फापर उत्पादनमा महिला आकर्षित

फापर उत्पादनमा महिला आकर्षित

जुम्ला, फागुन १६ । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् ।
यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गरेका छन् । यिनै समूहमा रहेका महिलाको सक्रियतामा फापर अन्न तथा पिठो उत्पादनका लागि लघुउद्यम सुरु गरिएको डाँफे उद्यमी समूहका अध्यक्ष तारा बुढाले जानकारी दिएका छन् ।

“कर्णाली क्षेत्रको रैथाने बालीको रुपमा रहेको फापरको महत्व नबुझी बेवास्ता गरिएका कारण लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र उत्पादन गर्न हामी लागिपरेका छौँ”– उनले भने ।

पटमाराका महिलाले फापर उत्पादन वृद्धि गरेर आयआर्जन बढाउने लक्ष्य लिएकोे प्रगतिशील उद्यमी समूहका अध्यक्ष जानदेवी बुढाले बताए ।

महारुद्र उद्यमी समूहका अध्यक्ष देवीकन्या बुढाले फापरको पुरिया बनाउने लेवल लगाउने र प्रशोधन गरेर बजार पु¥याउने काम गरेर महिलाको आर्थिकस्तर उकास्ने उद्देश्यले उद्यमी समूह गठन गरिएको बताउनुभयो । उनीहरुले ग्रामीण परिवेश नेपाल नामक संस्थाले दिएको पिठो उत्पादन र उद्यम विकासको आठदिने तालिमबाट फापरबाली उत्पादनमा आकर्षित भएको बताए ।

संयुक्त राष्ट्र संघीय विकास कोषको सहयोग र ग्रामीण परिवेश नेपाल, जुम्ला शाखाले सञ्चालन गरेको लघु पुँजीगत अनुदान कार्यक्रमअन्तर्गत फापरबालीसहित पिठो उत्पादन समेत गर्न महिलालाई उद्योगसम्बन्धी तालिम प्रदान गर्नुका साथै रु एक लाख १० हजारको ग्र्यान्डिङ र तौललने उपकरण सहयोगस्वरुप उपलब्ध गराइएकोे आयोजक संस्थाका कार्यकारी निर्देशक अमर रोकायाले जानकारी दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले फापर हिमाली क्षेत्रको बहुउपयोगी र अनिकालको अन्नबालीका रुपमा परिचित रहेको जनाए । “फापरसँग रक्तस्राव, उच्च रक्तचाप, मधुमेह, दाँतको गिजाबाट रगत आउनेजस्ता रोगको उपचारमा उपयोगी हुनाका साथै प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ” – अधिकृत बुढाले भन्नुभयो । यसको उत्पादन वृद्धि गर्न जरुरी रहेकाले जुम्ला, मुगु, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङलगायतका हिमाली जिल्लामा यसको खेती गरिँदै आएको उहाँले जानकारी दिए ।

चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू संक्रमण

चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा कृषि फर्ममा बर्डफ्लू संक्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्मका कुखुरामा संक्रमण देखिएको हो । फर्ममा कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी परिक्षण गरिएकोमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । फर्ममा दुई हजार कुखुरा छन् । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने छ । संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ ।

गरिमा धानको डीएनए परीक्षण, बीउ नक्कली

काठमाडौंः धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्ले(नार्क) गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने,‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।’ यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

कञ्चनपुरमा युरियाको चर्को अभाव

कञ्चनपुर, साउन २१ । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । “भारतबाट खरीद गरेर मल ल्याउँदा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ल्याउन दिँदैनन्”, स्थानीय किसान बाधुराम चौधरीले भने, “बजारमा युरिया मल छैन । पाइएको मल खरीद गरिनसक्नु मूल्यको छ ।” “धान रोपेको २० दिनभित्र युरिया छरिसक्नु पर्दछ”, अर्का किसान बैदार चौधरीले भन्नुभयो, “धान रोपेको महीना दिन बित्नै लागेको छ । अहिलेसम्म मल पाइएको छैन ।” भारतबाट भित्र्याइएको युरिया ४५ किलोको बोराको किसानले रु दुई हजार ३० तिर्नुपरेको छ । मल बिक्रेताले मनोमानीरुपमा मूल्य कायम गरी मल अभाव भएको फाइदा उठाउँदै चर्को मूल्यमा युरिया मल बिक्री गर्दै आएको किसानको गुनासो छ । अनुदानको रासानिक मलको बिक्री दररेट प्रतिक्विन्टल रु एक हजार ६६२ रहेको छ । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीको शाखा भीमदत्तनगरले मागअनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । कृषि सामग्री कम्पनीले यस वर्ष ८१ मेट्रिकटन मात्रै रासानिक मल आपूर्ति गरेको थियो । सो मल असार महीनामै सकिएको छ । कम्पनीको दुई हजार ५०० मेट्रिकटन युरिया खरीद गर्ने लक्ष्य भए पनि थोरै मात्रै आपूर्ति हुँदा अभाव भएको कम्पनीका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए । युरिया समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुननकेको उनको भनाइ छ । “तत्काल युरिया आउने सम्भावना छैन”, उनले भने, “भर्खरै भारतको कोलकाता बन्दरगाहमा पुगेको भन्ने खबर छ । त्यहाँबाट यहाँसम्म आइपुग्न अझै एक महीना लाग्छ ।” रासस

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक, चैत ११ । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उनले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए। आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, “रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।” यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताए । उनका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ । यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताए । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ । रासस

लोकप्रिय