वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्थाः कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्थाः कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन्। बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो।

सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो। ८ महिनाको छोरीसहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो। जाडोको याममा बच्चासँगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो।

जिल्ला सदरमुकाम लिवाङबाट गङ्गादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भासियो। उनले गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिए। लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो।

आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रुकुमपूर्व र रुकुमपश्चिम आवतजावत गर्ने यात्रुहरु अचेल यस्तै समस्या भोग्ने गर्दछन्। यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक।

सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ। दैनिक दर्जनौँ गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरुलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन्। डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ। बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ।

अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरुसमेत बाटोको अवस्थाले कैयौँ अवसर गुमाउने गरेका छन्। बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन्। सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन।

सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गङ्गादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरु जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन्। सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ। जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ।

जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन्। सङ्घीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ। विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लावासीको गुनासो छ।

“सङ्घ, प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता देखिँदैन” स्थानीय यातायात व्यवसायी भीम घर्तीले भन्नुभयो, “जतिभन्दा पनि सरकारले सुन्दै सुन्दैनन्।” सडकमा भएका खाल्डाखुल्डी पुरे पनि यातायात व्यवसायीलाई राहत मिल्ने थियो, उहाँको भनाइ छ।

दस वर्षे सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिहरुका नाममा ती सडकको नामकरण गरिएको छ। शहीद मार्ग नामकरण गरिएका ती सडक आफैँ शहीद भएका छन् रुन्टीगढी गाउँपालिकाका स्थानीय युवा नन्दराम खड्काले बताउनुभयो। “बाटोको अवस्था हेर्दा शहीदमाथि अन्याय भएको छ”, उहाँले भन्नुभयो, “यो बाटोमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्। तर पनि सरकारले कुनै चासो देखाएको छैन्।”

उक्त सडकबाट यात्रा गर्दा धेरै पटक मृत्युको मुखबाट बचेको बताउँदै उहाँले कष्टपूर्ण यात्रा गर्नु यहाँको यहाँका लागि कुने नौलो विषय नभएको बताउनुभयो।

“विकासमा पछाडि पारिएको भन्दै रोल्पाबाट जनविद्रोह गरेका नेताहरु सत्तामा पुगे पनि विकासमा तात्विक अन्तर देखिएको छैन”, स्थानीय महिला अगुवा तीर्था आचार्यले भन्नुभयो, “सडक सञ्जालका नाममा डाँडाकाँडा छिया छिया भए पनि गुणस्तरीयताको अभावमा सडकहरु मृत्युमार्गका रुपमा देखिएका छन्।” उहाँले दस वर्ष बन्दुकको त्रास भोगेका रोल्पाली अहिले सडक त्रासमा बच्न बाध्य भएका छन् भन्दै अप्ठेरो, असहज र अनिश्चित यात्राले महिलाहरु थप प्रताडित हुने गरेका छन्। तर यसतर्फ कसैको ध्यान नगएको बताउनुभयो।

लामो समयदेखि सोही सडकमा गाडी चलाउँदै आएका जीपचालक दीपक थापाका अनुसार सुधारिएको सडकमा कहिल्यै गाडी चलाउन पाइएन। “यात्रा सधैँ यस्तै कष्टकर हुने गर्दछ”, उहाँले भन्नुभयो, “हिउँदमा सामान्य पानी पर्दा पनि पहिरो झर्ने र बाटो हिलाम्य हुने गर्दछ। बाटामा भएका ठूल्ठूला खाल्डाखुल्डी र ढुङ्गालाई छल्दै गाडी चलाउनुको विकल्प छैन।”

सडक मर्मतमा सम्बन्धित निकायको लापरबाहीका कारण नागरिकहरु यस्ता समस्या भोग्न बाध्य छन्। यात्राको मारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी मात्रामा पर्ने गर्दछन्। असहज यात्रा, समयमा घर नपुगिने चिन्ता र असुरक्षाले उनीहरुको यात्रा कष्टकर बन्ने गर्दछ।

अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलको जवाफ– 'आवश्यक परे नङले लड्छौं'

काठमाडौं । अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन् ।इजरायलले गाजाको रफाहमा पूर्ण मात्रामा आक्रमण गर्न आदेश दिए हतियारको ढुवानी रोक्ने चेतावनी अमेरिकाले दिएको थियो। तर, जवाफमा इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफूहरूले आवश्यक परे नङले लड्ने बताएका छन् ।'आवश्यक परे हामी एक्लै उभिनेछौँ । आवश्यक परे नङले लड्छौँ,' उनले भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रफाहमा आक्रमण भए केही हतियारहरू रोक्ने बताएका छन् ।उता नेतान्याहुले १९४८ को युद्धलाई स्मरण गरेका छन् । ७६ वर्षअघिको स्वतन्त्रता संग्राममा आफूहरू धेरै देशविरुद्ध एक्लै लडेको बताएका छन् । 'त्यतिबेला हामीसँग हतियार थिएन । इजरायलमा हतियार प्रतिबन्ध थियो । तर ठूलो शक्ति, वीरता र एकताका साथ हामी विजयी भयौँ,' उनले भने ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो। नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ। आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्ने तयारी सरकारको छ । अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन्।

नेपाल टेलिकमले नयाँ लाइसेन्सका लागि तिर्‍यो २० अर्ब

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले सरकारलाई लाइसेन्स नवीकरणबापतको करिब २० अर्ब रुपैयाँ रकम तिरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको खातामा १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ जम्मा गरिसकेको छ। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनका निम्ति नयाँ लाइसेन्स पाउने संकेत देखिएको छ। ०५६ वैशाख २९ गते टेलिकमले २५ वर्षे अवधिका लागि लाइसेन्स पाएको थियो । त्यसको म्याद वैशाख २८ गते (भोलि) सकिँदै छ । भोलि नै नियामक निकाय प्राधिकरणले नयाँ लाइसेन्स दिने बताइएको छ । यो विषयमा आजै मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन सक्ने स्रोतले जनाएको छ । कति शुल्क तोकेर, कति वर्षको अवधिका निम्ति नयाँ लाइसेन्स दिइन्छ भन्ने त्यसपछि नै थाहा हुनेछ ।

जनताको अवस्था बदल्ने अभियानसँग कला संस्कृतिलाई जोड्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हिजो राजनीतिक व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कला संस्कृतिको क्षेत्र अब परिवर्तित व्यवस्थाअनुकूल जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएकी छिन् । कर्णाली कलाकार प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय महिला मादल वादन प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शर्माले हरेक परिवर्तनका लागि कला, साहित्य र संस्कृति निकै बलशाली हुने बताइन् । ‘हिजो हामीले राजनीतिक वा सामाजिक आन्दोलनको बेलामा बोलेका हजार शब्दभन्दा कलाकारले गरेको एउटा प्रस्तुतिबाट जनता प्रभावित भएर परिवर्तनको यात्रामा भाग लिन्थे’– मन्त्री शर्माले भनिन्– ‘राजनीतिकर्मी, कलाकार, पेशाकर्मी सबैको एकताबद्ध संघर्षको फलस्वरुप राजनीतिक व्यवस्था परिवर्तन भएको छ तर व्यवस्थाअनुकूल जनताको अवस्थामा परिवर्तन गर्न सकिरहेका छौं, त्यसैले अबको हाम्रो मिसन जनताको अवस्था परिवर्तनमा केन्द्रित हुनुपर्ने छ ।’ नेपालको संविधानले मौलिक हकमा धेरै व्यवस्था गरे पनि कार्यान्वयनको पाटो कमजोर देखिएको औल्याउँदै उनले यसमा सरकार वा कुनै निकायले मात्रै भन्दा पनि आम जनताको चेतनामा परिवर्तन ल्याएर मात्रै कार्यान्वयन गर्न सकिने बताइन् । ‘हामीले मौलिक हकमा छोराछोरीलाई सम्पत्तिमा समान अधिकार, सबैखाले छुवाछुतको अन्त्य जस्ता महत्वपूर्ण सवाल समावेश गरेका छौं’– मन्त्री शर्माले भनिन्– ‘कुनै पनि अधिकार कागजमा लेखेर मात्र हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने आम मानिस दिलदिमागबाटै तयार हुनुपर्छ, त्यसरी तयार पार्ने काममा कला संस्कृति क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।’ संविधान र कानुनलाई व्यवहारमा कार्यान्वयन गरेर मात्रै हिजो गरिएका राजनीतिक आन्दोलन र प्राप्त भएका उपलब्धिलाई अर्थपूर्ण बनाउन सकिने उल्लेख गर्दै उनले यसका लागि सबै पक्षको साझा अभियान जरुरी रहेको बताइन्। ‘अहिलेको परिवर्तनको सुन्दर पक्ष समावेशिता हो, यसले दूरदराजका व्यक्तिहरुलाई खोजेर ल्याएर सिंहदरवारसम्म पुर्याएको छ, अब यसरी नै दूरदराजमा लुकेर रहेका कला संस्कृतिसहित हरेक क्षेत्रका प्रतिभाको खोजी गरेर राष्ट्रियस्तरमा स्थापित गर्नुपर्छ’– मन्त्री शर्माले भनिन्– ‘त्यति मात्र होइन, राजनीतिक व्यवस्थामा आएको परिवर्तन र तिनै तहका सरकारले दिन खोजेको परिवर्तनको सारलाई जनताको बीचमा लैजान पनि कला संस्कृतिको क्षेत्रले योगदान दिनसक्नुपर्छ ।’  नेपाली समाजमा मादल जस्ता बाध्यवादका साधनको ठूलो भूमिका रहेको औल्याउँदै उनले तीज होस् वा अन्य चाडपर्वमा महिलाले आफ्नो प्रतिभा प्रष्फूटन गर्दै महत्वपूर्ण माध्यम र संस्कृतिको निरन्तरताको साधन मादललाई बनाउँदै आएको स्मरण गरिन्। यसलाई महिला सशक्तीकरणको आधारको रुपमा पनि लिन सकिने उल्लेख गर्दै उनले गाउँठाउँका प्रतिभा खोजेर राष्ट्रिय प्रतियोगिता गराएकोमा आयोजकलाई धन्यवाद दिइन्।

लोकप्रिय