बन्ला त ? माओवादीमा दुई अंकको केन्द्रीय समिति
मणिकुमार श्रेष्ठ ‘सिजन’/
नेकपा (माओवादी केन्द्र)को साउन महिनाको सुरुवातमा नै स्थानीय तहको निर्वाचनमा आएको नतिजा र आफ्नो पार्टीले हार्नुको कारण पत्ता लगाउन बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्यो । जसले माओवादी केन्द्रमा कायम रहेको केन्द्रीय समितिलाई दुई अंकमा सिमित राख्ने निर्णयले पनि निकै चासो पायो । तर, कसरी दुई अंकको केन्द्रीय समिति बनाउने भन्ने विषय अहिले पनि चासोको विषय भइरहेको छ । यो चासोको विषयमा अहिले माओवादी केन्द्रको केन्द्रीय समिति देखी मातहतका सम्पुर्ण निकायमा बहस भइरहेको छ ।
माओवादी केन्द्र मात्र यस्तो पार्टी हो । जसको केन्द्रीय समिति नै चार हजार भन्दावढि रहेको छ । पहिले–पहिले विद्यार्थी संगठनहरुले केन्द्रीय सम्मेलन आयोजक समिति बनाउदा १००१ सदस्यीय बनाउने चलन थियो । अहिले आएर माओवादीमा चार हजार भन्दा बढिको केन्द्रीय सम्मेलन आयोजक समिति भनेपनि नेताहरुले भने केन्द्रीय सदस्य नै भनेका छन् । जुन माओवादी हेडक्वाटरलाई टाउको दुखाइको विषय भएको छ ।
वास्तवमा भन्ने हो भने अहिले माओवादी पार्टीमा केन्द्रीय सदस्य कसरी भए अनि कुन प्रक्रियाबाट केन्द्रीय सदस्य भएका छन् । सोको विषयमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यहरुलाई नै थाहा छैन । अनि जो केन्द्रीय सदस्य भएका छन् उनलाई समेत आफु माओवादी केन्द्रको केन्दीय सदस्य हो भन्ने हेक्का समेत छैन् । किन कि कतिपय केन्द्रीय सदस्यहरुलाई त नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आधारभुत मान्यता समेत थाहा छैन् ।
माक्र्सवादको आधारभूत ज्ञान नभएका र कम्यूनिष्टको सामान्य चरित्र पनि नभएकाहरु पनि केन्द्रिय सदस्य भएका छन् कोटामा । र अझै केन्द्रिय सदस्य नै पाइएन भनेर रडाको मच्चाएर गएको निर्वाचनमा नखटनेहरु पनि भेटिए । अझ रोचक त के छ भने पटक पटक विवादमा आएका अध्यक्ष प्रचण्डका छोरा प्रकाशले आफूलाई केन्द्रिय सदस्यमा पारिएन भनेर पिता अध्यक्ष प्रचण्डलाई उनका अंग रक्षक एक डिएसपीको पेस्तोल खोसेर गोली ताकेपछि अध्यक्ष प्रचण्डले कोठामा लगेर थुनेर आफूले लगाउने पेटि निकालेर प्रकाशलाई कुटेको चर्चापनि त्यस बेला बेलामा आएको थियो । अर्थात माओवादी भित्रको केन्द्रीय सदस्य छनौटको बिषय एक प्रकारको किस्सा जस्तै बनेको छ । यसरी निर्माण भइरहेको माओवादी केन्द्रमा अहिले दुई अंकको केन्द्रीय समिति बनाउने चर्चा चलेसंगै दुई अंक भित्र पर्न माओवादी नेताहरुको दौढधुप शुरु भएको छ । सायद त्यसैले होला उनीहरु भन्न थालेका छन् । पार्टीको केन्द्रीय समिति चाही सानो नै हुनुपर्दछ तर आफु छुट्नु भएन ? यस प्रकारको परिपाटीले माओवादी केन्द्रलाई नराम्ररी गाजेको छ ।
कसरी भयो ? चार हजार माथिको केन्द्रीय समिति

नेपालमा माओवादी जनयुद्ध सुरु हुनुभन्दा अगाडी २०५१ सालमा नेपालको क्रान्तिकारी शक्ति नेकपा (एकताकेन्द्र मसाल)मा थोरै सदस्यको केन्द्रीय समिति थियो । माओवादी केन्द्रका प्रवत्ता पम्फा भुसालका अनुसार नेकपा (माओवादी)ले नेपालमा दीर्घकालिन जनयुद्ध सुरुगर्दा २०५२ साल फागुन १ गते १९ जनाको मात्र केन्द्रीय समिति थियो । जुनवेला अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, सदस्यहरुमा मोहन वैद्य किरण, डा बाबुराम भट्टराई, रामबहादुर थापा वादल, देव गुरुङ, सिपि गजुरेल, अग्नी सापकोटा, यामप्रसाद गौतम, हरिभक्त कडेल, नारायण शर्मा, पोष्टबहादुर बोगटी, लोकेन्द्र विष्टमगर, मातृका यादव, कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, हितमान शाक्य, हेमन्तप्रकाश वली, बासु वाग्ले र इश्वरी दाहालको टिम जनयुद्धमा सामेल भएका थिए ।
जनयुद्ध अहिलेको समयमा गर्न हुदैन जनसंर्घष नै आजको आवस्यकता हो भन्दै आएको पार्टी नेकपा एकताकेन्द्र मसालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्य, मसालका महासचिव नारायण काजी श्रेष्ठ प्रकाश, अमिक शेरचन, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, सोनाम साथी, विश्वभक्त दुलाल (आहुती) निनु चापाचाई, शशी श्रेष्ठ, इश्वरी भट्टराई, धनीराम पौडेल, राजु खड्का, धर्मचन्द्र लावती, भीमप्रसाद गौतम, हकिकुल्ला खाँ, विश्वनाथ साह, रामरिझन यादव, राजकुमार यादव, कमानसिंह लामा, प्रल्हाद बुढाथोकी लगायतको टिम जनयुद्ध भन्दा बाहिर थिए ।
