संस्थाको विकासमा जनशक्तिलाई प्राथमिकता दिन जोड

संस्थाको विकासमा जनशक्तिलाई प्राथमिकता दिन जोड

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्ने वक्ताहरुले संस्थाको विकासमा जनशक्ति नै महत्वपूर्ण विषय भएको बताएका छन् । महासम्मेलनको तेस्रो दिनको पहिलो सेसनमा विश्वमा कामको शैलीमा भइरहेको परिवर्तन र संस्थाको विकास विषयमा धारणा राख्दै वक्ताहरुले संस्थाको विकासका लागि जनशक्तिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने धारणा राखे ।

‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउनमा जोड दिनु पर्ने बताए ।

संस्थाको जति ठूलो ब्राण्ड भए पनि जनशक्ति सिपयुक्त र क्षमतावान भएन भने संस्थाले प्रभावकारी पफर्मेन्स गर्न नसक्ने बताए ।
‘संस्थाको मुल स्रोत भनेको जनशक्ति हो । जनशक्तिमा लगानी गर्नपछि हट्नु हुँदैन । कर्मचारीलाई गाली गरेर संस्थाको विकास हुँदैन । टीमलाई कसरी मोटिभेट गर्यो भने प्रतिफल निस्कन्छ, त्यसतर्फ ध्यान दिनु पर्छ,’ उनले भने ।

उनले विश्वमा प्रविधिमा भइरहेको परिवर्तनलाई बुझेर र त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने बताउँदै संस्थामा उमेरले कुनै ‘म्याटर’ नराख्ने धारणा राखे । आजको संसार अवसर र प्रतिस्पर्धाको भएको बताउँदै सीप विकास, नेटवर्क विस्तार र सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्ने धारणा राखे ।
यस्तै, छलफलमा राष्टिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा सबैको आकर्षण हुने किसिमले काम गर्न आवश्यक रहेको बताए । उनले सहकारीमा ठूलो नेटवर्क रहेको बताउँदै सो नेटवर्कको सही किसिमले सदुपयोग गरेर काम गर्नु पर्ने उनको भनाइ छ ।

‘अब सहकारीबाट सिकेर अरु ठाउँमा जाने होइन, अरु ठाउँबाट सिकेर सहकारीमा आउने वातावरण सिर्जना गर्नु पर्छ, नेटवर्कको अधिकत प्रयोग गर्नु पर्छ, अहिलेको समस्या हाम्रो कारणले मात्रै होइन, यो विश्वव्यापी कारणले हो, सहकारीमा क्षमता विकास गर्नु पर्छ,’ उनले भने ।

यस्तै, कार्यक्रममा भिजिनरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र गुरुङले जुन रफ्तारमा संसारमा परिवर्तन भइरहेको छ सोही रफ्तारमा हामी पनि परिवर्तन हुनु पर्ने बताए । उनले सिक्ने र बुझ्ने मात्रै नभइ हरेक विषयलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।

छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका नेशनल प्रोजेक्ट संयोजक प्रकाश शर्माले दिनप्रतिदिन काम गर्ने शैली पविर्तन भइरहेको बताउँदै हामी पनि त्यसममा अभ्यस्त हुँदै जानु पर्ने बताए । काम लिने र काम गर्नेबीचको सम्बन्ध पनि प्रगाढ हुनु आवश्यक रहेको उनको भनाइ छ ।

‘काम गर्नेले पनि संस्था आफ्नै हो भन्ने किसिमको अपनत्व महसुस गर्नु पर्छ, नेतृत्वले पनि सोही किसिमको व्यवहार गर्नु पर्छ, तब मात्रै संस्थाको विकासमा महत्वपूर्ण योगदान पुग्छ,’ उनले भने ।

छलफल कार्यक्रमको चेयरको रुपमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल रहेका थिए । उनले पनि विश्वमा कामको शैलीमा परिवर्तन भइरहेकोले संस्थामा काम गर्ने जनशक्तिको विकासमा ध्यान दिनु पर्ने धारणा राखे ।

उनले क्षमतावान र सीपयुक्त जनशक्तिलाई संस्थामा टिकाउनका लागि संस्थाले सोही किसिमको सहज वातावरण सिर्जना गर्नु पर्ने बताए । छलफल कार्यक्रममा सहभागीहरुले पनि वत्ताहरुसमक्ष आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले संस्थागत विकास र जनशक्तिको क्षमता अभिवृद्धि विषयसँग सम्बन्धित भएर आफ्ना जिज्ञासाहरु राखेका थिए ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय