रोजगारी दिन रोमानियाले माग्यो २० हजार नेपाली
काठमाडौँ । रोमानियाले यो वर्ष २० हजार नेपालीलाई वैदेशिक रोजगारीका लागि लैजाने भएको छ । सन् २०२४ का लागि विभिन्न क्षेत्रमा काम गर्नका लागि २० हजार नेपाली माग गरेको हो ।
हाल ६ हजार जनालाई रोजगारीका लागि आएका मागपत्रहरू प्रमाणीकरण हुन सकेका छैनन् । ती मागपत्रहरू प्रमाणीकरण गरिएसँगै यो वर्षभित्रमा २० हजार श्रमिकलाई रोजगारका लागि माग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए ।
रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि श्रम समझदारी भएको थियो । यूरोपेली मुलुक, रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहँदै आएको छ ।
समझदारीपछि महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी लगायतका विषयलाई समेत प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहना रोमानियाले राखेको थियो । दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सीपजस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्ने समेत सहमति कायम भएको थियो ।
हाल रोमानियामा नेपाली श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् । एजेण्टहरूलाई लाखौं रूपैयाँ तिरेर उनीहरू वैदेशिक रोजगारीका लागि रोमानिया जान बाध्य हुँदै आएका थिए ।
उच्च अदालतमा २७ जना नयाँ न्यायाधीशले लिए शपथ
काठमाडौँ – उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ ग्रहण गरे। सिफारिस भएका २७ न्यायाधीशमध्ये १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी र ५ जना न्याय सेवाबाट सिफारिस भएका थिए। उनीहरू अब एक महिनाको तालिमपछि मात्रै कार्यक्षेत्रमा खटिनेछन्। यससँगै उच्च अदालतको न्यायिक शक्ति बलियो भएको छ र न्यायिक सेवामा थप क्षमता थपिएको छ।
चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौको अन्तिम सातादेखि सुरु हुने
काठमाडौँ । सरकारले चाडपर्वलक्षित सुपथ मूल्य सहुलियत पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनको तयारी थालेका छन् । उक्त पसल सञ्चालनका लागि झन्डै चार करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशैभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनका लागि ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको हो । वर्षैभरि सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख रुपैयाँ बजेट छुटाइएको छ । यस्तै साल्ट ट्रेडिङले पनि यस्तो पर्वलक्षित पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल सञ्चालन खर्च तथा छुटका लागि १ करोड ३४ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ । यसैगरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको छ । विभागले तीजपछिदेखि चाडपर्वलक्षित अनुगमन गर्ने जनाएको छ । खाद्यले १ सयभन्दा बढी पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो पसल भदौको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने भएको छ । यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर १ सयभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । गत वर्षभन्दा पसल संख्या बढाउने गृहकार्य भइरहेको कम्पनीका कार्यकारी अधिकृत रमेश आचार्यले बताए । उनका अनुसार गत वर्ष ६६ स्थानमा सञ्चालन गरिएको थियो, अहिले भने १ सय पुर्याउने लक्ष्य राखिएको छ । ‘हामी अहिले यसैको गृहकार्यमा छौँ, कहाँ–कहाँ सञ्चालन गर्ने भनेर छलफल भइरहेको छ,’ आचार्यले भने । साल्ट ट्रेडिङले पनि चाडपर्वअघि देशका ३८ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ । सूचना अधिकारी कुमार राजभण्डारीले यस्तो पसल सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको बताए।भदौ अन्तिम साता भने पनि आचार्यले पसल सञ्चालनको अन्तिम मिति भने नतोकिएको बताए । सामान ढुवानीका लागि टेन्डर प्रक्रिया चलिरहेको र ढुवानीकर्तासँग सम्झौता भएपछि मात्रै पसल सञ्चालनको औपचारिक घोषणा गरिने उनको भनाइ छ । ‘ढुवानीको सम्झौता नभई सामान लैजान अप्ठ्यारो हुन्छ, सम्झौतापछि हामी मिति घोषणा गर्छौँ,’ उनले भने । यसैगरी साल्ट ट्रेडिङले पनि चाडपर्वअघि देशका ३८ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ । सूचना अधिकारी कुमार राजभण्डारीले यस्तो पसल सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको बताए । ‘तीन चार पटक छलफल पनि भएको छ,’ उनले भने, ‘तर कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे अहिले टुङ्गो भने लागिसकेको छैन ।’साल्ट ट्रेडिङले अघिल्लो वर्ष ३८ स्थानमा यस्तो पसल सञ्चालन गरेको थियो । यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा र नुन लगायतका वस्तु विशेष छुटमा बिक्री गरिँदै आएको छ । यस्तै खाद्य कम्पनी थापाथली बिक्री केन्द्रबाट खसी, बोका, भेडा र च्याङ्ग्रासमेत बिक्री गरिन्छ । खाद्यले गत वर्ष खाद्यान्नमा ५ देखि १० रुपैयाँसम्म र जिउँदो खसीबोकामा प्रतिकिलो २० रुपैयाँसम्म छुट दिएको थियो । बजार अनुगमन ‘क्यालेन्डर’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । तीज पर्व सकिएलगत्तै चाडपर्व विशेष ‘अनुगमन क्यालेन्डर’ नै जारी गरेर बजारमा उपस्थिति बढाउने विभागको तयारी छ । विभागले अहिले डिलर र खुद्रा बिक्रेता तहमै अधिकतम खुद्रा मूल्य (एमआरपी) मा कडाइ गर्न अनुगमन गर्न टोली खटाइएको बताएको छ । महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार दाल, चामल, तेल, तरकारी र मासुजन्य अत्यावश्यक वस्तुमा अनुगमन केन्द्रित हुनेछ । हाल विभागका पाँच वटा टोलीले नियमित बजार अनुगमन गरिरहेको र वस्तुगत संघहरूसँग पनि नियमित सम्पर्कमा रहेकाले यसपटक अनुगमन चाडपर्वमा टोलीको संख्यामा ठुलो वृद्धि भने नगरिने दाहालले बताए । ‘हाम्रो निरन्तरको उपस्थितिले बजार धेरै हदसम्म स्थिर छ, विगतमा जस्तो मूल्यवृद्धिको गुनासो अहिले आएको छैन,’ उनले भने । विभागले अहिले डिलर र खुद्रा बिक्रेता तहमै अधिकतम खुद्रा मूल्य (एमआरपी)मा कडाइ गर्न अनुगमन गर्न टोली खटाइएको बताएको छ ।
भोलि र पर्सी कहाँ कहाँ हुँदैछ भारी वर्षा ?
काठमाडौं । भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद सरोज पुडासैनीले भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले विहीबार र शुक्रबार (भोलि र पर्सि) लुम्बिनी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताए । ‘विहीबार र शुक्रबार पूर्वमा भन्दा पश्चिम केन्द्रित भएर भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,’ मौसमविद पुडासैनीले भने । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए । भारीदेखि धेरै भारी वर्षाले निम्त्याउनसक्ने जोखिमबारे जानकारी दिन महाशाखाले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ । हाल देशभर नै मनसुनी वायुको प्रभाव छ । न्यूनचापीय प्रणाली भने सरदर स्थानको दक्षिणतिर छ । भोलिदेखि न्यूनचापीय प्रणाली सरदर स्थानतिर सर्ने सम्भावना छ । केही दिनयता पश्चिम भूभागमा पानी पार्ने प्रणाली केन्द्रित भएको छ । यद्यपि पूर्वी भूभागमा पनि पानी पर्ने सम्भावना छ । विहीबारको दिन सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विहीबार दिउँसोका लागि पनि सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मनऋषि धितालका जनयुद्धकालिन आधा दर्जन पुस्तक सार्वजनिक
काठमाडौं । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालिन पुस्तकहरु एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेख्नुभएका जनयुद्धकालिन डायरीहरुको संगालोहरु समेटिएका आधा दर्जन पुस्तकहरु एकैसाथ सार्वजनिक गरिएको हो । जनयुद्ध दिवशको अवसर पारेर गरिएको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई नजिकबाट बुझ्नका लागि पुस्तक निकै प्रभावकारी रहेको बताए । उनले नेपाली जनयुद्धले गाउँ गाउँ र वस्ती वस्तीलाई सचेत बनाउने मात्रै नभई देशको परिवर्तनको नेतृत्व गरेको भन्दै त्यसभित्रको वास्तविक कथा पुस्तकमा रहेको बताए । प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डले भने ‘मनऋषिजीले यी पुस्तकमा जे लेख्नुभएको छ, त्यो नेपाली क्रान्तिको एउटा जीवन्त इतिहास बनेर युगौंगुग सम्म रहनेछ । यस अर्थमा म उहाँलाई बधाइ भन्न चाहान्छु ।’ अहिलेको परिवर्तनका लागि नेपालका हजारौं सर्वोत्तम छोराछोरीको योगदान रहेको कहिल्यै कसैले भुल्न नहुनेमा जोड दिदै प्रचण्डले त्यसको धरातल कस्तो थियो र क्रान्ति कसरी अगाडि बढेको थियो भन्ने कुरा पुस्तकहरुमा समेटिएको बताए । केही व्यक्ति र संस्थाबाट अझै पनि परिवर्तनको मुख्य जग नेपाली जनयुद्धलाई स्विकार नगर्ने प्रबृत्ति कायम रहेको भन्दै उनले चाहेर वा नचाहेर पनि संघीयता, गणतन्त्र र नयाँ संविधानको जगलाई सबैले स्विकार गर्नुपर्ने बताए । नेपाली क्रान्तिको बाटो विश्वमा नै पृथक रहेको भन्दै उनले आर्थिक सम्बृद्धि मार्फत अब यसलाई पुरा गर्ने प्रक्रियामा रहेको बताए । त्यसका लागि सरकारले सबै खालको तयारी गरिरहेको भन्दै उनले सरकारका राम्रा कामको समर्थन गर्न आग्रह गरे । कार्यक्रममा पुस्तकका लेखक मनऋषि धितालले जनयुद्धका क्रममा आफुले डायरी लेख्ने गरेको र अहिले त्यही डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको बताए । धितालका गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्गयात्रा, पिलीयात्रा र गण्डकयात्रा पुस्तक सार्वजनिक गरिएको हो ।


एभरेष्ट दैनिक