धौलागिरि गाउँपालिका अझैसम्म विद्युत् पहुँच पुग्न सकेन

धौलागिरि गाउँपालिका अझैसम्म विद्युत् पहुँच पुग्न सकेन

म्याग्दी । धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर रहेको छ ।

गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानीयवासीको उज्यालोको स्रोत बनेपनि यस्ता स्रोत दिगो नहुँदा स्थानीयवासी अँध्यारामै बस्नुपर्ने बाध्यता रहेको मुदीस्थित बुद्धि विकास माविका शिक्षक लोकराज रोकाले बताउनुभयो ।

“गाउँभरी उज्यालाका लागि सोलार प्यानल घरघरमा राखिए पनि ती स्रोत भरपर्दो नहुने र खर्चिलो हुने भएकाले बालबालिकाले घरमा साँझ अध्ययन गर्न समस्या हुने गरेको छ”, उहाँले बताउनुभयो ।

कतिपय घरमा अझै पनि टुकीकै भरमा उज्यालाको सहारा लिनुपर्ने बाध्यता छ । ठूलो क्षमताको सोलार प्यानल जडान गर्न आर्थिक जोहो गर्न कठिन हुनेछ । बत्तीको हरेक वर्ष क्षमता घट्दै जाने, बिग्रिएको सामानको मर्मत गर्न नसकिने जस्ता कारणले बत्ती बाल्नका लागि राखिएका सौर्यबत्ती केन्द्रीय विद्युत् नपुगेका कारण विकल्प भए पनि जनताका लागि भरपर्दो हुन सकेको छैन ।

‘‘विद्युत् सेवाको पहुँच नहुँदै राज्यले दिएका सुविधा उपभोग गर्नबाट समेत वञ्चित भएका छौँ, विद्युत् अभावले सञ्चार सेवासमेत मजबुत छैन्, विद्यालयमा कम्युटर छन् तर भरपर्दो ऊर्जा नहुँदा नियमित सञ्चालनमा समस्या छ,’’, शिक्षक रोकाले भन्नुभयो । केन्द्रीय विद्युत् नपुगेका कारण गाउँमा सबैले आफ्नै घरमा मोबाइल चार्ज गर्न समेत सुविधा छैन भने टेलिभिजन, इन्टरनेटलगायतको आधुनिक सूचना प्रविधिको पहुँचबाट टाढै बस्नुपर्ने अधिकांशको बाध्यता बनेको छ ।

कादुरी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत विभिन्न संघसंस्था र समुदायको लगानीमा निर्मित लघुजलविद्युत् आयोजना नियमित सञ्चालन भएका ठाउँका बासिन्दाले सस्तो दरमा विद्युतभार कटौतीरहित विद्युत् सेवा उपभोग गर्न पाए पनि कतिपय ठाउँका लघुजलविद्युत् आयोजना बाढी र पहिराको चपेटामा परेपछि ती आयोजनाका उपभोक्ता समस्यामा परेका छन् ।

अहिले धौलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं ५ मल्कवाङ र वडा नं ६ मराङमा लद्युजलविद्युत् परियोजनामार्फत स्थानीयवासीले विद्युत् उपभोग गरिरहेका छन् । वडा नं २ लुलाङमा रहेको लघुजलविद्युत् परियोजनामा बाढीले क्षति पु¥याएपछि लामो समयदेखि स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । वडा नं ३ मुनामा लघुजलविद्युत् परियोजना रहे पनि बाढीपहिराको क्षतिको कारण उत्पादन भरपर्दो बन्न सकेको छैन ।

त्यस्तै वडा नं ७ ताकम, धारापानीलगायत क्षेत्रमा अहिले स्थानीयवासीले सौर्यबत्तीलाई नै बिजुलीको स्रोतका रुपमा प्रयोग गर्दै आएका छन् । केन्द्रीय विद्युत्का अभावमा स्थानीयवासीले सौर्य र लघुजलविद्युत् परियोजनाबाट बत्ती बाल्ने गरे पनि वैकल्पिक ऊर्जाका यस्ता स्रोत दिगो, भरपर्दो र सबैको पहुँचमा नहुँदा समस्या सिर्जना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

स्थानीयस्तरमा बत्ती बाल्नका लागि मात्रै नभएर फर्निचर, कुटानीपिसानी मिललगायत घरेलु उद्योग सञ्चालन र सञ्चार क्षेत्रको पहुँच विस्तारका लागि समेत केन्द्रीय विद्युत्को अति आवश्यक रहेको उहाँको भनाइ छ । विद्युत्सँगै इन्टरनेट, टेलिफोनलगायतको सहज पहुँच नभएका कारण गाउँपालिका मुनास्थित कार्यालयबाटै नियमित सेवा सञ्चालन गर्न समेत सकिएको छैन ।

सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले अहिले बेनीमा सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको छ । विद्युत्कै अभावले गाउँपालिकामा वित्तीय संस्थाको पहुँच विस्तारमा समेत ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले भने गाउँपालिकाको धारापानी हुँदै, ताकम, मुनालगायत क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच विस्तार गर्ने योजना अघि बढाएको जनाइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय