रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

रोल्पा, पुस १० ।  गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ ।

रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो । सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गर्ने भन्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रस्ताव पेश गरेपछि सोही गाउँपालिकाका विभिन्न चारवटा वडाका वडाध्यक्षले निर्णय पुस्तिकामै असहमतिको बुँदा लेखेपछि विवाद चुलिएको हो ।

गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले साविक नाम परिवर्तन गर्दै नयाँ नाम राख्ने प्रस्ताव गरेपछि सुवर्णवती गाउँपालिका–४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री, वडा नं ३ का वडाध्यक्ष जेदबहादुर विष्ट, वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर गिरी र वडा नं १ का वडाध्यक्ष केशवलाल कुँवरले निर्णय पुस्तिकामा असहमति लेख्दै विज्ञप्तिसमेत प्रकाशित गरेका छन् ।

ऐतिहासिक र पौराणिक नाम रहेको सुवर्णाती परिवर्तन गरी व्यक्ति विशेषको नाममा सिंगो गाउँपालिकाको नाम राख्ने प्रयास भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले भने सुवर्णावती गाउँपालिका पौराणिक, साहित्यिक नाम भएकाले जनताले उच्चारण गर्न गाह्रो मान्नुको साथै नामाकरणसमेत अर्थपूर्ण नरहेकाले नाम परिर्वतन गर्नुपरेको बताउनुभयो । गाउँपालिकाभित्रका चर्चित नेता सुनिलको नाम निकै चर्चित रहेकाले जनताले सहजै उच्चारण गर्न सक्ने र परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेलेका शहीदको नाममा गाउँपालिकाको नाम परिर्वतन गर्ने प्रस्ताव आएको बताउनुभयो ।

अहिले प्रस्तावका रुपमा मात्रै आएको छ पुस १२ गते बृहत् छलफल गरी टुंगो लाग्छ घर्तीले भन्नुभयो । अध्यक्ष घर्तीले गाउँपालिकाको पहिलो सभामा नाम परिवर्तन गर्ने विषयमा सहमति भइसकेको दाबीसमेत गर्नुभयो ।

ऐतिहासिक तथा पौराणिक नाम परिवर्तन गर्दै गाउँपालिकाका उपाध्यक्ष वागमती थापाको मृतक श्रीमान् किमबहादुर थापा सुनिलको नामबाट गाउँपालिकाको नाम राखेको भन्दै विपक्षीले विरोध गरेको बताइएको छ ।

उता करिब एक साताअघि पश्चिम रोल्पाको सुकिदह गाउँपालिकाले समेत नाम र केन्द्र परिवर्तनको निर्णय गरेपछि विवाद सिर्जना भएको थियो । मंसिर २९ गते बसेको गाउँपालिका बैठकले माओवादी जनयुद्धमा मारिएका गंगा वली र देवराज वलीको नामबाट ‘गंगादेव’ गाउँपालिका राख्ने गरी निर्णय भएको बताइएको छ ।

गाउँपालिकाको नाम परिवर्तनप्रति नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका दलले असहमति जनाउँदै आएका छन् । एमालेका स्थानीय नेता रोशनकुमार वलीको संयोजकत्वमा संघर्ष समिति समेत तयार गरी दबाबमूलक कामको थालनी गरिएको स्थानीयले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले आफ्नो मृतक श्रीमती गंगा वलीको नामबाट गाउँपालिकाको नाम परिवर्तन गर्नुका साथै आफ्नो घरपायक पर्ने गरी केन्द्रसमेत परिवर्तन गरेको स्थानीयले आरोप लगाएका छन् । सो गाउँपालिकामा देखिएको विवाद अहिलेसम्म मिल्न सकेको छैन ।

यसैगरी रोल्पाको त्रिवेणी गाउँपालिकामा समेत केन्द्र परिवर्तनको विषयमा विवाद देखिएको छ । स्थानीय तहको पुनःसंरचना सिफारिश गर्न गठित जिल्ला प्राविधिक समितिले समेत केन्द्रका बारे सर्वसम्मत निर्णय गर्न नसक्दा विवाद कायमै रहे पनि जुगार सिफारिस गरेको थियो । लामो समयसम्म विवाद रहेको सो स्थानमा पुनः विवाद चुलिएको छ ।

गाउँपालिकाको केन्द्र त्रिवेणी की जुगार भन्ने विषयलाई निकास दिन सर्वसम्मत निर्णयको प्रयासमा लागेका छाँै गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले भन्नुभयो । सर्वसम्मत निर्णय हुन नसके अल्पमत र बहुमतबाट भए पनि टुंगो लाग्छ ओलीले भन्नुभयो ।

स्थानीय तह निर्वाचन सम्पन्न भएको छ महिनाभित्र केन्द्र र नाम परिवर्तन गर्न सकिने कानूनी व्यवस्थाअनुसार तोकिएको समय आउन थोरै समय रहँदा जिल्लामा नाम र केन्द्र परिवर्तनको विषय उठेको बताइन्छ ।

हाल जिल्लाका दुई वटा स्थानीय तहको नाम परिवर्तन गरी सशस्त्र युद्धमा मारिएका नेता कार्यकर्ताको नाममा गाउँपालिकाको नामाकरण गर्ने तयारी गरेको माओवादी केन्द्रले आफ्नो पार्टीले जितेको सबै स्थानीय तहको नाम परिवर्तन गर्ने रणनीतिमा लागेको काँग्रेस, एमालेले आरोप लगाएका छन् ।

जिल्लामा थवाङ, दुइखोली, माडी, सुकिदह, सुवर्णाती, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका गरी सातवटा स्थानीय तह नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यसैगरी एमालेले त्रिवेणी र रुन्टी गढी गाउँपालिका गरी दुई स्थानीय तह र काँग्रेसले लुंग्री गाउँपालिकामा मात्र विजयी हासिल गरेको थियो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय