प्रधानमन्त्री ज्यू, रमिते मेयरविरुद्ध फौजदारी अभियोग लगाइयोस्

प्रधानमन्त्री ज्यू, रमिते मेयरविरुद्ध फौजदारी अभियोग लगाइयोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज व्यवस्थापिका संसदमा निकै घतलाग्दो कुरा गर्नुभयो । उहाँको भनाईको सार थियो, ‘लोकतन्त्र भनेको राजनीतिक स्वतन्त्रता र अधिकारको ग्यारेण्टी मात्रै होइन, लोकतन्त्र भनेको अधिकारको उपभोग गर्ने हैसियत, सामाजिक, सांस्कृतिक र आर्थिक सक्षमता पनि हो ।’

योसँगै प्रधानमन्त्री ओलीले कैलालीमा बोक्सीको घटना र बलात्कृत ८ वर्षीय बालिकाका बारेमा सदनमा भावुक सम्बोधन गर्नुभयो । तर, बिडम्बना ! अध्यक्ष ओलीले सदनमा जसरी भावुकतामा यी कुरा गर्नुभयो, कैलालीको घटनामा रमिते बनेका मेयरमाथि भने उहाँको दलले अहिलेसम्म औपचारिकरुपमा कुनै कुरा बोलेको छैन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी प्रधानमन्त्री केपी अध्यक्ष रहनुभएको नेकपा एमालेबाट मेयर बनेका हुन् ।

जी भट्ट

मेयर ममताप्रसादमाथि आफ्नै नगरपालिकाभित्र र विगतमा आफैले अध्यापन गर्दै आएको विद्यालयमा अध्ययनरत किशोरीमाथि पाशविक तरिकाले कुटपिट हुँदा रमिते बनेको आरोप छ । यो सन्दर्भमा, प्रधानमन्त्री ओलीको भाषणलाई उहाँकै सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै सदनमा भनेको कुराको सन्दर्भलाई हेर्दा गम्भीररुपमा भन्नैपर्ने भएको छ– प्रधानमन्त्री ज्यू, तपाई नेतृत्वको सरकारबाट रमिते मेयरमाथि सरकारबाट फौजदारी अभियोग लगाइयोस् र तपाई नेतृत्वको पार्टीबाट कारवाही गरियोस् ।

‘सिंहदरबारको अधिकार गाउँघरमा’ भन्ने नारा चुनावमा निकै घन्कियो । यसको अर्थ स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो भन्ने तथ्य स्थापित गर्नु थियो । जनताका हरेक समस्या, पीरमर्का, शान्तिसुरक्षा, गाँस, बासको प्रत्यक्ष सरोकार पूरा गर्ने सरकार । समाजमा बेथिति, विसंगति, कुरीति, भ्रष्टाचारविरुद्ध सबैभन्दा बढी स्वामित्व लिएर पहल गर्ने सरकार ।

जनताका गुनासो र दैनिक जीवनका समस्याहरूको सही र न्यायसंगत व्यवस्थापन जनप्रतिनिधिले गरुन् भन्ने आमसर्वसाधारणको अपेक्षाकै कारण वामपन्थीहरूले उल्लेख मत समेत पाए । तर, कैलालीको घोडाघोडी नगरपालिकामा भएको अमानवीय ‘बोक्सी’ प्रकरणमा नगर प्रमुख (मेयर) ममताप्रसाद चौधरीको भूमिका हेर्दा हामी जान खोजेको बाटो, हामीले गरेका प्रतिवद्धता र हाम्रो कदममाथि नै कता कता प्रश्न उठने अवस्था देखिएको छ ।

अपराधको पक्षमा ‘वामपन्थी’ मेयर
कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै समाजको उपस्थितिमा आफूलाई ‘बाबा’ बताउने रामबहादुर चौधरीले ‘लगातार ६ घण्टा’सम्म कुटपिट गरे । त्यो कुटपीटको प्रत्यक्ष ‘दर्शक’हरू तिनै थिए, जसले यी मेयर ममताप्रसादलाई मतको ममता दिएका थिए । ६ घण्टापछि कुटपिटको विषय ईलाका प्रहरी कार्यालय सुक्खडमा पुगेपछि प्रहरीले अभियुक्त रामबहादुर चौधरीलाई पक्राउ गर्यो ।

