संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नहुँने भन्दै सबैलाई त्यसमा सहयोग गर्न आग्रह गरे ।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको आवश्यकता अराजकता नभएर एकता भएको भन्दै ओलीले संविधान र कानून विपरितका कुनै पनि गतिविधि रोक्न सरकार बाध्य हुने चेतावनी दिए ।
यस्तो छ सम्बोधनको पूर्णपाठः
– लामो संघर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन हामीले नेपालको संविधान जारी गरेका थियौं। जनताका आफ्नै प्रतिनिधिहरूद्वारा लेखिएको मुल कानुन संविधान जारी गरी भएको यस ऐतिहासिक दिनको सन्दर्भमा सर्वप्रथम म, नेपाल सरकार तथा आफ्नो तर्फबाट यहाँहरू सबैमा पाँचौं संविधान दिवस एवं राष्ट्रिय दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्छु।
– उत्साह र उत्सवको यो उल्लासमय अवसरमा सम्पूर्ण ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छ। आन्दोलनका क्रममा बेपत्ता भएका, बेघरवार, शारीरिक, मानसिक एवं पारिवारिक रूपमा क्षति व्यहोरी मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदरभाव व्यक्त गर्छु।
– एक महिनापहिले संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको पहिलो बैठकमा मैले भनेको थिएँ– यस वर्षबाट संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो हैन, आम नेपाली जनताको उत्सवको रूपमा धुमधाम साथ मनाउनु पर्छ। यस दिवसले औपचारिकता निभाउने मात्र हैन, सारा नेपाली मनमा उत्सवको भावना सिर्जना गर्नुपर्छ।
– त्यस्तो दिवस, जसको प्रतीक्षामा हामी नेपाली ७ दशकदेखि संघर्षरत थियौं।
– त्यस्तो दिवस, जसले नेपाली जनसंख्याको सयौं थुँगा पूmलहरूलाई एउटै मालामा उनी विविधतामा रहेको एकताको सन्देश प्रवाह गरेको थियो।
– त्यस्तो दिवस, जुन दिन आम नेपालीहरू दशकौंको संघर्षको प्रतिफल लिपिबद्ध गर्न सफल भएको खुसीयालीमा उत्सव मनाई रहेका थिए। र, यसपछि लगातार सुरु हुने चाडपर्वको प्रतीक्षामा थिए।
– त्यसैले, असोज ३ गते आज, हाम्रो संविधान दिवस हो, हामी नेपालीहरूको राष्ट्रिय दिवस हो। चाडवाडको रूपमा सबैभन्दा ठूलो चाड हो। तीनवटै तहमा क्रियाशील हाम्रा ७ सय ६१ सरकारहरूको सक्रियतामा सिंगो मुलुकभरी नै मनाइँदै गरेको एकता दिवस हो।
– दशकौंसम्म संघर्षमा हेलिएकाहरू जसले पीडा झेलेका छन्÷बुझेका छन्, तिनका लागि आजको दिन गौरव गाथाले भरिएको दिवस हो। पारिवारिक विछोड, उत्पीडन र छटपटीबाट उन्मुक्ति पाएका सबै नेपालीहरूका लागि आजको दिन स्वतन्त्रता दिवस पनि हो, प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव हो। त्यसैले यो हाम्रो राष्ट्रिय दिवस, न त फगत तामझाम हो, न आम जनतामा अरुचि हुने निरंकुश शासकहरूको ‘उर्दी र तामेली’ जस्तो हो।
देशवासी दिदीबहिनी, दाजुभाइहरू,
– गएको वर्ष राष्ट्रिय दिवसको अवसरमा मैले आजको दिनलाई आधुनिक नेपालको इतिहासको महत्वपूर्ण ‘बेञ्च–मार्क’ भनेको थिएँ। संविधानका धारा र दफाहरूका बारेमा चर्चा गरेको थिएँ। संविधान प्राप्तिका लागि हामीले लडेको सात दशक लामोे संघर्ष र सफलतालाई संक्षेपमा उल्लेख गरेको थिएँ। र, लोकतन्त्र तथा लोकतान्त्रिक प्रणालीप्रतिको निष्ठा, गतिशीलताप्रतिको प्रतिवद्धता व्यक्त गरेको थिएँ।