जनयुद्ध नै आजको आवस्यक हो र अहिले जनयुद्ध भन्दा पनि जनसंर्घष नै आवस्यक छ । भन्ने विषयमा मतान्तर हुदा विभाजन भएको पार्टी १० वर्षे भिषण जनयुद्धको सफलता र केही विराम अनि केही अविराम यात्राको बीचमा पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि तत्कालिन नेकपा(माओवादी) र नेकपा (एकता केन्द्र मसाल) बीच २०६५ माघ १ गते एकीकरण भयो । त्यपछि माओवादीमा बैचारिक तथा सैद्धान्तिक रुपमा समेत फरक तरिकाको कार्यदिशा तयार गरियो । १० वर्षे जनयुद्ध अन्त्य भयो । संविधानसभा मार्फत् जनताको अधिकारी स्थापित गर्ने मान्याताका साथ दुई पार्टी मिलेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)नामाकरण गरियो । यसरी एकीकरण संगै माओवादीमा जम्बो केन्द्रीय समिति बनाउने क्रम सुरु भयो । त्यसवेला एकीकृत नेकपा माओवादीको १५१ जनाको केन्द्रीय समिति बनेको थियो । एकीकरण सुरुभएको माओवादी आन्दोलनको यात्रामा एकीकरणको सन्देश दिन नपाउदै पार्टी विभाजनको यात्रा पनि संगै सुरु भयो ।
पार्टी एकीकरण लगत्तै माओवादी नेता मातृका यादवले पार्टी फूटाए, उनको नेतृत्वमा नेकपा (माओवादी) गठन भयो । त्यसको केही वर्षपछि २०६८ सालमा तत्कालिन एकीकृत नेकपा (माओवादी) का बरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वको समूह पार्टीबाट अलग भयो र नेकपा (माओवादी) गठन भयो । जुन माओवादी आन्दोलनमा सबैभन्दा ठूलो विभाजन थियो । जुन विभाजनसंगै माओवादी आन्दोलनमा दुइधार स्थापित भयो । एउटा क्रान्तिकारी धार र अर्को सुधारवादी धार । त्यसवेला क्रान्तिकारी धारको नेतृत्व मोहन वैद्यले गरे भने सुधारवादी धारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरे । यस भन्दा अगाडी नै माओवादीले जनयुद्ध स्थगित गर्नु गलत भएको बताउदै आएका मणि थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका थिए ।
यसरी विराम र अविराम यात्रा सुरु गर्दे आएको माओवादी आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गरेका भनिएका मोहन वैद्य माओवादीमा पनि विभाजन सुरु भयो । अनि फेरी अर्को पार्टी तयार भयो नेपाल कम्युनिष्ट पार्टी, भने यतातिर सुधारवादी धारमा लागेको आरोप लाग्दै आएको एकीकृत नेकपा माओवादी भित्र नेता हेमन्त प्रकाश वलीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी न्युक्लीयस गठन भयो । यसरी विभाजनको सामाना व्यहोर्दै आएको माओवादी आन्दोलनमा फेरी वृहत एकताको सन्देश दिनेगरी विभिन्न घटकमा विभाजन भएको माओवादी आस्था र विचार वोक्ने १० वटा पार्टीहरु एक भए २०७२ साल जेठ १० गते ।
त्यसवेला एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी) सहित नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी, लगायत विभिन्न पार्टी तथा समुह बिचको एकता पछि पार्टीको नामाकरण नै परिवर्तन गरी नेकपा(माओवादी केन्द्र) राखियो ।
फेरी वृहत एकतासंगै माओवादीमा जम्बो केन्द्रीय समिति बनाउने लहर सुरु भयो । सुरुमा एकताको वेला १९९ संगै २९९, ३९९, ४९९ हुदै केन्द्रीय समितिमा बस्ने आकांक्षीहरु बढेसंगै ९९९ सदस्यीय केन्द्रीय आयोजक सम्मेलन आयोजक समिति तय भयो ।
केन्द्रीय समिति थप्ने क्रम सुरु भएसंगै नेताहरुको खल्तीबाट केन्द्रीय सदस्यमा फलनालाई राख्नु पर्ने भनि नामहरु आउन थालेपनि माओवादीले ७ प्रदेश तथा प्रवास गरी आठ वटा प्रदेश कमिटिबाट केन्द्रीय सदस्यको राख्नुपर्ने व्यक्तिहरुको नाम सिफारिस गर्न माग गर्दे जाँदा यस्तो अवस्था आयो । सात हजारको हाराहारीमा केन्द्रीय समितिमा राख्नु पर्ने सिफारिस आएको माओवादीका केन्द्रीय नेताहरुले नै बताएका थिए । त्यसलाई व्यवस्थापन गर्दा अहिले माओवादी केन्द्रमा ४३९९ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समिति भएको माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’ले बताएका एक कार्यक्रममा बताएका थिए । तर, अहिले पनि माओवादी केन्द्रको केन्द्रीय समितिमा कतिजना सदस्य छन् सोको बारेमा यकिन रुपमा बाहिर आएको छैन् । यसरी सुरु भएको माओवादी भित्रको केन्द्रीय समितिको सदस्य बनाउने होडबाँजी नेताहरुको गुटगत स्वार्थका कारण पनि जम्बो हुदै गयो । जसको कारण माओवादीको केन्द्रीय समितिको वैठक बस्न सकिरहेको छैन् । त्यहीकारणले होला २०७४ साउनमा सम्पन्न भएको केन्द्रीय सचिवालयको विस्तारित वैठकले दुई अंकको केन्द्रीय समिति बनाउने सोच बनाएको ।
कसरी अटाउन सक्छ दुई अंकमा
विश्वमा भएको कम्युनिष्ट पार्टीहरु मध्ये सायद सबै भन्दा धेरै केन्द्रीय सदस्य रहेको पार्टी भनेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नै हो भन्दा सायद अप्ठेरो नपर्ला । नेपालमा भएको दश बर्ष लामो जनयुद्धको विरासतमा आएका माओवादी पार्टीहरुले आफुलाई चुस्त दुरुस्त बनाउन नसक्नु आफैमा दुर्भाग्यको विषय हो । यसरी झट्ट हेर्दा माओवादी आन्दोलनको विरासत अन्त्यको दिशातिर त जादै गरेको छैन् भनि अहिले माओवादी आल्दोलनको थालनी गर्ने नेताहरुले नै बताउन थालिरहेका छन् ।
यसले के देखाउछ भने माओवादी आन्दोलनमा मौलाएको व्यक्तिवादी संस्कृतिको हावी पनि अहिलेको जम्बो केन्द्रीय समिति तय हुनु हो । यसरी गुठगत स्वार्थका कारण निर्माण भएको माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति सिमिति सजिलै दुई अंकमा ल्याउन कठिन छ । जुन अहिलेको कायम रहेको माओवादी केन्द्रको केन्द्रीय समितिका कुल सदस्यहरुको २.४० प्रतिशत बराबर हुन जान्छ । बाँकी ९७ प्रतिशत भन्दा वढि केन्द्रीय सदस्यहरुलाई प्रदेश तथा जिल्ला एवं गाउँतहमा पठाउनु पर्ने हुन्छ । यो भनेको माओवादी केन्द्रमा फलामको चिउरा चपाउनु सरह हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई अंकको केन्द्रीय समिति निर्माण गर्नु पर्छ भने पछि नेताहरुले अहिले सक्रिय युवाहरुलाई केन्द्रीय समितिमा अटाउनु पर्छ भन्ने वहानामा दुई अंकको केन्द्रीय समिति सम्भव नभएको बताउन थालिसकेको छन् । सबैको एउटै जोड सुरु भएको देखिन्छ । आफु जसरी पनि केन्द्रीय समितिमा पर्नु पर्दछ । यो माओवादी भित्रको कुलिनतन्त्रवादी संस्कार हो । माओवादी केन्द्रको आजभन्दा ९बर्ष अगाडीको पार्टी संरचना र अहिलेको पार्टी संरचनालाई रेखाचित्रमा हेर्न सकिन्छ ।
यसरी माथिको संरचनालाई हेर्दा माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति विघटन हुन निकै कठिन देखिन्छ । त्यसैले यस कठिन यात्रामा पनि माओवादीले जम्बो केन्द्रीय समितिलाई विगटन गर्नु नै पर्ने छ । जसको विधि र विधान तयार भएपछि आफै चुस्त समिति बन्छ । तर नेताहरुको चरित्र भने विधि र विधान भन्दा बाहिर रहेको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिलाई दुई अंकमा अटाउने मुख्य तीन उपायहरु यस प्रकार अवलम्बन गर्न सकिन्छ :
पहिलो : कम्युनिष्ट आन्दोलन र त्यसमा निभाएको भुमिकाको आधारमा ५१ सदस्यीय केन्द्रीय सदस्य छनौट गर्ने ।
दोस्रो : विभिन्न पार्टीहरु बीचमा भएको एकीकरणको आधारमा २१ जना केन्द्रीय समितिका सदस्य छनौंट गर्ने ।
तेस्रो : अहिलेको परिवेशको कम्युनिष्ट आस्थामा प्रतिवद्ध भई विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने जुझारु युवा, तथा विभिन्न समुदायमा आधारित भएर २७ जना केन्द्रीय सदस्य छनौट गर्ने ।
यसो गर्दा कुल केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । त्यही बाट पार्टीको पदाधिकारी चयन गर्ने र पार्टीलाई वास्तविक जनताको पार्टीमा रुपान्तरण गर्न सकिन्छ । जुन आजको आवस्यकता हो । एउटा सुनौलो अभियान हो यो ।
निश्कर्ष :
माथिको रेखाचित्रमा देखाएजस्तो माओवादीको अहिलेको संरचनामा नेतृत्व प्रति वफादार देखिएको छैन् । पहिलेको संरचनामा नेतृत्व प्रति वफदार पार्टी थियो । त्यसै कारणले गर्दा जनताले माओवादीलाई रुचाएका थिए । अहिले माओवादी न त नेतृत्व प्रति वफदार नै देखियो न त जनताप्रति इमान्दार नै भेटियो । सायद त्यसैभएर होला जनताले जन्म दिने आमालाई भन्दा पनि अरुलाई बढि माया गरेको पाइयो । यो कठिन यात्रामा अहिले माओवादी आन्दोलन अगाडी बढेको छ । जुन समयको खेलसंगै पर्दा पछाडी पर्छ या पर्दा अगाडी पर्छ त्यो त माओवादी केन्द्रले लिने नीति तथा सिद्धान्तले देखाउदै जानेछ ।
अहिले पनि माओवादी आन्दोलनबाट स्थापित भएको विभिन्न पार्टीहरु अस्तित्वमा रहेको छन् ।
जसमा मोहन वैद्यको अध्यक्षमा नेकपा (क्रान्तिकारी माओवादी) नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी, डा. बाबुराम भट्टराईको नेतृत्वमा गैर कम्युनिष्ट पार्टी (नयाँ शक्ति नेपाल), र हेमन्त प्रकाश वलीको नेतृत्वको नेकपा न्युक्लियस रहेको छ । यसरी एउटै आन्दोलनमा विभिन्न भागमा विभाजन भएको माओवादी पार्टीमा जनताको आशा र क्रान्तिप्रति वफादार वन्दै गएको पार्टी नेकपा माओवादी केन्द्र प्रति जनताको पनि आकर्षण बढेको छ । जसको नेतृत्व जनयुद्धका महानायक क. प्रचण्डले गरेका छन् । त्यति हुँदा हुँदै पनि माओवादी केन्द्रले आफुु र आफ्ना नेतृत्वलाई सुधार गर्न आवश्यक छ ।
अन्त्यमा: माओवादीले सञ्चालन गरेको महान जनयुद्ध कुनै एक व्यक्तिलाई सर्वोच्चता दिनु भन्दा पनि सम्पुर्ण मुक्तिकामी जनताको मुक्तिको लागि लडिएको हो । यसमो पार्टी पंक्तिको ध्यान जानु जरुरी छ । कुनै अमुख व्यक्तिले मात्र यसको फाइदा लिन नपाओस । त्यसका लागि माओवादी आन्दोलनमा स्थापित भएका राजनीति दलहरु एक हुन आवस्यक छ ।
सन्दर्भ सामाग्री
१. रातोपाटी डटकममा प्रकाशित विभिन्न लेख तथा समाचारहरु
२. माओवादी केन्द्रबाट प्रकासित मुखपत्ररु
३. माओवादी केन्द्रका विभिन्न नेताहरुले दिएका अभिव्यक्तिहरु
४. झिल्को डटकममा प्रकाशित विभिन्न दस्तावेजहरु
५. एभरेष्ट दैनिकमा प्रकाशित विभिन्न लेखहरु
६. थाहाखबर डटकममा प्रकाशित विभिन्न लेख तथा समाचारहरु
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता : संयोग वा राजनीतिक सन्देश ?
पूर्ण घर्ति गणतन्त्र कुनै औपचारिक शब्द होइन। यो नेपाली जनताले दशकौंको संघर्ष, जनआन्दोलन, बलिदान र राजनीतिक रूपान्तरणको प्रक्रियाबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। त्यसैले जेठ १५ केवल क्यालेन्डरको एउटा मिति मात्र होइन, यो नेपाली राज्यको चरित्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन भएको दिन हो। यही दिनमा राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री मौन बस्नु सामान्य घटना मान्न सकिँदैन। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै सभापतित्वमा सम्पन्न गणतन्त्र दिवसको औपचारिक समारोहमा सम्बोधन नगर्नु त छँदैछ, त्यसबाहेक पनि उनले यस राष्ट्रिय अवसरमा कुनै शुभकामना सन्देश जारी गरेनन्, गणतन्त्रको ऐतिहासिक महत्वबारे कुनै धारणा व्यक्त गरेनन् र जनतालाई सम्बोधन गर्न आवश्यकसमेत ठानेनन्। यसले स्वाभाविक रूपमा एउटा प्रश्न जन्माएको छ—के यो केवल व्यक्तिगत शैली हो, वा गणतन्त्रप्रति रहेको राजनीतिक असहजताको अभिव्यक्ति ? राजनीतिमा मौनता कहिल्यै पूर्णतः तटस्थ हुँदैन। विशेषतः त्यो मौनता राष्ट्रको कार्यकारी प्रमुखबाट आएको हो भने झन् हुँदैन। नयाँ वर्षमा शुभकामना दिने, धार्मिक पर्वमा सन्देश जारी गर्ने, सामाजिक विषयमा निरन्तर अभिव्यक्ति दिने प्रधानमन्त्रीले गणतन्त्र दिवसमा मात्र मौनता रोज्नु संयोगका रूपमा व्याख्या गर्न कठिन छ। गणतन्त्र दिवसमा शुभकामना दिनु कुनै दल वा विचारधाराको समर्थन गर्नु होइन। त्यो संविधानले परिभाषित गरेको राज्य व्यवस्थाप्रति सम्मान व्यक्त गर्नु हो। प्रधानमन्त्रीले संविधानको शपथ खाएर पद ग्रहण गरेका हुन्छन्। त्यसैले गणतन्त्र दिवसमा अभिव्यक्ति दिनु वैकल्पिक सौजन्यको विषय होइन, संवैधानिक संस्कार र राजनीतिक उत्तरदायित्वको विषय हो। कम्तीमा पनि गणतन्त्रप्रति आफ्नो सम्मान सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने नेतृत्वमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ। यहाँ प्रश्न प्रधानमन्त्रीले विगतमा राजतन्त्रको समर्थन गरे कि गरेनन् भन्ने मात्र होइन। मूल प्रश्न यो हो कि उनले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो सार्वजनिक प्रतिबद्धता किन प्रष्ट पार्न चाहेनन् रु लोकतान्त्रिक नेतृत्वको दायित्व केवल सरकार सञ्चालनमा सीमित हुँदैनस त्यो राष्ट्रिय मूल्य, संवैधानिक व्यवस्था र ऐतिहासिक उपलब्धिप्रति पनि स्पष्ट अडान राख्नुपर्ने विषय हो। बालेन्द्र शाहको राजनीतिक उदय परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिबाट भएको हो। उनले भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक विकृतिविरुद्ध जनमत निर्माण गरे। तर एउटा महत्वपूर्ण तथ्य बिर्सनु हुँदैन—दलहरूको असफलता गणतन्त्रको असफलता होइन। सरकारहरूको कमजोरी संविधानको कमजोरी होइन। संविधानमा रहेका कमी–कमजोरी सुधार्ने, संशोधन गर्ने र समयानुकूल परिमार्जन गर्ने लोकतान्त्रिक बाटो खुला नै छ। यही कारणले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता अझ गम्भीर देखिन्छ। किनभने यसले दलविरोध र व्यवस्थाविरोधबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम पैदा गर्छ। यदि प्रधानमन्त्री गणतन्त्रप्रति असहमत छन् भने त्यसबारे स्पष्ट राजनीतिक बहस गर्न सक्नुपर्छ। यदि उनी गणतन्त्रवादी हुन् भने त्यसको पनि सार्वजनिक अभिव्यक्ति आवश्यक छ। तर संविधानको शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, अनि गणतन्त्र दिवसमा मौन बसेर सबै पक्षलाई आफ्नो–आफ्नो व्याख्या गर्ने अवसर दिनु जिम्मेवार राजनीतिक नेतृत्वको शैली मान्न सकिँदैन। नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न असन्तुष्टि र आलोचना भए पनि समग्र जनमत गणतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रत्येक सार्वजनिक व्यवहार राजनीतिक सन्देशमा रूपान्तरित हुन्छ। उनले बोलेका शब्दले मात्र होइन, उनले नबोलेका शब्दले पनि राजनीतिक अर्थ निर्माण गर्छन्। त्यसैले उनी गणतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्ने विषयमा स्वयं उनले स्पष्ट धारणा राख्नु आवश्यक छ। गणतन्त्र दिवसमा देखिएको मौनताले गणतान्त्रिक संस्कारप्रतिको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत दिएको छ। राष्ट्रको प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक उपलब्धिप्रति सम्मान व्यक्त गर्न आवश्यक ठानेनन् भने त्यसले नागरिकमा स्वाभाविक रूपमा जिज्ञासा, प्रश्न र शंका जन्माउँछ। लोकतन्त्रमा प्रश्न उठाउनु विरोध होइनस उत्तर खोज्नु नागरिक कर्तव्य हो। त्यसैले आजको मुख्य प्रश्न प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्रवादी हुन् कि होइनन् भन्ने मात्र होइन। मुख्य प्रश्न यो हो कि गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा उनले किन मौनता रोजे ? जब राष्ट्रको कार्यकारी प्रमुख बोल्नुपर्ने दिनमा मौन बस्छ, त्यो मौनता आफैं एउटा राजनीतिक अभिव्यक्ति बन्छ। इतिहासले प्रायः यस्ता मौनताहरूलाई पनि शब्दसरह गम्भीरताका साथ मूल्याङ्कन गर्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता पनि भविष्यमा नेपालको राजनीतिक इतिहास र गणतान्त्रिक संस्कारको बहसमा एउटा सन्दर्भ बिन्दुका रूपमा स्मरण गरिन सक्नेछ। अन्ततः यसको वास्तविक अर्थ र उद्देश्यको मूल्याङ्कन समयले नै गर्नेछ।
प्रधानन्यायाधीश सिफारिसः वरिष्ठता कि सत्ता इच्छा ?
विदुर कटुवाल काठमाडौं । नेपालको संवैधानिक इतिहासमा विरलै देखिने एक प्रकारको तनाव अहिले संवैधानिक परिषद्को निर्णयसँगै सतहमा आएको छ । प्रधानन्यायाधीश नियुक्तिजस्तो संवेदनशील र दूरगामी प्रभाव पार्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले परम्परागत वरिष्ठता क्रमलाई पन्छाउँदै डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सत्ता र विपक्षबीचको राजनीतिक दूरी मात्र बढेको छैन, न्यायपालिकाको स्वतन्त्रता, संवैधानिक संस्कार र संस्थागत स्थायित्वबारे गम्भीर बहस पनि सुरु भएको छ । यस विवादलाई अझ विस्फोटक बनाउने काम परिषद्भित्रकै दुई प्रभावशाली सदस्य–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको प्रस्तावविरुद्ध लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै खुला असहमति जनाएपछि संवैधानिक परिषद्भित्रै असाधारण दरार देखिएको हो । सामान्यतया परिषद्का निर्णयहरू गोप्य सहमतिका आधारमा टुंग्याइने अभ्यास रहँदै आएको अवस्थामा सार्वजनिक असहमति आफैंमा ठूलो राजनीतिक सन्देश मानिएको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा धेरै उठिरहेको प्रश्न एउटै छ–प्रधानमन्त्री बालेन वास्तवमै ‘नयाँ अभ्यास’ को सुरुवात गर्न खोजिरहेका हुन्, कि न्यायपालिकाभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिमपूर्ण प्रयोग ? प्रधानमन्त्री शाहले परिषद् बैठकमा डा. शर्मालाई ‘स्वतन्त्र, प्राज्ञिक र अराजनीतिक व्यक्तित्व’ भन्दै प्रस्ताव गरेका थिए । उनी निकट स्रोतहरूका अनुसार बालेनले परम्परागत वरिष्ठता प्रणालीभन्दा ‘मेरिट र कार्यक्षमता’ लाई प्राथमिकता दिनुपर्ने तर्क गरेका थिए । तर परिषद्का विपक्षी सदस्यहरूले भने यो तर्कलाई संवैधानिक अभ्यास तोड्ने खतरनाक बहानाका रूपमा व्याख्या गरेका छन् । नेपालको न्यायपालिकामा वरिष्ठता प्रणाली कुनै लिखित संवैधानिक बाध्यता नभए पनि दशकौंको संस्थागत अभ्यासका रूपमा स्थापित छ । सर्वोच्च अदालतभित्र वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराले न्यायिक स्थायित्व, पूर्वानुमेयता र आन्तरिक विश्वास कायम गर्न सहयोग गरेको मानिन्छ । यही कारण वरिष्ठता तोडिने हरेक प्रयासलाई न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपका रूपमा हेरिने गरिन्छ । यही संवेदनशील बिन्दुमा अहिले विवाद चर्किएको हो । विपक्षी नेता आङ्देम्बे र राष्ट्रियसभा अध्यक्ष दाहालले आफ्नो लिखित असहमतिमा ‘प्रधानन्यायाधीश नियुक्ति कुनै व्यक्तिको इच्छाअनुसार होइन, संवैधानिक संस्कार र विधिसम्मत प्रक्रियाअनुसार हुनुपर्छ’ भन्ने स्पष्ट अडान राखेका छन् । उनीहरूको यो कदमलाई धेरैले संस्थागत पारदर्शिता र लोकतान्त्रिक मूल्यको पक्षमा गरिएको साहसी हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रमुख विपक्षी नेता आङ्देम्बेले परिषद्भित्रै खुलेर प्रतिरोध जनाउनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । सत्ता पक्षको निर्णयलाई बैठकमै चुनौती दिनु केवल औपचारिक असहमति होइन, यो सरकारको शैलीप्रतिको प्रत्यक्ष राजनीतिक प्रतिरोध हो । उनले ‘न्यायपालिकाको गरिमामा सम्झौता नगर्ने’ संकेत दिएका छन् । यसले आगामी दिनमा संसद् र सडक दुवैमा यो मुद्दा चर्किन सक्ने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेनको यो कदमले दुईवटा सन्देश दिएको छ । पहिलो–उनी पुराना राजनीतिक दलहरूले निर्माण गरेका परम्परागत शक्ति संरचनालाई चुनौती दिन चाहन्छन् । दोस्रो–उनी संस्थागत अभ्यासभन्दा व्यक्तिगत दृष्टिकोणलाई बढी प्राथमिकता दिन तयार छन् । तर यही दोस्रो पक्ष अहिले उनको सबैभन्दा