पर्यटकको पर्खाइमा काहुँ धरहरा

पर्यटकको पर्खाइमा काहुँ धरहरा

पोखरा । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा ।

पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहुँ धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित पर्यटक भित्र्याउन नसकिएको काहुँकोट देउराली तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार पोखराको सबैभन्दा नजिक लालीगुँरास फुल्ने यस स्थानमा अवस्थित दुई तल्ले धरहरामा गत वर्ष १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले टिकट काटेर अवलोकन गरेका थिए । यहाँ विशेषतः शुक्रबार र शनिबार दिउँसोको समयमा बढी पर्यटक आउने गरेका छन् । “पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने धरहरामा प्रवेशका लागि विद्यार्थी र सर्वसाधारणका लागि रु २० र बाह्य पर्यटकका लागि रु ५० टिकटको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “आवश्यक भौतिक पूर्वाधार तयार भएर पनि सम्बन्धित निकायको उचित ध्यान पुग्न नसक्दा काहुँ धरहराले पर्यटकीय विकासमा फड्को मार्न सकेको छैन ।”

समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा रहेको काउँकोटमा अवस्थित धरहराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । पोखराको चापापानीबाट लगभग साढे सात किलो मिटर लम्बाइमा रहेको धरहरासम्म पुग्नका लागि सडक विभागबाट रु १२ करोड ९५ लाखको लागतमा एकतर्फी ढलसहित पक्की मोटर बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पांँच दशकअघि निर्माण भएको धरहरा जीर्ण बन्दै गएको हुँदा यसको गुरुयोजना तयार गरी पुनः निर्माण गर्न महानगरमा योजना पेश गरिएको पोखरा–११ का वडा सदस्य मीनबहादुर गुरुङ बताउनुहुन्छ । पाँच तल्ले धरहरा निर्माण गरेर दृश्यावलोकनका लागि दुई वटा दूरदर्शक यन्त्र राखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढाउन सके यस क्षेत्रको समग्र विकासका साथै थप पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने सोचका साथ योजना अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

धारापानी सामुदायिक वन क्षेत्रमा ढकमक्क फुल्ने लालीगुँरासको फूल पर्यटकका लागि थप आकर्षण बनेको उक्त फूल संरक्षणका लागि विभिन्न पहल गरिएको समितिका सदस्य अम्बिका आचार्यले बताउनुभयो । उहाँका अनुसार गत वर्ष सूचनाको व्यवस्था गरी लालीगुराँस टिप्ने चार जनाबाट रु तीन हजार ५०० जरिवानासमेत गरिएको थियो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त पर्यटकीय एवम् धार्मिक क्षेत्रसहित स्थानीय बासिन्दालाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यका साथ नेपाल सरकार खानेपानी संस्थानको रु १३ करोडको लागतमा बृहत् काहुँ खानेपानी योजना शुरु गरिएको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष खेमराज आचार्यले जानकारी दिनुभयो । २०६८ सालबाट शुरु गरिएको खानेपानी योजनाअन्तर्गत साबिकको अर्मला, सिल्दजुरे र मौजाको संगमस्थल विजयपुरखोलाबाट २२ किलोमिटर पाइप विस्तार गरेर ल्याइएको पानी पर्यटकीयस्थल काहुँकोटका साथै स्थानीय बासिन्दाका लागि एक घर एक धाराको अभियान सञ्चालन गरिएको छ।

बाइसे चौविसे राज्यकालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर रहेको र प्रत्येक चैते दशैँमा परापूर्वकालदेखि बोका र राँगाको बलि दिनाका साथै नवरात्रि पाठपूजा गरिनेछ । उक्त स्थानमा धर्मकाया बुद्ध मण्डलासमेत निर्माण गरिने भएको छ । ऐतिहासिक, धार्मिक, एवम् पर्यटकीय महत्व बोकेको सो प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थलका बारेमा प्रचार प्रसार गरी पोखराको थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकको एक दिनको बसाइ लम्ब्याउनाका साथ स्थानीय बासिन्दासमेत लाभान्वित हुने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा रहेको छ । रासस

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।