सरकारका दुई वर्ष: कांग्रेसको नजरमा अयोग्यता, असफलता र अधोगतिको आठकोण
काठमाडौंः नेकपाको नेतृत्वमा सरकार गठन भएको फागनु ३ गते दुई वर्ष पूरा भएको छ । अहिले सरकारका दुई वर्षे अवधिको समीक्षा भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको दुई वर्ष पुगेको अवसरमा शनिबार मात्रै संसदमा सम्बोधन गरेको छन् । सो क्रममा उनले सरकार सफल भएको दावी गरेका थिए ।
प्रतिपक्षको दृष्टिमा सरकारको दुई वर्ष कस्तो ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका दुई वर्ष पुगेको अवसरमा आफ्नो धारण सार्वजनिक गरेको छ । सरकारका दुई वर्षमा अयोग्यता, असफलता र अधोगतिको आठकोण भन्दै कांग्रेसले आलोचना गरेको छ ।
बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप नभएर कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेको कांग्रेसको आरोप छ ।
दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन सरकारलाई कांग्रेसले शुभकामना दिएको छ ।
प्रतिपक्षको दृष्टिमा सरकारको दुई वर्षे
नेकपाको नेतृत्वमा सरकार गठन भएको फागनु ३ गते दुई वर्ष पूरा भएको छ । ५ वर्षका लागि म्याण्डेट प्राप्त सरकारको सफलता–असफलता र संभावनाको विश्लेषण गर्न व्यतित चालीस प्रतिशत समयावधि धेरै हदसम्म पर्याप्त छ । यो अवधिमा सरकारका सामु जनअपेक्षा अनुरुप कार्य गर्न मूलतः ३ अनुकूल परिस्थिति थिए ।
१. शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन मार्फत् मुलुकमा निर्मित तुलनात्मक सहज राजनैतिक वातावरण ।
२. नेकपासँग रहेको बहुमत एवं संसदमा रहेको तेस्रो दलको सरकारमा सहभागितापछि एक समयसम्म निर्मित दुई तिहाई ।
३. तुलनात्मक रुपले जिम्मेवार र सालिन प्रतिपक्षको उपस्थिति ।
यस्तो पृष्ठभूमि र परिस्थितिको सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नविन गतिका साथ कार्य गर्न सक्दथ्यो तर सहज समयको सदुपयोग सरकारले परिणामुखी ढंगले विल्कुलै गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनायो ।
घोषणापत्रको आलोकमा दुई वर्षे अनुहार
५ वर्षका लागि गठन भएको सरकारको सम्पूर्ण समिक्षा यसको पूर्ण अवधिमा नै विस्तृत रुपमा गरिने हो । तर चुनावी घोषणा पत्रमा १० वर्षे र ५ वर्षे लक्ष्य सँगै दुई कम्युनिष्ट पार्टीको गठबन्धनले १ वर्ष र २ वर्षको निश्चित लक्ष्य र कार्यक्रम पनि प्रस्तुत गरेको थियो । ५ वर्षको पूरा अवधिमा के कति लक्ष्य हासिल गर्ने संभावना छ भन्ने संकेत बुझ्न २ वर्षे लक्ष्यको वेहालतले धेरै प्रष्ट्याउँदछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते संसदमा लामै सम्बोधन त गर्नु भयो तर दुई वर्षमा न त द्वन्द पीडितको मुद्दा हल गरिसक्ने लक्ष्य हासिल हुन सक्यो न सीमा व्यवस्थापनको लक्ष्य पूरा भयो । परिमार्जित शिक्षा नीतिको लक्ष्य होस् या तुइन विस्थापनको घोषणा, न भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण न बजार मूल्य न्यून ।
