकारले प्रदेश र स्थानीय तहमा पूर्वाधार विकासका लागि आगामी पाँच वर्षसम्म राष्ट्रिय राजस्वको ५० प्रतिशत हिस्सा उपलब्ध गराउने भएको छ। प्रदेशका केन्द्र घोषणा भएपछि सम्बन्धित सदरमुकाममा स्मार्ट सिटीको अवधारणाअनुरूप अत्याधुनिक सहर विकास गर्ने घोषणापत्रमा उल्लेख छ। प्रत्येक प्रदेशमा विशेष आर्थिक क्षेत्र हुनेछन्। त्यहाँको सांस्कृतिक पहिचानसहित एक चलचित्र शहर विकास गरिनेछ। प्रदेशको केन्द्रमा आधुनिक विमानस्थल तथा नगरपालिका/गाउँपालिका केन्द्रमा हेलिप्याड निर्माण गर्ने उल्लेख छ। स्मार्ट सिटी निर्माणमा गठबन्धन सरकारले विशेष जोड दिने भएको छ।

स्वच्छ, सुन्दर र आधुनिक राजधानी

काठमाडौं उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई एकीकृत सहरका रूपमा विकास गरिनेछ। उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमुना बनाइनेछ। काठमाडौंमा भित्री, बाहिरी र बृहत्् गरी तीनवटा चक्रपथ निर्माण, विस्तार तथा विकास गर्ने लक्ष्य राखिएको छ।

वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्ते नदी र खोला सफा हुनेछन्। वाग्मती नदीको मुहानदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिनेछ। राजधानीलाई फोहोर, धूलो, हिलो र प्रदूषणमुक्त गरिनेछ। राजधानीका नदी र तालमा ढल एवं फोहोर पानी मिसाउन प्रतिबन्ध हुनेछ। दैनिक पाँच लाख बाह्य तथा आन्तरिक पर्यटक रहन सक्ने गरी पूर्वाधार विकास गर्ने बताइएको छ।

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार पुर्‍याउने घोषणापत्रमा उल्लेख छ। ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई यातायात भाडामा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था हुनेछ। योगदानमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रमका माध्यमबाट संगठित क्षेत्रमा कार्यरत सबै श्रमिक तथा कर्मचारीको स्वास्थ्य, शिक्षा, निवृत्ति भरणको पूर्ति गर्ने लक्ष्य छ।

सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट पाँच हजार भत्ता र रोजगारमा संलग्न महिलाले १४ हप्ताको सुत्केरी बिदा पाउनेछन्। दलित समुदायका बालबालिकाले उच्च शिक्षासम्म छात्रवृत्तिसहित निःशुल्क अध्ययन गर्न पाउनेछन्। घरवारविहीन दलितका लागि एक वर्षभित्र घर उपलब्ध गराउने महत्वाकांक्षी योजना पनि घोषणापत्रमा छ।

नियन्त्रित बाह्य लगानी

वाम गठबन्धनले तयार पारेको घोषणापत्रमा बाह्य लगानी भित्याउँदा सन्तुलित नीति अवलम्बन गर्ने उल्लेख छ। घोषणापत्रमा निजीक्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा सामेल र प्रोत्साहन गर्ने रणनीति अपनाउने उसको भनाइ छ। लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफा सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता छ। ‘सार्वजनिक-निजी-साझेदारीलाई महत्व दिएर अवलम्बन गरिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘अर्थनीतिको महत्वपूर्ण आधारका रूपमा उत्पादक सहकारीलाई विकास गरिनेछ।’ देशमा भित्रिने रेमिट्यान्सको ९० प्रतिशत हिस्सा राष्ट्रिय उत्पादनमा लगाउने रणनीति अवलम्बन हुनेछ।

नेपालमा औद्योगिकीकरण र गुणात्मक आर्थिक विकासका लागि आन्तरिक पुँजीमात्र अपर्याप्त रहेको वाम गठबन्धनको ठहर छ। घोषणापत्रमा ठूला पूर्वाधार निर्माण र राष्ट्रिय प्राथमिकताका आयोजनामा विदेशी लगानी भित्याउनुपर्ने आवश्यकता महसुस गरिएको छ। तर बाह्य लगानी अनियन्त्रित रूपमा भित्याउँदा देशको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्ने खतरा औंल्याउँदै घोषणापत्रमा आन्तरिक र बाह्य लगानीमा सन्तुलनको नीति लिँदै बाह्य लगानीलाई विधिसम्मत ढंगले भित्याउने स्पष्ट पारिएको छ।

आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइने लक्ष्य राखिएको छ। निरपेक्ष गरिबीको रेखामुनि रहेका जनता मुक्त हुनेछन्। १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार अमेरिकी डलर पुर्‍याउने गरी अर्थतन्त्रको विकास गर्ने लक्ष्य छ। घोषणापत्रमा २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक विकासका योजना र कार्यक्रम अगाडि बढाउने बताइएको छ।

किन चुलिदैछ कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला आफ्नै पार्टीसमेत संलग्न सरकारले सय दिन पनि पूरा नगर्दै चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सामान्यतः सरकार बनेको सय दिनलाई ‘हनिमुन’ अवधिका रूपमा लिएर अरूले पनि शंकाको सुविधा दिने राजनीतिक प्रचलन छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई महिना मात्र हुँदै गर्दा सत्तारूढ दलकै नेता कोइरालाबाट आलोचना हुन थालेको हो । अनेक शंका–उपशंकाका बीच कोइराला भने अन्य कारण नभएर प्रधानमन्त्री ओलीका केही कार्यशैलीगत विषयप्रति मात्र आफ्नो असन्तुष्टि रहेको बताउँछन् । खासगरी ओली सरकारले गरेका केही निर्णय र पहलकदमीप्रति कोइरालाको मुख्य चासो देखिएको छ । उद्योगीहरूबाट ‘डेडिकेटेड र ट्रंकलाइन’ को महसुल भुक्तानी गर्ने विषयलाई लिएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको योजनाप्रति आफ्नो समर्थन नरहेको उनले बताए । ‘कुलमानका कमीकमजोरी थिए भने त्यसलाई हेर्न राज्यका संयन्त्रहरू थिए तर डेटिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीको विषयमा जसरी उनलाई हटाउन खोजियो, त्यसमा मेरो असन्तुष्टि हो,’ उनले भने । बालुवाटारमा सर्वदलीय बैठक राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको निर्णयप्रति पनि कोइरालाको आपत्ति नै थियो । संसद्मा रानाविरुद्धको प्रस्ताव दर्ता गर्न कांग्रेस र एमालेका मुख्य सचेतकहरूले हस्ताक्षर संकलन गरिरहेको दिन कोइराला पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेताहरूसँग असन्तुष्टि जनाउ दिएर आँखा उपचारका लागि सिंगापुर हिँडेका थिए तर पूर्वको सिंगापुर जान उनले पश्चिम दिल्लीको बाटो लिएका थिए । ‘एकपटक हामी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा गएर फसेका छौं, अहिले फेरि उपसभामुखलाई हटाउने भनेर फस्न हुन्न भन्ने मेरो कुरा थियो । न दुई तिहाइ पुग्ने अवस्था थियो, न उनीविरुद्धको आरोप पुष्टि हुने अवस्था नै थियो, त्यसैले शेरबहादुरजीलाई नै असन्तुष्टि जनाएर म हिँडेको थिएँ,’ उनले भने । सत्ता गठबन्धनमा कांग्रेस–एमालेका अलावा अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि छन् । सत्तामा रहेका सबै दलको सांसद संख्या जोड्दा पनि दुई तिहाइ पुग्दैन । ‘तर अपुग २/३ सांसद पुर्‍याउन सरकारलाई समस्या थिएन । मधेसमा सत्ता सहकार्य गरेको जनमत वा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमध्ये एउटा दलले समर्थन गर्दा सहजै दुई तिहाइ पुग्थ्यो । कोइरालाकै असन्तुष्टिले प्रधानमन्त्री ओली र हाम्रा सभापति देउवा हच्किनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेका बेला पार्टीभित्रै असन्तुष्टि बढाउँदा समीकरण तलमाथि हुन सक्ने चिन्ता देखिएपछि रोकिएको हो ।’ कोइरालाको असन्तुष्टिकै कारण उनीनिकट सदस्यहरूले उपसभामुखलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । कोइरालाको साथ नपाएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई उपसभामुखबाट हटाउने निर्णयबाट पछि हटे । माओवादीसँग सहकार्य गरेकै बेलादेखि सरकारको स्थिरिता र विकासका लागि कांग्रेसले एमालेसँग समीकरण गर्नुपर्ने पक्षमा कोइराला थिए । डेढ वर्षअघि एमालेले सरकार छाडेपछि कांग्रेस–माओवादी सत्ता सहकार्यमा रहेका बेला कोइरालाकै योजनामा कोशी प्रदेश सरकार गठनमा ‘विद्रोह’ गरिएको थियो । संघ र अरु सबै प्रदेशमा माओवादीसँगको गठबन्धनमा सरकार बन्दा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की कोइरालाका विश्वासपात्र हुन् । त्यतिबेलादेखि नै कोइरालाले प्रतिनिधिसभाको संसदीय दलमा बहुमत जुटाउने कसरत पनि गरेको नेताहरू बताउँछन् । बहुमत सांसद आफ्नो पक्षमा नदेखिएपछि नै देउवालाई विस्थापित गर्ने योजनाबाट कोइराला पछि हटेका हुन् । माओवादीले गत फागुनमा कांग्रेस छाडेर एमालेसँग सत्तासमीकरण बनाएको थियो । त्यस समीकरणले चार महिना पार नगर्दै गत असारमा कांग्रेस–एमालेको सत्ता सहकार्य सुरु भयो । आफैंले चाहेअनुसारको समीकरण बने पनि नयाँ सरकारले सय दिन पार नगर्दै कांग्रेस नेता कोइरालामा छटपटी देखिन थालेको हो । कतिपय नेताको बुझाइमा भने ओली सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेको अवस्थामा कोइराला लाभ लिन प्रयासमा भित्रभित्रै लागिरहेका छन् । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतबाट भ्रमणको निमन्त्रणा हुने प्रचलन छ । तर ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभाका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता मिलाउन पनि ठूलै कसरत गर्नुपर्‍यो । कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसमेत ओली नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थिरताको प्रत्याभूति दिने गरी काम गर्न नसकेको बताउँछन् । साउदको भनाइले समेत सरकारलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको संकेत दिन्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल ओली नेतृत्वको सरकारले पनि जनतामा भरोसा जगाउन नसके कांग्रेसभित्रबाट कोइरालाले प्रधानमन्त्रीका लागि प्रयास गर्नुपर्ने बताउँछन् । ‘शेखर दाइमा आफ्नो भविष्यको चिन्ताभन्दा सरकारले बढाएको निराशाले छटपटी छ । सरकारका कारण चरम निराशा अझै बढ्दै गए विस्फोटक स्थितिबाट मुलुकलाई जोगाउन शेखर दाइ अघि बढ्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवादमा नपरेका, केही आशा गर्न सकिने नयाँ अनुहार पार्टीको १४औं महाधिवेशनबाट नेताका रूपमा स्थापित भएकाले नै शेखर दाइ उपयुक्त पात्र हो ।’ आजको कान्तिपुर दैनिकबाट

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

किन बढ्दै छ सरकारको स्थायित्वमाथि आशंका ?

