चितवन क्षेत्र नं १ बाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वरक्षामन्त्री रामबहादुर थापा, क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही क्षेत्रबाट राप्रपा लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष एवं वर्तमान वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे निर्वाचनमा लड्ने तयारीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै चितवन  क्षेत्र नं ३ बाट उम्मेदवार घाेषणा गरीसकेका छन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै घोषणा गरेर क्षेत्र नं ३ बाट निर्वाचन लड्ने बताइसकेका छन् । गृह जिल्ला चितवन भए पनि यसअघिका निर्वाचनमा उनी अन्यत्रबाट प्रतिस्पर्धा गरिरहेका छन् । सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा छोरी रेणु प्रमुख छिन् । यसअघि सो क्षेत्रबाट कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचन भई प्रधानमन्त्रीसमेत भएका थिए ।

हाल निर्वाचन क्षेत्र गाभिएपछि सोही क्षेत्रमा पर्ने यसअघिको क्षेत्र नं ५ बाट निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री पाण्डेले क्षेत्र नं ३ बाटै निर्वाचन लड्ने बताउँदै आएका थिए । उनले भने ‘लोकतान्त्रिक गठबन्धन भए पनि नभए पनि म क्षेत्र नं ३ बाटै निर्वाचन लड्छु ।’ यसअघि पार्टीभन्दा व्यक्तिगत मत बढी पाएका पाण्डेले दाहालसँग निर्वाचनमा भिड्दै बताउँदा चुनावी रौनकता र प्रतिस्पर्धा अरु थपिने देखिएको छ ।

नेता थापा समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन लड्न इच्छुक हुनुहुन्छ ।

त्यस्तै क्षेत्र नं २ बाट माओवादी केन्द्रका नेता थापा निर्वाचन लड्न इच्छुक देखिएका छन् । उनका स्वकीय सचिव अच्युत पन्तले थापा एक्लै निर्वाचन लड्ने तयारीमा रहेकामा वाम एकता भएपछि झन् सजिलो बनेको बताए । पन्तले भने ‘नेता थापा समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन लड्न इच्छुक हुनुहुन्छ ।’ यसअघि पनि सोही क्षेत्रसमेत पर्ने तत्कालीन क्षेत्र नं २ बाट थापा निर्वाचित भएका थिए । थापालाई माओवादी केन्द्रका तेस्रो ठूलो नेताका रुपमा लिइन्छ ।

 त्यसैगरी वामपन्थी गठबन्धनको कार्य दलमा थापा रहेका छन् । जिल्लाको क्षेत्र नं १ बाट एमाले नेता पाण्डेको नाम सर्वसम्मत सिफारिस भएको छ । जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले क्षेत्र नं १ मा पाण्डेको विकल्प अरु नभएको बताए ।

वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उच्च नेताले इच्छा देखाएपछि यहाँको चुनावी सरगर्मी निकै बढेर गएको छ ।

पार्टीको गत महाधिवेशनमा उनी महासचिवमा झिनो मतले पराजित भएका थिए । उनी सोही क्षेत्रको हालको सांसद पनि हुन् । जिल्लाका पाँच क्षेत्र गाभिएर ३ क्षेत्र बनेपछि वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उच्च नेताले इच्छा देखाएपछि यहाँको चुनावी सरगर्मी निकै बढेर गएको छ ।

केन्द्रीय नेता नै जिल्लाबाट निर्वाचन लड्ने भएपछि यहाँको विकास द्रुत गतिमा हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । यसअघि देशको राजधानी र प्रदेशको राजधानीलगायत चर्चा गरिँदै आएको भए पनि ‘छयहत्तरौँ जिल्ला’ले कुनै उपलब्धि लिनसकेको छैन । जिल्लामा तीन लाख ५४ हजार ३५ मतदाता छन् ।
कुन क्षेत्र कहाँ पर्छ ?

प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा क्षेत्र नम्बर १ अन्तरगत हालको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका तोकिएको छ । प्रदेश सभामा भने क्षेत्र नम्बर (क) मा राप्ती नपा र खैरहनी नपाको वडा नम्बर ३, ६, ७, ८, ९, १० र ११ तोकिएको छ । प्रदेश सभा अन्तरर्गत क्षेत्र ख) मा खैरहनी नपाको वडा नम्बर १, २, ४, ५, १२ र १३ तथा सिंगो रत्ननगर नगरपालिका तोकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको वडा नम्बर १ , २, ३, ५, ७, १०, ११, १२ र २९ तोकिएको छ । यस क्षेत्र अन्तर्गत प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर (क) मा कालिका नपा, इच्छाकामना गापा र भरतपुर महानगरको वडा नम्बर १, ३ र २९ रहेका छन् ।

 यस क्षेत्रको प्रदेश क्षेत्र नम्बर (ख) मा भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११ र १२ वडा रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३ , २४, २५, २६, २७, २८ वडा र माडी नगरपालिका सिंगो रहेको छ । यस निर्वाचन क्षेत्रको प्रदेश सभा क्षेत्र (क) मा भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १५, १६, १७, १८, १९, २०, २६, २७ र २८ नम्बर वडा रहेका छन् । क्षेत्र (ख) मा भरतपुर महानगरको १३, १४, २१, २२, २३, २४ र २५ वडा तथा सिंगो माडी नगरपालिका रहेका छन् ।