लगत्तै प्रहरी कार्यालय पुगे घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी । ‘वामपन्थी’ चौधरीले निर्दोष किशोरीमाथि पाशविक हिंसा हुँदा घटनाको विरोध गर्नुपर्ने थियो, पीडकलाई कारवाहीका लागि प्रशासनलाई निर्देशन दिनुपर्ने थियो । तर, अचम्म ! मेयर ममताप्रसादले अभियुक्तलाई छुटाउन दबाब दिए । बोक्सी भन्दै यातना पाएकी पीडित किशोरी चौधरीले आफ्नो पक्षमा बोल्न आफ्ना पूर्वशिक्षक समेत रहेका ममताप्रसाद चौधरीसमक्ष हारगुहार गरिन् ।

तर, ममताप्रसादको हृदयमा कुनै पनि प्रकारको ममता जागृत भएन । मेयर चौधरीले अभियुक्त रामबहादुरलाई आफ्नै रोहवरमा हिरासतमुक्त गरे । कानूनी भाषामा उनले हिंसा, कुटपिट र ज्यान मार्ने उद्योगमा मतियारको भूमिका निर्वाह गरे ।

रुढिवादी र कुसंस्कारका कारण बोक्सीको नाममा किशोरी कुटिइन् । आमरुपमा बाबा र उसलाई स्वीकार्नेहरूले यो घटनालाई सामान्य लिन सक्लान् । तर, जनताको मतबाट मेयर बनेका नेताले नै गम्भीर अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर आफूलाई बोक्सी कुप्रथाको नाइकेका रुपमा प्रस्तुत गर्नु सरासर फौजदारी अपराध हो ।

बोक्सी कुप्रथा घटनामा देखिएको मेयरको भूमिका आपराधिक र अकल्पनीय हो । निराधार, तथ्यहीन र खतरनाक कुप्रथाको नाइकेका रुपमा स्थानीय सरकारको मेयर नै खडा भएपछि पीडितले कहाँबाट न्याय पाउने ? तसर्थ मेयरमाथि फौजदारी कार्वाही किन नगर्ने भन्ने विषय गम्भीर बनेको छ ।

होला त मेयरमाथि कारवाही ?
घटनाको छानविन र दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढिरहँदा सरकारले स्पष्ट पार्न नसकेको एउटा विषय सर्वत्र व्याप्त रहेको छ । अभियुक्तका पक्षमा उभिएर आपराधिक बोक्सी कुप्रथाका नाइके बनेका मेयर ममताप्रसादलाई चाहिँ कारवाही हुन्छ कि हुँदैन ?

मेयर चौधरी नेकपा एमाले निकट बुद्धिजीवी संगठनका जिल्ला उपाध्यक्ष समेत रहेको सार्वजनिक भएको छ । उनका क्रियाकलापले बुद्धिजीवी संगठनकै बद्नाम भएको छ ।

एमालेबाट उम्मेदवार बनेर ममताप्रसादले मेयरमा जितेका हुन् । तसर्थ, गम्भीर आपराधिक घटनामा घृणित भूमिका निर्वाह गरेका मेयरलाई नेकपा एमालेले कारवाहीको दायरामा ल्याउनुपर्छ । आम सर्वसाधारणका आशाका केन्द्र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मेयरमाथि कारवाही गर्न सक्लान् ? बहुसंख्यक नेपालीको अपेक्षा छ– कारवाही गर्न सक्नुपर्छ, गर्नुपर्छ ।

स्थानीय सर्वसाधारणको शान्तिसुरक्षाको जिम्मेवारी मेयरको कार्यक्षेत्रमा पर्छ । तर, मेयरले बोक्सी कुप्रथाको नाममा समाजमा अशान्ति फैलाउने अभियुक्तका पक्षमा काम गरे । पीडित किशोरीलाई मानसिक पीडा हुने गरी अभियुक्तलाई उन्मुक्ति दिलाए । शान्तिसुरक्षाको भूमिका निर्वाह गर्नुपर्ने भएपनि मेयर चौधरी अशान्ति र त्रासका पक्षमा उभिए ।

स्थानीय स्तरमा रहेका अन्धविश्वास, कूरीति र कुप्रथालाई हटाउन जनचेतना फैलाउने दायित्व समेत मेयरको नै हो । तर, मेयरले बोक्सी कुप्रथाका पक्षमा उभिएर कुप्रथालाई बढावा दिने भूमिका खेलेका छन् । अभियुक्तलाई कानूनी कठघरामा ल्याउन सहयोग गर्नुपर्ने दायित्व पनि मेयरको हो । सँगसँगै पीडितलाई न्यायको अनुभूति गराउन पनि मेयरले भूमिका निर्वाह गर्नुपर्छ । तर, मेयरका हरेक भूमिका गलत सावित भएका छन् । अशान्ति, अन्धविश्वास र अपराधका पक्षमा मेयर देखिएका छन् ।

भिडियो खिच्ने ‘नागरिक पत्रकार’लाई सलाम !
गम्भीर आपराधिक घटनालाई सामान्य ढंगले लिएर अभियुक्तलाई उन्मुक्ति दिएका मेयरले ‘बहादुरी’ देखाएका थिए । उनले घटना त्यत्तिकैमा साम्य हुने ठानेका थिए । तर, त्यसो भएन । मेयरको घटना मिलाएपछि आम नागरिक ब्यूँझिए ।

कुटपिटको घटना भइरहँदा रमिते बनेका धेरै स्थानीयमध्ये कुनै सचेत नागरिकले खिचेको भिडियो सार्वजनिक भयो । जुन भिडियो पीडितलाई न्याय दिलाउन र पीडितलाई पुनः कानूनी कठघरामा पुर्याउन सहयोग गर्यो । ती सचेत नागरिक अर्थात् ‘नागरिक पत्रकार’ सम्मान र सलामका पात्र बनेका छन् ।

भिडियो सार्वजनिक भएपछि सञ्चारमाध्यमले घटनालाई प्राथमिकताका साथ स्थान दिएका छन् । राष्ट्रिय र स्थानीय मिडियाले उच्च प्राथमिकता दिएका कारण पीडितले न्याय पाउने आशा गरिएको छ । घटना राष्ट्रिय चर्चाको विषय बनेको छ । कुटपिटपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत पीडित किशोरीको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको छ । अभियुक्तहरू पुनः प्रहरी नियन्त्रणमा पुगेका छन् ।

घटनाका विषयमा प्रतिनिधिसभा र प्रदेशसभा तथा केन्द्र सरकार र प्रदेश सरकारले चासो व्यक्त गर्दै दोषीमाथि कारवाही र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जाहेर गरेका छन् । ईलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रहरी प्रमुख निलम्बनमा परेका छन् । पीडित किशोरीको उपचार खर्च समेत सरकारले नै व्यहोर्ने छ ।

प्रधानमन्त्री ओलीको अग्नीपरीक्षा
आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले हाम्रो समाजबारे बोलेका छन् । कैलाली घटनालाई जोड्दै उनले समाजकै अगाडि मिथ्या, निराधार र तथ्यहीन आरोपमा यातना दिइने गरेको बताएका छन् । संसद बैठकमा विषय कोट्याएकाले प्रधानमन्त्रीले घटनाप्रति गम्भीर छन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, प्रधानमन्त्रीको गम्भीरता कार्यान्वयन तहसम्म पुग्न आजै दोषीमाथि एक्सन आवश्यक छ ।

कैलाली घटनामा टेकेर देशलाई थुप्रै सन्देश दिने अवसर प्रधानमन्त्री ओलीसामु छ । आफ्नै पार्टीका नेता भएपनि न्याय विपरित अपराधको पक्षमा भूमिका निर्वाह गर्नेलाई कारवाही हुने सन्देश दिन प्रधानमन्त्री ओलीले मेयरलाई पार्टीबाट कारवाही गर्नुपर्छ । वाम गठबन्धनको शक्तिशाली सरकार बनेको बेला कार्यकर्तामा बढ्न सक्ने घमण्डलाई मेयरमाथिको कारवाहीले नियन्त्रण गर्नेछ ।

मेयरमाथि कारवाहीको महत्व
जनताको घरदैलोमा सरकार पु¥याउने व्यवस्था र संघीयता कार्यान्वयन गर्न अधिकारसम्पन्न स्थानीय सरकारको व्यवस्था गरिएको हो । प्राप्त अधिकारको सदुपयोग गर्न नसक्ने र दुरुपयोग गर्ने जनप्रतिनिधिले व्यवस्थालाई नै बद्नाम गर्न सक्ने अनुमान मेयरको भूमिकाबाट लगाउन सकिन्छ । तसर्थ, प्रत्यक्ष निर्वाचित भएर पनि गलत गर्ने मेयरले पनि कारवाही भोग्नुपर्छ भन्ने सन्देश दिनु आवश्यक छ । ममताप्रसाद चौधरी माथिको कारवाही त्यो सन्देश दिने महत्वपूर्ण अवसर हो ।

नेकपा एमाले पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधका प्रत्यक्ष मतियार ममताप्रसाद चौधरीलाई फौजदारी अभियोग लगाएर पदमुक्त गर्ने हिम्मत गर्नुपर्छ । संसदमा दुईतिहाई बहुमत सहितको शक्तिशाली सरकार भएका कारण प्रधानमन्त्री ओलीले मेयरमाथि कारवाही गर्न आवश्यक पर्ने बाधा अड्काउ फुकाउ गर्न सक्छन् । तसर्थ, प्रधानमन्त्री ओलीले पार्टीगत सम्बन्धलाई बिर्सिएर कठोर हुँदै ममताप्रसादलाई पदमुक्त गर्नुपर्छ । आम सर्वसाधारणको अपेक्षा यही हो ।

मेयर निर्वाचित भएलगत्तै नेकपा एमालेले देशैभरिका मेयरलाई जनपक्षीय काम गर्ने तरिकाबारे प्रशिक्षण समेत दिएको थियो । त्यो प्रशिक्षणमा अपराधको पक्षमा उभिने पक्कै सिकाएको थिएन । ममताप्रसादले एमालेको त्यो प्रशिक्षण, पार्टीको नीति र देशको कानून विपरित काम गरेका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को ‘उम्मेदवारको अयोग्यता’ सम्बन्धी व्यवस्थामा ‘जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएका’ व्यक्ति उम्मेदवार हुन नसक्ने लेखिएको छ । यस्ता कसुरका अभियुक्त उम्मेदवार नै बन्न नसक्ने प्रावधान रहेको अवस्थामा चुनाव जितेर बोक्सी कुप्रथाका अभियुक्तको पक्षमा उभिने मेयर कसरी पदमा रहिरहन सक्छन् ?

ममताप्रसाद चौधरीलाई मेयर पदबाट मुक्त नगरेसम्म पीडित राधा चौधरीले न्याय पाउने छैनन् । चौधरीलाई पदमुक्त नगरे स्थानीय तहका जनप्रतिनिधिमा अराजकता र मनोनानी बढ्ने सहजै अनुमान लगाउन सकिन्छ । स्थानीय तहका जनप्रतिनिधिले नातावाद र कृपावादका आधारमा आफ्ना क्रियाकलाप सञ्चालन गर्ने र निर्णय लिने प्रवृत्ति बढ्दै जानेछ ।

जसले गर्दा पहुँच नहुने, पीडित र गरीबले न्याय र अधिकार पाउने छैनन् । जुन गम्भीर खतराको मार्ग हो । वाम गठबन्धनको सपना विपरितको प्रवृत्ति हो । तसर्थ, वाम गठबन्धनप्रति जनताको भरोसा कायमै राख्न घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई फौजदारी अभियोग लगाएर पदमुक्त गर्नुपर्ने एकसुत्रीय शर्त प्रधानमन्त्री ओलीसामु राखिएको छ ।

प्रधानमन्त्री ज्यू, तपाईले संसदको गणितमा त विश्वासको मत पाउनुभयो । तर, जनताको मनबाट विश्वासको मत पाउन मेयर चौधरीलाई फौजदारी अभियोग लगाएर पदमुक्त गर्नैपर्छ ।

उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता होः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौं, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले आसन्न उपनिर्वाचनको मुख्य एजेण्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रुपमा अघि बढ्ने छ ।’ माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारवाहीका कारण जनताको बीचमा महत्वपूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिबिधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचारविरोधी कसलाई छनौट गर्ने भन्ने परीक्षणको समय पनि हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई अघि सारेको छ । त्यस्तै माओवादी केन्द्रले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा ईञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ । कीर्तिपुर नगर समितिले तिनै जना उम्मेदवार सर्वसम्मतरुपमा चयन गरेको जानकारी गराएपछि खुशी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सर्वसम्मत उम्मेदवार छनौटले जीतको राम्रो सुरुवात गरिसकेको बताउनुभयो । उहाँले विगतका अनुभव हेर्दा चुनावमा हार्नुमा आन्तरिक एकता नहुनु समस्याको रुपमा रहेको उल्लेख गर्दै उहाँले यसपटक आन्तरिकरुपमा पार्टी एक भएर उम्मेदवार छनौट गर्नु, सबै नेता कार्यकर्ता चुनावमा खटिन तयार हुनु र राष्ट्रियरुपमा पार्टीको पक्षमा माहोल बन्दै गएकाले यसपटक कीर्तिपुरसहित धेरै नयाँ ठाउँमा उपचुनाव जितिने आधार बनेको बताउनुभयो । सो क्रममा नगर प्रमुखका उम्मेदवार महर्जनले जित्ने विश्वासका साथ अघि सरेको उल्लेख गर्दै आफू निवृत्त प्राध्यापक भएकाले जितेमा सबै तलब भत्ता सामाजिक काममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा माओवादी केन्द्रका नेताहरु अग्नि सापकोटा, सूर्य सुवेदी ‘पथिक’, कृष्णध्वज खड्का, सरल सहयात्री, दिलिप महर्जनलगायतले उम्मेदवार छनौट र चुनावी तयारीबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो । यसअघि दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार निमलेखी शेर्पा(डोल्मा)लाई पनि अध्यक्ष प्रचण्डले आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिनुभएको थियो । सो क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिशाल खड्कालगायतले गौरीशंकर गाउँपालिकामा भएको चुनावी तयारीबारे जानकारी गराउनुभएको थियो ।      

अमेरिकी राष्ट्रपतिको निर्वाचन : मतदान आज, स्वीङ्ग राज्यहरु निर्णायक

वासिङ्टन डिसी । विश्वले प्रतिक्षा गरेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदै छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।  सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उत्रेका छन् । मतदानको समय नजिकिँदै गर्दा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् । यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।  स्वीङ्ग राज्यहरु निर्णायक अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग ९मतदाताले अन्तिम समयमा निर्णय गर्ने० राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए । पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ । कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । नेपालीहरुको मत निर्णायक हुन सक्छ ? व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ । नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए । शनिबार मात्रै उनको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताए। भण्डारीले भने, “हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।” “राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ”, भण्डारीले भने । पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनले धारणा राखे ।  स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भने, “राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।” पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आउनुभएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले थपे, “हामीहरुले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ, यसैले यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।” पेन्सलभेनियामा नै बस्दै आएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे । यसैगरी प्रकाश ढुङ्गानाले भने, “एक नागरिकका रुपमा हामीहरुले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।” नेपालीहरु पनि दुवै पक्षधर आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् ।  ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण  अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।       चुनावी र्‍यालीको अन्तिम अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना भएको र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गरेकी छिन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिने भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् । रासस

माओवादीबाट कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार प्राडा. शिवशरण महर्जन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई  अगाडि सारेको छ । सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। पार्टी उपाध्यक्ष, प्रवक्ता एवं बागमती प्रदेश इन्चार्ज अग्नि सापकोटाको प्रमुख आतिथ्य बसेको बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन आह्वान समेत गरेको छ।  सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ। यस्तै क्यान्सरकै कारण कीर्तिपुर-१ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं। ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएकाले त्यहाँ पनि उपचुनाव हुँदै छ।  अर्को चुनाव हुन अझै एक वर्षभन्दा बढी समय भएकाले रिक्त स्थानमा निर्वाचन आयोगले उपचुनाव गराउन लागेको हो।  घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा स्थानीय तहका विभिन्न ४० पद खाली छन्। जसमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद छन्। उपनिर्वाचन हुन लागेकामध्ये नेपाली कांग्रेसका तर्फबाट २ जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका थिए। त्यस्तै नेकपा माओवादीले २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पद जितेको थियो। नेकपा एमालेले ६ वडाध्यक्ष जितेका थिए। जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र ९कैँची० ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदै छ।

अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेको स्थानमा अनियन्त्रित रुपमा छिरेको बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन् । देउसीभैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ठक्करबाट दुई जानको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट २० जना घाईते भएका छन् । जसमा २ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ । बसले देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । प्रहरीले बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना हुन पुगेको जनाएको छ । 

लोकप्रिय