पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय बन्दै

पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय बन्दै

कञ्चनपुर, माघ ८ । महाकाली अञ्चल आयुर्वेद औषधालय महेन्द्रनगरले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय हुँदै गएका छन् ।

बाथ, नसा, हाडजोर्नीको दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिप्रेसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी साबित भएका हुन् ।

पञ्चकर्म चिकित्साअनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरेर शरीरलाई सुगठित पारी पीडाबाट मुक्ति दिलाएर शरीरलाई स्फुर्ति गराउने कार्य गरिँदै आएको औषधालयका आयुर्वेद चिकित्सक डा.सूर्य उपाध्यायले बताए ।

‘रोगको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घन्टाका दरले सातदेखि १४ दिनसम्म यो पद्धतिबाट उपचार गरिन्छ’ उनले भने ।

स्नेहन पछि रोगीलाई नाडी स्वेदनअन्तर्गत रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न आवश्यक अङ्गमा पुर्याउने गरिन्छ ।

औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निस्कने वाष्प स्वेदन यन्त्र (वाष्प वाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त वाष्प प्रवेश गराई उपचार गरिंदै आएको उपचारमा संलग्न औषधालयका कर्मचारीले बताउँछन् ।

पहिलो पटक औषधालयले प्रयोगमा ल्याएको यस विधिको प्रयोग गर्ने रोगीको संख्या दैनिक सातदेखि दश जनासम्म हुने गरेका छन् । भीमदत्त नगरपालिका सुकासालका हेमन्तसिंह थापाले स्वेदन यन्त्रको सहायताले उपचार गराउँदा तीन दिनमै आफ्नो हाडजोर्नी दुखाइको समस्याको हटेको बताए ।

‘विभिन्न अस्पतालमा दुई वर्षदेखि उपचार गराउँदासमेत निको नभएको हाडजोर्नीको समस्या आयुर्वेद पद्धतिको उपचारले निको भएको छ’– उनले भने । यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षाघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान दूर गर्न सहायक हुने डा उपाध्यायले बताए ।

यससँगै शिरोवस्ती, ग्रीवावस्ती, कटीवस्ती, जानवस्ती, चक्षुवस्तीलगायत उपचार पद्धतिबाट समेत औषधालयमा उपचार गरिँदै आएका छन् । टाउकाको सम्पूर्ण रोगका लागि शिरोधारा उपयु्क्त औषधालयले आयुर्वेदीय पञ्चकर्म पद्धतिअन्तर्गत महत्वपूर्ण शिरोधारा उपचार विधि पनि सुरु गरेको छ ।

यसअन्तर्गत लगातार निश्चित उचाइबाट औषधयुक्त तेल निरन्तर रुपमा निधारको बीचमा धारा दिई उपचार गरिन्छ । शिरोधारा लगातार एउटै विन्दु, दायाँदेखि बायाँ गरेर वा गोलोकार रुपमा दिइने गरिन्छ ।

टाउकोमा हुने सम्पूर्ण रोगका लागि यो विधि उत्तम मानिन्छ । शिरोधारा ४५ मिनेट देखि ७० मिनटसम्म गरिन्छ । यो सातदेखि १४ दिनसम्म लगातार रुपमा गरिन्छ ।

“बिरामीको अवस्था हेरेर दिनहरु घटाउने वा बढाउन सकिन्छ”– डा.उपाध्यायले भने– ‘यसले बुद्धि विवेक जागृत गर्न, मानसिक स्फूर्ति कायम गर्न, चिन्ता दूर गर्न, छारेरोग, टाउको दुखाइ, उच्च रक्तचाप र पक्षाघात हटाउन, स्नायु प्रणालीलाई सबल बनाउन, आँखाको ज्योति बढाउन तथा स्मरण शक्ति बढाउन मद्धत गर्छ ।’

पन्ध्रदेखि २५ मिनेटसम्म गरिने यस उपचार पद्धति बिरामीको अवस्था हेरी एकदेखि दुई हप्तासम्म गरिन्छ । औषधालयमा पञ्चकर्म चिकित्साबाट गत साउनदेखि हालसम्म निःशुल्क रुपमा ५२० जना बिरामीले सेवा लिइसकेका छन् ।

उपचारका लागि औषधालयमा १५ वर्ष देखि ७० वर्ष उमेरका नागरिक पुग्ने गरेका छन् ।

औषधालयमा दक्ष जनशक्ति नहुँदा कार्यालय सहयोगीलाईसमेत आवश्यक तालिम दिई काममा लगाइएको छ, डा उपाध्यायले भने– ‘उपचार गर्ने छुट्टै कोठासमेत नहुँदा सेवाग्राहीलाई सास्ती हुने गरेका छन् ।”

यसका अतिरिक्त औषधालयले श्वासप्रश्वास, ज्वरो, चर्मरोग, ग्यास्ट्रिक र पेटसम्बन्धी समस्या भएका बिरामीको उपचार र आयुर्वेदीक औषधि निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको पनि छ । यो औषधालय वि.सं २०४३ सालमा स्थापना भएको हो ।

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ । यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

लोकप्रिय