ठूलो आलोचनाको कारण बनेको छ । आलोचकहरूको प्रश्न स्पष्ट छ–यदि प्रत्येक सरकारले आफ्नो राजनीतिक वा वैचारिक सुविधाअनुसार वरिष्ठता तोड्दै ‘योग्य व्यक्ति’ को नाममा नियुक्ति गर्न थाल्यो भने न्यायपालिकाको संस्थागत स्वतन्त्रता कसरी सुरक्षित रहन्छ ? आज एक व्यक्तिलाई ‘योग्य’ भन्दै नियम बदल्ने हो भने भोलि अर्को सरकारले त्यही अभ्यासलाई अझ राजनीतिक रूपमा प्रयोग गर्न सक्दैन ? कानुन व्यवसायीहरू पनि अहिले विभाजित देखिएका छन् । केहीले ‘मेरिट आधारित नियुक्ति’ को बहसलाई स्वागत गरे पनि धेरै वरिष्ठ अधिवक्ताहरूले न्यायालयभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिम बढेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार न्यायपालिका केवल दक्ष व्यक्तिको नेतृत्वले मात्र चल्दैन, त्यसको आधार संस्थागत विश्वास, परम्परा र निष्पक्षताको सार्वजनिक अनुभूति पनि हो । यदि त्यो अनुभूति कमजोर भयो भने अदालतको निर्णयप्रतिको सामाजिक विश्वास समेत खस्कन सक्छ । नागरिक समाजका केही प्रतिनिधिहरूले समेत यो घटनालाई गम्भीर रूपमा लिएका छन् । उनीहरूको तर्क छ–लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन अत्यन्त संवेदनशील विषय हो । यदि कार्यपालिकाले न्यायपालिकाको नेतृत्व चयनमा अत्यधिक प्रभाव जमाउन थाल्यो भने अन्ततः लोकतान्त्रिक संरचनामै असन्तुलन पैदा हुन सक्छ । यस विवादको अर्को महत्वपूर्ण पक्ष डा. मनोजकुमार शर्माको सम्भावित कार्यकालसँग जोडिएको छ । स्रोतहरूका अनुसार उनी प्रधानन्यायाधीश नियुक्त भएमा करिब ६ वर्षसम्म पदमा रहन सक्नेछन् । नेपालको सन्दर्भमा यो अत्यन्त लामो अवधि मानिन्छ । त्यसैले यो नियुक्ति सामान्य प्रशासनिक निर्णयभन्दा धेरै ठूलो राजनीतिक र संवैधानिक महत्वको विषय बनेको हो । यही कारण अहिलेको बहस केवल ‘को प्रधानन्यायाधीश बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन । असली बहस त न्यायपालिकाको भविष्य कस्तो हुने भन्नेमा केन्द्रित हुँदै गएको छ । न्यायालय विधि, परम्परा र संस्थागत सहमतिबाट चल्ने कि राजनीतिक शक्ति केन्द्रहरूको प्राथमिकताबाट ? प्रधानमन्त्री बालेनले आफूलाई ‘पुरानो राजनीतिक संस्कार तोड्ने नेता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले परम्परागत दलहरूको आलोचना गर्दै ‘नयाँ राजनीतिक संस्कृति’ को वकालत पनि बारम्बार गरेका छन् । तर आलोचकहरू भन्छन्–संस्कार तोड्ने नाममा संस्थागत सन्तुलन नै भत्काउन थालियो भने त्यो परिवर्तन होइन, अस्थिरताको सुरुवात हुन सक्छ । संवैधानिक परिषद्भित्र सार्वजनिक रूपमा देखिएको यो असहमति आगामी दिनमा अझ ठूलो राजनीतिक संघर्षको संकेत हुन सक्छ । विपक्षी दलहरूले यसलाई ‘संवैधानिक निकायमाथिको सत्ता हस्तक्षेप’ का रूपमा प्रचार गर्ने सम्भावना बलियो देखिएको छ । उता सत्ता पक्ष भने ‘पुरानो शक्ति समूहको प्रतिरोध’ भन्दै आफ्नो कदमलाई सुधारवादी निर्णयका रूपमा प्रस्तुत गर्न प्रयासरत देखिन्छ । तर जे भए पनि एउटा तथ्य स्पष्ट भएको छ–प्रधानन्यायाधीश सिफारिसको यो विवादले नेपालको राजनीतिक बहसलाई गहिरो मोडमा पुर्याएको छ । अब यो केवल व्यक्तिको नियुक्तिको प्रश्न रहेन । यो प्रश्न बनेको छ–नेपालको लोकतन्त्र संस्थागत विधि र संवैधानिक संस्कारले चल्ने कि सत्ताको इच्छाअनुसार नयाँ परिभाषा निर्माण हुँदै जाने ? आगामी दिनमा यही प्रश्नले सरकार, विपक्ष, न्यायपालिका र नागरिक समाजबीचको सम्बन्धको दिशा तय गर्नेछ । अनि शायद, यही विवादले भविष्यको नेपालको लोकतान्त्रिक चरित्रसमेत परिभाषित गर्नेछ ।
सुकुमबासीप्रति राज्यको जिम्मेवारी: मानवीयता संवेदना किन जरुरी ?
विदुर कटुवाल काठमाडाैं । काठमाडौं उपत्यकामा नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी अभियान आजदेखि फेरि सुरु भएको छ । वर्षौँदेखि अनौपचारिक रूपमा बसोबास गर्दै आएका हजारौँ परिवारलाई उठीबास लगाउने यो कदम केवल भौतिक संरचना हटाउने प्रशासनिक काम मात्र होइन, यसले समाजको सबैभन्दा कमजोर वर्गमाथि प्रत्यक्ष असर पार्ने मानवीय प्रश्न पनि हो । सरकारले ‘वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गरिने’ आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो संवेदनशीलता कत्तिको देखिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ । सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने सुकुमबासी समस्या एकरातमा जन्मिएको होइन । यो दशकौँदेखि जमेको सामाजिक–आर्थिक असमानताको परिणाम हो । गाउँमा रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको सीमित पहुँच, प्राकृतिक विपत्ति तथा द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरू बाँच्ने विकल्प खोज्दै सहर पस्छन् । सहरले उनीहरूलाई अवसर त दिन्छ, तर सम्मानजनक आवास दिन सक्दैन । अन्ततः उनीहरू नदी किनार, सार्वजनिक जमिन वा जोखिमयुक्त स्थानमा बस्न बाध्य हुन्छन् । यस्तो यथार्थलाई बेवास्ता गर्दै केवल ‘अवैध संरचना’ भनेर हटाउनु समस्याको समाधान होइन, बरु त्यसलाई झन् जटिल बनाउने कदम हो । सरकारको अहिलेको कदममा सबैभन्दा ठूलो कमजोरी मानवीय दृष्टिकोणको अभाव हो । कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास लगाउनु राज्यको दायित्वबाट पन्छिनु हो । विशेषगरी बालबालिका, गर्भवती र सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहको अवस्थालाई प्राथमिकतामा राखिनुपर्थ्यो । उनीहरूका लागि अस्थायी आवास, स्वास्थ्य सेवा, पोषणयुक्त खाद्य सामग्री र मनोसामाजिक सहयोगको व्यवस्था नगरी गरिएको हटाउने अभियान अमानवीय मात्र होइन, गैरजिम्मेवार पनि देखिन्छ । अर्कोतर्फ, सुकुमबासीको नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने र निजी स्वार्थका लागि फाइदा लिने प्रवृत्तिलाई पनि बेवास्ता गर्न मिल्दैन । वास्तवमा सबै सुकुमबासी एउटै प्रकृतिका छैनन् । केहीसँग अन्यत्र घरजग्गा हुन सक्छ, केहीले योजनाबद्ध रूपमा सार्वजनिक जमिन कब्जा गरेका पनि हुन सक्छन् । तर यसै आधारमा सबैलाई एउटै तराजुमा राखेर कारबाही गर्नु न्यायसंगत हुँदैन । राज्यको दायित्व भनेको वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, रोजगारी र सामाजिक सुरक्षाको पहुँच उपलब्ध गराउनु हो, न कि सबैलाई एउटै समूहमा राखेर हटाउनु । सरकारले यस विषयलाई केवल ‘व्यवस्थापन’को समस्या जस्तो देखाउन खोजेको छ, तर यो मूलतः गरिबी, असमानता र विकासको असन्तुलनसँग जोडिएको गहिरो संरचनात्मक समस्या हो । अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक अस्थिरता, ऊर्जा संकट र रोजगारीमा आएको गिरावटले गरिब वर्गलाई झन् प्रभावित बनाइरहेको छ । नेपालजस्तो आयातमा निर्भर र विप्रेषणमा आधारित अर्थतन्त्रमा यसको प्रभाव अझ गहिरो हुन्छ । वैदेशिक रोजगारी घट्दा परिवारको आम्दानी घट्छ, उपभोग कम हुन्छ र अन्ततः सहरमा बस्ने न्यून आय भएका वर्गहरू प्रत्यक्ष मारमा पर्छन् । यस्तो अवस्थामा सुकुमबासी हटाउने जस्ता कदमले उनीहरूको जीवन अझ असुरक्षित बनाउँछ । घर मात्र होइन, उनीहरूले सानो–सानो रोजगारीका अवसर पनि गुमाउँछन् । दैनिक ज्याला मजदुरी गर्ने, सडक व्यापार गर्ने वा साना सेवा व्यवसायमा संलग्न मानिसहरूका लागि स्थान परिवर्तन गर्नु भनेको आम्दानीको स्रोत गुमाउनु हो । त्यसपछि उनीहरू अपराध, शोषण वा मानव तस्करी जस्ता जोखिममा पर्न सक्ने सम्भावना बढ्छ । सरकारले यस्ता दीर्घकालीन प्रभावको मूल्याङ्कन गरेको देखिँदैन । सरकारको अर्को आलोचनायोग्य पक्ष भनेको तथ्याङ्क र वास्तविकताको बीचको अन्तर हो । प्रायः सरकारी निकायहरू आर्थिक सूचकहरू राम्रो देखाउनमा केन्द्रित हुन्छन्, तर जमिनस्तरको यथार्थ फरक हुन्छ । गरिबी घटेको, रोजगारी बढेको वा विकास तीव्र भएको दाबी गरिए पनि सहरका झुपडी बस्तीहरू विस्तार हुँदै जानु आफैंमा त्यसको खण्डन हो । यदि नीतिहरू प्रभावकारी हुन्थे भने सुकुमबासीको संख्या घट्नुपर्ने हो, बढ्ने होइन । यसैले, अहिलेको परिस्थितिमा सरकारको प्राथमिकता स्पष्ट हुनुपर्छ । पहिलो, कुनै पनि हटाउने अभियान अघि वैकल्पिक आवासको सुनिश्चितता अनिवार्य हुनुपर्छ । दोस्रो, सुकुमबासीलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । तेस्रो, सामाजिक सुरक्षा सञ्जाललाई विस्तार गरी कमजोर वर्गलाई लक्षित सहायता उपलब्ध गराउनुपर्छ । चौथो, स्वास्थ्य र शिक्षामा सहुलियत दिई उनीहरूको जीवनस्तर सुधार गर्ने प्रयास गर्नुपर्छ । यसका साथै बजार अनुगमन प्रभावकारी बनाउन पनि जरुरी छ । कृत्रिम अभाव, कालोबजारी र अनियन्त्रित मूल्यवृद्धिले गरिब वर्गलाई सबैभन्दा बढी असर गर्छ । सरकारले कर छुट, सहुलियत र नियमनका माध्यमबाट अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्नुपर्छ । तर यी सबै अल्पकालीन उपाय मात्र हुन्। दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग विस्तार र आन्तरिक रोजगारी सिर्जना अपरिहार्य छ । अन्ततः, सुकुमबासी समस्या समाधान गर्न राजनीतिक इच्छाशक्ति र मानवीय संवेदनशीलता दुवै आवश्यक छन् । केवल कानुनी आधारमा संरचना हटाउनु सजिलो छ, तर मानिसको जीवन पुनःस्थापित गर्नु कठिन काम हो । यही कठिन काम गर्न सक्नु नै राज्यको असली परीक्षा हो । यदि सरकारले उठीबास गरिएका नागरिकलाई सम्मानजनक जीवन दिन सक्यो भने मात्र यो अभियान सफल मानिनेछ । अन्यथा, यो केवल गरिबमाथि अर्को अन्यायको अध्याय बन्नेछ । सरकारले अब निर्णय लिनुपर्छ-उसले विकासको नाममा कमजोरलाई विस्थापित गर्ने हो कि समावेशी नीति अपनाएर सबै नागरिकलाई साथ लिएर अघि बढ्ने हो । यही निर्णयले नेपालको सामाजिक न्यायको भविष्य निर्धारण गर्नेछ ।
सत्ताको 'उचाइ' र विधिको 'धरातल': नयाँ आवरणमा पुरानै प्रवृत्ति
पूर्णबहादुर घर्ती १. नयाँ आवरणमा पुरानै प्रवृत्ति: नेपाली राजनीति अहिले एउटा विचित्रको संक्रमणकालबाट गुज्रिरहेको छ। 'पुराना' दलहरूको असफलताको जगमा 'नयाँ' शक्तिहरूको उदय त भयो, तर कार्यशैलीमा भने एउटा साझा र खतरनाक चरित्र हावी हुन थालेको छI सस्तो लोकप्रियतावाद (Populism) र संस्थागत बेवास्ता। जनअपेक्षालाई सुशासनमा बदल्नुको साटो सत्ताको बागडोर सम्हालेका पात्रहरूले नै राज्यका दुई मुख्य स्तम्भ- व्यवस्थापिका (सदन) र न्यायपालिका (अदालत) को मर्यादालाई नजरअन्दाज गरिरहेका छन्। २. सैद्धान्तिक विचलन: लोकतन्त्रको आत्मा भनेको 'बहस' र 'सहमति' हो। तर, वर्तमान परिदृश्यले अर्कै संकेत गरिरहेको छ: * सदनको उपेक्षा: जनप्रतिनिधिहरूको सर्वोच्च थलो 'सदन' लाई जीवन्त बहसको केन्द्र बनाउनुको साटो राष्ट्रपतिलाई आह्वान गर्न लगाईएको सदन विनाकुनै कारण स्थगन गरिनुले संसदीय सर्वोच्चताको उपहास र राष्ट्रपतिलाई रबर स्ट्याम्प जस्तो वनाईएको छ । प्रचण्ड बहुमत हुँदाहुँदै पनि जब शासकहरूले अलोकतान्त्रीक र हुकुमी शासनको बाटो रोज्छन् छिट्टै पतनको दिशामा पुग्छन् । * लोकप्रियतावादको पासो: लोकप्रियताका लागि गरिने 'स्टन्ट' हरूले तत्कालका लागि सामाजिक सञ्जालमा ताली त पाउँछन्, तर यसले समाजमा गहिरो विभाजन निम्त्याउँछ। सुकुम्बासी समस्यालाई मानवीय र आर्थिक पाटोबाट हेर्नुको साटो केवल 'अतिक्रमणकारी' को लेभल लगाएर बल प्रयोग गर्नु शासकको अनुदारवादी र निरंकुश चरित्रको उपज हो। ३. कानुनी राज्यको उपहास: नेपालको संविधानले नागरिकको 'आवासको हक' लाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। तर, व्यवहारमा विधिको शासनलाई शक्तिको आडमा थिचिएको देखिन्छ। * अदालतको अवज्ञा: सर्वोच्च अदालतले २०८० मा दिएको "वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती नहटाउनु" भन्ने आदेशको पालना नगर्नु सिधै अदालतको मानहानि मात्र होइन, बरु लोकतान्त्रिक मूल्यमान्यता माथिको गम्भीर प्रहार हो। * संस्थागत पद्धतिलाई बाइपास: भूमि आयोग जस्ता संवैधानिक र कानुनी संयन्त्रलाई परामर्श र समन्वयमा सामेल नगरी 'डोजर' चलाउने आदेश जारी गर्नुले राज्यका स्थापित संस्थाहरूलाई कमजोर बनाउने र व्यक्तिलाई हाबी गराउने प्रवृत्तिको पुष्टि गर्छ। ४. काँधमा चढेको बच्चाको मनोविज्ञान: अहिलेको सत्ता सञ्चालनमा एउटा रोचक तर भयावह 'मनोविज्ञान' देखिएको छ। जनमतको काँधमा चढेर शक्तिमा पुगेका पात्रहरूले आफूलाई संसारकै अग्लो ठान्ने भ्रम पालेका छन्। * नयाँ शक्तिको विरोधाभास: 'जान्नेलाई छान्ने' भन्दै आएका शक्तिहरूले 'एकाधिकारवादी' शैलीलाई नै निरन्तरता दिने हो भने, जनतामा "जुन जोगी आए पनि कानै चिरेको" भन्ने निराशा बढ्नु स्वाभाविक छ। * सेलिब्रेटी संस्कृति र पद्धति: राजनीति जब 'सिस्टम' मा भन्दा पनि 'सेलिब्रेटी' र 'फ्यान फलोइङ' मा आधारित हुन्छ, तब संस्थागत जवाफदेहिता हराउँदै जान्छ। यसले बिस्तारै 'निर्वाचित अधिनायकवाद' लाई आमन्त्रण गर्छ। ५. निष्कर्ष र निकासको बाटो शासकले आफ्नो उचाइ आफू उभिएको धरातल (कानुन र संविधान) बाट नाप्नुपर्छ, अरूको काँधबाट होइन। अहिलेको संकटबाट निकासका लागि निम्न बुँदाहरू अनिवार्य छन्: 1.संवैधानिक सम्मान: सरकारले अदालतको आदेश र संविधानको धारा ३७ (आवासको हक) लाई पूर्ण रूपमा पालना गर्नुपर्छ। 2.संसदीय सक्रियता: जटिल मुद्दाहरूलाई सदनमा लगेर व्यापक छलफलबाट मात्र कानुन र नीति निर्माण गरिनुपर्छ। 3. मानवीय व्यवस्थापन: सुकुम्बासी समस्याको समाधान 'डोजर' होइन, 'पुनर्स्थापना' र 'वैज्ञानिक पहिचान' हो। वास्तविक सुकुम्बासी र भू-माफिया छुट्ट्याउने वैज्ञानिक विधि अपनाउनु नै सुशासनको पहिलो कदम हो। अन्त्यमा, जबसम्म पद्धतिलाई व्यक्तिभन्दा माथि राखिँदैन र राज्यका संस्थाहरूलाई खेलौना बनाइन्छ, तबसम्म लोकतन्त्रको आवरणमा अराजकता मात्र मौलाइरहनेछ जो छिट्टै पतनको दिशामा जान्छ । लेखक : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । (२०८३ / ०१ / १२)

