नेपाली कांग्रेसको घोषणापत्रमा पर्यटन विकास
ललितपुर, वैशाख १९ । नेपाली कांग्रेसले सबै नगर र गाँउपालिकाहरुमा पर्यटन सेवा विस्तारले ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, प्राकृतिक र मानव निर्मित सम्पदाहरुको संरक्षणका साथै पूर्वाधार र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
पार्टीले हालै सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणापत्र २०७४ मार्फत सो विश्वास व्यक्त गरेको हो । नेपाली कांग्रेसले आन्तरिक र बाह्य पर्यटनको केन्द्र रही आएका काठमाडौँलगायत ललितपुर, पोखरा र भरतपुर महानगरपालिका को सडक, सार्वजनिक यातायात व्यवस्था, संचार सुविधा, खानेपानी, ढल र फोहर व्यवस्थापन, बिजुली र आवास सुविधाजस्ता पूर्वाधारहरु आधुनिक र भरपर्दो बनाउनुका साथै तिनलाई वातावरणमैत्री र प्रदुषणमुक्त समेत बनाइने प्रतिवद्धता व्यक्त गरेको छ ।
अन्तराष्ट्रिय पर्यटकको नजरमा पुगी नसकेका तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण, ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्व बोकेका स्थानहरु समेटेका गाऊँ र नगरपालिकाका पर्यटकीय सम्पदाहरुको संरक्षण, संबर्धन, विकास र विस्तार गर्दै उपयुक्त पूर्वाधार निर्माण गरी पर्यटकहरु पु¥याउने र यस्ता सम्पदा नभएका स्थानमा नयाँ सम्पदा निर्माण आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रम पनि घोषणापत्रले समेटेको छ ।
आफ्नो सांस्कृतिक वैभव र प्राकृतिक सौन्दर्य–सम्पदाका कारण अन्तर्राष्ट्रिय स्तरमा आकर्षणका केन्द्र बनेका काठमाडौ, ललितपुर, पोखरा, र भरतपुर महानगरपालिका सहित भक्तपुर, जनकपुर, भैरहवा जस्ता नगरहरुमा फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवं संभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा आवागमनलाई सहज बनाउने कुरा पनि कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।
“महानगर, उपमहानगर ,नगरपालिका र गाँऊपालिका क्षेत्रका ऐतिहासिक, धार्मिक–सांस्कृतिक सम्पदा एवं प्राकृतिक सौन्दर्य र जैविक विविधताको उचित स्याहार–सम्भार र संरक्षणद्वारा पर्यटन विकास गर्नु संबन्धित स्थानीय सरकारको पहिलो प्राथमिकता हुनेछ” कांग्रेसको घोषणापत्रमा भनिएको छ ।
अन्तराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने नेपालका हवाई सेवाको स्तर नियमित, भरपर्दो, विश्वसनीय,समयबद्ध बनाउनुका साथै नेपालका अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका सेवालाई अत्याधुनिक प्रविधिले सुविधासम्पन्न बनाउने कार्यलाई पनि कांग्रेसले उत्तिकै ध्यान दिएको छ । पर्यटन विकासका लागि पर्यटकहरुलाई सेवा प्रदान गर्ने अध्यागमन , यातायात र आवास सेवालाई आधुनिक, स्तरीय र मौलिक नेपाली सीप, शैली र संस्कृतिसंग परिचित गराउने ढंगको बनाइने प्रत्याभूति पनि कांग्रेसले गरेको छ ।
नेपाली जनताको अतिथिदेवो भव भन्ने संस्कार र प्रेरणाबाट उत्प्रेरित भई सबै उपमहानगरपालिका, नगरपालिका एवं गाउँपालिकाले आफ्ना ऐतिहासिक, धार्मिक–सांस्कृतिक र प्राकृतिक सम्पदालाई पर्यटन आकर्षणको प्रमुख आधार वनाउँदै भरपर्दो र वातावरणमैत्री पूर्वाधार विकासमा जोड दिने विश्वास कांग्रेसले लिएको छ ।
पर्यटन: आर्थिक आर्जनको आधार
नेपाली कांग्रेसले सबै स्थानीय निकायले ऐतिहासिक, धार्मिक–सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई पर्यटकीय सम्पदाको रुपमा विकसित गरी त्यसलाई आर्थिक आर्जनको आधार बनाउने कार्यक्रम सञ्चालन गर्ने बताएको छ । “आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन स्थानीय सरकारले विशिष्ट पर्यटन क्षेत्र र विषय पहिचान गर्नेछन् ”कांग्रेसले भनेको छ।
आफनो क्षेत्रभित्रका पर्यटन स्थललाई आन्तरिक पर्यटक, छिमेकी राष्ट्रका पर्यटक तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यस्थल बनाउनका लागि आफ्नो विशिष्टता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव,धार्मिक, पौराणिक एवं ऐतिहासिक महत्व उजागर गर्ने स्थानीय धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महोत्सव आयोजना गर्ने, साहसिक खेलकूद, राष्ट्रि एवम् अन्तराष्ट्रिय सम्मेलन एवं प्रदर्शनी आयोजना गरी पर्यटन प्रवद्र्धन गरिने कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले स्थानीय सरकारलाई पूर्वाधार र सुविधा नपुगेको कम्तीमा एउटा सम्भाव्य पर्यटन स्थलको विकास गर्न राष्ट्रिय ख्यातिप्राप्त पर्यटक व्यवसायीको सेवा उपलब्ध गराउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण प्याकेजमा सामेल गरी प्रतिष्ठित लगानीकर्तालाई उचित शर्तसहित सम्बन्धित निकायसँग समन्वय गरी लगानी गर्न आमन्त्रण गर्ने बन्दोबस्त मिलाइने कुरा पनि सार्वजनिक गरेको छ ।
