पहिरोमा परी दुई जनाको मृत्यु
अछाम । मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नन्द विष्टको घर छाउने ढुंगा निकाल्ने क्रममा आइतबार माथिबाट पहिरो आई पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परेर नन्द विष्टसमेत घाइते भएकाले उपचारका लागि स्थानीय बयलपाटा अस्पतालमा पठाइएको छ।
सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।
एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा
काठमाडौं ।भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ।न्यायाधीशद्वय डा.नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो। एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भइसकेको छ।भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिब एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन्। जग्गादानको घोषणा गर्दा उक्त जग्गा कालु गुरुङलगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो । केही दिनअघि उक्त जग्गा नामसारी भएको हो।
कतार एयरवेजले भोलिदेखि भैरहवाबाट उडान थाल्ने
भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको छ । नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि भैरहवाबाट दैनिक उडान भर्न लागेको हो । कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्ने प्राधिकरणले जनाएको छ । यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहाँबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ । यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ । यहाँबाट फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । नेपाल एयरलायन्सले शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।
एक पालिका, एक हुलाक कार्यान्वय सुरु
कास्की । सरकारको हुलाक सेवालाई पुनर्संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक पालिका, एक हुलाकको अवधारणा अघि सारेको थियो । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताए । उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताए । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिए । जिल्लाका बाँकी माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए । हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रूपान्तरण गरेर बाँकी खारेज हुनेछन् । यसै गरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् । पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा रहेको छ । अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ । सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।