धेरै नेपाली माझ्न जान्दैनन् दाँत, कसरी गर्ने ब्रस? जान्नुहोस्

धेरै नेपाली माझ्न जान्दैनन् दाँत, कसरी गर्ने ब्रस? जान्नुहोस्

काठमाडौं, चैत १७ । प्रत्येक सय नेपालीमा ९६ जनाले सही तरिकाले दाँत माझ्न जान्दैनन्। यो तीतो सत्यले देशका नागरिकको ‘मुख–स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रस्ट्याउँछ।

एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेटसम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल डिस्फग्सन, क्यान्सर, मृगौला रोग, अर्थराइटिस, प्रोस्टेट लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना हुन्छ।हाम्रो मुखमा ६ सयभन्दा बढी प्रकारका ब्याक्टेरिया हुन्छन् । मुख अस्वस्थ हुँदा रगतलगायतका माध्यमबाट ती ब्याक्टेरिया विभिन्न अंगमा पुग्छन् ।

‘अनुपयुक्त मुख स्वास्थ्यले अन्य रोगको जोखिमसमेत बढिरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा। प्रकाश बुढाथोकी भन्छन्, ‘सही तरिकाले कसरी दाँत माझ्ने, जिब्रो सफा गर्ने तथा मुखको ख्याल गर्नेमा अधिकांशमा निकै चेतना कम छ।’‘दाँतका ५ भाग भए पनि सबैजसो नेपालीले तीन भाग मात्र सफा गर्छन्,’ ओरल मैक्सिलोफेसियल सर्जन डा। सुवास घिमिरेले भने। उनका अनुसार मुख स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा नेपालीको मुख लगायत मुटु, पेट, फोक्सो, अर्थराइटिस लगायतका रोगमा वृद्धि भएको छ। दाँतका पाँचै भागलाई उपयुक्त ढंगले सफा गर्दा दाँत तथा गिजासम्बन्धी ९५ प्रतिशतभन्दा बढी रोग नलाग्ने उनको भनाइ छ।

दाँत कीराले खाने अधिकांश नेपालीको साझा समस्या हो। ग्रामीण भेगका ५० देखि ५५ प्रतिशत तथा सहरी क्षेत्रका करिब ९० प्रतिशत बालबालिकाका दाँत कीराले खाने देखिएको छ। विसं २०६१ को सर्वेक्षण अनुसार ७५ प्रतिशत वयस्कमा दाँतकीराले खाने समस्या छ।

डेढ दशक अघिको सर्वेक्षणलाई आधार मान्दा उक्त प्रतिशत अझै बढी रहेको विशेषज्ञहरूको भनाइ छ। ‘द ग्लोबल वर्डेन अफ डिजिज स्टडी-२०१६’ का अनुसार विश्वव्यापी रूपमा आधा जनसंख्या दाँत कीराले खाने समस्याले पीडित छन्।

जिब्रो सफा गर्देनन् नेपाली
जिब्रोमा विभिन्न जीवाणुको संक्रमण रोक्न नियमित सफा गर्नु आवश्यक छ । मुख स्वास्थ्यअन्तर्गत महत्त्वपूर्ण मानिने जिब्रोलाई सही तरिकाले सफा नगर्ने नेपालीको संख्या प्रशस्त रहेको डा। बुढाथोकी र घिमिरेको भनाइ छ । जिब्रोमा जम्ने सेतो फोहर दिनहुँ सफा गर्नुपर्छ । चिकित्सकद्वयका अनुसार जिब्रो उपयुक्त ढंगले सफा नगर्दा खानको स्वाद लिनमा समेत समस्या हुन्छ।

जिब्रो दाँत माझ्ने ब्रसको ब्रिस्टनले सफा गर्नुपर्छ। डा। बुढाथोकी भन्छन्, यसले जिब्रोमा घाउ खटिरा आउँदैन, स्वाद पहिचान गर्ने बडसमेत लामो समयसम्म स्वस्थ रहन्छ ।’ उनका अनुसार जिब्रो सफा गर्न घातु वा प्लास्टिकको जिब्री प्रयोग गर्नुहुँदैन।

कसरी ब्रस गर्ने?
ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई तीन–तीन दाँतमा विस्तारै तल–माथि हरेक दाँतमा अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ।

दाँत सफा गर्दा ब्रसलाई तलबाट माथि, तल्लो बंगारामा र माथिबाट तल माथिल्लो बंगारामा चलाउनुपर्छ । यस्तै प्रक्रिया भित्री दाँतमा समेत गर्नुपर्छ।

एउटा दाँतमा तलमाथि गरेर घोट्ने जस्तो गरी ब्रस गर्नु हुँदैन । यही प्रक्रिया सबै दाँतको लागि अपनाउनुस् । यस्तै हरेक दाँतको भित्र सतहलाई समेत विस्तारै विस्तारै सफा गर्नुस्।

दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि पछाडि चलाउनुस् । तर अझै तपाईं दाँतको ५ भागमध्ये ३ भागलाई मात्र सफा गर्नुभयो । बाँकी दुई भाग अर्थात् दुई दाँत बीचको भागलाई सफा गर्न डेन्टल फल्सलगायतका प्रक्रिया अपनाउनुस्।

