संसदको अन्तिम दिन- सेल्फी, जुहारीदेखि रात्रिभोजसम्म, चर्चामा ओलीका ५ प्रश्न

संसदको अन्तिम दिन- सेल्फी, जुहारीदेखि रात्रिभोजसम्म, चर्चामा ओलीका ५ प्रश्न

संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल शनिबार रातिबाट सकिएको छ । मुलुक अब नयाँ संसद्को खोजीको चरणमा प्रवेश गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको मनोनयन आइतबार हुने भएकाले संवैधानिक व्यवस्थाअनुसार अघिल्लो दिनबाट संसद्को कार्यकाल सकिएको हो ।

अाजको नयाँ पत्रिकामा खबर छ-शुक्रबार नै व्यवस्थापकीय कार्यसहितको बैठक सम्पन्न गरे पनि सभामुख ओनसरी घर्ती मगरले शनिबार सांसदहरूलाई बिदाइसहितको रात्रिभोजको आयोजना गरिन् ।

सांसदहरूको बिदाइका लागि डाकिएको संसद्को विशेष बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गरेर संविधानलाई अझै शक्तिशाली बनाउने उद्घोष गरे ।

निर्वाचनमा ढुक्क भएर लाग्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ढुक्क भएर उत्साहपूर्ण सहभागिता जनाउन सर्वसाधारणलाई अपिल गरेका छन् ।

संसद्को अन्तिम दिनको बिदाइ कार्यक्रममा देउवाले संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण दुईवटा निर्वाचन नजिकिएको भन्दै संविधान कार्यान्वयनमा राजनीतिक दलहरूबीच आपसी सहमति र सहकार्य आवश्यक पर्ने बताए ।
प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री देउवा बोल्नुअघि निर्वाचनको मुखमा मन्त्री थप गरेर ६४ जना पुर्याउनुको कारण सोधेका थिए । ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरिरहेको भन्दै कडा आलोचना गरे ।

जवाफमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगले समेत मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर नपार्ने बताइसकेको बताए । ‘प्रदेश नम्बर २ को स्थानीय निर्वाचनअघि समेत मन्त्रिपरिषद् विस्तार भएको थियो । त्यसवेला केही नबोलेर अहिले किन प्रश्न उठाएको ?’ देउवाले प्रश्न गरे । उनले मन्त्रिपरिषद् विस्तार रोक्न विपक्षी दलले राष्ट्रपतिलाई उचाल्न खोजे पनि राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको बताए ।

प्रधानमन्त्रीलाई ओलीका प्रश्नैप्रश्न

संसद्को विशेष बैठकमा एमाले अध्यक्ष ओली सरकारप्रति कडा रूपमा प्रस्तुत भए । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारले मन्त्रिपरिषद् विस्तार गरेको ओलीको आरोप छ ।
मन्त्रिपरिषद् विस्तारबारे व्यंग्य गर्दै उनले भने, ‘धेरै ठूलो मन्त्रिपरिषद् किन बनाएको भन्दा प्रधानमन्त्री रिसाउनुहोला, मन्त्रिपरिषद्को संख्या ७० लाई ६ कम पु¥याउनुभयो । यसअघि नै रहेका ५६ मन्त्रीले चुनाव गराउन सक्दैनन् ? किन फेरि आठ–आठजना थप्नुपर्यो ? कि मन्त्रीहरूकै जुलुस निकाल्ने हो ?’

प्रधानमन्त्रीलाई ओलीका पाँच प्रश्न

१. तपार्इंलाई थप मन्त्री अहिले किन चाहियो ? कुस्ती खेल्न त होइन होला । कि देशभर मन्त्रीकै जुलुस निकाल्नुहुन्छ ?

२. लोकतन्त्र भनेको के हो ? आचारसंहिता नमान्नु, गैरकानुनी काम गर्नु नै कांग्रेसले भन्ने गरेको लोकतन्त्र हो ?

३. कार्यक्रमको सिलसिलामा अन्तर्राष्ट्रिय मुलुकमा गएरसमेत संविधानअनुसार १० प्रतिशतलाई मन्त्री बनाउन सकिने भन्दै ६० जनासम्म पुर्याउन सकिन्छ भन्नुभयो । अहिले ६४ पुर्याइसक्नुभयो । कांग्रेसभित्र सभापतिलाई प्रतिशतको हिसाब बुझाइदिने कोही छैन ?

४. निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार आचारसंहिताविपरीत भयो भन्दै पत्र लेख्यो । असंवैधानिक, गैरकानुनी भन्दाभन्दै अटेरी गरेर अरू आठजना थपेर देखाइदिनुभयो । कानुन मान्नुपर्दैन ?

५. विनाविभागीय भनेर तपाईंले बहाना बनाउँदै हुनुहुन्छ । अब संसद् सकिएपछि माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई विनाविभागीय बनाउने र आफूले नियुक्त गरेकालाई काम दिने होला । यस्तो कुरा किन किस्ता किस्तामा गर्नुहुन्छ ?

