धरानमा विमानस्थल बन्ने अनिश्चित
इटहरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ ।
विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले रासससँगको कुराकानीमा बताउनुभयो ।
नेपालमा चालू अवस्थामा रहेका विमानस्थलको स्तरोन्नत्ति गर्ने र पहिला निर्माण भई सञ्चालनमा रहेका विमानस्थलमध्ये अहिले सञ्चालनमा नरहेका विमानस्थल कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा प्राधिकरणले गहन अध्ययन गरिरहेको पनि उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नयाँ विमानस्थल निर्माणभन्दा पनि ठूला विमान अवतरण गरिरहेका स्थानको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय क्षमताका विमानस्थलको स्तरोन्नति गरी धावनमार्ग विस्तारमा प्राधिकरण केन्द्रित रहेको छ भन्नुभयो ।
एक दशकअघिदेखि यति कर्पोरेटले सुनसरीले धरानमा विमानस्थल बनाउन थालेको अभियानका विषयमा के हुन्छ त भन्ने प्रश्न गर्दा उपमहानिर्देशक श्रेष्ठले त्यहाँ पनि विमानस्थल बनाउन सकिने सम्भावना रहेपनि भौगोलिक जोखिमपूर्ण रहेको तथा विराटनगर विमानस्थल नजिक रहेकाले यस विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाले विमानस्थल बनाउन प्राधिकरणलाई सात बिगाह जमिन उपलब्ध गराउने आश्वासन दिएको भए पनि त्यो प्राप्ति गर्ने कार्य अघि नबढेको स्पष्ट पार्र्नुभयो ।
धरानमा विमानस्थल सम्भव छ कि छैन भन्ने विषयमा हालै प्राधिकरणका वरिष्ठ अधिकृत भोला घिमिरेको टोलीले स्थलगत अध्ययन गरेको र प्राधिकरणले वातावरण प्रभाव मूल्यांकन गर्ने प्रक्रिया अघि बढाएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यस विषयमा विस्तृत जानकारीका लागि प्राधिकरणले छुट्टै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने योजना बनाएको छ ।
उपमहानिर्देशक श्रेष्ठले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने उद्देश्यले रु एक अर्ब ३५ करोड बजेट नै विनियोजन गरेर दीर्घकालीन योजनासहित थप आवश्यक जमिन अधिग्रहणदेखि विमानस्थलको रन वे विस्तार योजनासमेत अघि बढाइसकेको जानकारीसमेत सार्वजनिक गर्नुभयो ।
उहाँले हाल विराटनगरमा एक हजार ५०० मिटरको रन वे रहेको तथा त्यहाँ अब कम्तीमा दुई हजार ५०० मिटरको रन वे बनाउने योजनासहित प्राधिकरणले कार्य अघि बढाइसकेको पनि उहाँको भनाइ छ । त्यसअन्तर्गत अहिले रु तीन करोडको लागतमा टर्मिनल भवन रिमोडलिङ गर्ने कार्यको थालनी गरेको बताउनुभयो ।
यता धरानको विमानस्थलका विषयमा भने उहाँले भौगोलिकरुपमा हाल त्यहाँको जमिनअनुसार ८०० मिटरको धावनमार्गमात्र बन्न सक्ने भएकाले त्यहाँ साना र कम क्षमताका विमान मात्र अवतरण गर्न सक्ने भएकाले धरानको विमानस्थल ज्यादै खर्चिलोसमेत हुने भएकाले त्यहाँ विमानस्थल बनाउनुको औचित्य नरहने धारणासमेत स्पष्ट पार्नुभयो ।
धरानमा विमानस्थल बन्दा कम यात्रु बोक्ने विमान मात्र अवतरण गर्र्न सक्ने र खर्चको दृष्टिकोणले विराटनगरको यात्राभन्दा धेरै महँगोसमेत पर्न जाने भएकाले यात्रु सुविधाका हिसाबले पनि धरानको विमानस्थल सुलभ नभई महँगो भाडादरका कारण चल्न नसक्ने खतरा पनि रहने भएकाले त्यसप्रति प्राधिकरणले खासै चासो नराखेको पनि उहाँले खुलासा गर्नुभयो ।
धरानवासीले विमानस्थल जरुरी छ भन्ने औचित्य पुष्टिसँगै सानो विमान अवतरणका लागिसमेत आवश्यक पूर्वाधार तयार गर्न कम्तीमा ९१ बिगाह जमिन उपलब्ध हुन जरुरी रहेकाले त्यसको सम्भावना छ वा छैन भन्ने विषयमा प्राधिकरणले सम्भाव्यता अध्ययन आदि कार्यका लागि रु सात करोड छुट्याएको छ । तर त्यहाँ नयाँ विमानस्थल बनाउँदा लाग्ने खर्च, जग्गा प्राप्ति वा खरिद गर्दा लाग्ने खर्च आदिका हिसाबले पनि धरानको विमानस्थल ज्यादै खर्चिलो र जोखिमपूर्णसमेत रहने भएकाले अहिले नै धरानमा विमानस्थल बन्न सक्ने सम्भावना दह्रो छ भनेर भन्न सक्ने अवस्था नरहेको पनि उपमहानिर्देशक श्रेष्ठको भनाइ छ ।
धरान विमानस्थलसम्बन्धी पछिल्लो समय अध्ययनमा आउनुभएका वरिष्ठ अधिकृत घिमिरेले अहिले नै धरानमा विमान अवतरणका लागि विमानस्थल बन्न सक्ने सम्भावना ज्यादै कम रहेको तथा त्यो विषयमा अध्ययनमात्र भइरहेको बताउनुभयो । उहाँले त्यसका लागि जग्गा प्राप्ति नै जटिल विषय रहेको तथा भौगोलिक दृष्टिले पनि उपयुक्त नदेखिएको उल्लेख गर्नुभयो ।
धरानमा विमानस्थल बनाउने योजना लिएर आउने यति कर्पोरेटका तत्कालीन अधिकार प्राप्त व्यक्ति विजय श्रेष्ठले डेढ वर्षअघि नै यति कर्पोरेट छाडेर अन्यत्र गइसकेकाले उहाँको सक्रियतामा धरान विमानस्थलका लागि खरिद भएको जग्गादातासँगको विमानस्थल नबने जग्गा फिर्ता गर्ने सम्झौतासमेत अन्योलमा परेको छ ।
यता धरानमा विमानस्थल बन्नुपर्छ भन्ने अभियानमा सक्रिय भएर लाग्नुभएका धरानका व्यवसायी अशोक अग्रवाल पनि धरानमा विमानस्थल बन्ने सम्भावना कम बन्दै गएपछि जग्गा फिर्ता हुनुपर्छ भन्ने पक्षमा उभिनुभएको छ । उहाँले जुन उद्देश्यले धरानवासीले जग्गा दिएको वा बेचेको हो त्यसको उद्देश्य प्राप्ति भएन भने जग्गा विक्रेताले सम्झौता मुताविक यति कर्पोरेटबाट जग्गा फिर्ता पाउनुपर्ने उहाँको भनाइ छ ।
धरान विमानस्थल निर्माण योजना र विराटनगर विमानस्थल स्तरोन्नतिको सवालमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग जिज्ञासा राख्दा उहाँले प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजना नै अघि बढाइसकेकाले अहिले नै बन्छ भन्न सकिने अवस्था नरहेको बताउनुभयो । रासस
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

