राम कार्की भन्छन्- विश्वप्रकाश खाली झापाका हुन्

राम कार्की भन्छन्- विश्वप्रकाश खाली झापाका हुन्

काठमाडौं, कात्तिक १९ । झापा क्षेत्र नम्बर १ मा हुने दुई ‘बौद्धिक’ नेताबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादी नेता राम कार्कीबीच झापा १ मा प्रतिस्पर्धा हुने भएपछि यो क्षेत्र अहिले चर्चामा छ ।

राजनीतिक वृत्तमा दुरदृष्टि र बौद्धिक नेताका रुपमा परिचय भएका यी दुई नेताबीचको चुनावी भिडन्त अत्यन्त रोचक हुने अनुमान गरिएको छ ।

केही दिनअघि पूर्वसञ्चारमन्त्री कार्की झापा २ मा उठ्ने चर्चा चलेको थियो । तर, पछि फेरि उनी झापा १ बाट उठे ।

शर्माले पनि झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने बताइएको थियो । तर, कांग्रेसले त्यहाँ डा खगेन्द्र अधिकारीलाई उठायो र विश्वप्रकाशलाई क्षेत्र नम्बर १ मा पठायो ।

स्थानीय चुनावको अंकगणितमा कांग्रेस पछाडि
झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकासहित भद्रपुरको वडा नं. ९, १० र बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६ र ८ पर्छ । यहाँको जम्मा मतदाता सङ्ख्या १ लाख ९ हजार ६ सय ७६ छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा यहाँ नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत छ भने एमालेको २५ हजार ६३ मत छ । त्यसैगरी माओवादी केन्द्रको ९ हजार ८ सय ८८ मत छ ।

यो मतलाई आधार मान्ने हो भने झापा(१ मा बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत पुग्छ । राप्रपाको १ हजार ३ सय ३३ र संघीय समाजवादी फोरमको ४ सय ७० मत छ ।

यो परिणामलाई आधार मान्दा यहाँ वाम गठबन्धन ९ हजार ४ सय ५० मतले कांग्रेसभन्दा अगाडि छ ।

विश्वप्रकाशः ‘टुरिष्ट’देखि लोकलसम्म
कांग्रेस नेता विश्वप्रकाश शर्मा युवा पुस्तामाझ लोकप्रिय छन् । नेता शर्मा धुलाबारीका स्थायी बासिन्दा हुन् ।

उनी ०७० सालको निर्वाचनमा एमालेका उम्मेदवार रविन कोइरालासँग ६ सय ८९ मतान्तरले पराजित भएका थिए ।

‘त्यतिवेला कांग्रेस र राप्रपाको मात्रै १ हजार १ सय ४४ मत बदर भएको थियो’, उनले भने, ‘प्राविधिक रुपमा मात्र मेरो पराजय हो ।’

त्यसवेला विश्वप्रकाशलाई अधिकत्तर समय काठमाडौं बसेको भन्दै स्थानीयले ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका थिए । त्यसपछि उनले जिल्लामा आफ्नो सक्रियतालाई बढाए । र, गाउँमा विकासका गतिविधिहरुलाई अघि बढाए ।

यद्यपि, ०७० सालमा कांग्रेस नेता शर्मालाई भिराइएको ‘टुरिष्ट’ उम्मेदवारको उपमा अहिले स्थानीयले माओवादी उम्मेदवार कार्कीलाई भिराउने सम्भावना छ ।

झापासँग भावनात्मकरुपमा जोडिएको छुः कार्की
वाम गठबन्धनबाट उम्मेदवार बनेका सुरेन्द्र कार्की अर्थात राम कार्की ०७० सालमा समानुपातिकतर्फबाट संसदमा निर्वाचित भएका थिए । त्यसअघि उनी ०६४ सालको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं. १ बाट पराजित भएका थिए ।

ओखलढुंगा पुख्र्यौली थलो भएका कार्की भूमिगतकालमा झापामा बसेका थिए । त्यसयता पनि उनको झापा आगमन बाक्लै भइरह्यो ।

‘म लामो समयसम्म पार्टीको मेची अञ्चल इञ्चार्ज भएर रहेँ । जनयुद्धअघि पनि र पछि पनि’, कार्कीले भने, ‘मन्त्री हुनुअघिसम्म पनि म प्रदेश नं. १ को इञ्चार्ज थिएँ ।’

आफूले विवाह गरेर श्रीमती भित्र्याएको ठाउँ पनि झापाको मागुरमाणि भएको भन्दै झापासँग भावनात्मक सम्बन्ध रहेको माओवादी नेता कार्कीले बताए ।

त्यतिबेला आफ्नो मुख्य केन्द्र झापा नै रहेको कार्की बताउँछन् । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा कार्कीको अचल सम्पत्तिसमेत छ ।

जित सुनिश्चित भएको आ–आफ्नै दाबी
स्थानीय चुनावको अङ्कगणित र वाम गठबन्धनपछि जनतामा आएको उत्साहले कार्कीको जित निश्चित भएको माओवादी नेताहरु बताउँछन् ।

युवामाझ लोकप्रिय भएकाले विश्वप्रकाशले जित्ने कांग्रेस कार्यकर्ताको दाबी छ । कांग्रेसका नेताहरु झापा १ मा आफूहरुको जीत सहज भएको दाबी गर्छन् ।

मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी हुनले पनि आफ्नो पक्षमा लहर सिर्जना गरेको विश्वप्रकाशको दाबी छ ।

‘मेचीनगरमा हाम्रा उम्मेदवार विमल आचार्य र बुद्धशान्तिमा रमेश भुजेलले जित्नुभएको छ’, शर्मा भन्छन्, ‘यो कुनै न कुनै रुपमा विश्वप्रकाश शर्माको जितको आधार नै हो ।’

झापा १ मा साना दलहरुलाई आफ्नो पक्षमा पारेर वाम गठबन्धनलाई उछिन्ने दाउ पनि कांग्रेसको छ ।

घोषितरुपमा नभए पनि संघीय समाजवादी फोरम, लिम्बुवान, राप्रपा प्रजातान्त्रिक लगायतका साना दलले पनि आफूहरुलाई समर्थन गर्ने कांग्रेस नेताहरुको दाबी छ ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा मेची अञ्चलमै आफू एकमात्रै उम्मेदवार भएकाले एमाले कार्यकर्ताका लागि पनि नैतिक परीक्षाको घडी भएको राम कार्कीले बताए ।

स्थानीय चुनावको परिणामका साथै झापा जिल्ला वामपन्थीहरुको किल्ला भएकाले पनि आफ्नो जित निश्चित भएको कार्कीले बताए ।

नेपाली कांग्रेसभित्र विश्वप्रकाश शर्माको परीक्षा हुन बाँकी नै रहेको कार्कीले बताए । ‘पद नपाएको हुनाले उहाँको परीक्षा हुन बाँकी छ’, कार्कीले भने, ‘पार्टीमा पाएको पद पनि सदुपयोग भएको छैन ।’

‘पार्टीभित्र जतिबेला ५० लाख रुपैयाँ एकैचोटि दिने कुरामा होस्, चाहे नीतिमा गडबडी गर्दा होस्, सन्धी सम्झौतामा गर्दा होस्, वा कलकारखानाहरु जिम्मा लगाउँदा होस् या उद्योग धन्दा चौपट गर्दा होस् कतै उनले बोलेको सुनिँदैन’, कार्कीले विश्वप्रकाशको आलोचना गर्दै भने, ‘कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको धारमा लैजाने भन्ने नै देख्दिनँ म, त्यसैले उनी खाली झापाका हुन् ।’ अनलाइनखबरबाट

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय