राष्ट्रमा असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको आवश्यकता छ : प्रधानमन्त्री

राष्ट्रमा असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको आवश्यकता छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रमा असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको आवश्यकता रहेको बताएका छन् । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप र नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्ने उनले बताएका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् , ‘यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ।’

यस्तो छ शुभकामना सन्देश

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्नुहुने सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीप्रति हार्दिक बधाइ तथा शुभकामना प्रकट गर्दछु।

ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेका छन्। सबै ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्‍चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको छ । ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्‍चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ। यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ।

देशको जनसाङ्‌ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक छ। जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्‍ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको छ। आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिँदै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु।

“ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्‍ने राष्ट्रिय मूल नाराका साध मनाउन लागिएको यस दिवसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासहरूलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्नेछ भन्‍ने विश्‍वासका साथ फेरि एकपटक तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
११ पुस २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’

उदयपुरमा छठपूजाको तयारी सुरु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा छठपूजाको तयारी सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व तिहार सकिएसँगै हिन्दुहरूकै पर्वको रूपमा परिचित छठपर्वको तयारी सुरु भएको हो । छठपर्वका लागि त्रियुगा नदी किनारमा भौतिक पूर्वाधार निर्माणको काम सुरु गरेको त्रियुगा नगरपालिका मेयर वसन्तकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार छठका लागि नदी सम्याउने, बर्तालु बस्ने छठीघाट निर्माण गर्नेलगायतका काम सुरु भएको छ । ‘गाईघाटमा छठपर्वलाई भव्य र सभ्य बनाउन नगरपालिका लागिपरेको छ ।’ छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक भएकाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरी भक्तजनहरूले सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पूजा गर्न पाउने गरी तयारी थालिएको छ । त्रियुगा नगरपालिका छठपूजा समितिका अध्यक्ष चन्दन साहका अनुसार त्रियुगा खोला सम्याउने, बर्तालुघाट निर्माण गर्ने, टेन्ट निर्माण गर्ने काम सुरु भएको हो । उनले भने, ‘सूर्य भगवानकाे प्रतिमा भएको मूर्ति निर्माण, औपचारिक कार्यक्रमका लागि मञ्च निर्माणस्थल बनाउने काम, लाइट ग्यालरीको जडानका लागि काम सुरु भएको छ ।’ छठपर्व सूर्य भगवान् र छठीमाईको आराधनामा मनाइने हिन्दु धर्मको एक महत्त्वपूर्ण पर्वमा लिइन्छ । चार दिनसम्म चल्ने यस पर्वमा भक्तजनले उपवास, नदी स्नान र सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन् । तिहार सकिएसँगै छठपर्व सुरु हुन्छ ।

पश्चिम तराईमा मनाइयाे करवाचौथ पर्व

बाँके । बाँकेलगायत पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाले शुक्रबार करवाचौथ पर्व मनाएका छन् । तराईमा बसोबास गर्ने विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाएको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताए । उनका अनुसार महिलाले दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरे । नेपालगन्जका अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले शुक्रबार बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिला चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाले पतिको हातबाट सबैभन्दा पहिले जल ग्रहण गरेको बताए । उनका अनुसार यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रूपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा महिलाहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहनासहित शृङ्गार गरी दुलही जस्तै बनेर चन्द्रमा उदाएपछि चल्नी (गहुँको पिठो चाल्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चल्नीको जालीबाट चन्द्रमा दर्शन गर्दछन् । चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चल्नीमा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्छन् ।  घरको आँगनमा वा भित्तामा गौरी गणेश भगवान्को चित्र कोरेर टोलभरिका महिला एक ठाउँमा जम्मा भएर पूजापाठ गर्ने गरिन्छ । करवाचौथको दिन पकाइने विशेष पकवान नयाँ चामलको पिठोले बनाएको फाराको पनि पूजा गरिन्छ । पूजापाठपश्चात् कथा सुनाउने चलन पनि रहेको छ ।  

आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका सदस्य भट्टराईले जनाकारी दिए ।  वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठुलो महत्त्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कार्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसीभैलो खेल्नेलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।

बडादसैं प्रारम्भ, आज घटस्थापना

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैं आज घटस्थापनासँगै सुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घर–घरमा देवी दुर्गाको आह्वान गरिन्छ ।  आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा पूजा कोठा वा दसैं घरमा गाईको गोबरले लिपपोत गरी बालुवा वा माटो राखेर जौ (जमरा) रोपिएको छ । यवका अङ्कुर देवी दुर्गाको प्रिय वस्तु मानिँदै विजयादशमीको दिन टीका–प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ । धर्मशास्त्रविद् देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय परम्परा छैन । नौ दिन नौ दुर्गाको पूजा नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नौ दुर्गाको पूजा–आराधना गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैं सबै जातधर्मका मानिसले मनाउने परम्परा छ । सातौं दिन फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन बलिपूजा हुने परम्परा छ । नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका स्तोत्रको पाठ गरिन्छ भने गुह्येश्वरी, मैतीदेवी, शोभा भगवतीसहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विजयादशमी र कोजाग्रत पूर्णिमा यस वर्ष दशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ र टीका ग्रहणको उत्तम साइत ११:५३ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण र महालक्ष्मीको व्रत बस्ने चलन छ ।  हनुमानढोकामा विशेष पूजा परम्पराअनुसार काठमाडौंको हनुमानढोकास्थित दसैं घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा आरम्भ गरिएको छ । महानवमीका दिन ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा छ । बडादसैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका नेपालीहरू यही अवसरमा घर फर्केर परिवारसँग पर्व मनाउने गर्छन् । धेरै शैक्षिक संस्था आजैदेखि बिदामा छन् ।

लोकप्रिय