काठमाडौं । राजनीतिक स्थायित्व, सुशासन, सेवा प्रवाह र संविधान संशोधनसहितको सातबुँदे सहमतिअनुसार गठन भएको संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा (एमाले) सम्मिलित सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकार गठन भएको दुई महिना नपुग्दै राजनीतिक वृत्तमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयुका सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू हुन थालेको आजको नेपाल समाचारपत्रले लेखेको छ। सत्ता पक्षकै कतिपय सांसदहरूले वर्तमान सरकारको चाल हेर्दा लामो समय जाने संकेत नदेखिएको बताए । गत असार १७ गत मध्यरातमा एकाएक भएको कांग्रेस–एमाले सत्ता समीकरणसँगै आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिचौलिया, तस्कर र भ्रष्टाचारीलाई बचाउन आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै आएको थियो । प्रतिपक्षको उक्त आरोपलाई सत्तापक्षका सांसदहरूले खण्डन गरे पनि पछिल्लो समयमा सरकारका गतिविधिप्रति मन्त्रीहरू नै सन्तुष्ट देखिएका छैनन्। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भएकाले आ–आफ्नो राजनीतिक अभियानलाई सशक्त बनाएर जनतामाझ पुग्न कठिन भएको बताउन थालेका छन् । प्रतिपक्षी दलहरूले खेलिरहेको अवस्थामा सरकारकै मन्त्रीहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले विवादित बनेका छन् । पछिल्लोपटक सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको छ । सो विषयमा आपत्ति जनाउँदै सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनबाटै सरकारको ध्यानाकर्षण गर्नुभयो । मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गर्दै खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिनसमेत माग गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्तिले अर्को तरंग उत्पन्न भएको छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न शुरू भएको हो रु भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । प्रदेश सांसद मनाङेले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय ३ करोडसम्ममा बिक्रीमा राखेको अभिव्यक्ति दिनुभएको थियो । यता, कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि दुई प्रतिस्पर्धी दलबीचको गठबन्धनले पार्टी खुकुरीको धारमा हिँड्नुपरेको टिप्पणी गर्नुभएको थियो । उहाँले मन्त्री भएर काम गर्नै नसकेको भनेर पार्टीको केन्द्रीय समिति बैठकमा दिएको अभिव्यक्तिले समेत पार्टी र सरकारमा एकखालको तरंग छाएको थियो। केही समयअघि परराष्ट्रमन्त्री आरजू देउवा राणा भारत भ्रमणबाट फर्कनासाथ उहाँप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै अब महिला प्रधानमन्त्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो– ‘म महिला प्रधानमन्त्री भएको देख्न चाहन्छु । मेरै पालामा महिला राष्ट्रपति, महिला सभामुख, महिला न्यायाधीश र महिला मुख्य सचिव बनाइसकिएको छ । अब महिला प्रधानमन्त्री बनाउने मेरो चाहना छ । त्यो चाँडै पूरा हुन्छ, तर केही महिना लाग्छ।’ उहाँको यस्तो अभिव्यक्तिलगत्तै आरजू राणालाई कतिपयले भाबी प्रधानमन्त्रीका रूपमा प्रचार नै गरेपछि राणाले आगामी सरकारको प्रधानमन्त्री आफू नभएर कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने लिखित धारणा सार्वजनिक गर्नुभएको थियो। सरकारले अपेक्षकृत रूपमा काम गर्न नसकेको टिप्पणीहरू भइरहेका बेला सरकारसम्बद्ध व्यक्तिहरूबाटै आएका यस्ता आलोचित र विवादित विषयले सरकारलाई थप कमजोर गर्दै लगेको विश्लेषकहरूले बताएका छन्। तर, सरकारका प्रमुख दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र केपी ओलीसमेत सरकारको आयुका विषयमा निश्चिन्त हुनुहुन्न । उहाँहरूले हतारमा अभिव्यक्ति दिँदै यो सरकार दुई दलबीच भएको सहमतिअनुसार जाने जिकिर गर्नुभएको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गर्नुभयो । बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले भन्नुभएको छ– ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’ बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने पार्टी नेताहरूलाई आश्वस्त पार्नुभएको छ। सरकारलाई सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न उहाँले नेताहरूलाई निर्देशन नै दिनुभएको छ। ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ। यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ –उहाँले भन्नुभयो।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

लोकप्रिय