मन्त्री विश्वकर्माले भने -स्काउट अब राजनीति हस्तक्षेप मुक्त हुन्छ
काठमाडौं, चैत २० । नेपाल स्काउटका प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाल स्काउट संगठन गैरराजनैतिक, सामाजिक उद्देश्य बोकेको विशुद्ध शैक्षिक अभियान भएकोले सोही अनूरुप राजनीति हस्तक्षेपबाट मुक्त भएर चल्नुपर्ने बताएका छन् ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा मंगलबार आयोजित छलफल कार्यक्रममा अधिकाँश वरिष्ठ स्काउट गुरु एवम् पदाधिकारीहरुले नेपाल स्काउट पछिल्लो समयमा राजनीति हस्तक्षेपबाट मुक्त हुन नसकेको गुनासो गरेपछि प्रमुख स्काउटको हैसियतमा मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन ।
प्रमुख स्काउट विश्वकर्माले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा शपथ लिएका थिए । उनलाई नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको स्कार्फ लगाइदिएका थिए ।
नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा दिक्षा लिएपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले स्काउट संगठन यसको विशुद्ध उद्धेश्य र मर्म अनूरुप चल्न जरुरी रहेको कुरामा जोड दिएका थिए ।
‘अब नेपाल स्काउट लोकतान्त्रिक मुल्य मान्यता र संस्थागत ढंगबाट चल्ने कुरामा सबैजना ढुक्क हुनुस्’ मन्त्री विश्वकर्माले भने ‘यहाँ राम्रो काम गर्नेलाई मात्रै छुट हुन्छ, नराम्रोलाई होइन ।’
विगत केही समयदेखि राजनैतिक हस्तक्षेपका कारण धुमल्लिएको स्काउट संगठनलाई यसको मुल मर्म अनुसारसञ्चालनका लागि स्काउटमा आवद्ध सबै पदाधिकारीहरुले स्काउट पोशाकको मर्यादा कायम राख्न पनि मन्त्री विश्वकर्माले आग्रह गरे ।
देशको विकास, समृद्धि र सुशासनको लागि वर्तमान प्रधानमन्त्री लागि पर्नुभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले विगतको जस्तो कुनैपनि क्षेत्रमा अस्थिरता र अन्यौलता नहुने पनि स्पष्ट पारे । अस्थिर सरकारका कारण विगतमा हरेक क्षेत्रमा राजनैतिक हस्तक्षेप बढेको थियो’–मन्त्री विश्वकर्माले भने, ‘अब त्यो क्रमशः अन्त्य हुन्छ । ’
नेपालको संविधान अनुसार मुलुक संघीय संरचनामा गईसकेकोले सोही अनुसार स्काउटको ऐन बनाउन युवा तथा खेलकूद मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाइसकेको पनि मन्त्री विश्वकर्माले बताए ।
नेपाल स्काउटको तेस्रो राष्ट्रिय ज्याम्बोरी (वृहत स्काउट भेला) सकभर जेठको पहिलो साता गर्न उपयुक्त हुने गरि कार्यक्रम तय गर्न पनि नेपाल स्काउटका पदाधिकारीहरुलाई उनले सुझाव दिए ।
त्यस अवसरमा युवा तथा खेलकूदमन्त्रालयका सचिव महेश दाहाललेविगतको तुलनामा नेपाल स्काउटको नाम र प्रतिष्ठामाकमी आएकोप्रति चिन्ता व्यक्त गर्दै यसको शाखलाई उँचो राख्न सबै स्काउटहरु लाग्नुपर्ने बताए ।
उनले नेपाल स्काउटका कार्यक्रमलाई अन्तराष्ट्रिय जगतमा प्रर्वद्धन गर्नुपर्ने, पुर्वाधारको विकासमा जोड दिनुपर्ने, संघीय संरचना अनुसार स्थानीय र प्रादेशिक तहमा स्काउट विकास र विस्तार गर्नुपर्ने बताए ।
प्राकृतिक विपत्तिमा उद्धारको लागि अघि बढ्ने हातहरु सबैभन्दा पहिला स्काउटहरुको हुनुपर्ने उल्लेख गर्दै सचिव दाहालले यसका लागि हरेक स्थानीय तहमा महिला र पुरुष स्काउटलाई उद्धारसम्वन्धि आवश्यक तालीम दिनुपर्ने बताए ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको विगतदेखि वर्तमानसम्मका विवरण प्रस्तुत गर्दै आफुसहितको समिति नेपाल स्काउटमा दिगो विकास, सुशासन र राजनीतिमुक्त संगठन बनाउन निर्वाचन गर्ने उद्धेश्यले आएको प्रष्ट पारे ।
यसैविच वर्तमान तदर्थ कार्यसमितिले ककनीस्थित नेपाल स्काउटको अन्तराष्ट्रिय तालीम केन्द्रमा तेस्रो स्काउट ज्याम्बोरी आयोजना गर्न लागेको , प्रदेश संरचना अनुसारको ऐन बनाउन सातैवटा प्रदेशका वरिष्ठ स्काउटरहरुबाट सुझाव संकलन कार्य गरेको, नेपाल स्कउटको लक्ष्य २०२० अनुसार मुलुकभर स्काउटको संख्या र संगठन विस्तार गर्दै लगेको बताए ।
सो अवसरमा नेपाल स्काउटका पुर्वप्रमुख आयुक्त श्रीराम लामिछाने, वरिस्ठ स्काउट गुरु प्रा.गोविन्द नारायण ज्या–पू, राष्ट्रिय तदर्थ समितिका सल्लाहकार डा.रविन्द्रप्रसाद पाण्डे, सदस्य रामकुमार भण्डारी, पार्वती गिरी, स्काउट गुरु हरि बहादुर श्रेष्ठ, तरुण रञ्जन दत्तलगायतले नेपाल स्काउटलाई राजनीतिबाट मुक्त राख्न सरकारी तवरमा आवश्यक पहल गर्नुपर्ने माग राखेका थिए ।
उनीहरुले नेपाल स्काउटको ऐन जतिसक्दो चाँडो संशोधन गरेर संघीय संरचनाअनुसार स्काउट पदाधिकारीहरको निर्वाचनको लागि बाटो खोल्न मन्त्रीसमक्ष आग्रह पनि गरेका थिए ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

