प्रतिबन्ध खुल्ला भएपछि पर्यटक खुशी
इलाम, असोज १७ । भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ ।
गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ ।
पार्कले इलामको तुम्लिङदेखि पा“चथरको फालोटसम्मको सीमाक्षेत्रमा नेशनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय जमुनाका कुमार गुरुङले बताए ।
दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएको भन्दै पार्कले प्रतिबन्ध लगाएको थियो ।
तीन महिनामा रेडपाण्डाले प्रजनन समय पार गरिसकेको जनाउ“दै पर्यटकलाई रेडपाण्डा हेर्न खुल्ला गरिएको पार्कले जनाएको छ । कञ्चनजंघा बेस क्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ ।
पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् ।
पार्क खुल्ला हुनुअगावै पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल भरिभराउ हुन थालेका छन् । पर्यटकको जमघट शुरु भइसकेको माईजोगमाई–२ स्थित तुम्लिङका होटल व्यवसायी तिलक गुरुङले बताए ।
“तीन महिनादेखिको सुनसान ठाउँमा पर्यटकको चहलपहल बढेको छ”, उनले भने । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघ्मा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिर्खभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् ।
कञ्चनजंघा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीको अवलोकन गर्न सकिने सीमावर्ती नेपाली पर्यटकीय क्षेत्रमा विकासको अभावमा पार्कको प्रतिबन्ध खुल्लापछि स्थानीयवासी र पर्यटक खुशी भएका छन् ।
रुपन्देहीमा पनि रवि लामिछानेविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलले मुद्दा दर्ता गराएको हो। रवि र छविसहितविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सरकारी वकिलको कार्यालयले यसअघि २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको थियो । यससँगै सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको संख्या पनि ४२ पुगेको छ । सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै अदालतमा मुद्दा लगेको हो । शुक्रबार नै मुद्दा लैजाने तयारी गरिए पनि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएपछि सरकारी वकिल कार्यालयले आइतबार १४ जनाविरुद्ध पूरक मुद्दा दर्ता गराएको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जीबी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी, कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्रै कसुर लगाई २०८१ वैशाख ३ मा सुरु मुद्दा दर्ता गरेको थियो। प्रहरीले थप १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको थियो । यसअघि रवि जिल्ला अदालत कास्कीमा ६५ लाख र जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटिसकेका छन् । उता कास्कीमा ८८ लाख धरौटी तिरेर छुटेका छविलालको भने जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चल्दैछ ।
अमेरिकामा टिकटक प्रतिबन्ध लागू, सेवा अवरुद्ध
काठमाडौं: लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटक अमेरिकामा पूर्ण रूपमा बन्द भएको छ। अमेरिकी प्रयोगकर्ताहरूले एपमा प्रवेश गर्न खोज्दा "तपाईं अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न" भन्ने सन्देश देखिएका छन्। यो कदम राष्ट्रपति जो बाइडेन प्रशासनले TikTok बन्द गर्ने कानूनी निर्णय कार्यान्वयन गरेपछि आएको हो। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार TikTok माथिको प्रतिबन्धलाई अनुमोदन गरेको थियो। उक्त कानूनी निर्णय अनुसार चीनमा आधारित कम्पनी ByteDance ले जनवरी १९ भित्र टिकटकको अमेरिकी संस्करण कुनै तटस्थ पार्टीलाई बेच्नुपर्ने प्रावधान थियो। तर ByteDance ले यो निर्णय कार्यान्वयन गर्न असफल भएपछि प्रतिबन्ध लागु भएको हो। टिकटक ले यस कदमलाई "अमेरिकी प्रयोगकर्ताको स्वतन्त्र अभिव्यक्ति अधिकारको उल्लङ्घन" भएको बताउँदै अदालतमा चुनौती दिएको थियो। हाल TikTok का अमेरिकामा १७ करोड प्रयोगकर्ता छन्। राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि टिकटक लाई ९० दिनको समय दिने सम्भावना रहेको बताएका छन्। ट्रम्पले भनेका छन्, "टिकटक प्रतिबन्ध फुकुवा गर्न मैले समाधान खोज्नेछु।" यो घटनाले सामाजिक सञ्जालको स्वतन्त्रता र राष्ट्रिय सुरक्षा सम्बन्धी बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ। प्रतिबन्धपछि अमेरिकी Google Play Store र Apple App Store बाट TikTok एप हटाइएको छ भने TikTok.com ले पनि कुनै भिडियो देखाइरहेको छैन। TikTok ले यसअघि चेतावनी दिएको थियो कि यदि प्रतिबन्ध फुकुवा गर्ने कुनै आश्वासन प्राप्त नभएमा प्लेटफर्म आइतबारदेखि "अन्धकारमा जानेछ।" अब, टिकटक प्रयोगकर्ताहरूले यो संकटको समाधानको प्रतीक्षा गरिरहेका छन्।
नेपालमा न्यून चापीय प्रभाव सकियो
काठमाडौं । बुधबार साँझतिर भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव लगभग सकिएको छ । यस प्रणालीले बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा गराएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, बाजुरा, डोटीलगायत स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हिमपात भएको थियो । "पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको देखिएको छ । प्राय: ठाउँमा सामान्य र थोरै स्थानमा मध्यम वर्षा भएको देखिन्छ । उच्च हिमाली भेगमा हिमपात पनि भएको छ । हाम्रो वेदर क्यामेराहरूले पठाएका फोटोहरूले सामान्यदेखि मध्यम हिमपात भएको देखाएका छन्," उनले भने । उनका अनुसार, डडेलधुराको साहुखर्कमा १६ मिलिमिटरसम्म वर्षा भएको छ । यस्तै, बाजुरामा १३.४ मिलिमिटर ताथा डोटीमा १०.२ मिलिमिटर वर्षा भएको छ । तर, आजदेखि उक्त मौसम प्रणाली लगभग सकिएको मौसमविद् पुडासैनीले बताए । आज वाग्मती, मधेस र कोसी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । “पश्चिम नेपालमा हिजो वर्षा गराएको पश्चिमी न्यून चापीय प्रणालीको असर अहिलेलाई लगभग सकिएको छ । आज वाग्मती, मधेस र कोसी प्रदेशमा थोरै बदलीको सम्भावना छ । बाँकी ठाउँमा मुख्यतया आज मौसम सफा रहनेछ,” मौसमविद् पुडासैनीले भने ।
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।