विश्वका चर्चित नेता भ्रष्टाचारको दलदलमा, को कति भ्रष्ट ?

विश्वका चर्चित नेता भ्रष्टाचारको दलदलमा, को कति भ्रष्ट ?

काठमाडौं, वैशाख ८ । विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो ।

विश्व वैंकको एक तथ्यांकअनुसार हरेक वर्ष एक खर्ब अमेरिकी डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । अझ जर्मनीको पसाओ विश्वविद्यालयको तथ्यांकले यस अवस्थालाई थप भयावह रहेको देखाएको छ ।

सो विश्वविद्यालयका अनुसार हरेक वर्ष संसारको कुल ग्राहस्र्थ उत्पादनको १२ प्रतिशत अर्थात चार खर्ब डलर भ्रष्टाचारको कारण अपचलन भइरहेको छ । त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार संसारका सरकारको सार्वजनिक खरिदको प्रक्रियामा हरेक वर्ष चार सय विलियन अमेरिकी डलर भ्रष्टाचार भइरहेको छ ।

यसरी भ्रष्टाचार बढ्दै जानुको पछि परिवार तथा नातेदार र आफ्नो व्यवसायको प्रभाव, देशको राज्य संयन्त्रको अवस्था, राजनीतिक प्रतिशोध र सामाजिक मूल्य मान्यताका कारण शक्तिशाली हुने गरेको पाइएको छ । दण्ड सजाय भोगेका अधिकांश विशिष्ट वास्तबमै दोषी होलान् भने केही व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको पनि हुनसक्ने देखिन्छ ।

भ्रष्टाचारका कारण राष्ट्रपति र प्रधानमन्त्री अपदस्थ हुनेमा अधिकांश अल्पविकसित तथा विकासशील देश रहेका छन् । भ्रष्टाचारी मानिएका विश्वका सबै शक्तिशाली व्यक्तिको विवरण पेश गर्न सम्भव नभएपनि पछिल्ला केही वर्षमा भ्रष्टाचारको अभियोगमा जेलजीवन बिताउन वा पदत्याग्न बाध्य केही शक्तिशाली पात्रको यहाँ चर्चा गरिएको छ ।

पहिलो महिला राष्ट्रपतिलाई २४ वर्ष जेल, अर्का पनि अभियुक्त

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतले दोषी ठहर गर्दै २४ वर्षको जेल सजाय भएको छ । केही दिन अगाडिदेखि उहाँको अहिले २४ वर्षे जेल जीवन सुरु भएको छ । ६५ वर्षीया पार्कलाई अदालतले दोषी ठहर गरेपछि गत सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो ।

अदालतले पार्कमाथि लागेका १८ मध्ये घुषखोरी, शक्तिको दुरुपयोग, राज्यको गोप्य सुचना चुहावटलगायत १६ वटा अभियोगमा दोषी ठहर गरेको छ । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ । तर उहाँले भने अदालत पूव्राग्राही भएको भन्दै सुनुवाई बहिस्कार गर्दै आफूमाथि लागेका सवै आरोप अस्विकार गर्दै आउनुभएको छ ।

दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भएपनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उहाँ तेस्रो राष्ट्रपति हुनुहुन्छ । उहाँपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ । यस विषयमा अनुुसन्धान सुरु भएको छ ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिद्वारा पदत्याग

सन् २००९ देखि भ्रष्टाचारको आरोप खेपिरहनु भएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले अन्तः सन् २०१८ मा पद त्याग गर्नुपरेको छ । छ जनासँगको विवाह गरी २१ छोराछोरीका पितासमेत रहेका जुमाले १४ फेब्रुअरी २०१८ मा राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो ।

आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेस (एनएसी)ले भ्रष्टाचारको आरोप लागेपछि पद छाड्न वा अविश्वासको प्रस्ताव सामना गर्न दवाव दिएपछि उहाँले पद त्याग्नुपरेको थियो ।

आफ्नै कार्यकालका उपराष्ट्रपति सिरिल रामाफोसालाई राष्ट्रपति बनाउन आफ्नै दलका नेताहरुले आफूलाई भ्रष्टाचारको आरोप लगाएर पद त्याग्न बाध्य पारेको जुमाले बताउदै आउनुभएको छ । ७५ वर्षीय जुमाले आफू भ्रष्टाचारी नभएको दावी भने गरिरहनुभएको छ ।

भ्रष्टाचार विरोधी भनिएका सरिफ नै अभियोग खेप्दै

झण्डै चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका नवाज सरिफ आफै भ्रष्टाचारको आरोपमा निकालिनुभएको छ । आर्थिकरूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरागर्न ‘भ्रष्टाचार’मुख्य बाधक रहेको बताउने सरिफ आफै भ्रष्टाचारको महाअभियोगमा पर्नुभयो ।

पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोग गर्दै आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो । पानामा पेपर्स् नामक एक विश्वचर्चित भ्रष्टाचारसम्वन्धी खोजीले उहाँलाई पनि दोषी देखाएको थियो ।

पछि अदालतले नै उहाँलाई दोषी ठहर्याएपछि उहाँले सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिनुभयो । ६७ वर्षीय सरिफलाई पाकिस्तानको सर्वोच्च अदालतले केहीदिन अगाडी मात्रै आजिवन निर्वाचन लड्न नपाउने फैसला सुनाएको छ ।

बङलादेशमा जियालाई पाँच वर्ष काराबास

बंगलादेशमा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । ७२ वर्षिया जियाले अनाथ बच्चाका लागि विश्वभरबाट उठेको रकम मध्ये झन्डै साढे दुई करोड रूपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ । उहाँले आफूविरुद्धका आरोपहरु राजनीतिकरुपमा प्रेरित रहेको दाबी गर्नुभएको छ ।

उहाँलाई यहीवर्ष हुने संसदीय चुनावमा लड्न प्रतिबन्ध लागेको छ । प्रधानमन्त्री शेख हसिना वाजेदसँग दशकौंदेखि राजनीतिक प्रतिद्वन्द्वीका रुपमा रहनु भएकी जिया सन् १९९१ देखि १९९६ र २००१देखि २००६ सम्म गरी दश वर्ष बंगलादेशको प्रधानमन्त्री बन्नुभएको थियो । अहिले बंगलादेशको प्रतिपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी जियालाई अदालतको फैसलालगत्तै पक्राउ गरी जेल चलान गरिएको छ ।

ब्राजिलका लोकप्रिय नेता नै जेलमा

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइन इनासियो लुला दा सिल्भालाई भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैँद सजाय फैसला सुनाएको छ । लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमा नबस्ने दलिल पेस गर्नुभएको छ । अदालतको फैसलाले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई नै प्रभावित पारेको छ ।

चुनावबाट बञ्चित गर्न आफूविरुद्ध राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको ७२ वर्षीय लुलाले दाबी गर्दै आउनुभएको छ । ब्राजिलमा उहाँको सहभागीता वा सहमति विना निर्वाचन असंभव जस्तै रहेको बताउने गरिएको छ ।

पेरुका पूर्वराष्ट्रपतिलाई देश छोड्न बन्देज

पेरुका पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा १८ महिना देश छोड्न प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको हो ।

ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोपमा उहाँमाथि अनुसन्धान भइरहेको छ । पूर्वराष्ट्रपति पेड्रोलाई लिमामा रहेको उहाँको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै नजरबन्द गरिएको छ । पेरुको संसद्मा आफूविरुद्धको महाअभियोग प्रस्तावमा मतदान हुन लागेपछि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिनुभएको थियो ।

अरु कैयौँ नेता पनि भ्रष्टाचारी ठहर

अरु धेरै देशमा पनि शक्तिशाली पात्र भ्रष्टाचारको आरोप लगेर राजनीतिक जीवनबाट हात धुनुपरेको छ । क्रोएसियामा सन् २००३ देखि २००९ सम्म प्रधानमन्त्री बन्नुभएका इभो सानाडर सन् २०१० मा भ्रष्टाचारको आरोपमा गिरफ्तार हुनुभयो ।

सन् २००५ देखि २०११ सम्म प्रधानमन्त्री बन्नुभएका पोर्चुगलका समाजवादी नेता जोसे सोक्रेट पनि जीवनको अन्तिम समयमा आएर भ्रष्टाचारी कहलिनुप¥यो । लामो समयको अनुसन्धानपछि सन् २०१७ को अक्टोबरमा उहाँविरुद्ध अपराध, सम्पत्तिको अपचलन, कर छली, कागजपत्रहरुको दुरुपयोगलगायतका ३१ ओटा मुद्दा लगाइयो ।

रोमानियाका पूर्वप्रधानमन्त्री अड्रिन नास्तासलाई सन् २०१२ मा साढे चार वर्षको जेल सजाय तोकिएको थियो । उहाँ सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री बन्नुभएको थियो । त्यसैगरी पेरुका अल्बेरर्टो फुजिमोरी र ओल्लान्ता हुमाला, इजरायलका इहुड अल्मर्टले पनि भ्रष्टाचारको अभियोगमा सजाय भोग्नु भएको छ ।

सर्बिया, मन्टेनेग्रो, मोल्डोभा, ग्वाटेमाला लगायतका देशका पूर्वप्रधानमन्त्री वा राष्ट्रपति पनि भ्रष्टाचारको सजायमा छन् । रासस

चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय

काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।

इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध

काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो  ।

अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता

एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।

ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

लोकप्रिय