संकटमा देउबा सरकार, माओवादीका मन्त्री हटाउन प्रधानमन्त्रीलाई ठूलो दबाब

संकटमा देउबा सरकार, माओवादीका मन्त्री हटाउन प्रधानमन्त्रीलाई ठूलो दबाब

काठमाडौं । मंगलबार बिहान, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाबीच करिब एक घण्टा छलफल चल्यो ।
छलफलको मुख्य विषय थियो– सोमबार माओवादी केन्द्रको पोलिटब्यूरो बैठकले वाम एकता र चुनावी तालमेलका बारेमा गरेको निर्णय ।

अध्यक्ष प्रचण्डले देउबालाई आश्वस्त तुल्याउँदै तालमेल पार्टीको आवश्यकता भएपनि यसले सत्ता गठबन्धन र सरकारलाई कुनै असर नपर्ने बताए । भेटमा देउबाले सम्भावना बाँकी भए कांग्रेससँगको गठबन्धनलाई नै निरन्तरता दिने शर्तमा बाँकी अवधिका लागि प्रधानमन्त्री हुन समेत आग्रह गरे ।

राजनीतिक इमान्दारितामा निकै जोड दिँदै आएका प्रचण्डले एउटा ऐतिहासिक आवश्यकतामा कांग्रेस र माओवादी सँगै देखिएपनि वाम एकताका लागि पार्टी अघि बढिसकेकोले त्यो सम्भव नभएको तर सरकार भने तत्काल नछोड्ने बताए । देउबा आश्वस्त देखिए । दुबै पार्टीका नेताले वाम धु्रवीकरणले सरकारलाई कुनै असर नपर्ने बताए ।

यता मंगलबार ५ बजे नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले पत्रकार सम्मेलनमार्फत “समाजवादी क्रान्तिका लागि ऐतिहासिक वाम एकता” को घोषणा गरे । यो घोषणापछि भने परिस्थिति एकाएक फेरियो ।

प्रचण्डले सरकारको भविष्यमा कुनै संकट नआउने आश्वासन दिएपनि त्यसमा नेपाली कांग्रेस आश्वस्त देखिएन । माओवादीले जतिखेर जे पनि गर्न सक्ने भन्ने आशंकाका कारण प्रधानमन्त्री देउबाले पार्टीका कतिपय नेताहरुको दबाबमा कानुन व्यवसायीसँग छलफल शुरु गरे । “माओवादीले सरकारलाई अविश्वासको प्रस्ताव ल्याएमा के हुन्छ ?” देउबाले कानुनविद्हरुसँग प्रश्न गरे ।

र, यहाँबाट सरकारबाट माओवादी मन्त्रीहरु बहिर्गमित हुने चर्चाले स्थान पायो ।

यही बीचमा प्रधानमन्त्रीले माओवादी, एमाले र नयाँ शक्ति इतरका अन्य राजनीतिक दलहरुलाई छलफलमा बोलाए । कम्युनिष्टहरुले एकता गर्ने हो भने डेमोक्र्याटहरुको पनि गठबन्धन गर्नुपर्ने कुरा जोडदार ढंगले अघि बढ्यो । धु्रवीकरणको यो तीब्रतामा सरकारको भविष्य पर्नु स्वभाविकै थियो । उक्त बैठकमा संघीय समाजवादी फोरम समेत सहभागी भएकोले फोरमले समर्थन गरेमा माओवादीले अविश्वास ल्याएमा समेत सरकारलाई केही फरक नपर्ने अंकगणितबारे छलफल भयो ।

 “फोरमले समर्थन गर्ने अवस्थामा माओवादी चाहिँदैन, उनीहरु धोका दिएर एमालेसँग मिल्छ भने हामीले किन उनीहरुलाई सरकारमा राखि राख्नुपर्यो ?”

र, यसपछि खासगरी बुधबार साँझदेखि माओवादी बिनाको सरकारले निर्वाचन सम्पन्न गराउने दबाब शेरबहादुर देउबामाथि पर्न शुरु भएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउबाले नै नचाहे पनि पार्टीभित्रबाट “माओवादीले धोका दिएको” भन्दै उनीहरु बिनाको सरकारले निर्वाचन गराउन ठूलो दबाब दिएको नेपाली कांग्रेस श्रोत बताउँछ । “फोरमले समर्थन गर्ने अवस्थामा माओवादी चाहिँदैन, उनीहरु धोका दिएर एमालेसँग मिल्छ भने हामीले किन उनीहरुलाई सरकारमा राखि राख्नुपर्यो ?” कांग्रेसका नेताहरुको चर्को दबाबबीच देउबाले फोरमसँग छलफल शुरु गरेको श्रोतले बतायो । नेपाली कांग्रेसका नेता तथा यसअघि प्रचण्ड सरकारका मन्त्री गगन थापाले सार्वजनिकरुपमा नै माओवादीहरुले राजिनामा दिनुपर्ने समेत बताए ।

उता फोरमले भने अहिलेसम्म निर्णय गरिसकेको छैन । बाहिर प्रचार गरिएजस्तो आफूहरु लोकतान्त्रिक गठबन्धनमा नभएको स्पष्ट पारेको छ । पार्टीका उपाध्यक्ष अशोक राईले कुनै पनि गठबन्धनमा नभएको र सरकारलाई दिएको समर्थनका बारेमा समेत कुनै निर्णय नगरेको बताए । यसबाट कांग्रेसका लागि माओवादी मन्त्रीहरुलाई निकाल्न त्यति सहज हुने अवस्था अहिलेसम्म देखिँदैन ।

गृहमन्त्री जनार्दन शर्मा नै एमालेसँग चुनावी तालमेल र एकताको एकजना सूत्राधार रहेका छन् । एकता प्रक्रियाका लागि बनेको समितिमा उनी एकजना सदस्य समेत हुन । त्यो अवस्थामा सरकारको नेतृत्व कांग्रेसको हुने तर त्यही सरकारका गृहमन्त्रीको पूर्ण ध्यान र प्रयास एमाले–माओवादी गठबन्धनलाई जिताउन हुने ।

माओवादी सरकारमा रहँदा सबैभन्दा अप्ठयारो पर्ने भनेको गृह मन्त्रालय माओवादीको भागमा परेकोले नै हो । निर्वाचन गराउने प्रक्रियामा गृह मन्त्रालयको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । सत्ता सहयात्रीले तालमेल र एकता अर्कोसँग गर्ने र उसकै नेतृत्वमा गृह प्रशासन हुने अवस्थाले ठूलो प्रभाव पार्न सक्ने आँकलन कांग्रेसका नेताहरुले गरेका छन् । “त्यसैले पनि अहिले सरकारबाट माओवादी बाहिरिनुपर्छ भन्ने दबाब थपिएको हो ।” श्रोत भन्छ ।

संयोग के छ भने गृहमन्त्री जनार्दन शर्मा नै एमालेसँग चुनावी तालमेल र एकताको एकजना सूत्राधार रहेका छन् । एकता प्रक्रियाका लागि बनेको समितिमा उनी एकजना सदस्य समेत हुन । त्यो अवस्थामा सरकारको नेतृत्व कांग्रेसको हुने तर त्यही सरकारका गृहमन्त्रीको पूर्ण ध्यान र प्रयास एमाले–माओवादी गठबन्धनलाई जिताउन हुने भन्दै फोरमलाई जुनसुकै शर्तमा फकाएर भए पनि ल्याउनुपर्ने मत कांग्रेसमा बलियो छ ।

तर फोरममा मात्रै भर पर्नु समेत कांग्रेसका लागि त्यति भरपर्दो भने नभएको एकजना कांग्रेसी नेताले बताए । “अहिले माओवादीलाई निकाल्ने, भोली केही तलमाथि भएर फोरमले पनि साथ छोड्यो भने त्यतिखेर सिंगो सरकारबाट नै हात धुनुपर्ने अवस्था पनि आउन सक्छ ।” उनले भने, “त्यसैले भावनात्मक निर्णय गरेर मात्रै सम्भव छैन । प्रधानमन्त्रीले सबै विकल्पमा छलफल शुरु गरेका छन् ।”

माओवादी नेताहरु भने राजनीतिक नैतिकताका आधारमा आफूहरुले सरकारमा देउबालाई कुनै असहयोगको वातावरण सिर्जना नगर्ने बताइरहेका छन् । स्वयं प्रचण्डले समेत देउबालाई वाम एकता राजनीतिक आवश्यकता भएको तर विगतको सहमतिका आधारमा देउबालाई पूर्ण सहयोग गरी निर्वाचन सम्पन्न गर्ने वचन दिएको बताएका छन् ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय