सिरहामा राजपाको परिणाम शून्य

सिरहामा राजपाको परिणाम शून्य

लहान, असोज ९ । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् ।

मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका नेता रामुकमार मण्डल लगायतका केन्द्रीय नेताको गृह जिल्लासमेत रहेको सिरहामा १७ स्थानीय तहमध्ये एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्य चकित भएका छन् ।

आन्दोलनकै गर्भबाट जन्मेको राजपाले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी हार्नुले आफूहरु आश्चर्यमा परेको सर्वसाधारण बताउँछन् ।

राजपाका नेताबीच टिकट वितरणमा भएको किचलो, ढिलो गरी चुनावमा जाने निर्णय गर्नुजस्ता कारणले राजपा यहाँ नराम्ररी पराजित भएको लहान नगरपालिका– ८ का सत्यनारायण चौधरी बताउँछन् । उनी भन्छन्, ‘समयमा उपयुक्त उम्मेदवार तय गर्न सकेको भए, यस्तो नराम्रो राजपाको परिणाम आउने थिएन, यसमा धेरै कमीकमजोरी भएको छ ।’

सर्वसाधारण मात्र होइन, स्वयं राजपाका नेतासमेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीकार्छन् ।

निर्वाचन हुनुभन्दाअघिसम्म हाम्रो यस्तो नराम्रो परिणाम आउँछजस्तो लागेको थिएन,’ राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतोले भने, ‘तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्यमा परेका छौं ।’

‘धेरै नभए पनि सिरहामा तीन/चार वटा स्थानीय तह जित्छौँ, भन्ने लागेको थियो, तर त्यो हुन सकेन,’ उनले अगाडि भने, ‘हामी लामो समयसम्म आन्दोलनमै रह्यौं, अर्को कुरा आन्दोलनकै बीचमा पार्टीले ढिलोगरी चुनावमा जाने निर्णय गर्‍यो, जसका कारण सही ढंगले उम्मेदवार चयन गर्न सकेनौँ, हतारहतारमा चुनाव लड्नुपर्नेजस्ता कारणले हामीले सिरहामा नमिठो हार बेहोर्नु पर्‍यो ।’

अहिलेको चुनावमा भएको कमीकजोरीबाट पाठ सिकेर अगामी मंसिरमा हुने चुनावमा बढी सिट जित्ने गरी तयारीमा जुटेको उनी बताउँछन् ।

यस्तै सत्ताघटक नेपाल लोकतान्त्रिक फोरमले पनि सिरहामा खाता खोल्न सकेन । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिरहामा पार्टीलाई जिताउन ठूलै प्रयास गरे तर उनको प्रयास सार्थक हुन नसक्दा नेता कार्यकर्तामा निराशा छाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको चार वटा क्षेत्र जितेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचनमा मात्र दुई वटा स्थानीय तह जित्न सफल भएको छ ।

काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रभावशाली नेता प्रदीप गिरी, पद्मनारायण चौधरीजस्ता काँग्रेसका प्रभावशाली नेताको गृह जिल्लासमेत रहेको सिरहामा काँग्रेस कमजोर भएको काँग्रेसीजनको बुझाइ छ ।

पार्टीभित्र देखिएको गुटउपगुट, समयमा उम्मेदवार चयन हुन नसक्नु, उम्मेदवार चयनमा देखिएको तीव्र विवाद लगायतका कारणले जिल्लामा पार्टीले धेरै स्थानीय तह गुमाउनुपरेको काँग्रेसका नेता बताउछन् ।

असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा राजपा र नेपाल लोकतान्त्रिक फोरमले सिरहामा खाता खोल्न नसक्दा यसको फाइदा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले उठाएको देखिन्छ ।

दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको ६ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित्न सकेको माओवादीले स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ६ वटा स्थानीय तहमा जीत हासिल गर्दै पहिलो शक्ति बनेको हो ।

सिरहाको १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा पाँच वटा स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो, चार वटा स्थानीय तह जितेको नेकपा एमाले तेस्रो र दुई वटा स्थानीय तह जितेको नेपाली काँग्रेस चौथोमा खुम्चिएको छ । निर्वाचन दलको परीक्षण हुने प्रक्रिया भएकाले अहिलेको निर्वाचनमा भएका कमीकमजोरीबाट पाठ सिक्दै संगठन सुदृढीकरण र आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने गरी तयारी थाल्नु जरुरी रहेको बुद्धिजीवीको भनाइ छ ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय