नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा आज मनाइँदै

नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा आज मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौंमा अझै छ ।

आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्छन् ।

यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार यसो गरिएको हो ।

देशभरका धेरै नेवार समुदायले भने आज नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चांग निर्णायक विकास समितिले पनि नेपाल संवतको नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ । शास्त्रसम्मत् रुपमा आजै दुवै पर्व मनाउनुपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । रासस

उदयपुरमा नालीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मा घरछेउको नालीमा डुबेर दुई वर्षका एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार लिम्चुङबुङ गाउँपालिका–४, बलम्ता घर भई त्रियुगा नगरपालिका–३, मोतीगडा चोक बस्ने देवान राईका छोरा योङहाङ राईको नालीमा डुबेर मृत्यु भएको हो। बालक हिजाे सोमबार खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेर मृत अवस्थामा फेला परेको खड्काको भनाइ छ। शवलाई आवश्यक कानुनी प्रकिया पूरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको उनले जानकारी दिए।

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर दिङ्लातर्फ आउँदै गर्दा सडकबाट करीब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार छ जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र चारजना घाइते भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका–४ केराबारीका ३५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका ३० वर्षीय नवीन तामाङ रहेका छन् । दुवैजनाको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ रहेका छन् । उनीहरूको उपचार नगर अस्पताल दिङ्लामा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट परासीमा मामाघर आएकि चार वर्षिया अनुष्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए ।  दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए । ट्रक र चालक भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज ग्राम बस्ने अमरजित बर्मालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरी छठमा छोरी अनुष्कालार्इ लिएर माइत आएकी थिइन् । 

मनाङका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु

मनाङ । हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो ।  उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । पर्यटक पथप्रदर्शक (गाइड) को काम गर्ने थापा शनिबार राति नार्पाभूमि–२, मा केरेला होटलमा बास बसेका थिए ।  उनको सोही होटलमा मृत्यु भएको हो । आइतबार बिहान उनको शवलाई हेलिकप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ । यसैगरी, शनिबार नै  मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका गुरुङको निधन भएको थियो । लेक लागेर  बेहोस भएका गुरुङको उपचारको क्रममा निधन भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी करिब चार हजार पाँच सय मिटरबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा लेक लागेर गुरुङ बेहोस भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा दुई जनाको टोलीले एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतका अनुसार नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।

लोकप्रिय