विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्ने बताए ।

‘सरकारले डडेल्धुरामा आंगिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको संकायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ,’ उनले भने, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ।’

यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ :

दीक्षान्त समारोहका प्रमुख अतिथिज्यू,
सुदूरपश्चिम विश्वविद्यालयका सह–कुलपति एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यू,
सुदूरपश्चिम विश्वविद्यालयका उप—कुलपतिज्यू लगायत सबै पदाधिकारीहरू, सभासद्ज्यूहरू,
आमन्त्रित विशिष्ट अतिथिज्यू,
दीक्षित हुनुहुने विद्यार्थी भाइबहिनी तथा अभिभावकज्यूहरू ।

सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस दीक्षान्त समारोहमा हाम्रो आमन्त्रणलाई स्वीकार गरी प्रमुख अतिथिका रूपमा उपस्थित भइदिनु भएकोमा मित्रराष्ट्र भारतको उत्तरप्रदेश राज्यस्थित महात्मा ज्योतिबा फुले रुहेलखण्ड विश्वविद्यालय, बरेलीका कुलपति प्रा. के. पी. सिंहज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
यस दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न विषय र तहका उच्च उपाधि प्राप्त गर्ने विद्यार्थीहरू लगायत यस समारोहमा उपस्थित हुनु हुने विद्यार्थी, शोधकर्ता एवम् अभिभावकज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यार्थीहरूको सफल एवम् सुन्दर भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।

यस दीक्षान्त समारोहको अवसरमा सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन, विकास र प्राज्ञिक क्षेत्रमा योगदान पु¥याउनुहुने प्राध्यापक, शिक्षाविद्, पदाधिकारी, कर्मचारी, विद्यार्थी, अनुसन्धानकर्ता, अभिभावक, समाजसेवी, चन्दादातालगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, भविष्यमा यस विश्वविद्यालयको भौतिक तथा प्राज्ञिक विकासको क्षेत्रमा यहाँहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको छु ।

आज यस समारोहमा सहभागी भइरहँदा मलाई निकै गौरवको अनुभूति भइरहेको छ । यो संयोग नै भनौं, यो विश्वविद्यालयको स्थापनाको काम पहिलोपटक प्रधानमन्त्री हुँदा मैले नै अघि बढाएको थिएँ । मलाई सम्झना छ, सधै उपेक्षामा पर्दै आएको सुदूरपश्चिमाञ्जल क्षेत्र र यसक्षेत्रका जनताको दूरगामी भविष्यको परिकल्पना गरेर हामीले विश्वविद्यालय स्थापनाको निर्णय गरेका थियौं । मेरो दोस्रो कार्यकालमा यो विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारका लागि समेत कतिपय निर्णय भए । आज म यही आफैले निर्णय गरेर स्थापना भएको विश्वविद्यालयको कुलपतिको हैसियतमा यहाँ तपाईहरुमाझ सम्बोधन गर्ने गौरव प्राप्त गरेको छ ।

उच्चशिक्षा प्राप्त गर्न राजधानी काठमाडौं तथा भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति बोकेका सुदूरपश्चिमका जनताको उच्चशिक्षामा पहुँच कायम गर्न यस विश्वविद्यालयले विगत एक दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यसले एकातिर उच्च शिक्षामा बाहिर जानुपर्ने परनिर्भरताको अन्त्य र त्यसका लागि आर्थिक भारको चेपुवामा पर्ने बाध्यताको अन्त्य गरेको छ भने अर्कोतर्फ विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी देशका लागि आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्नसमेत सहयोग पु¥याएको छ । निम्न तथा मध्यम आय भएको परिवारका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाप्रदान गरी उनीहरूको जीवनमा पु¥याएको योगदान प्रसंशनीय छ ।
राज्यका स्रोत र साधनबाट वञ्चितिकरणमा परेको वास्तविकताको सामना गर्दै छोटो समयमा नै विश्वविद्यालयलाई लोकप्रिय बनाउन सफल हुनु भएकोमा म विश्वविद्यालय नेतृत्वलगायत सम्पूर्ण परिवारको प्रशंसासहित धन्यवाद दिन चाहन्छु । अहिले शैक्षिक संस्थाहरू निरपेक्षरूपमा विकास हुन सम्भव छैन । सूचना, प्रविधि र ज्ञानको क्षेत्रमा भएको अभूतवपूर्व विकास र विश्वव्यापीकरणको प्रक्रियाले हामी नेपालको यो सुदूरस्थानमा रहेको भएपनि विश्व प्राज्ञिक मञ्चको अंग बनेका छौं । विश्वका हरेक कुनामा विविध क्षेत्रमा भइरहने परिवर्तन र विकासलाई हामीले आत्मसात गरेर सोहीअनुरूप आफूलाई अनुकूलनतामा ढाल्नुपर्ने चुनौती हामीसामु छ ।

