पुनःनिर्माणसम्बन्धी अधिकार स्थानीय तहलाई
बेत्रावती, पुस १७ । विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माण गर्न सहजीकरण तथा अधिकार प्रत्यायोजन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नुवाकोटका स्थानीय तहबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विदुरमा सम्पन्न दुईदिने पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकले जारी रहेको पुनःनिर्माणलाई तीव्रता दिएर तोकिएको समयमा कार्य सम्पन्न गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय) र यहाँका १२ स्थानीय तहबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीमा प्राधिकरणले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउने र ती कर्मचारीको हाजिरीलगायतका प्रशासनिक क्रियाकलाप सम्बन्धित स्थानीय तहमार्फत हुने, पुनःनिर्माणका लागि स्थानीय तहमा खटिएका कर्मचारीको सुविधासहित भौतिक पूर्वाधारको व्यवस्था प्राधिकरणबाटै हुने, पुनःनिर्माण भएका घरको वडामा खटिएका प्राविधिकले सिफारिश गरेपछि वरिष्ठ इञ्जिनीयरले प्रमाणित गरी अनुदान रकमका लागि स्थानीय तहले जिल्ला आयोजना कार्यान्वयन एकाइमा पठाउने उल्लेख गरिएको छ ।
स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजना गुम्बा, मठमन्दिर स्थानीय पुरातात्विक सम्पदा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाको पुनःनिर्माण गर्न प्राधिकरणले बजेट स्थानीय तहलाई उपलब्ध गराउने, प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय तहले पुनःनिर्माण कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, पुनःनिर्माणमा खटिएका कर्मचारीले पदीय आचरणविपरीत कार्य गरेमा स्थानीय तहले कारवाहीलाई कार्यान्वयन एकाइलाई सिफारिश गरेअनुसार प्रक्रिया अघि बढाउने भनिएको छ ।
सम्झौतापत्रमा निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्कहरु र स्थानीय तहमा खटाएको कर्मचारीको विवरण ६० दिनभित्र प्राधिकरणबाट स्थानीय तहलाई हस्तान्तरण गर्ने, लाभग्राहीले मापदण्ड पूरा गरेर निर्माण गरेका घरको नक्सा स्थानीय तहले स्वीकृत निरीक्षण कार्यविधिअनुरुप १५ दिनभित्रै स्वीकृति दिइसक्ने प्रावधान समावेश छ । वास्तविक लाभग्राही भएर पनि अनुदान प्राप्त सूचीमा नपरी गुनासो दर्ता गराएकालाई प्राधिकरणबाट यथाशीघ्र सम्बोधन गर्ने उल्लेख गरिएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार सम्झौतासहित बैठकले १२ बुँदे निर्णय गर्दैै पुनःनिर्माण गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । बैठकले अनुदान वितरणलाई प्रभावकारी बनाउने, निजी आवास निर्माणको सहुलियत व्याजदरको कर्जा वितरणलाई सरल र सहज बनाउने, आगामी माघ १५ भित्र स्थानीय तहले पुनःर्निर्माणसम्बन्धी कार्ययोजना तयार गरी प्राधिकरणमा पेश गर्नुपर्ने निर्णय गरेको छ ।
साथै नक्कली लाभग्राही एवं दोहोरो भुक्तानी लिएकालाई अनुदान पाउने सूचीबाट हटाउन पहल गरिने, जोखिम वर्गको सूचीमा परेका परिवारको पहिचान गरी राज्यले प्रथामिकता दिएका सुविधा उपलब्ध गराउने, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यहाँको बेलकोटगढी, सूर्यगढी र चिम्टेश्वर महादेव लगायतका सम्पदा पुनःनिर्माण गर्न पुरातत्व विभागको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
नुवाकोटको साततले दरबारसहित आसपासका पुरातात्विक सम्पदालाई समावेश गरी ‘सम्पदा बस्ती’ निर्माणमा चीन सरकारको सहयोगलाई समावेश गराउन पहल गर्ने, जोखिम बस्तीका बासिन्दाको स्थानान्तरण र पुनःस्थापनामा भइरहेको ढिलाइलाई तदारुकता दिइनेलगायतका निर्णय भएको छ ।
जिल्लास्तरमा पुनःनिर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको ‘पुनःनिर्माण जिल्ला सहजीकरण समिति’ गठन गरिएको छ । समितिको सदस्यसचिवमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रहेको छ भने सदस्यमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, मालपोत, नापी, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्लाका वाणिज्य बैंकलाई समावेश गरिएको छ ।
बैठकमा प्राधिकरणका कार्यकारी सदस्य श्रेष्ठसहित जिल्लास्थित पुनःनिर्माण प्राधिकरणको विभिन्न एकाइ कार्यालय, सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश उपसभामुख राधिका तामाङ, प्रदेससभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा, कल्पना नेपाली, जिसस प्रमुख सन्तमान तामाङ, प्रजिअ उद्धवबहादुर थापासहित नुवाकोटका सबै स्थानीय तहका प्रमुखको सहभागिता थियो ।
प्राधिकरण र स्थानीय तहबीच भएको सम्झौता र निर्णयले पुनःनिर्माणलाई थप तीव्र बनाउन र पुनःनिर्माणमा उत्पन्न समस्या समाधान गर्न सहज हुने विश्वास लिएको स्थानीय तहका प्रमुखले बताएका छन् । सीमित समयका लागि स्थापना भएको प्राधिकरणको समयसीमा सम्पन्न भए पनि स्थायी रहने स्थानीय तहले विभिन्न योजना बनाएर पुनःनिर्माण र त्यसपछिको समयमा उत्पन्न विपद्को प्रभावकारी सामना गर्न प्राधिकरणसँगको सम्झौतालाई महत्वपूर्ण जिम्मेवारीको रूपमा लिएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो ।
त्रिशूलीमा बेपत्ता तामाङ भेट्टिएनन्
चोरीको अभियोगमा पक्राउ परी प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका रसुवा उत्तरगया गाउँपालिका–२ का मैते तामाङको अवस्था अझै अज्ञात छ । उनलाई नदीमा गोताखोरको टोलीले भेट्टाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
गत पुस ४ गते त्रिशूली नदीमा पसेर बेपत्ता भएका १९ वर्षीय तामाङको खोजीका लागि सोमबार सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारबाट आएको गोताखोरको टोलीले दिनभर खोजी गरे पनि भेट्टाउन नसकेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक प्रल्हाद सिलवालको नेतृत्वको गोताखोर टोलीले तामाङ नदीमा पसेको स्थान पैरेबेँसीदेखि त्रिशूली जलविद्युत् केन्द्रमा पानी लगेको बाँधस्थल अक्करेसम्म खोजी गरे पनि भेट्टाउन नसकेको नुवाकोट प्रहरीले जनाएको छ ।
केन्द्रको बाँधस्थललगायतका ठाँउमा यसअघि नै खोजी गरे पनि भेट्टाउन नसकेपछि थप स्थानमा खोजीका लागि सोमबार गोताखोरको टोली परिचालन गरिएको थियो । उक्त टोलीले पनि भेट्टाउन नसकेपछि खोजीको वैकल्पिक उपाय अपनाउनुपर्ने देखिएको डिएसपी भट्टराईले भने ।
गत पुस ३ गते राति माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यही अभियोगमा अनुसन्धान तथा कारवाहीका लागि प्रहरी कार्यालय ल्याउने क्रममा पेंरेबेंसीमा आएपछि शौच गर्ने बाहनामा उनी त्रिशूली नदीमा पसेर बेपत्ता भएका थिए । तामाङ आफैं नदीमा पसेको नभई प्रहरीले बगाइदिएको भन्दै विरोधमा स्थानीयवासीले पुस ४ मा मैलुङ प्रहरीचौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाइदिएका थिए । सोही क्रममा प्रहरीले पाँच राउण्ड हवाईफायरसमेत गर्नुपरेको थियो । रासस
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