दाँतको तालुतिरको र जिब्रोतिरको खण्डलाई सफा गर्नलाई ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हलुको मालिस गरेर पुनः राम्ररी कुल्ला गर्नुपर्छ।

ब्रस र पेस्ट कस्तो प्रयोग गर्ने
सामान्यतः हामी टुथ ब्रसबारे खासै जानकारी राख्दैनौं । पसलेले दिने ब्रसको गुणस्तर नसोधी त्यसैले दाँत माझ्छौं । बजारमा कडा, मध्यम कडा, नरम, धेरै नरम लगायतका ब्रस पाइए पनि नरम टुथब्रस प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । ‘मध्यम, कडा आदि टुथब्रस उपयोग गर्नु हुँदैन,’ डा। बुढाथोकी भन्छन्, ‘भाँडा सफा गर्न कडा ब्रस चाहिएला, दाँतका लागि होइन ।’

अमेरिकन डेन्टल एसोसिएसनका अनुसार ब्रसको ब्रिसेल नाइलनको हुनुको साथै ‘राउन्ड इन्डेड’ हुनुपर्छ । टुथब्रस मुखको हरेक कुनामा घुमाएर दाँत सफा गर्न सकिने पनि हुनुपर्छ । त्यसका लागि ब्रसको टाउकोसानो हुनुपर्छ।

ब्रसको स्याहार कसरी?
मुखमा कैयौं किटाणु हुन्छन् । दाँतबाट प्लेक र अन्य नरम कणहरू निकाल्दा टुथब्रस ब्याक्टेरिया, रगत, र्‍याल आदिबाट दूषित हुन्छ । यसरी दूषित हुने ब्रसबाट दाँत सफा गरेपछि राम्ररी सफा गर्नुपर्छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार आँखाले हेर्दा सफा देखिए पनि ब्रसमा रोग उत्पन्न गर्न सक्ने जीवाणु, रहन्छन् । यसैले दाँत सफा गरेपछि टुथब्रसलाई राम्ररी सफा, संक्रमणमुत्त, वा स्टरलाइजेसन आदि गर्न सकिन्छ ।

दाँत सफा गरेपछि टुथ ब्रसलाई कडा घाममा सुकाउनुसमेत स्वच्छताको दृष्टिले उपयोगी मानिने गरिएको छ ।

टुथब्रसलाई सकेसम्म बाथरुमरटोइलेटमा राख्नु हुँदैन । प्लस गर्दा निस्किने पानीको ससाना कण र दिसाको टुक्रा ब्रससम्म पुग्न सक्ने भएकोले टोइलेटमा ब्रस राख्नु स्वास्थ्यको दृष्टिले सुरक्षित उपयुक्त नहुने डा।बुढाथोकी बताउँछन् ।

राम्ररी सफा गरे पनि कीटाणु सार्न सक्ने भएकोले टुथ ब्रस साझा गर्नु हुँदैन । ब्रस गरेपछि हावामा सुक्न दिनुपर्छ । एकभन्दा बढी ब्रस एकै स्थानमा राखिए एकले अर्कोलाई छुन दिनु हुँदैन । ब्रस हरेक ३ देखि ४ महिनामा फेर्नुपर्छ ।

दाँतबीचको भाग सफा गर्नुस्
दाँतको सफाइसँगै जिब्रोको समेत सफाइ नियमित रूपले गर्नुपर्छ । दिनहुँ मात्र दाँतको सफाइ गर्नु मुख स्वास्थ्यका लागि अधुरो मानिन्छ । दाँत सफा गर्दा, पेस्ट वा मन्जन उपयोग गर्नुहुन्छ भने यसको गुणस्तर सुनिश्चित गर्न आवश्यक छ । दैनिक बिहान र राती सुत्ने बेलाफ्लोराइडयुक्त पेस्टले दाँत सफा गर्नुपर्छ ।

त्यसैगरी, दाँतको बीचमा हुने प्लक हटाउन नियमित रूपले डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । ब्रस आदि गर्दा दाँतबीचको भाग सफा नहुने भएकाले डेन्टल फलस ९बेक्स मिसिएको धागो० प्रयोग गर्नुपर्छ । फ्लस गर्दा गिजा र हाड नछुने गरी दाँतको सतहबाट गर्नुपर्ने डा।बुढाथोकी सुझाव छ । त्यसैगरी, खाना खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ ।

हाम्रो मुखमा हुने ब्याक्टेरिया म्युकस र अन्य तत्त्वसँग मिलेर प्लाक नामक रंगहीन पदार्थ बन्छ । नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । सामान्य ब्रसले सफा नहुने टार्टरलाई दन्तरोग विशेषज्ञको सहयोगले हटाउन सकिन्छ । लामो समय सम्म टार्टर जम्मा भएको खण्डमा गिजाको समस्या देखिन्छ ।

औंलाले सफा नगर्नुस्
कतिपय मानिसले तत्काल ब्रस नभएको खण्डमा औंलामा पेस्ट राखेर दाँत सफा गर्छन् । डा। घिमिरे भन्छन्, ‘औंलाले दाँत सफा गर्नु हुँदैन ।’ कत्तिलेगिजाबाट रगत आउँदा वा दुख्दा औंलाले ब्रस गर्ने गरेको जनाउँदै त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्ने घिमिरेको भनाइ छ । याे सामग्री आजको कान्तिपुर दैनिकमा छािपएकाे छ ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय