नयाँ शिक्षा ऐन पारित, मापसे गरे जागिर चट
सुर्खेत, चैत ११। विरेन्द्रनगर नगरपालिकाको दोस्रो नगरसभाले मादक पदार्थ सेवन गरेर विद्यालयमा जाने शिक्षक तथा कर्मचारीको जागिर ‘चट’ हुने कानुन निर्माण गरेको छ । शनिबार सम्पन्न दोस्रो नगरसभाले शिक्षा ऐन–२०७४ पारित गर्दै मा मादक पदार्थ सेवन गरेर विद्यालयमा आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगर शिक्षा समितिले त्यस्ता शिक्षक तथा कार्यरत कर्मचारीलाई जागिरबाट हटाउने व्यवस्था गरेको हो ।
विद्यालयमा पादक पदार्थ सेवन गरेर आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिले कार्यरत पदबाट हटाएर वडा शिक्षा समितिमार्फत नगर शिक्षा समितिलाई जानकारी गराइने उल्लेख गरिएको पारित शिक्षा ऐनमा , ‘हटाउनु अघि एक पटक स्पष्टीकरणको मौका भने दिइने छ ।’ भन्ने वाक्यांश राखिएको छ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल र संघ–संस्थामा आवद्ध हुन नपाउने भएका छन् । ‘सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी कुनै पनि संघ–संस्था वा राजनीतिक दलको कुनै पनि तहको कार्य समितिको सदस्य रहेको पाइएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगर शिक्षा समितिले हटाउने छ’ उपमेयर मोहनमाया ढकालले भनिन्, ‘ऐनलाई नगरभित्र कडाईका साथ कार्यान्वयन गछौं ।’
बिना सूचना १५ दिन भन्दाबढी समय विद्यालयमा अनुपस्थित हुने शिक्षक र कर्मचारीको पनि जागिर जाने भएको छ। शिक्षा ऐनको परिच्छेद–३ को २० (ख) मा यो व्यवस्था गरिएको छ। यस्तै अध्यापन गरिरहेको विषयमा तीन वर्षभित्रको औसत शैक्षिक उपलब्धी राष्ट्रिय र प्रदेशको औसत स्तरभन्दा कम भएमा पनि शिक्षकलाई हटाउन सकिने ऐनमा उल्लेख छ।
‘शिक्षालाई गुणस्तरीय र प्रतिष्पर्धी बनाउनका लागि कार्यरत शिक्षक र कर्मचारीलाई जवाफदेही बनाउन आवश्यक छ’ उपमेयर ढकालले भनिन्, ‘पारित ऐनलाई अक्षरस कार्यान्वयन गरेर शिक्षामा आमूल सुधार गछौं।’ यस्तै नियमानुसार विदा स्वीकृत नगराएर अनुपस्थित भएका शिक्षक कर्मचारीलाई सो अवधिको तलव, भत्ता नपाउने व्यवस्था ऐनमा छ। यस्तै सो अवधिलाई सेवामा पनि गणना गरिने छैन्। यस्तै सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक र कर्मचारीले कुनै पनि देशको स्थायी आवासीय अनुमति लिन नपाउने भएका छन्।
वीरेन्द्रनगर नगरपालिकाको शिक्षा ऐनमा वीरेन्द्रनगरका १६ वटै वडामा एक–एक प्राविधिक शिक्षालय सञ्चालन गर्ने उल्लेख छ। ‘दक्ष जनशक्ति उत्पादन गर्न र स्वरोजगार बनाउनका लागि हामीले एक वडा, एक प्राविधिक शिक्षालय स्थापना गरिने छ’ उपमेयर ढकालले भनिन्, ‘हाल रहेका सामुदायिक विद्यालयहरुलाई नै माध्यामिक तहमा प्राविधिक शिक्षा अध्ययन गराउने व्यवस्था मिलाउँछौं।’
शिक्षा ऐनमा माध्यमिक शिक्षालाई तीन तहमा वर्गिकरण गरिएको छ । साधारण माध्यमिक शिक्षा, संस्कृत माध्यमिक शिक्षा र प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षामा वर्गिकरण गरिएको छ । अव आधारभूत तहमा मातृभाषामा पनि शिक्षा दिन सकिने भएको छ । यस्तै सामुदायिक, संस्थागत, गुठी र सहकारी गरेर चार तहमा विद्यालयलाई बर्गिकरण गरिएको छ।
यस्तै विद्यालय खोल्ने अनुमति दिंदा विद्यालय सञ्चालनको सुरक्षणवापत सामुदायिक विद्यालयको आधारभूत तह निःशुल्क र माध्यमिक तह भए तीन लाख र संस्थागत विद्यालयको आधारभूत १–५ भए तीन लाख, एकदेखि आठ कक्षासम्म भए चार लाख र माध्यमिक भए पाँच लाख रुपियाँ धरौटी राख्नुपर्ने छ । यस्तै अनुमति दिएको पाँच वर्षभित्र संस्थागत विद्यालयहरुले आफ्नो घर जग्गा नबनाए अनुमति रद्घ गर्न सकिने ऐनमा उल्लेख छ । शिक्षा ऐनसँगै सहकारी ऐन, प्रशासनिक कार्यविधि ऐन, कृषि व्यवस्थापन ऐन र न्यायिक समिति ऐन पनि नगरसभाबाट पारित भएको छ।
नागरिकबाट साभार
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