त्यसैले विश्वविद्यालयको नेतृत्वले भौतिक एवम् शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आफूलाई एउटा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न आवश्यक छ । विश्वविद्यालयले प्राज्ञिक गुणस्तर उच्च राख्न अध्ययन अनुसन्धानको आकर्षणको केन्द्र बन्दै सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एक आपसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ । विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्दछ । लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्दछ । यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्दछ । यो आवश्यकतालाई आज दीक्षित हुने र भविष्यमा दीक्षित हुने प्रत्येक विद्यार्थीले पूरा गर्नुपर्नेछ । आजको प्रतिस्पर्धी विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी छ ।

स्थापनाको छोटो अवधिमा यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूका रूपमा मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र र व्यवस्थापन जस्ता पारम्परिक विषयहरूमा स्नातकोत्तर र पिएचडीसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र हाल विज्ञान तथा प्रविधि इन्जिनियरिङ, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि, कृषि विज्ञान, कानून तथा स्वास्थ्य विज्ञानजस्ता व्यवसायिक र प्राविधिक विषयहरू थप गर्दै लगेकोमा मलाई खुसी लागेको छ ।

यस क्रममा नेपाल सरकारले २०७८ माघ १० गते डडेल्धुरामा यस विश्वविद्यालयको आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायको रूपमा रहनेगरी स्वास्थ्य मन्त्रालय, शिक्षा तथा विज्ञान एवम् प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको स्मरणीय नै छ । उक्त क्याम्पसको स्थापनाबाट चिकित्सा विज्ञान शिक्षामा स्थानीय जनताको पहुँच विस्तार र विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने छ । क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहनेछ ।

निकट भविष्यमा विश्वविद्यालयले वन विज्ञान एवम् हर्बलसाइन्सजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याउँदैछ र विश्वविद्यालयले जीवनोपयोगी शिक्षाका विभिन्न विधाहरूमा कार्यक्रमहरू विस्तार गर्दै जानेछ । हर्बलसाइन्स र कृषिका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती, खेतीलाई उत्पादन, उत्पादनलाई निर्माण एवम् उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्रहरू मार्फत बढ्नसके यो प्रदेशको रोजगारीमा ठूलो योगदान पु¥याउन सकिने छ । त्यसतर्फ विश्वविद्यालयको उच्च शिक्षा उन्मुख हुनेछ भन्ने आशा गरेको छु ।

विश्वविद्यालयमा एम.फिल र पीएचडी.जस्ता अनुसन्धान तहका कार्यक्रमहरू सञ्चालन भई विदेशी प्राध्यापक अनुसन्धानकर्ताहरूले समेत यस विश्वविद्यालयबाट उच्च प्राज्ञिक उपाधि आर्जन गर्न लागेको विषयले हामीलाई गौरवान्वित तुल्याएको छ । यस पृष्ठभूमिमा आउँदा केही वर्षमा विश्वविद्यालयले प्राविधिक एवम् व्यवसायमूलक तथा गुणस्तरीय उच्चशिक्षा प्रदानगर्ने मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित हुने छ भन्ने मैले विश्वास लिएको छु ।

उपस्थित आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,

आज यहाँहरू दीक्षित हुँदै हुनुहुन्छ । यो तपाईको परिवार र जीवनमा सामान्य घटना कदापि होइन । आजको दिनसम्म आइपुग्न तपाईहरूले परिवारले र आफूले साँचेका सपना पूरा गर्न कैयौँ रहर र इच्छाहरू तिलाञ्जली दिनुभएको छ । कठिन र संघर्षमयी क्षणहरू बिताउनुभएको छ । अक्षर चिन्न प्रारम्भ गरेदेखि आजको दिनसम्मका सबै ती संघर्षमयी क्षणहरू सम्झेर अब तपाईहरूले आफ्ना, परिवारका सपना र देशलाई तपाईहरूबाट राखेको अपेक्षा पूरा गर्नुपर्ने छ ।

त्यसैले जसरी यो दीक्षित हुने बेलासम्म तपाईहरूले आफूलाई हरेक परीक्षामा उत्तीर्ण गर्नुभयो । अब फेरि तपाईहरूले आफ्ना लागि, परिवारका लागि, समाजका लागि र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने हुन्छ । तपाईहरूका अबका परीक्षाको परिणामले हाम्रो समाज र देशको भविष्य निर्धारण गर्दछ । यसले हाम्रा भावी सन्ततिहरूको भविष्य निर्धारण गर्नेछ ।

एकजना दार्शनिकले भनेका थिएँ– साथी हो, सपना देख्नुहोस् । मैले पनि आज तपाईहरुलाई भन्छु– तपाईहरु सपना देख्नुहोस् । त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हुनेछ । सुन्दर सुखी नेपालीको सपना हुनेछ । कुनै बेला म तपाईहरूजस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दथेँ । त्यतिखेर एकातिर परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने सपना हुन्थ्यो । तर बिस्तारै मैले अन्याय, गरिबी, शोषण, विभेदको अन्त्य गर्ने सपना देख्न थालेँ । कोही ठूलो कोही सानो, कसैले पढ्न पाउने, कसैले भर्ना हुन पनि नसक्ने, कोही उपचार नपाएर मर्ने, कतै जातीय, कतै लैंगिक विभेद, यस्तो समाज परिवर्तन गर्ने सपना देखेर म परिवर्तनको लामो र कठिन यात्रामा होमिएँ । आज मैले देखेको सपना कति पूरा भयो या भएन, त्यसको समीक्षा इतिहासले गर्ला । तर कहिलेकाहिँ लाग्छ, त्यतिखेर हामीले परिवर्तनको ती सपना नदेखेको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न सक्दैनथ्यौं कि ? अझ भनौं, यति सजिलै यही विश्वविद्यालय पनि स्थापना गर्न सक्थ्यौं या सक्दैनथ्यौं ?

मैले यो राजनीतिक उपलब्धि प्राप्त गरेपछि पनि सपना देख्न छोडेको छैन । मैले बारम्बार भन्ने गरेको छु, मेरो अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने हो । म अहिले यही सपनाका लागि अहोरात्र भूमिका निर्वाह गरिरहेको छु । अब यो सपनामा तपाईहरुको साथ चाहिन्छ, यहाँहरुको सपना जोडिनुपर्छ ।

त्यसैले म आज तपाई दीक्षित हुनुहुने सबैलाई पुनः भन्न चाहन्छु, अब शैक्षिक जीवनका एउटा अध्यायमा उत्तीर्ण भएका यहाँहरु अब परिवारले, आफूले साँचेका सपना पूरा गर्न र समृद्ध नेपालको निर्माणका लागि देशलाई तपाईहरुको अपेक्षा पुरा गर्न सपना देख्नुहोस् । ती सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुहोस् । यी सपना पूरा गर्दा कैयौँ चुनौतीको सामना गर्नुपरे पनि हिम्मत नहार्नुस् । आँधीबेहरीसँग जुधेर सफलताको चुचुरोमा पुग्न सक्नु नै सही अर्थमा जीवन हो भन्ने मलाई लाग्दछ । जीवन त वेगवान हुनुपर्छ, गतिशील हुनुपर्छ । चुनौतीसँग जुध्न सक्नुमा नै हाम्रो सफलता निहित रहन्छ । एउटा बुझ्न्पर्ने कुरा के हो भने, हामीले समृद्ध नेपालको निर्माण गर्न सक्यौं भने मात्रै हामीले देखेका सुखी जीवन, सुखी समाजका सपनाहरू सही अर्थमा पूरा हुन सक्दछन् । म कामना गर्न चाहन्छु, तपाईंले आजपर्यन्त आर्जन गर्नुभएको ज्ञान र सीप अबका दिनमा सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माणको कोशेढुंगा बनोस् ।

अन्त्यमा, आज दीक्षित हुनुभएका विद्यार्थीहरूले आफूलाई समाजमा सभ्य, शिष्ट र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तब्यलाई जिम्मेवारीका साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै सबैको सुखद् एवम् सुन्दर भविष्यको कामना गर्दछु । यस दीक्षान्त समारोहको पुनीत अवसरमा आफ्नो महŒवपूर्ण समय दिएर पाल्नुभएका प्रमुख अतिथिज्यू एवम् समस्त अतिथिगण लगायत दीक्षान्त समारोह सफलताका साथ सम्पन्न गर्न खटिनुहुने सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारी वर्ग र विद्यार्थीहरूमा धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

लोकप्रिय