विदेश जान बिदाई गरेको दुइ दिनमै छोराको मृत्यु

विदेश जान बिदाई गरेको दुइ दिनमै छोराको मृत्यु

सिन्धुली, बैसाख ८ ।  छोराले विदेशबाट पैसा कमाएर ल्याउला अनि दुःखका दिन सकिएला भन्ने ठानेका बालाबखर ८ धनुषाका रामबुझाम मण्डलको सपना अधुरै रह्यो । छोराले दुःख गरेर भए पनि पैसा कमाएर ल्याउला र साहुको ऋण तिरौंला भनेर वैदेशिक रोजगारीका लागि विदाइ गरिएको छोराको दुई दिनमै शव देखेपछि मण्डलको सपना मात्र अधुरो रहेन, सदाका लागि काख नै रित्तियो । उहाँको बुढेसकालाको सहारा नै गुम्यो ।

मलेसिया हिँडेका बालाबखर ८ धनुषाका सरोजकुमार मण्डलको बुधबार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपल भन्ञ्याङमा भएको बलेरो दुर्घटनामा मृत्यु भएपछि मण्डल परिवारमा यस्तो बज्रपात परेको हो । छोराको शव बुझ्न बिहीबार सिन्धुली अस्पताल आइपुग्नुभएका रामबुझम मण्डल घरी बर्बराउने, घरी अचेत हुनुहुन्छ । ‘छोरालाई हाँसीखुसी विदाइ गरिएको दुई दिनमै मुख देख्न पाइएन’, बर्बराउँदै उहाँले भन्नुभयो, ‘अब जिन्दगीका सबै सपना चकनाचुर भए ।’

कतारमा तीन वर्ष बसेर एक वर्षअघि घर आउनुभएका सरोज पुनः वैदेशिक रोजगारका लागि मंगलबार घरबाट विदा भएर काठमाडौं जानुभएको थियो । म्यानपावर कम्पनीले बुधबारको टिकट नमिलेर आगामी सोमबारका लागि मात्र टिकट हुने भनेपछि उहाँ फेरि घर फर्कंदै हुनुहुन्थ्यो । घर फर्कने क्रममा उहाँ चढेको बलेरो जिप सडकबाट २ सय मिटर तल खस्दा सरोजको घटनास्थलमै मृत्यु भयो ।

‘बुबा अचेत हुन थाल्नुभएको छ । घरमा आमा घटना थाहा पाएदेखि नै अचेत अवस्थामा हुनुहुन्छ’, मृतक सरोजका भिनाजु फूलमान मण्डलले दुखेसो पोख्दै भन्नुभयो ।’ सरोजसँगै वैदेशिक रोजगारीमा हिँडेका सोही ठाउँका जयकुमार यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । उहाँको परिवारमा पनि रुवाबासी छ । सरोज र जयकुमारको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पञ्जियारको भनाइ छ ।

‘साहुसँग ऋण काढेर विदेश हिँडेको झन्डै ज्यान गएन’, दुर्घटनाका गम्भीर घाइते राकेशकुमार यादवले भन्नुभयो, ‘सँगैका साथी गुमाउनुपर्‍यो । आफ्नो खुट्टा गुम्यो ।’ ‘बाँचेर पनि अब केही गर्न नसकिने भयो’, उहाँले भन्नुभयो । उहाँसँगै गम्भीर घाइते जितनाराण यादवको पनि अवस्था उस्तै छ । ‘एउटा खुट्टा तीन ठाउँमा भाँच्चिएको छ । शरीरभरि चोट लागेको छ ।

धन्न बाँचियो’, उहाँले भन्नुभयो । जितनारायण पहिलो पटक वैदेशिक रोजगारीका लागि मलेसिया जान लाग्नुभएको थियो । गाउँका सबै साथी विदेश जाने भनेपछि आफू पनि सँगै हिँडको उहाँले बताउनुभयो । मलेसियाका लागि बालाबखर ८ धनुषाका दसजना युवा एकै पटक घरबाट निस्केका थिए । उहाँहरू भनेको समयमा टिकट नपाएपछि थप दुई दिन घरमा बस्ने र सोमबार उड्ने गरी आइतबार काठमाडौं जाने तयारीका साथ बलेरो रिजर्भ गरी बुधबार घर फर्कंदै हुनुहुन्थ्यो ।

बलेरोमा सवार आठजना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये एकजनाको काठमाडौंमा र अन्य सातजनाको जनकपुरमा उपचारका लागि सिन्धुली अस्पतालले रेफर गरेको छ । बुधबार काठमाडौंबाट धनुषातर्फ आउँदै गरेको बा १ ज ५ नम्बरको बलेरो दुर्घटना भएको थियो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय