भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई कारवाही गर्न प्रचण्डको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।
भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको र खेद प्रकट गरेको प्रचण्डले बताएका छन् ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गर्न प्रचण्डले माग गरेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।
अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो । उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप छ ।
ओलीका विश्वास पात्र जागरण सभाका ‘कमाण्डर’ उडे कम्बोडिया
काठमाडौँ । व्याप्त निराशा चिर्ने र उत्साह जगाउने भन्दै प्रधानमन्त्रीको दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र राजन भट्टराई आफ्नो जिम्मेवारी अर्का नेतालाई जिम्मा लगाएर कम्बोडिया उडेका छन् । नेकपा एमालेले मंसिर ७ को जागरण सभाको संयोजकका रूपमा बागमती प्रदेश कमिटीका इन्चार्ज समेत रहेका नेता भट्टराईलाई तोकेको थियो । तर भट्टराई कार्यक्रमको दुई दिनअघि नै कम्बोडिया उडेका हुन् । बुधबार साँझ भट्टराई आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कम्बोडिया प्रस्थान गर्न लागेको बताएका छन् ।कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ अवैध लगानी गरेको भन्दै प्रचार गरेका कारण दुर्गा प्रसाई पक्राउका बेला नेता भट्टराई पूर्वनिर्धारित कार्यक्रम छोडेर कम्बोडिया लागेका हुन् । ‘क्यम्बोडियामा भोलिदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले साँझ त्यसतर्फ प्रस्थान गर्दैछु’, भट्टराईले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी अनुपस्थितिमा क.कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु ।’ ढुंगेल जागरण सभाका सहसंयोजक हुन्
भारतीय सेना प्रमुख द्विवेदी आइपुगे नेपाल
काठमाडौं। भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौं आइपुगेका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ। त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन्।
रुकुम पूर्वमा माओवादीले खोल्यो खाता, जगत् घर्ती निर्विरोध निर्वाचित
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ । पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित हुनुभएको हो । २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी हुनुभएको थियो भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गर्नुभएको थियो ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रचण्डको अपिल (भिडिओ)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपिल गर्नुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गर्नुभएको हो । प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशीला भएकोमा जोड दिनुभयो । ‘यहीँबाट नयाँ युगको सुत्रपात भएको मान्न सकिन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आजको दिन हामी सबैले स्मरण गर्नुपर्ने, हामी सबैले सम्मान गर्नुपर्ने दिन हो।’ प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्। ‘हामी अहिले शान्ति सम्झौताको मूल स्पीरिटअनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ,’ प्रचण्डले भन्नुभयो, ‘मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको थियो। आज यो प्रक्रिया निष्कर्षतिर जाँदैछ।’ प्रचण्डले यसप्रति खुसी व्यक्त गरेका छन्। ‘हामी सबै यसमा खुसी छौँ। हाम्रो प्रतिवद्धता के छ भने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिन्छ।’ प्रचण्डले नेपाली जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन स्वीकारेका छन्। ‘जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा छ,’ उहाँले भन्नुभयो, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पको साथ जरुरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ। म यस अवसरमा शान्तिको निम्ति कामना गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनता प्रति पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु।’