आगामी संसद्ले आवश्यकताअनुसार संविधान संशोधन गर्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संसद्ले जनताको आवश्यकता र चाहनाअनुसार संविधान संशोधन गर्ने बताए । उनले पहिलो संविधानसभा असफल भएको तीतो अनुभवबाट दोस्रो संविधानसभाले संविधान जारी गरेको बताए ।

‘शान्ति प्रक्रिया र संविधान निर्माणमा हाम्रो पार्टीले महत्वपूर्ण भूमिका खेलेकोमा म खुसी छु । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश तथा प्रतिनिधिसभाको समेत निर्वाचन आइसक्दै गर्दा खुसी मान्नैपर्छ,’ प्रचण्डले भने । पार्टी फुटलगायत विभिन्न विचित्रको स्थितिबाट गुज्रेर माओवादीले जोखिम उठाएको उनले बताए ।

एमालेसँगको चुनावी तालमेल र पार्टी एकताबारेको सहमतितर्फ लक्षित गर्दै प्रचण्डले कम्युनिस्ट एकता कसैका विरुद्ध परिलक्षित नरहेको बताए । ‘मिडियामा अब नेपालमा कम्युनिस्टहरूको एकाधिकार शासन आयो भन्ने हल्ला छ । यो विडम्बना हो । यो कुरा विचित्रको छ,’ प्रचण्डले भने ।

अर्को संसद्मा आफूहरूको उपस्थितिबारे साना दल सशंकित

संसद्को विशेष बैठकमा संसद्मा प्रतिनिधित्व गरेका दलका शीर्ष नेतालगायतले धारणा राखे ।

राष्ट्रिय दल बन्न प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनैपर्ने कानुनी व्यवस्था भएकोप्रति साना दल संसद्को अन्तिम दिनमा समेत सशंकित देखिए ।

उनीहरूले आगामी संसद्मा आफूहरूको प्रतिनिधित्व नभए पनि साना दलहरूले उठाएको मुद्दामा गम्भीर बन्न मुख्य दलहरूलाई आग्रह गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माले महासचिव सिपी मैनाली, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, नेमकिपा सांसद प्रेम सुवाललगायतले संविधान कार्यान्वयन र वर्तमान संसद्मा साना दलहरूले उठाएका महत्वपूर्ण विषयप्रति आगामी दिनमा मुख्य दल गम्भीर बन्नुपर्ने बताए ।

सांसदहरूको बिदाइमा यस्तो देखियो
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने समयलाई संसद्को अन्तिम कार्यकाल मान्ने कि समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने समयलाई मान्ने भन्नेमा सभामुखसहित सांसदहरू तीन दिनअघिसम्म अन्योलमा थिए ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गर्ने मितिको अघिल्लो दिनदेखि संसद्को कार्यकाल स्वतः समाप्त हुने संवैधानिक व्यवस्था छ । प्रत्यक्ष उम्मेदवारको मनोनयन ५ कात्तिकमा निर्वाचन आयोगले तोकेको छ ।

सोही दिनलाई आधार मान्दै ४ कात्तिकमा संसद्को कार्यकाल सकिनेमा सभामुखसहित सांसदहरू ढुक्क थिए । यद्यपि, गत बुधबार सभामुख, दलका नेता, सचेतक तथा संसद् सचिवालयका कर्मचारीबीच छलफल भयो ।

सो छलफलबाट सभामुखले समानुपातिक उम्मेदवारको सूचीसमेत प्रतिनिधिसभाको निर्वाचनकै लागि बुझाउने भएकाले संसद्को शुक्रबारको बैठक नै अन्तिम हुने बताइन् । सोहीअनुसार संसद्ले व्यवस्थापन कार्य शुक्रबारकै बैठकबाट सम्पन्न गर्यो ।

सभामुख घर्तीले शनिबार सांसदहरूलाई बिदाइ तथा रात्रिभोजको आयोजना गरेकी हुन् । शनिबार बोलाइएको संसद्को विशेष बैठकमा विभिन्न दलका नेताहरूसहित शीर्ष नेता र सभामुखले धारणा राख्ने र रात्रिभोजमा सरिक हुने कार्यक्रम निर्धारण गरिएको थियो ।

अन्तिम दिनसमेत संसद्मा सांसदहरू भरिभराउ देखिएनन् । दसैँपछि बसेको संसद्का अधिकांश बैठक गणपूरक संख्या नपुगेर स्थगित हुँदै आए । अन्तिम दिन बोलाइएको बिदाइ कार्यक्रममा समेत सांसदहरूको कुर्सी खाली थियो ।
अपराह्न ३ बजेपछि संसद्मा शीर्ष नेता, प्रधानमन्त्रीसहित सभामुखले धारणा राख्ने कार्यक्रम थियो ।

त्यसअघि करिब डेढ घन्टा सांसदहरू सामूहिक फोटो खिच्न व्यस्त देखिए । सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्रीहरू ओली, प्रचण्ड, झलनाथ खनाललगायत मन्त्री, पूर्वमन्त्री र सांसदहरूले संसद् भवन परिसरमा सामूहिक फोटो खिचाए ।

बिदाइ कार्यक्रममा सांसदहरू खुसी नै देखिन्थे । संघीय संविधान घोषणा भएको र संविधान कार्यान्वयनको चरण अघि बढिरहेको भन्दै शीर्ष नेता एवं अधिकांश सांसद खुसी देखिए । तर, केही सांसद भने ६०१ बाट २७५ मा खुम्चिँदै गरेको केन्द्रीय संसद्मा आफ्नो उपस्थिति पुनः नहुनेप्रति मलिन देखिन्थे ।

संसदीय गतिविधि र पार्टी राजनीतिमा आफूलाई अब्बल ठहर्याउँदै लगेका युवा नेता एवं सांसदहरू भने निर्वाचनमा आफ्नो उम्मेदवारी सुरक्षित गर्न शीर्ष नेताहरूको अघिपछि देखिन्थे ।

प्रदेश तथा प्रतिनिधिसभाको १० र २१ मंसिरमा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी वा समानुपातिक सूचीमा पर्न सांसदहरू कोही गृहजिल्ला र कोही शीर्ष नेताहरूकोमा धाइरहेकाले शनिबारको संसद्को अन्तिम दिनको बिदाइ कार्यक्रममा समेत सबै सांसद नदेखिएका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारको मनोनयन समय आइतबारलाई तोकेको छ । सोही दिनलाई आधार मान्दै संसद्को कार्यकाल शनिबार मध्यरातबाट सकिएको हो ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय