माओवादीको ६ बुँदे सर्कुलर उम्मेदवार छान्न वैशाख ५ को डेडलाइन, स्थानीय तहमा आफूखुसी गठबन्धन तोड्न रोक

माओवादीको ६ बुँदे सर्कुलर उम्मेदवार छान्न वैशाख ५ को डेडलाइन, स्थानीय तहमा आफूखुसी गठबन्धन तोड्न रोक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वन गर्न मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएका हुन । सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ ।

बरु गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न मातहतका कमिटीलाई भनिएको छ । केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन रोक लगाइए हो । ‘गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्नेछ’, सर्कुलर उदृत गर्दै एक नेताले भने ।

कसरी लगाउँछ माओवादीले उम्मेदवारको टुंगो

माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए ।

‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम पार्टीका प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्ने भनेर सर्कुलरमा भनिएको छ’, ती नेताको भनाइ छ ।

यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्नुपर्ने छ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने छ । त्यसपछि निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ ।

यस्तै वडा अध्यक्ष र सदस्यहरुको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्ने छ ।

चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड दिन पनि माओवादीले निर्देशन दिएको छ । ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने छ’, सर्कुलरमा भनिएको छ ।

महिलालाई ‘उपमेयर’मा सीमित नगर्ने

यसैगरी माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ। पार्टीहरुले महिलालाई उपमेयरमा सीमित गरेको टिकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमा भनेको छ ।

यस्तै कम्तिमा एउटा वडा अध्यक्षमा महिलाको उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीले निर्णय गरेको एक नेताले जानकारी दिए । ‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिका मध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने गरी अध्यक्ष कमरेड प्रचण्डबाट सर्कुलर भएको छ’, ती नेताले भने । यसअघि माओवादीले पार्टीका हरेक निकायमा पनि ३५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको थियो ।

अध्यक्ष प्रचण्ड गोरखामा

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ ।  उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’

रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो ।  काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।  जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।  प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ । 

पूर्वअमेरिकी राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदै

एजेन्सी । १०० वर्षको उमेरमा हालै निधन हुनुभएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको शव वाशिंगटन लगिएको छ । राष्ट्रपतिको शवयात्रा जर्जियाको एटलान्टाबाट प्रस्थान गरेको थियो । अमेरिकी क्यापिटलमा लगिनु अघि पेन्सिलभेनिया एभिन्यूमा रहेको अमेरिकी नौसेना स्मारकमा लगिएको छ । उपराष्ट्रपति कमला ह्यारिस, सिनेट बहुमत नेता जोन थुन र हाउस स्पिकर माइक जोनसनले श्रद्धाञ्जली अर्पण गर्दै क्यापिटल रोटुन्डामा एक स्मारक सेवा आयोजना गरिएको छ । कार्टरको परिवारका साथै कार्टरको राष्ट्रपति मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेका थिए । कार्टरको शववाहन रोटुन्डामा राखिनेछ । मंगलवारदेखि सार्वजनिक अवलोकनका लागि खुला राखिएको उहाँको पार्थिव शरीर बिहीवार श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदैछ । आज जर्जियामा श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उहाँको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टि अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम तय गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि जनवरी ९, २०२५ को दिनलाई पूर्व राष्ट्रपतिका लागि संयुक्त राज्य अमेरिकाभरि राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गर्नुभएको थियो ।

लोकप्रिय