– त्यस्तो निष्ठा, जहाँ वंशानुगत÷जन्मजात श्रेष्ठता जस्तो अलोकतान्त्रिक प्रणालीलाई कुनै स्थान हुन्न।
– त्यस्तो गतिशीलता, जहाँप्राप्त अधिकारलाई व्यवहारमा प्रयोग गरिन्छ । संविधानको कुन भाग, धारा वा दफामा के कति अधिकार रह्यो वा रहेन जस्ता विषयमा अल्झिने भन्दा जुन वेला जे मिल्दैन, जुन अग्रगतिका अघि तगारो बन्छ, त्यसलाई त्यहीबेला विधिसम्मत ढंगले मिलाउँदैरपन्छाउँदै अघि बढिन्छ।
– त्यतिखेर मैले संविधानले आत्मसात गरेका हाम्रा राष्ट्रिय आकांक्षा र लक्ष्यबारे चर्चा गरेको थिएँ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकांक्षा, पछि परेको नेपाली समाजलाई रूपान्तरण गर्न तपाईंरहामीले संयुक्त रूपमा देखेको, पूरा हुने र पूरा गर्नै पर्ने सपना भएको उल्लेख गरेको थिएँ।
– आज म ती प्रतिवद्धतालाई पुनः एकपटक दोहोर्याउने अनुमति चाहन्छु । र, सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षेपमा चर्चा गर्ने अनुमति चाहन्छु।
– आर्थिक वर्ष २०७५र७६ मा यस दशककै ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भएको छ। सबै आर्थिक क्षेत्रको वृद्धिदर ५ देखि ९ प्रतिशतको बीचमा छ। र, सबै प्रदेशहरूको आर्थिक वृद्धिदर पनि ६ प्रतिशतदेखि ८ प्रतिशतसम्मको बीचमा छ। यसरी यो वृद्धि क्षेत्रगत र प्रादेशिक दुवै रूपमा सन्तुलित र समतामूलक छ । यसले संघीयता कार्यान्वयनको पहिलो चरणमा नै मुलुक समतामूलक विकास र समृद्धिको मार्गमा अघि वढेको संकेत मिलेको छ।
– आर्थिक वर्ष २०७५र७६ मा निर्यात वृद्धि १९.४ प्रतिशतले भएको छ भने आयातको वृद्धि १३.९ प्रतिशतमा सीमित गरिएको छ। निर्यातमा भएको यो वृद्धि एक दशकमा पहिलोपटक भएको उच्च वृद्धि हो।
– भूकम्प तथा सीमा क्षेत्रमा भएको नाकाबन्दीको वर्षबाहेक विगत एक दशकमा आयातको औसत वृद्धिदर २३ प्रतिशत थियो।
– आर्थिक वर्ष २०७५र७६ मा राजस्व संकलनमा २२.६ प्रतिशतले वृद्धि भएको छ।
– यस अवधिमा बैंकहरूको कर्जा विभिन्न क्षेत्रमा उल्लेखनीय मात्रामा विस्तार भएको छ। जस्तो कि कृषि कर्जामा ४२.५ प्रतिशत, औद्योगिक कर्जामा २०.३ प्रतिशत, निर्माण क्षेत्रको कर्जामा २२.२ प्रतिशत र यातायात तथा सार्वजनिक क्षेत्रको कर्जामा ३२.८ प्रतिशतले वृद्धि भएको छ ।
– यस अवधिमा विभिन्न ७ प्रकारका कर्जालाई सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान उपलब्ध गराइएको छ। यस कार्यक्रमबाट हालसम्म १८ हजार २ सय ९५ जनालाई ३२ अर्ब ८२ करोड रूपैयाँ ऋण उपलब्ध गराई १ अर्ब ५६ करोड रूपैयाँ ब्याज अनुदानसमेत वितरण गरिएको छ।
– स्थानीय तहमा वाणिज्य बैंकका शाखा ७ सय ३७ पुगेका छन्। मेरो नेतृत्वको सरकार निर्माण हुँदा यसको संख्या जम्मा ३ सय ९४ थियो। बैंकका शाखा ५ हजार ८ सय ३७ बाट डेढ वर्षमा नै ५१ प्रतिशतले वृद्धि भई ८ हजार ८ सय ५ पुगेको छ ।
– ‘समृद्धिसँग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ नारामा २०७६ वैशाख १ गतेबाट सुरु गरिएको “खोलौं बैंक खाता” अभियानअन्तर्गत हालसम्म १ लाख ६५ हजार ६ सय २२ जनाको बैंक खाता खोलिएको छ।
– संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कामको बाँडफाँड, राजस्व बाँडफाँड तथा अनुदान वितरणसम्बन्धी सूत्र ६ सय ३५ वटा स्थानीय तहमा कार्यान्वयनमा आएको छ।
– नेपालले डेढ वर्षको अवधिमा नै संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय संघीयताको व्यवस्थापन सहज रूपमा गरेको छ। प्रदेश र स्थानीय तहको स्रोत व्यवस्थापन राजस्व बाँडफाँट तथा खर्च प्रणाली व्यवस्थित भएको छ। आय÷व्यय र निकासाको प्रतिवेदन विद्युतीय प्रणालीबाट हुने व्यवस्था कार्यान्वयनमा आएको छ। हाम्रो लागि यो असाधारण सफलता हो र नेपालको वित्तीय संघीयताको शीघ्र कार्यान्वयन बाँकी विश्वको लागि सफल उदाहरण हो।
– यसै आर्थिक वर्षदेखि सुरु गरिएको भेहिकल÷कन्साइनमेन्ट ट्रयाकिङ प्रणालीमा ३० हजारभन्दा बढी फर्म जोडिइसकेका छन्। यसबाट राजस्व चुहावट नियन्त्रण गर्न मद्दत पुग्नेछ।
– भूकम्पपछि बन्द भएको तातोपानी नाकाबाट आयात–निर्यात सुचारु भएको छ। सिन्धुपाल्चोकको लार्चा्स्थित सुक्खा बन्दरगाह यसै अवधिमा निर्माण भई सञ्चालनमा आएको छ।
– टेलिप्रिजेन्सको माध्यमबाट राष्ट्रिय गौरवका परियोजनाको प्रत्यक्ष अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ।
– सार्वजनिक सेवाको आधुनिकीकरणका लागि राष्ट्रिय परिचय पत्रको वितरण कार्य प्रारम्भ भएको छ। विद्युतीय सार्वजनिक सेवामार्फत् सुरक्षा तथा प्रहरी प्रशासन, भूमि व्यवस्था, यातायात प्रशासन, औद्योगिक सेवा, राजस्व प्रशासन, न्याय प्रशासन, अध्यागमन तथा राहदानी, एकीकृत नागरिक एप्स र विद्युतीय मतदानको प्रणाली सञ्चालनको तयारी पूरा भएको छ।
– मुलुकका ८९ मालपोत कार्यालयबाट विद्युतीय प्रणालीमार्फत् सेवा प्रदान गर्ने कार्य थालनी भएको छ।
– अघिल्लो आर्थिक वर्षमा करिव १ हजार ६ सय किमी कालोपत्रे सडक निर्माण भएको छ। २ सय ४३ सडक पूलको निर्माण सम्पन्न भएको छ।
– यस वर्ष १ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी विद्युत र नवीकरणीय ऊर्जाका परियोजना सञ्चालन छन्। यो सरकार गठन हुँदा कायम रहेको प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि भई १ सय १० किलोवाट प्रतिघन्टाबाट २ सय ४५ किलोवाट प्रतिघन्टा पुगेको छ।
– यस अवधिमा मुलुकका ७ हजार ३ सय ७७ हेक्टर थप भूभागमा वृक्षारोपण गरिएको छ। आर्थिक वर्ष २०७५÷७६ को एकै वर्षमा मात्र ४ हजार १ सय हेक्टर नयाँ क्षेत्रमा वृक्षारोपण भएको छ। यो अघिल्लो वर्षको तुलनामा १४१ प्रतिशत बढी हो। वृक्षारोपण भएका क्षेत्रमा फलफूलका मात्र ४५ लाख विरुवा रोपिएका छन्।
– यसै अवधिमा थप ३ हजार ७ सय हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
– भूकम्पबाट क्षति भएका ४ लाख ९२ हजार निजी घर, ५ हजार विद्यालय र ६ सय ६५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणसम्पन्न भइसकेको छ।
– बारा र पर्साका चक्रवातीय आँधी पीडितका लागि ८ सय ६९ घर निर्माण गरी हस्तान्तरण गरिएको छ।
– दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनको रूपमा मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, यो सरकार बनेपछि शिलान्यास भइ हाल निर्माण सम्पन्न भएको छ। गत भदौ २४ गते नेपाल तथा भारतका प्रधानमन्त्रीद्वारा संयुक्तरूपमा उद्घाटन गरी यसलाई सञ्चालनमा ल्याइएको छ।
– वर्तमान सरकारको कार्यकालमा स्वास्थ्य बिमाको दायरामा आउने नागरिकको संख्या तीन गुणाले वृद्धि भएको छ। ७ लाख ८४ हजार परिवार संख्यामा रहेका बिमितहरूको संख्या २१ लाख ९५ हजार ३ सय ८८ पुगेको छ। आर्थिक वर्ष २०७४र७५ को माघ मसान्तसम्म २५ जिल्लाका २ सय २९ स्थानीय तहमा सञ्चालन भएको यस कार्यक्रम हाल ४८ जिल्लाका ४ सय ७१ स्थानीय तहमा विस्तार भएको छ।
– विद्यालय जाने उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना भएको स्थानीय तहको संख्या १ सय २७ पुगेको छ। यस वर्ष विद्यालय जाने उमेर समूहका बालबालिकामध्ये थप ३ लाखलाई विद्यालय भर्ना गरिएको छ। र, कक्षा १ देखि १० सम्मका सबै ५६ लाख ३८ हजार बालबालिकालाई शैक्षिक वर्षको सुरूमा नै पाठ्यपुस्तक उपलव्ध गराइएको छ।
– वर्तमान सरकार गठन हुनुअगाडि मुलुकका ४३ जिल्ला पूर्ण साक्षर जिल्ला घोषित भएकोमा यो सरकार गठन भएपछि ५१ जिल्ला साक्षर घोषणा भएका छन्। थप १ हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ।
– प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देशभरका ६ सय ४६ स्थानीय तहमा १ लाख ८८ हजार ३ सय ४६ जनालाई औसत १३ दिनका दरले जम्मा २३ लाख ४३ हजार १ सय ३६ दिनको रोजगारी उपलव्ध गराइएको छ।
– श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्या्दित तुल्याउन शून्य लागतको सिद्धान्तबमोजिम मलेशिया, संयुक्त अरब इमिरेट्स तथा मौरिसससँग द्विपक्षीय श्रम सम्झौता र समझदारी गरिएको छ। शून्य लागतमा मलेशियामा रोजगारीमा जाने श्रमिकहरूले मलेशियाकै श्रमिकहरूसरह न्यूनतम तलब, स्वास्थ्य तथा दुर्घटना बिमा सुविधाको ग्यारेन्टी भएको छ। जापानका नागरिकले पाउने सरहको सुविधा नेपाली श्रमिकले पाउने गरी जापानसँग द्विपक्षीय श्रम समझदारी गरिएको छ।
– यसै आर्थिक वर्षबाट श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ। गत मंसिर १४ गतेबाट सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म सूचीकृत करिब ५ हजार रोजगारदातासँग कार्यरत ६६ हजार ४ सय ९ योगदानकर्ता श्रमजीवीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेका छन्।
– वर्तमान सरकार गठन भएपछि जारी भएका ४३ ऐनमार्फत् २ सय १ ऐन संशोधन भएका छन्, १३ ऐन खारेज भएका छन्। ५ अध्यादेश जारी भएका छन्। ४२ विधेयक संसद्मा दर्ता भइ विचाराधीन छन्।
– सिण्डिकेट सदाको लागि अन्त्य गरी काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा सुधार गर्न सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने विधेयक संघीय संसद्मा विचाराधीन छ।
– आम नागरिकको सुविधाको लागि विद्युतीय बस छिट्टै सञ्चालन हुँदैछ। सरकारले साझा यातायातमार्फत् काठमाडौ उपत्यका र प्रदेशका मुख्य सहरहरूमा तीन सय विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
– जटिल मानिएको कर्मचारी समायोजन कार्य सम्पन्न भएको छ। स्थानीय तहको स्वीकृत ६६ हजार ९ सय ८ दरबन्दीमा अपुग भएको २३ हजार १ सय १ पदहरूमध्ये ५ सय १५ स्थानीय तहका निम्ति १३ हजार ६ सय ४५ पदमा स्थायी पदपूर्ति गर्न लोक सेवा आयोगको परीक्षा सम्पन्न भएको छ। परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा छ। प्रदेशमा स्वीकृत २१ हजार ३ सय ९९ पदमध्ये १३ हजार ८ सय २१ पदमा कर्मचारी समायोजन भइसकेका छन्। रिक्त पदमा पदपूर्तिको प्रक्रियाका लागि प्रदेश लोक सेवा आयोग गठन भइ कार्यारम्भ गरिएको छ।
– जापानसँग नेपालको सीधा हवाइ सम्पर्क पुनःस्थापना भएको छ । नेपाल भ्रमण वर्ष २०२० को तयारी तीव्र रूपमा भइरहेको छ।
– दक्षिण एसियाली खेलकूद प्रतियोगिताको लागि पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको छ।
– पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले मासिक १०० रूपैयाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्तालाई प्रतिमहिना पाँच हजार रूपैयाँ पुर्याउने प्रतिवद्धता अनुरूप २०७६ साउनबाट तीन हजार रूपैयाँ पुर्याइएको छ।
– यस अवधिमा विभिन्न ८ मुलकका सरकार तथा राष्ट्र प्रमुखले नेपालको औपचारिक भ्रमण गर्नुभएको छ। सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न चार मुलुक, सम्माननीय उपराष्ट्रपतिज्यूबाट दुई मुलुकहरुको औपचारिक भ्रमण सम्पन्न भएको छ। प्रधानमन्त्रीबाट १० औपचारिक भ्रमण समपन्न भएका छन्। ३९ देश तथा संस्थाहरूको सहभागितामा लगानी सम्मेलन सम्पन्न भएको छ।
– यी भ्रमणले हाम्रो परराष्ट्र सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण योगदान गरेको छ। हाम्रो छिमेक सम्बन्ध सुदृढ भएको छ। ‘सबैसँग मित्रता, कसैसँग रहन्न शत्रुता’को नीति अनुरूप हासिल हाम्रो कुटनीतिक सफलताले नेपाल अब विश्व मानचित्रमा ‘देखिन र सुनिन’ थालेको छ।
– परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूको ज्ञान र सीप नेपालको विकासमा परिचालन गर्न ‘ब्रेनगेन सेन्टर’ को स्थापना गरेको छ।
– सार्वजनिक खरिद व्यवस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउन र ठेक्का लिएर लामो समयसम्म काम नगर्ने ठेकेदारका लागि निश्चित समय थप गरिदिँदा समेत काम सम्पन्न नगरेको अवस्थामा कारबाही गर्नेगरी सार्वजनिक खरिदसम्बन्धी नियमावली संशोधन गरिएको छ ।
– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताका साथ भ्रष्टाचार विरुद्धको कारवाही अघि बढाइरहेको छ । अपराधीहरू, देशभरीका भू–माफियाहरू, राजस्व ठग्नेहरू, तस्कर र भ्रष्टहरूका विरुद्ध कतै नियमित प्रशासनिक प्रक्रियाबाट, कतै स्ट्रिङ अपरेसनमार्फत् निर्मम कारवाही सुरु गरिएको छ। यो सरकार गठन भएदेखि हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभिन्न कसुरमा ५ सय ४० विरुद्ध रु. ४ अर्ब २५ करोड विगो माग दाबी गरी मुद्दा चलाइएको छ।