कृषि, सडक, विद्युत, प्रविधिदेखि गरिबी परिचयपत्र वितरण सम्मका २ वर्षे लक्ष्यले परिणाम हासिल गर्ने सकेनन् । सरकारको कामको समीक्षा चुनाव मैदानमा वितरित घोषणापत्र र त्यसमा उल्लेखित दुई वर्षे लक्ष्य र कार्यक्रमको जगमा सञ्चार माध्यमहरु सँगै सिंगो देशले गरिरहेकै स्थिति छ । प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेस हिजोको घोषणापत्रको आलोकमा आफ्नो कर्मको अनुहार हेर्न सम्माननीय प्रधानमन्त्री एवं उहाँको सरकारलाई अपिल गर्दछ ।
दुई वर्ष : प्रतिपक्षको जिम्मेवार भूमिका
नेकपाको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने नीति घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो दुई वर्षको अवधिमा सालिन र जिम्मेवार भूमिका निर्वाह गरेको
छ । कालापानी लगायत समग्र सिमा एवं राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार एवं लोकतन्त्र सुदृढीकरणको मुद्दा र समृद्धि तर्फको यात्रा यी साझा विषयमा नेपाली कांग्रेसले सरकारलाई खुला ढंगले साथ दिएको छ र दिने घोषणा गरेको छ ।
तर राष्ट्रियताको प्रश्नमा सरकारको अर्कमण्य भूमिका, संविधानको मर्म विपरीतका विधेयक एवं अनेक आर्थिक अनियमितता र भ्रष्टाचारको प्रश्नमा सरकारको विपक्षमा नेपाली कांग्रेस उभिंदै आएको छ । प्रतिपक्षको संयमित भूमिकालाई कमजोरी ठान्ने अधिनायकवादी मनोविज्ञानले एकातर्फ नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको छ भने अर्कोतर्फ प्रतिपक्ष एवं प्रतिपक्षी दलका नेता, कार्यकर्तामाथि अवांछित ढंगले प्रतिशोधको व्यवहार प्रस्तुत गरेको छ । यो पृष्ठभूमिको जगमा कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठकले सरकारका असफलता उजागार गर्दै जनविरोधी गतिविधिहरुका विरुद्ध दवाव बढाउने निर्णय गरेको छ ।
दुई वर्ष : अयोग्यता, असफलता र अधोगतिको आठकोण
(क) राष्ट्रियताको कोणबाट :
कालापनी, लिपुलेक र लिम्पीयाधुरा लगायतका भू–भाग नेपालका अविभाज्य भूमि हुन् । भारत सरकारले यी भू–भागलाई समेटेर केही महिना अघि आफ्नो देशको नक्सा जारी गरेको थियो । प्रधानमन्त्री स्वयंले बोलाउनु भएको सर्वदलीय बैठक मार्फत प्रमुख प्रतिपक्ष लगायत सबै राजनैतिक दल र सिंगो देशको समर्थन यो मुद्दामा सरकारका साथमा रह्यो तर नेकपाको सरकारले न उच्च स्तरीय कुटनैतिक संवाद सार्थक ढंगले ग¥यो न कुनै परिणामुखी राजनैतिक पहल । राष्ट्रियताको प्रधान मुद्दामा सरकारको दुई वर्षलाई अन्य कुनै पनि घटनामा भन्दा बढी कालापानी प्रकरणमा बुझ्नु पर्ने हुन्छ, जसमा सम्पूर्ण राष्ट्रिय एकताका वावजुद प्रभावकारी अग्रसरता सरकारले राख्न सकेन । पछिल्लो समय महाकालीवारि सडक खनिदै गरेको समाचार बाहिर आएको छ तर सरकारको प्रतिक्रियासम्म आएको छैन ।
(ख) लोकतन्त्रको कोणबाट :
(१) यो २ वर्षको बीचमा सरकारले अघि सारेका कतिपय विधेयकलाई आधार मानेर विश्लेषण गर्दा वर्तमान सरकार क्रमशः अनुदार लोकतन्त्रको बाटोमा अग्रसर रहेको पुष्टि हुन्छ । राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक होस् या मिडिया काउन्सील सम्बन्धी विधेयक । नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, मानव अधिकार आयोग सम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक यी समग्र विधेयकहरुको सार हो— सरकारमा अवांछित शक्ति अभिवृद्धि एवं स्थापित संस्था र नागरिकको अधिकारमा कटौती ।
(२) ‘जनताको अधिकार जनताबाट निर्वाचितलेनै हनन् गर्दै फेरि पनि जनताकै नाममा जनतामाथि जनविरोधी शासन गर्ने, तर त्यसको शिरमा ‘जनता’ शब्द सजाइरहने ।’ यो भयानक प्रवृति आजको कम्युनिष्ट सरकारको मूल प्रवृति भएको छ कम्युनिष्ट सरकारबाट क्रमशः कम्युनिष्ट शासन तर्फ जो उन्मुख देखिन्छ ।
(ग) संविधान र संघीयताको कोणबाट :
(१) यो दुई वर्षमा नेकपाको सरकारले एकातर्फ जनविरोधी विधेयकहरु मार्फत संविधान प्रदत्त अधिकार खोस्न उद्दत भएर संविधानमाथि प्रहार बढाएको छ भने अर्कोतर्फ संविधानका प्रति अपनत्वको दायरा बढाउने गरी विभिन्न समुदायका भावना थप गाँस्ने आफ्नै वचनवद्धतालाई पनि अवरुद्ध तुल्याएको छ । अपनत्व विस्तारको प्रश्नलाई ‘वार्गेनिक चिप्स’ का रुपमा प्रयोग गरेर कहिले एउटा मधेश केन्द्रीत दललाई सरकारमा ल्याउने र पछि वर्हिगमनका लागि वाध्य तुल्याउने र कहिले अर्को दललाई त्यही रणनीतिको शिकार बनाउने तयारी गर्ने ।
(२) यो दुई वर्षको अवधिमा संघीयतालाई सबल बनाउन तर्फ नभई संघीय सरकारले केन्द्रको ‘कमजोर शाखा’ का रुपमा प्रदेश सरकारहरुलाई सिमित गर्ने व्यवहार प्रस्तुत गरेको छ ।
संघीयताको मर्म विपरीत एकातर्फ प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रीकरण अनि अर्कोतर्फ प्रदेश सरकारहरुलाई अधिकार, बजेट र कर्मचारी प्रबन्धमा प्रस्तुत उदासिनता अनि प्रदेशको नामाकरण र राजधानी चयनको प्रदेशसभामा रहेको अधिकार माथि नेकपा सचिवालयको ठाडो हस्तक्षेप । बितेको दुई वर्षको यस्तो प्रवृत्तिले संघीयतालाई कमजोर बनाउन नियतवश योगदान गरेको छ ।
(घ) शान्ति सुरक्षाको कोणबाट :
(१) राजधानी उपत्यकामै पूर्व सचिवकी श्रीमतीको हत्या, वयोवृद्ध पूर्व राजदूतको हत्या, उपत्यकाकै भिन्न दुई स्थानमा दुई बालकको अपहरणपछि हत्या, श्रृखंलावद्ध बम विष्फोटमा केहीको मृत्यु । बितेको दुई वर्षमा राजधानीमै कैयन हत्या, बलात्कार र लुटपाटका घटना भएका छन् भने देशभरि सयौंको हत्या र कयौंको बलात्कारको विवरण बाहिर आएको छ । सरकारको दुई वर्ष पुरा भएकै साँझ सल्यानबाट खबर आएको छ । १७ वर्षीया युवती कविता बोहराको घाँटी रेटेर हत्या भएको स्थितिमा लाश फेला प¥यो ।
जारी आर्थिक वर्ष (०७६÷०७७) को यो अवधिसम्ममा ४३४ हत्याको मुद्दा तथा १०७५ वटा बलात्कारको घटनाका मुद्दा दर्ता भएका छन् ।
(२) कयौं स्थानमा पार्टीका केन्द्र, जिल्ला, क्षेत्र र गाउँ तहका साथीहरु माथि समेत भौतिक आक्रमण भएको छ । दुई वर्षको अवधिमा सत्तारुढ पार्टीकै कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका ४ जना साथीको हत्या रोल्पा, रुपन्देही र सर्लाहीमा भएको छ ।
विगतमा द्वन्दग्रस्त राजनैतिक वातावरण र अस्थिर सरकारहरु रहेको तुलनामा शान्ति सुरक्षाको स्थितिमा उल्लेखित सुधार हुनु पर्नेमा झन् खस्कदै जानु र यस्तो चित्र देखिनु चिन्ताजनक विषय हो ।
(ङ) सुशासन र समृद्धिको कोणबाट :
दुई वर्षको अवधिमा नेकपाको सरकारले सुशासनको कोणबाट न नविनता अनुभूति गराउन सकेको छ न त समृद्धिका लागि नविन परियोजनाहरुको विधिवत थालनी गर्न सकेको छ । विगतका सरकारहरुकै पालामा शुरु गरिएका केही परियोजनाहरुमा केही प्रगति भएको बाहेक यो अवधिमा समृद्धिको दिशामा फड्को मार्ने ढंगले सरकारले गति प्रस्तुत गर्न सकेन । चुनावमा वितरित घोषणापत्रहरुमा दुई वर्षमा सम्पन्न गरिने वाचा गरिएका कार्यक्रम त के एक वर्षमा पूरा गरिने भनिएका कार्यक्रमहरु पनि असरल्ल ढंगले अलपत्र परेका छन् । सुशासन र समृद्धिको कोणबाट वर्तमान सरकारको दुई वर्षे चित्रलाई संक्षिप्तमा यसरी सूत्रवद्ध गर्न सकिन्छ ।
(१) चुनावी घोषणापत्रमा एक वर्ष भित्रमा गरिसक्ने भनिएका कार्यक्रमहरु नै अलपत्र परेका छन्, दुई वर्षमा गरिसक्ने वाचा गरिएका कार्यक्रमहरुको कन्तविजोगनै छ । कयौं सञ्चार माध्यमबाट यसबारे विस्तृत विवरण आइसकेको स्थितिमा हामीले थप टिप्पणी गर्न जरुरी रहेन ।
(२) द्वन्दग्रस्त राजनीति र अस्थिर सरकारहरुको समयखण्ड भन्दा भिन्न परिस्थिति जे उपलब्ध रह्यो त्यसको समुचित उपयोग गरेर समृद्धिको दिशामा फड्को मार्ने गुरु योजना, इच्छाशक्ति र शासकीय योग्यताको अभाव देखियो ।
(३) पूँजीगत बजेट २०% भन्दा तलको आकंडामा मात्रै खर्च हुन सकेको स्थितिले प्रष्ट ढंगले पुष्टि गर्दछ— विकासको कार्यमा समयानुकूल तिव्रता हुन सकेको छैन । यस बारेमा फागुन ३ गते सम्माननीय प्रधानमन्त्रीले संसदमा दिनु भएको प्रष्टिकरण विल्कुलै तार्कीक छैन ।
(४) शेयर बजारको अवस्था कम्युनिष्ट पार्टीको सरकार बन्ने बित्तिकै ओह्रालो लागेको थियो । यस बीचमा हजारौं शेयर लगानीकर्ताले समग्रमा अर्बौं रुपैयाँ गुमाएका छन् । दुई वर्ष पुग्दै गर्दा पनि शेयर बजार सन्तोषजनक स्थितिमा फर्कीएको छैन । कम्युनिष्ट सरकार बन्नु पूर्वको उच्चतम विन्दुबाट नेप्से निकै ओह्रालोमा छ ।
(५) नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले हालसम्मकै सबै भन्दा ठूलो सहयोग सम्बन्धी अघि बढाएको सम्झौता एमसीसीलाई सरकारकै अर्कमण्यताका कारण यस बीचमा विवादित बनाउने प्रयत्न भएको छ । एकातर्फ संसदमा प्रस्तुत गर्न ढिलाई गर्ने र अर्कोतर्फ नागरिक पंक्तिमा उठेका प्रश्नलाई जिम्मेवार ढंगले सम्बोधन नगरेर आन्तरिक पार्टीगत राजनीतिको द्वन्दले गिजोल्ने कर्म दुःखद भएको छ ।
(६) दुई वर्षको अवधिमा सरकारले लगानीकर्ताहरुको मनोबल उच्च बनाउने कर्म गर्न सकेन । नियन्त्रणमुखी कानून (जस्तो वाफिया) ले स्वदेशी लगानीकर्तालाई थप दवावमा राख्ने देखिन्छ भने विदेशी लगानीलाई प्रोत्साहित गर्न अत्यावश्यक कामहरु यस बीचमा सरल बनाउने कार्य सरकारले गरेन । परिणाममा लगानी घटेको छ ।
(७) ‘राष्ट्रिय पूँजीपतिको संरक्षण’ गर्ने कम्युनिष्ट पार्टीकै नाराका वावजुद यस बीचमा निजी क्षेत्रमा सरकारको व्यवहार कसैलाई काखा र कसैलाई निश्चित पूर्वाग्रहको जगमा पाखा गरिएको दृश्य सार्वजनिक भयो । सरकारद्वारा आयोजित लगानी सम्मेलनमै एक विदेशी कम्पनीसँग प्राविधिक साझेदारीको सम्झौता गरिसकेको सीजी कम्युनिकेशनलाई सम्पूर्ण प्रकृया पूरा गर्नुका वावजुद संचालनको अनुमति नदिइनु सुपथ मूल्यमा टेलिकम सुविधा प्राप्त गर्ने उपभोक्ताको अधिकार उपरको अन्याय समेत हो ।
(च) सदाचार र भ्रष्टाचारको कोणबाट :
समृद्धिको मूल मार्ग लोकतन्त्र, शासकीय योग्यता, नितिगत सुस्पष्टता, सदाचार र सुशासन नै हो । तर त्यो दिशामा वर्तमान सरकारको दुई वर्षमा देशले सार्थक प्रगति हासिल गर्न सकेन ।
(१) अघिल्लो सरकारले राष्ट्रिय सदाचार नीतिको अवधारणा अघि सारेको
थियो । तर त्यसलाई व्यवहारिक कार्यान्वयन तर्फ नलगेर वर्तमान सरकारले सदाचार नीतिप्रति आवश्यक गम्भीरता भन्दा उदासिनता प्रकट गरेको छ ।
(२) सरकारको अर्कमण्यता र निश्चित नियतका कारण एकातर्फ ९०% काम सम्पन्न भइसकेको मेलम्ची परियोजना केही पछि धकेलिन पुग्यो भने सरकारी अपारदर्शीता एवं नियोजित नियतकै प्रतिफल बुढी गण्डकी जलविद्युत परियोजनाको भविष्य अनिश्चयको हातमा पुगेको छ ।
(३) गोकर्ण रिर्सोटको लिज प्रकरणले सरकारको शाब्दीक सुशासन र सदाचारको व्यवहारिक खण्डन भिषण ढंगले गरेको छ । नेपाल ट्रष्ट अन्तर्गतका कैयन जग्गाहरुको प्रकरण बारे दबाबमुक्त अनुसन्धानलाई भन्दा सरकारका मन्त्रीहरु एवं प्रधानमन्त्री समेतको अभिव्यक्तिले त्यसलाई ढाकछोपको पछ्यौरी ओढाउने नियत प्रस्ट्याएको छ ।
(४) वाइड बडी लगायत हवाइजहाजहरुको खरीदमा भएको भ्रष्टाचार बारेको प्रकरण यसबिचमा सार्वजनिक लेखा समिति मार्फत बाहिर आयो तर संविधान र कानूनले नचिनेको, अख्तियार प्राप्त संस्थाभन्दा बाहिर शाही आयोग गठनको शैलीमा सरकारले छानविन समिति बनाएर निश्चित नियतका साथ अघि बढ्ने षडयन्त्र सामुन्नेमा आयो । यद्यपि सरकारी छानविन समिति अर्थहिन हुँदै अस्तित्वहीन भइसकेको छ ।
(५) ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ । यसले प्रष्ट गर्दछ आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ । यद्यपि उहाँले कानूनी रुपमा सामना गर्नु हुने र पार्टीले प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गरिसकेको छ ।
(६) भ्रष्टाचार न्यूनिकरण र नियन्त्रणका लागि नेपाली कांग्रेसको सरकारलेनै हो भ्रष्टाचार निवारण ऐन—०५९ संसदमा प्रस्तावित र पारित गरेको । नेपाली कांग्रेसले अख्तियारलाई एक शक्तिशाली संवैधानिक आयोग बनाउने कर्म गरिरहँदा यसलाई सरकारको दवाव र प्रभावबाट मुक्त रहेर निर्वाध ढंगले कार्य गर्न सक्ने संस्थाका रुपमा परिकल्पना गरेको थियो । तर नेकपाको सरकारले यस्तो संवैधानिक संस्थालाई अवांछित दवाव मार्फत पूर्वाग्रहपूर्ण ढंगले उपयोग गर्नु सदाचारयुक्त नेपालको भविष्यका लागि सुखद संकेत मान्न सकिन्न । दुई वर्ष पूरा हुँदै गर्दा उब्जीएको यो प्रश्न उपर सार्वजनिक वहस अत्यावश्यक भएको छ ।
(छ) रोजगारी सृजना र विस्तारको कोणबाट :
प्रधानमन्त्रीले ३ फागुनमा संसदमा सम्बोधन गर्ने क्रममा ‘श्रम बजारमा पहिले भएका वेरोजगारले काम नपाएका होलान् तर नयाँ वेरोजगार थपिएका छैनन्’ भन्नु भयो । उहाँको शब्द थियो— ‘श्रम बजारमा जति थपिएका छन्, तिनीहरु मध्ये अधिकांशलाई सम्बोधन गर्न सकेका छौं ।’ यसको अर्थ हुन्छ नेकपाको सरकार बनेको यो दुई वर्षमा वेरोजगारीको समस्या करीब–करीब हल भएको छ । तर सत्य के सम्माननीय प्रधानमन्त्रीले भन्नु भएझै हो ? होइन ।
(१) वेरोजगारीको समस्या आजको मितिमा हाम्रो जस्तो कम विकसित मुलुकमा मात्रै होइन अति विकसित मुलुकहरुमा पनि समस्याको रुपमा रहेको छ । अतः प्रधानमन्त्रीको अभिव्यक्ति प्रथमत सैद्धान्तिक रुपमै असत्य छ ।
(२) केन्द्रीय तथ्याङ्क विभागले गरेको पछिल्लो श्रम शक्ति सर्वेक्षण (०७४/७५) को नतिजाले नेपालमा वेरोजगारीको दर ११.४ प्रतिशत जनाएको थियो । सो नतिजा अनुसार १५ वर्ष भन्दा माथिको जनसंख्या २ करोड ७ लाख ४४ हजार मध्ये रोजगार जनसंख्या केवल ३४.२ प्रतिशत मात्रै रहेको देखिन्छ । श्रम शक्ति भन्दा बाहिर रहेको ठूलो जनसंख्यालाई नेकपाको सरकार बनेको केवल २ वर्षमा सम्बोधन गर्न सक्ने, सकिएको या सक्न लागेको अभिव्यक्तिलाई तथ्यपूर्ण मान्ने हो भने त्यस्तो छु मन्त्र जादुका साथ कुनै वृहत्तर रोजगार परियोजना मुलुकमा वर्तमान सरकारले शुरु गरेको देखिन्न ।
(३) नेपाली कांग्रेसको सरकारले उदार अर्थ व्यवस्थाको नीतिलाई वढावा दिएका कारण सयौं बैंक, हजारौं सहकारी, विद्यालय, अस्पताल, संचार माध्यम, एयरलाइन्स आदिको तिव्र विस्तार भएको थियो । आजको मितिमा राज्यले प्रत्यक्ष दिएको न्यून रोजगारी बाहेक रोजगारीको ठूलो हिस्सामा निजी र व्यवसायिक क्षेत्रको ठूलो योगदान छ । रोजगारी सृजनामा अझै महत्वपूर्ण योगदान गर्न सक्ने सो क्षेत्रलाई नेकपाको सरकार बनेपछिका दिनहरुमा राज्यले इमान्दार ढंगले प्रोत्साहित गरेको देखिन्न ।
(४) एकातर्फ प्रधानमन्त्रीले श्रम बजारमा थपिने वेरोजगारलाई सरकारले सम्बोधन गरिरहेको अभिव्यक्ति राख्नु हुन्छ । अर्कोतर्फ उहाँले संसदमा बोलेकै साँझ सयौं नेपाली युवा वैदेशिक रोजगारीका लागि त्रिभुवन विमानस्थलबाट विदेश उडेका छन् ।
(५) ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुन्दा कर्णप्रिय थियो तर जसले यसबाट केहि रकम पारिश्रमिकका रुपमा पाए तिनको जीवनलाई यो कार्यक्रमले तात्वीक लाभ दिन सकेन । सडकका गाई धपाउने, नाली सफा गर्ने र झार उखेल्ने आदि कामका लागि मुलुकको अर्बौं रुपैयाँ गत वर्ष व्यय गरेर व्यापक आलोचना भएपनि फेरि त्यही कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट १३ अर्ब ऋण लिने सम्झौता गर्नु न त वेरोजगार युवाको जीवनको हितमा हुँदैछ न त देशको दीर्घकालीन हितमा यो छ ।
(ज) सांस्कृतिक रुपान्तरणको कोणबाट :
परिवर्तित राज्य व्यवस्थालाई स्वस्थ र दीर्घजीवी बनाउन शासनको उचाइमा रहेको नेतृत्वदेखि गाउँको कुनामा रहेका नागरिक पंक्तिसम्ममा वदलाव जरुरी हुन्छ भन्ने सर्वस्वीकृत मान्यता छ ।
तर शासन एक ढंगले बदलियो शासक अर्कै ढंगले बदलिए भने त्यसले शासन प्रणालीलाई दुर्घटनाको जोखिम तर्फ त धकेल्छ नै शासकले सामयिक रुपान्तरणका लागि नागरिकलाई अपिल गर्ने नैतिक साहस र हैसियत पनि गुमाउँदछ । नेकपाको सरकार बनेपछिको यो दुई वर्षमा स्वस्थ लोकतान्त्रिक संस्कृति विकसित गर्ने सांस्कृतिक रुपान्तरणको कोणबाट समयलाई नियाल्दा दयनीय चित्र देखिन्छ ।
प्रथमत राज्यले यो अवधिमा प्रशंसालाई प्रोत्साहन र प्रश्नलाई निषेध गर्न खोजेको व्यवहारत देखियो । प्रेस स्वतन्त्रता विरोधी विधेयक, प्रशंशा गर्ने मुटुको खुला खोजी, विरोध गर्ने माथि अरिंगाल भई जाग लाग भन्ने अभिव्यक्ति, न्यायालयलाई कार्यपालिकाको घुमाउरो दवावमा राख्ने प्रयत्न, संवैधानिक अंगहरुलाई सोझैं दवावमा राख्ने कर्म, यी सबैले कम्युनिष्ट सरकारको चित्र र चरित्रलाई प्रतिनिधित्व गरेका छन् ।
अनुदार लोकतन्त्रको दिशामा अग्रसर हुने अनि लोकतान्त्रिक प्रकृयाबाटै त आएका हौं भनेर जवाफ फर्काउने कर्मले मात्र लोकतान्त्रिक हुनुको परिभाषालाई पुष्टी गर्दैन । बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप होइन कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेपछि स्वभाविक रुपमा अधिनायकवाद उन्मुख छन् कि इमान्दार प्रजातन्त्रवादी ? भन्ने प्रश्न उठ्छ नै । ओठे जवाफकै प्रष्टीकरण मुलुकले खोजेको छैन, सांस्कृतिक रुपान्तरणको व्यवहारिक अभ्यास मुलुकले खोजेको छ ।
नागरिकले लोकतन्त्रको दीर्घ जीवन, उत्तरदायी सरकार, सहिष्णु नेतृत्व, भय रहित समाज, निष्पक्ष न्याय, तटस्थ प्रशासन यन्त्र र समृद्धिमा गतिको अपेक्षा गर्नु नैसर्गिक हक हो । दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन सरकारले सफलता हासिल गरोस्, नेपाली कांग्रेसका तर्फबाट हार्दिक शुभकामना ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

