भरतपुर महानगरपालिकाको बजेट : कृषि प्रविधिमा जोड

भरतपुर महानगरपालिकाको बजेट : कृषि प्रविधिमा जोड

चितवन । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार भएको तेह्रौँ अतिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो ।

महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ । तेह्रौँ अतिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रीकरण गर्ने कार्यक्रमलाई निरन्तरता प्रमुख दाहालले बताईन् । ‘कृषकहरूलाई अनुदानमा कृषि यन्त्र उपकरण उपलव्ध गराउने नीति अवलम्बन गरिनेछ, उनले भनिन्, महानगरभित्रका खेतीयोग्य जमिनमा सिँचाइको पर्याप्तता सुनिश्चित गर्न भइरहेका जीर्ण अवस्थाका नहर कुलोको मर्मत गर्ने तथा कृषकहरूलाई साना सिँचाइमा अनुदान दिने नीतिलाई निरन्तरता दिइनेछ।’

अति आवश्यक ठाउँमा संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा ठुला खालका डिप बोरिङ खन्ने उनले बताईन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दाहालले जीर्ण अवस्थामा रहेको नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्न संघीय सरकारसँग समन्वय गरी काम अगाडि बढाउने जानकारी दिईन् ।

भरतपुर महानगरपालिकालाई उन्नत बिउ उत्पादनको हबको रुपमा विकास गर्ने महानगरको लक्ष्य छ । यसको लागि खाद्यान्न बिउ उत्पादन गर्ने कृषकलाई उत्पादन परिमाणको आधारमा अनुदान दिने उनले बताईन् ।

महानगरको लागि प्राप्त हुने रासायनिक मलको वितरण कृषि सहकारी तथा सूचीकृत कृषक समूह मार्फत् गर्दै नियमन कार्यलाई थप व्यवस्थित गरिने बताईएको छ । रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न पशु वस्तुको मल तथा मुत्र व्यवस्थापनबाट खेतबारीमा प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक खेती गर्न प्रोत्साहन गर्ने योजना बनाईएको छ ।

विषादी मुक्त भरतपुर नीतिलाई प्राथमिकता दिइने योजनमा महानगर देखिएको छ । यसका लागि हालको विषादी प्रयोगको अवस्थालाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने उनले बताईन् । ‘आई पी एम कृषक पाठशालालाई निरन्तरता दिइनेछ,’ उनले भनिन् ‘विषादी परीक्षण प्रयोगशालालाई संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा थप सुदृढीकरण एवं व्यवस्थित गरिनेछ।’ कृषि कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले ७ करोड बजेट विनियोजन गरेको छ ।

जनप्रतिनिधि आएपछि महानगरपालिकामा सिँचाई अन्तरगत १०० भन्दा बढी आयोजना सम्पन्न भएका छन् । भूमिगत जल तथा सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र र महानगरबाट सञ्चालित डिप बोरिङ, स्यालो ट्युवेल तथा साना सिँचाइ कार्यक्रमको कार्यान्वयनबाट करिब ७ हजार बिगाहा जमिनमा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । कृषकलाई ट्रयाक्टर, टिलर, पावर टिलर, धान कुट्ने मेसिन लगायत ८९ थान यन्त्र उपकरण अनुदानमा उपलव्ध गराइएको उनले बताईन् ।

दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान मार्फत ११ हजार ५ सय कृषकलाई ६ करोड १२ लाख अनुदान उपलव्ध गराइएको छ । यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताईन् ।

उपनिर्वाचनको उमेदवार बन्न के गर्नुपर्ला, यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले सरकारको स्वामित्वमा रहेका वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति उपनिर्वाचनमा उमेदवार बन्न नपाउने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको स्वामित्वमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति पनि उमेदवार बन्न नपाउने जानकारी गराएका छन् । उनका अनुसार, त्यस्ता व्यक्तिको उमेदवारी मनोनयन हुने छैन । स्थानीय तहका रिक्त ४२ पदमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था 

मानव तस्करी प्रकरणमा थप दुई पक्राउ

काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्रीसहित मिलेर जापानमा मानव तस्करीको प्रयास भएको कसुरको अनुसन्धानमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । भिसाका लागि नक्कली कागजपत्र बनाउनेलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए ।  यसअघि प्रहरीले पूर्वमन्त्री लीलाबल्लभ अधिकारीसहित सातजनालाई पक्राउ गरिसकेको छ। उनीहरूले तीनजनालाई सरकारी कर्मचारी भएको नक्कली परिचयपत्र बनाएर मन्त्रीसँगै जापान पठाउने प्रयास गरेका थिए। तर, जापान अध्यागमनले फर्काइदिएको थियो। नक्कली छाप तथा कागजपत्र बनाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो। गिरोहमा संलग्न अझै केही व्यक्तिहरू फरार छन् ।  मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवार, खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवाकाे कालिका गापा– ५ का कञ्चन देवकोटा हाल प्रहरी हिरासतमा छन् ।

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाका अनुसार उनलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो । ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेश सभा सदस्य मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो । जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए । दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि गत मंगलबार न्यायालयले अन्तिम फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो । यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।

हरिबोधिनी एकादशीको के छ महत्व ?

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।    प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ ।  आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।     हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।  तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिंगा गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।     आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।      तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।   तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।       कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।     आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।        किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।  ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।     कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए ।        विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।       आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।  आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।  बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

लोकप्रिय