स्थानीय सरकार र समुदायले सम्भाव्य पर्यटन स्थलको संरक्षण एवं सडक, संचार, पानी, सरसफाइ, वत्ती जस्ता पूर्वाधार निर्माणको जिम्मा लिई आवास, खानपीन र मनोरंजन जस्ता गतिविधिमा निजी व्यवसायीसंग साझेदारीलाई पनि संस्थागत गर्नेछन् ।
कांग्रेसले स्थानीय लोक संस्कृतिको संरक्षण, संवद्र्धन, वातावरण संरक्षण आदिमा स्थानीय महिला समूह तथा स्वयंसेवी युवा क्लवहरुलाई परिचालन गर्ने र युवाहरुलाई नै लक्षित गरी दोभाषे र पर्यटक गाइडको तालिम दिने कार्यक्रम पनि घोषणापत्र मार्फत सार्वजनिक गरेको छ ।
सरकारी वा निजी स्वामित्वमा रहेका परम्परागत दरबार, महल, आदिलाई मर्मत,संभार वा पुनर्निर्माण गरी मौलिक एवं विशिष्ट आवासमा परिवर्तन गर्ने र अन्य त्यस्तै गढी,कोत,धार्मिक स्थल आदिको संरक्षण गरी पर्यटकीय प्रडक्टका रुपमा विकसित गर्न स्थानीय निकायलाई प्रोत्साहित गर्ने कुरालाई पनि कांग्रेसले समेटेको छ ।
कृषिलाई पर्यटनसंग आबद्ध गर्न, रोपाई जात्रा,मह काढ्ने उत्सव, सहित माछा पालन, अर्गानिक फार्मको विकास, कृषि फार्म र पशुपालन जस्ता आर्थिक गतिविधिलाई पर्यटकीय प्रडक्टका रुपमा विकास गर्ने र पर्यटकका लागि आवास, भोजन जस्ता सेवाको प्रबन्ध गर्दा स्थानीय निर्माण सामग्री, शिल्प र शैली तथा स्थानीय परिकार र रहनसहन झल्किने गरी गर्नुपर्ने विषय पनि कांग्रेसले उठाएको छ ।
कांग्रेसले घोषणापत्रमा भनेको छ, “स्थानीय तहमा रोजगारीको आधार बढाउने र पर्यटक तुरुन्तै आकर्षित गर्न आधुनिक होटल नभएका पर्यटन स्थलहरुमा होमस्टे, साना लज तथा सामुदायिक आवास व्यवस्थापनका लागि सहुलियतपूर्ण ऋण, प्राविधिक सहयोग र तालिम आदिको समन्वय गरी सेवाको गुणस्तर वृद्घि गरिनेछ ।”
पर्यटन गतिविधिबाट स्थानीय स्तरमा अतिरिक्त आय आर्जन, वैकल्पिक रोजगारी, सम्पदाको जगेर्ना, सामुदायिक विकासका लागि आर्थिक स्रोत र स्थलगत विशिष्टताको प्रचारका लागि प्रत्येक स्थानीय सरकारले पर्यटन विकास तथा सम्पदा संरक्षणसम्वन्धी संस्थागत प्रबन्ध गर्ने विश्वास कांग्रेसले लिएको छ ।
“सबै स्थानीय तहमा कम्तिमा एउटा सामुदायिक पर्यटन सूचना र सेवा केन्द्र स्थापना गरिनेछ ”सबै स्थानीय तहमा पर्यटनको लक्ष्य हासिल गर्ने विश्वास गर्दै कांग्रेसले भनेको छ,“यस केन्द्रबाट पर्यटकीय सेवा र सूचनाका अतिरिक्त स्थानीय हस्तकलाको प्रर्दशन तथा बिक्री कार्य संचालन गरिनेछ ।”
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।’ निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उहाँले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो । ‘साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ’– उहाँले भन्नुभयो– ‘यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।’ शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताउनुभयो । ‘नेपालको शिक्षा विकासमा विविध चुनौतीहरू छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौतीहरू नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षहरूसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीतिहरू बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बढ्दो शहरीकरण र बसाइसराइ, घट्दो जनसंख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोँच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले हाम्रो शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य छ । बौद्धिक पलायन नेपालको ठूलो समस्या बन्दै आएको छ । यसलाई रोक्न विद्यालय तहदेखि नै एकातिर सिपमूलक र व्यवहारिक शिक्षा दिएर बौद्धिक जनशक्तिलाई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाउन आवश्यक छ भने अर्कोतिर उनीहरुमा स्वाभीमानी, सिर्जनशील र आत्मनिर्भर सोंचको विकास गराउन आवश्यक छ ।’ संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति मायाँ गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोंचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेकोमा जोड दिंदै उहाँले आफ्नो नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्वपूर्ण थालनी गरेको बताउनुभयो । संघीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले ती प्रयासहरूमाथि आक्रमण थालेको बताउनुभयो । ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्’– उहाँले भन्नुभयो– ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ ।’
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।