गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको छ: पम्फा भुसाल

गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको छ: पम्फा भुसाल

पोखरा । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन्।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रथम अधिवेशनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले पोलिरहेको बताएकी हुन्।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले भनिन्, "वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन, भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ। त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक लगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ।"

जनयुद्धका यी उपलब्धिहरू देख्दा जनताको घर-घरमा माओवादी छ भन्ने लागेकाले ती उपलब्धि हटाउने षडयन्त्र भइरहेको उनको आरोप थियो।

उपाध्यक्ष भुसालले दसौँ हजार सहिदको बलिदान, हजारौं महिला दिदीबहिनीहरूले लडेर ल्याएको संविधान संशोधन गरेर जनताको अधिकार खोस्ने षडयन्त्र भए त्यसको प्रतिवाद महिलाहरूले नै गर्ने बताइन्।

"समाजवादमा जानका लागि संविधान संशोधन हुनसक्छ", उनले भनिन्, "तर समावेशी र समानुपातिक अधिकार खारेज गर्न संविधान संशोधन गर्ने षडयन्त्र भइरहेको छ। यसकाविरुद्ध सजग र सचेत भएर बस्नुहोला। त्यसका लागि सडकबाट पनि लड्नुपर्ने हुनसक्छ।"

उनले संविधान संशोधन गर्न सकिने तर त्यसका लागि जनताको 'म्याण्डेट' जरुरी रहेको बताइन्। त्यसका लागि निर्वाचनमा जाँदा के-के विषयमा संशोधन गर्ने हो त्यसलाई एजेण्डाका रुपमा लगेर जनमतले अनुमोदन गरेपछि भने संविधान संशोधन गर्न सकिने उनको भनाई थियो।

उनले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्‍याउने, दलित, अल्पसंख्यक लगायतको प्रतिनिधित्व जनसंख्याका आधारमा सुनिश्चित गर्ने हो भने त्यसका लागि संविधान संशोधन गर्न महिलाहरूले सहयोग गर्ने बताइन्।

उनले संविधान संशोधन गर्नुको सट्टामा दलित, महिला, मधेशी, मुस्लिम, आदिवासी, जनजाति, अल्पसंख्यक लगायतले पाएको अधिकार रक्षाका निम्ति, कार्यान्वयनका निम्ति लाग्न आग्रहसमेत गरिन्।

उपाध्यक्ष भुसालले प्रचण्डको प्रतिवादपछि संविधान संशोधनको विषय कांग्रेस–एमालेले उठाउन छाडेको दाबीसमेत गरिन्। "समावेशी, समानुपातिक अधिकार मास्ने षडयन्त्र बुनेर हठात् रुपमा प्रजातान्त्रिक मूल्यमान्यता विपरीत दुई ठूला दल मिले, उनले भनिन्, "तर प्रचण्डले प्रतिवाद गरेपछि अहिले त्यो विषय स्थगन भएको छ। त्यसपछि उपसभामुख हटाउन खोजे, त्यसकोपनि माओवादीले नै प्रतिवाद गरेपछि त्यो पनि अहिले उठाउन छाडेका छन्।’

उपाध्यक्ष भुसालले संविधानले दिएको अधिकार लिन पनि महिलाहरु हिच्किचाइरहेको टिप्पणी गरिन्। अंश, वंश, ज्यालामा असमानता रहेपनि बुबा, दाजुभाइ, श्रीमान्, छोरा रिसाउँछन् कि भनेर महिलाहरूले पाएको अधिकार पनि लिन हिच्किचाइरहेको उनको भनाई थियो।

नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले दश वर्ष भित्रमा समाजवादी क्रान्ति हुने दाबी गरे। हरेक १०/१० वर्षमा देशमा परिवर्तनका लागि क्रान्ति भइरहने भन्दै अब समाजवादी क्रान्ति हुने उनको भनाई थियो। "समाजवादी क्रान्ति त हुन्छ हुन्छ। किनकि यहाँ माओवादी छ।" उनले भने।

अधिवेशनको अवसरमा जनयुद्धका क्रममा पक्राउ परेर जेल ब्रेक गर्ने महिला नेतृहरु कमला नहर्की, सञ्जु कुमाल र नीता विक तथा जनयुद्धकी घाइते पत्रकार गोमा घिमिरेलाई सम्मान गरिएको थियो।

रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।

हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

लोकप्रिय