निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास सम्भव : प्रधानमन्त्री

निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास सम्भव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताएका छन् । साथै उनले निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्दै सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुने रहेको स्पष्ट पारे ।

नेपाल उद्योग परिसंघ (सिएनआई) को बीसौँ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट पनि गरे ।

प्रधानमन्त्रीले भने, ‘‘सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ ।’’

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

बीसौँ सभाका अध्यक्षज्यू,

माननीय अर्थमन्त्रीज्यू,

कार्यक्रमका अतिथिहरू,

निजी क्षेत्रसम्वद्ध संघरसंगठनका प्रमुख एवं प्रतिनिधिहरू,

कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू,

उद्योगी–व्यवसायी मित्रहरू,

सञ्चारकर्मी साथीहरू,

उपस्थित आदरणीय महानुभावहरू ।

सर्वप्रथम नेपाल उद्योग परिसंघको बीसौँ वार्षिक साधारण सभाको अवसरमा परिसंघ परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दै यहाँहरूको व्यवसायिक एवं सामाजिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु ।

उत्पादन तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जना लगायतका क्षेत्रमा गर्दै आएको परिसंघ कामबाट आफूलाई मुलुकको औद्योगिक विकासको अभिन्न अंगको रूपमा स्थापित भएको छ । नेपाल सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग गर्ने गरी परिसंघले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

सन् २००२ मा स्थापित नेपाल उद्योग परिसंघले अर्थतन्त्रको विकासका लागि प्रभावकारी एवं उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । यसलाई थप प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास लिएको छु । परिसंघले निश्चित समूह वा व्यक्ति लक्षित नीति नियमका लागि भन्दा पनि समग्र मुलुकको अर्थतन्त्रको विकास, औद्योगिक उत्पादन तथा आन्तरिक उत्पादन, उद्योगहरूको संरक्षण एवं प्रबद्र्धन गर्नुपर्ने विषयमा केन्द्रित भएर नीतिगत सुझाव दिने गरेको मैले पाएको छु ।

त्यसैगरी, परिसंघले निरन्तर रूपमा आर्थिक कुटनीति तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिँदै आएको पनि मैले अनुभव गरेको छु । वास्तवमा परिसंघ जस्ता संस्थाको दायित्व पनि समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता छ । समग्र अर्थतन्त्रको विकास एवं विस्तार हुँदा मात्रै मुलुकले फाइदा पाउँछ, रोजगारी बढ्छ र मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ ।

परिसंघले १६ औँ योजना तर्जुमा गर्न अध्ययन गरेर राष्ट्रिय योजना आयोगलाई सुझाव प्रतिवेदन दिएको जानकारी पाउँदा खुसी लागेको छ । आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न परिसंघले दिएको सुझाव सरकारका निम्ति महत्वपूर्ण सन्दर्भस्रोत रहनेछ । सरकारले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट गर्दछु ।

सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ । यो अभियानमार्फत औद्योगिकरण, उत्पादन बृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर बृद्धि तथा निर्यात प्रबद्र्धन गर्दै अर्थतन्त्रको सवलीकरणमा सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणको यो अभियानलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु । म प्रधानमन्त्रीमा नियुक्त भएको दिनमा पनि भनेको थिएँ– मेरो पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुनेछ । निजी क्षेत्रसँगको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुन सक्दछ । यसका लागि वर्तमान सरकार निजी क्षेत्रसँग प्रभावकारीरूपमा सहकार्य गर्दै आएको छ र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ ।

मुलुकको आर्थिक अवस्थाप्रति निजी क्षेत्रले सधैँ चिन्ता व्यक्त गर्दै आइरहेको छ । स्वागत मन्तव्यका क्रममा परिसंघका अध्यक्ष राजेशजीले यो चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ । म गम्भीर छु । अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ । अर्थतन्त्र सुधारको काम सरकार एक्लैले गर्न सक्दैन, तसर्थ, निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु । सरकार निजी क्षेत्रको साथमा छ । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्दछ । तसर्थ, कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु ।

मुलुकको अर्थतन्त्रलाई बजेटको प्रभावकारी कार्यान्वयनबाट सुधारमा लगिनेछ । हामीले चालु आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सवलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुवात गर्न खोजेका छौं । अर्थतन्त्र सुधारका लागि सरकार परिसंघजस्ता संस्थासँग सहकार्य गरेर अगाडि बढ्दछ । वर्तमान सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै कानूनी, नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध छ ।

अन्त्यमा, संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले लिएका निर्णय र चालेका कदममा परिसंघले विगतमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै यहाँहरूको साधारण सभाले अर्थतन्त्रको पुनरोत्थानमा महत्वपूर्ण निर्णयहरूको योगदानसहित बिदा हुन्छु । धन्यवाद ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय