भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते नारायणी किनारमा हुने
चितवन । भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो । महानगरले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय यसअघि नै गरिसकेको थियो । यसअघि जनवरी १ मा उद्घाटन गर्ने तय भए पनि तयारी नपुगेको भन्दै केही समय पर धकेलिएको थियो ।
महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा. विश्व सुवेदीका अनुसार उद्घाटनमा सङ्घ, प्रदेश र स्थानीय तहका पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वको समेत उपस्थिति हुनेछ । सो अवसरमा महानगरपालिकाका २९ वडाकै नागरिकलाई सहभागी गराउनका लागि सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवारी दिइनेछ । भ्रमण वर्षको वडास्तरमा प्रचारका लागि वडाअध्यक्ष संयोजक रहेको प्रवद्र्धधन समिति बनाइएको छ । महानगरभित्रका वडाबाट ¥याली र झाँकीसहितको टोली विभिन्न स्थानमा जम्मा भइ नदी किनारमा पुग्ने गरी तालिका बनाइएको छ । भरतपुरको चौबीसकोठी, हाकिमचोक, त्रिचोक, बेलचोक, गेष्टहाउस चौर र क्याम्पा चौरमा भेला भएर हात्तीसहितको झाँकी नदी किनार पुग्ने छ ।
भ्रमण वर्षको उद्घाटन अघि नदी किनारमा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रिय कलाकारले साँझसम्म आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् । भ्रमण वर्षका लागि भरतपुर महानगरभित्र सात वटा मुख्य र २१ वटा अतिरिक्त गन्तव्य निर्धारण गरी प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो ।
भ्रमण वर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति, प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य छन् ।
उपप्रमुख चित्रसेन अधिकारीका अनुसार रु छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरपालिकाले रु तीन करोड विनियोजन गरेको छ भने बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैगरी नेपाल पर्यटन बोर्डबाट रु ७० लाख निकासा भइसकेको छ ।
भ्रमण वर्ष तयारीका क्रममा महानगरले भौतिक निर्माणमा पनि खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उनले बताए । भ्रमण वर्षले यहाँको पर्यटन बजार चलायमान बनाउनुका साथै पर्यटक आगमन बढाउने उपप्रमुख अधिकारीको भनाइ छ ।
महानगरले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुराँलाई विशेष छुटमा प्याकेज उपलब्ध गराउन आग्रह गरिएको छ । होटल रेष्टुराँले भ्रमण वर्षका अवसरमा १५ देखि ४० प्रतिशतसम्म छुटसहितको प्याकेज प्रस्ताव महानगरपालिकामा पेस गरेका छन् ।
महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । जसमा मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमताका होटल छन् । गैँडाकोटसहित जोड्दा चितवनमा १५ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको पर्यटक सम्बद्ध संघले जनाएका छन् ।
भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने गरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५१ भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गरिँदै छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ सुरु भए यता पाँचवटा भ्रमण वर्ष केन्द्रित कार्यक्रम सम्पन्न भईसकेका छन् ।
यसै अवसरमा महानगरले सङ्घीय सरकारलाई भरतपुरमा मन्त्रिपरिषद्को बैठक बस्न आग्रह समेत गरेको महानगर प्रमुख दाहालले बताइन् । भ्रमण वर्षकै अवसरमा ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिँदै छ । यसैगरी दुर्लभ पाटेबाघ, एक सिङ्गे गैँडालगाएतका जनावर हेर्न मिल्ने गरी खुल्ला खोरमा राख्न लागिएको छ । जसका लागि महानगरपालिकाले साझेदारीमा काम गरेको छ ।
भ्रमण वर्षका अवसरमा विश्वका ६१ भन्दा बढी देशका भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउने गरी निम्तो दिइएको छ । प्रमुख दाहालले भनिन् “अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।”
भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो । उनले थपिन् “भ्रमण वर्ष सफल पार्न सरकारीसँगै निजी क्षेत्र पनि सक्रियरुपमा लाग्नुपर्छ ।” सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उहाँको अपेक्षा छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै ठूलो सङ्ख्यामा पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्यापर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ । भ्रमण वर्ष ढिला गरी उद्घाटन गरिए पनि नयाँ वर्षसँगै आन्तरिक र बाह्य पर्यटकको आगमन आशालाग्दो हुँदै आएको दाहालले बताइन्। राष्ट्रियस्तरका कार्यक्रम यहाँ गरिएकाले धेरै होटलहरुमा अपेक्षाकृत पर्यटक आइरहेका छन् । रासस
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