– राजस्व चुहावट र विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारको कसुरमा ५ सय ६८ जना उपर १४ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको छ।
दिदीबहिनी तथा दाजुभाइहरु,
– हामीले अघिल्लो आर्थिक वर्षलाई ‘समृद्धिको आधार वर्ष’ भनेका थियौं। कानुनहरु बने, जनशक्ति विन्यास भए। स्रोतको न्यायोचित वितरण भयो। तीनवटै तहमा सरकार सञ्चालनका लागि आवश्यक न्यूनतम भौतिक संरचना निर्माण भए। विकासका लागि आधार बनेको छ– कतै जग हालिएको छ, कतै पहिलो वा दोस्रो तला थपिएको छ। विकासका लागि आवश्यक अरु तलाहरु थपिनेछन्, थप्दै÷थप्दै अघि बढिने छ।
– भन्नकै लागि त भन्न सकिन्छ नि– खै त रेल, खै त पानी जहाज ? कहाँ छ सुरुङ खनेको? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अभैm जोड दिएर सोध्न सकिन्छ( हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?
– म विनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ। मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं।
– कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, सुदिनहरू आउँछन् भन्ने विश्वास गर्छ, तब नै त्यो देश बाँच्न सक्छ। तब नै त्यस देशले काम गर्न सक्छ, मिहेनत गर्नसक्छ। मेरो काम मुर्छित सपनालाई जगाउनु र तिनिहरूप्रति विश्वास बढाउनु थियो। र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो। मैले त्यही नै कोशिस गरेको थिएँ।
– म वा मेरो दल, हामीहरू कोही पनि फगत सपनाका सौदागार थिएनौं। सकियो, भत्कियो, अब हुन्न भन्ने मनस्थिति फेर्न र अबचाहिँ केही हुन्छ भन्ने विश्वास जगाउन नै मैले र तत्कालीन समयको हाम्रो गठबन्धनका नेताले ‘चुनावपछि केही हुन्छ’ भन्ने आम जनतामा आशा सञ्चार गरेका थियौं । तपाईंहरूले हामीलाई, हाम्रो प्रतिवद्धतालाई विश्वास गर्नुभयो, बलियो बहुमत दिनुभयो । धन्यवाद भन्न चाहन्छु र आज म फेरि एकपटक सेवाको लागि मौका दिनु भएकोमा हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।
दिदीबहिनी तथा दाजुभाइहरू,
– धेरै पटक भनेको छु( मैले मृत्युलाई नजिकैबाट देखेको छु। जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको छु। मजस्तै मेरो टिममा रहेका धेरै साथीहरू यस्तै नाफाको जिन्दगी बाँचिरहनुभएको छ ।
– मैले आफैसँग पटकपटक प्रश्न गर्ने गरेको छु( आधा शताब्दीअघि कलिलै वयमा आप्mना दौंतारीहरूसँगै घरबार छोडेर हिँडेको केका लागि ? र, जवाफ पाउने गरेको छु– मुलुक बनाउनका लागि । तपाईं हाम्रा साझा सपना पूरा गर्नका लागि । यी सबै संघर्षहरूमा मेरो संलग्नता कुनै दिन प्रधानमन्त्री पदको विज्ञापन खुल्ला र निवेदन गरौंला भनेर किमार्थ थिएन।
– राष्ट्रिय दिवसको यस अवसरमा म फेरि प्रतिवद्धता जाहेर गर्छु– मुलुकले काँचुली फेर्छ, हाम्रा सपना पूरा हुन्छन्, हुन्छन्। यस अभियानको नेतृत्वमा अहिले म छु।
– धैर्य गरौं– अढाई शताब्दीदेखि खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्ने जस्ता प्रश्नमाथि एकचोटी पुनर्विचार गरौं।
– मुलुक बन्ने ठोस आधार छन्। हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन्। अनुकूल जलवायु छ। राजनीतिक स्थिरता छ। तपाईंहरूको मतबाट बनेको बलियो सरकार छ।
– अहिले हामीलाई जनसांख्यिक लाभ पनि छ। हाम्रो जनसंख्यामा ३४ वर्ष मुनिको संख्या ६५.५ प्रतिशत छ। १४ वर्ष मुनिका ३४.८ प्रतिशत किशोर÷किशोरीहरूको संख्यालाई कटाउने हो भने पनि १५ देखि ३४ वर्ष उमेर समूहका सक्रिय युवा संख्या ३०.५ प्रतिशत छ। ६५ वर्ष माथिका पाका नागरिकको जनसंख्या त जम्माजम्मी ४ प्रतिशत मात्रै छ।
– मलाई यसैमा हतारो छ। यो युवापंक्ति छिप्पिनुअघि विकासको तीव्र गतिको दौड पूरा गर्नुपर्छ। तब मात्रै गणतन्त्र पछिको नेपाली पुस्तालाई भाग्यमानी पुस्ता बनाउन सकिन्छ।
– मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयास थालेका छन्। कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन्।
– तर, मलाई थोरै चिन्ता केही फुर्स्दिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दाबढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ।
– मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ। ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरूका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिंगो समाजलाई प्रेरित गरिरहेको हो की जस्तो भान हुन्छ।
– मैले पटक–पटक भन्दै आएको छु, आजको आवश्यकता उच्छृंखलता र अराजकता हैन, सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता हो। आजको लडाइँ लोकतन्त्रप्राप्तिका लागि हैन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ गर्नका लागि हो।
– पाइला नै नचलाई कसरी दौडने? यथास्थितिमा रहेर परिवर्तनको अनुभूति कसरी दिने? रूपान्तरण हैन प्रतिक्रिया, परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहने ? विना–मुद्दाका विषयमा मूल मुद्दा जस्तो बहस÷विवादको माहोल किन बनाउने ? अझै पनि ‘हुँदैनरसकियो’ जस्ता असन्तुष्टिको खेतीलाई उकेरा किन लगाउने ?
– अब हामीले तरीका फेर्नैपर्छ।
– यस आर्थिक वर्षबाट गरिने कामलाई नतिजामुखी बनाउन कार्यसम्पादन सम्झौता सुरु गरिएको छ। प्रधानमन्त्रीसँग मन्त्रीहरूले, मन्त्रीहरूसँग सचिवहरूले र सचिवहरूसँग मातहतका अधिकारीहरूले नीति÷कार्यक्रमद्वारा तय गरिएका एक वर्षमा गर्नुपर्ने प्रत्येक काम त्यस सम्झौतामा उल्लेख गरिएको छ। ‘अनुगमनको पनि अनुगमनलाई’ थप प्रभावकारी बनाउन डिजिटल पोर्टल र एक्सन रुम सञ्चालनमा ल्याइएको छ।
– प्रदेशको काम प्रभावकारी बनाउन वरिष्ट सहसचिवहरूलाई प्रदेश सरकारको सचिवका रूपमा खटाइएको छ। प्रोत्साहन र दण्डको प्रणाली स्थापना गर्न विशिष्ट श्रेणीमा पदोन्नतिको आधार प्रदेश सरकारको कामलाई पनि बनाउने नीति सुुरु गरिएको छ। फाइल बढुवाबाट सिर्जना हुने अकर्मण्यतालाई अन्त्य गर्न उमेर वा नोकरीको ज्येष्ठता हैन, कार्यकुशलतालाई प्राथमिकतामा राखिने छ। ‘पानीमाथिको ओभानो’ बन्ने आकांक्षामा आवश्यक निर्णय समेत नगर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ।
– राष्ट्रिय गौरवका रूपमा घोषणा गरिएका ठूला परियोजना सम्भव हुने जतिलाई समयमै सम्पन्न गर्नेगरी टाइमलाइन तोकिएको छ। स्रोत नजुट्ने र विस्तृत परियोजना प्रतिवेदन समेत नभएका परियोजनालाई थाती राखिने छ।
– रसुवाको टिमुरेमा निर्माण प्रारम्भ गरिएको सुक्खा बन्दरगाह ३० महिनामा सम्पन्न गरिने छ।
– काठमाडौं–तराइरमधेस द्रूतमार्गको निर्माण सरकारको यही कार्यकालभित्र सम्पन्न गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको छ।
– यसै आर्थिक वर्ष्भित्र गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ। आगामी आर्थिक वर्षको अन्त्य सम्ममा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल समेत सञ्चालनमा आउनेछ।
– नवलपरासीको धौवादीमा रहेको फलाम खानी सञ्चालन गर्न धौवादी फलाम खानी लिमिटेड स्थापना गरिएको छ।
– सुरुङमार्ग, रेलमार्ग, सतह जलमार्ग हुँदै पानी जहाज सपना पूरा गर्ने प्रारम्भिक तयारी पूरा भएको छ।
– अहिले हाम्रो अर्थतन्त्रको आकार लगभग ३५ खर्ब रूपैयाँको छ । यो सरकारको सिंगो कार्यकालभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब रूपैयाँ पु¥याइनेछ ।
देशबासी दिदीबहिनी तथा दाजुभाइहरु,
– संविधान कार्यान्वयनको सन्दर्भमा हामी कोही पक्ष वा कोही प्रतिपक्ष होइनौं। यसमा कोही पक्ष, कोही प्रतिपक्ष हुँदैनन् भन्ने मेरो विश्वास छ ।
– हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थाहरूलाई पनि यसले यसै अवधिमा मूलधारमा फर्काउन सफल भएको छ, जो अझै बाटो भुलिररहेका छन्, उनीहरूलाई पनि मूलधारमा आउन ढिला नगर्न मेरो आग्रह छ।
– नयाँ संविधान र त्यस अन्तर्गतको तीनै तहको आम निर्वाचन सम्पन्न भएसँगै राजनीतिक आन्दोलनको चरण अब समाप्त भएको छ। लोकतन्त्रलाई सुदृढ गर्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रक्रिया जारी छ। अब पनि राजनीतिको नाममा शान्ति सुरक्षा र राष्ट्रिय एकतालाई खल्बल्याउने काम कहिँकतैबाट भए संविधान र कानुन विपरितका त्यस्ता कुनै पनि गतिविधि सरकारले रोक्छ।
– लोकतन्त्रको आधार जनता हुन्, जनतासँगै लोकतन्त्रका संस्था पनि हुन्। जनता बलियो हुँदा लोकतन्त्रका संस्थाहरु बलियो हुन्छन्। ती संस्था बलियो हुँदा लोकतान्त्रिक प्रणाली सदृढ हुन्छ। प्रणाली सुदृढ हुँदा आम जनतामा सेवा प्रवाह गर्न मद्दत पुग्छ।
– नागरिकमा लोकतन्त्रको लाभांशको समन्यायिक वितरण गर्ने जिम्मेवारी सरकारले वहन गर्छ। समृद्धिको सिर्जना, यसको सन्तुलन र दीगोपनाका लागि राज्य र नागरिकको बीचमा सदैव उच्चस्तरको समझदारी र एकतामा जोड दिन्छ। यसबाट नै हामी समृद्ध, सुखी, सभ्य र न्यायपूर्ण समाजको सिर्जना गर्न सक्छौं भन्ने मेरो विश्वास छ।
– छिट्टै सुरु हुने दसैंरतिहारसहित विभिन्न चाडपर्वहरुको अग्रिम शुभकामना।
धन्यवाद ।
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

